मेरो बालमस्तिष्कमा परेको एउटा घटनाको गहिरो छाप अझै छ।
खुब जोडी मिलेका तारे र फुर्के नामका एक हल गोरु थिए हाम्रा। हलो चाहिँ मेरा ठुल्दाजुले चलाउँथे। किन हो कुन्नि! उनी गोरुलाई असाध्यै दपेट्थे। सायद उनी आफूलाई पृथक् खालको हली भएको सिद्ध गर्न चाहन्थे।
उनले नारेपछि हलगोरुले आधा दिनसम्म त सही लय समात्थे नै। त्यसपछि लय बिग्रँदै जान्थ्यो। गोरु भोक र तिर्खाले रन्थनिसकेका हुन्थे। यथार्थमा दाजु आफैं पनि भोकाइसकेका हुन्थे। गोरुले घाँसका त्यान्द्रातुन्द्री टिप्न दायाँबायाँ लम्कँदा हलोको सियो पनि बिग्रन्थ्यो। आफू भोकाएको झोँकमा गोरुले त्यसो गर्दा ठुल्दाजु तिनलाई बेस्मारी पिट्थे।
उनी यसरी पिट्थे कि गोरु नराम्ररी दच्किन्थे। दच्किएको गोरुले राम्ररी मेलो लिँदैनथ्यो। उनी हलो बेस्सरी दबाउँथे। हलो गाडिएपछि गोरु रोकिन बाध्य हुन्थे। त्यही बेला दाजुले गोरुलाई पिट्नसम्म पिट्थे।
यसरी गोरुलाई थला बस्ने गरी चुट्दा सायद ठुलै पुरुषार्थ गरेको ठान्थे उनी। अहिले भए गोरु कुटेको कसुरमा कारबाही हुन्थ्यो होला। त्यो बेला कसले उजुरबाजुर गर्नु।
हलो अड्काई अड्काई गोरु चुट्ने बानी नै परिसकेको थियो उनलाई। एकदिनको कुरो हो। हलगोरु हठात् भड्किए। सोइला भाँचिए। जोतारा चुँडिए। गोरुले जुवा फाले। अन्ततः दाजुको काबुमा रहेनन् गोरु। अचम्म त के भने त्यसपछि पनि छाडेनन् दाजुले गोरु चुट्न। गोरुलाई लखेटिरहे, लखेटिरहे। एउटा गोरुकान्लो उक्लन सकिरहेको थिएन। तैपनि गोरुको करङमा लाठी बर्साइरहे। पिट्दा पिट्दा हातको लठ्ठी भाँचियो। पछि गोरु नै फर्केर उल्टो उनलाई नै ‘फूँ’ गरेपछि उनी हच्के। आखिर बहर गोरु न पर्यो, ताकत देखाइहाल्यो!
दिउँसोको त्यो कुरा थाहा पाएपछि बेलुका बा’ले दाजुलाई सम्झाउँदै भनेका कुरा सम्झन्छु– अति गर्नू, अतिसार नगर्नू भनेको त्यसै होइन। त्यो पनि प्राणी नै हो। त्यसलाई पनि दुख्छ, पोल्छ, भोक लाग्छ, तिर्खा लाग्छ। हामीले त्यसको पनि इज्जत गर्न जान्नुपर्छ।
वास्तवमा गोरु हाम्रो परिवारको सदस्य थियो। कृषि कर्ममा निकै ठूलो महत्व हुन्छ गोरुको। बाउ मरे घ्यू र भात, गोरु मरे पुर्पुरोमा हात भन्ने त उखानै छ।
उनले बा’को अर्ती लिएनन्। पछिसम्म पनि हलो अड्काएर गोरु चुट्ने उनको बानी गएन। अहिले त उनी गोरु जोत्न सक्ने अवस्थामा छैनन्। मलाई थाहा छैन– अबोध पशुलाई चुटेकोमा उनलाई पश्चाताप छ कि छैन।
उपत्यका पर्यटन कार्यालय, सानो हात्तीवनमा २०७८ माघ ६ गते ठिक यस्तै घटना भएको थियो। त्यति बेला दाजुलाई नसम्झी रहन सकिनँ म।
उपत्यका पर्यटन कार्यालय मूलतः सरकारी कार्यालय अर्थात् संस्कृति तथा पर्यटन मन्त्रालय तालुकवाला रहेको एउटा अंग हो। पर्यटन क्षेत्रसँग सम्बन्धित होटल, होम स्टे, ट्रेकिङ र राफ्टिङ एजेन्सी दर्ता तथा नवीकरण एवम् तिनको नियमन गर्ने एउटा सशक्त निकाय हो। ट्रेकिङ तथा टुर गाइड दर्ता तथा नवीकरण र होटलका बस दर्तालगायतका सवारी दर्ता हुने ठाउँ हो। यहीँबाट हुन्छ देशभरिको पर्यटन क्षेत्रको ९० प्रतिशत नियमन।
हाम्रो कम्पनीको इजाजत २०७७ जेठ १९ गते सकिँदै थियो। बन्दाबन्दीको कारणले समयमा नवीकरण गर्न सम्भव भएन। बन्दाबन्दी खुकुलो भएपछि पनि अफिस सार्ने काममा लागियो। २०७८ वैशाखको आधाआधीबाट फेरि बन्दाबन्दी सुरु भयो। योबीचमा परिवारका सदस्य पनि गुमाउनु पर्यो। त्यो पीडाले केही समयसम्म काम गर्ने मुड भएन। नियमानुसार इजाजत सकिएको छ महिनाभित्र नवीकरण नगरे कम्पनी स्वतः खारेज हुन्छ।
असहज परिस्थितिका कारण सरकारले आगामी फागुन मसान्तसम्म म्याद थपेको छ। त्यसैले पनि हामी साउन लागेपछि मात्र जुर्मुरायौँ नवीकरणको काममा।
सुनेको थिएँ– उपत्यका पर्यटन कार्यालयमा काम लिन साह्रै गाह्रो छ।
यो कुन नौलो कुरा हो र? कुन चाहिँ सरकारी कार्यालयमा पो सजिलो छ र सर्वसाधारणका लागि! उपत्यका पर्यटन कार्यालय मात्र अपवाद कहाँ पो हुन सक्थ्यो र!
रसुवा ट्रेक्सका गगन न्यौपानेले केही दिनअघि कम्पनी नवीकरणको काम सकेका थिए। आफ्नो कम्पनी नवीकरण गर्नुपर्ने विषयमा उनीसँग बातचित गरेको थिएँ।
त्यही मेलोमा उनले भनेका थिए– भद्रगोल रहेछ, उपत्यका पर्यटन कार्यालय। नवीकरण प्रक्रियाका लागि फाइल खोजेँ तर भेटिएन। त्यहाँको कर्मचारीले त निकै मिहिनेत गरेका हुन् तर हाकिम ‘फाइल कसरी हराउँछ? यो हुनै सक्दैन। फेरि खोज्न लगाउनू’ भन्छन्।
उही कार्यालयको एउटा कर्मचारी फाइल खोजेर भेटाउन सक्दैन। उसैको हाकिम भन्छ, ‘फाइल यहीँ छ, भेटिनुपर्छ।’ कर्मचारी र हाकिमको कुरा बाझियो। हाकिमको कुरा बेठिक जस्तो लाग्दैन। समग्रमा तँ कुटे जस्तो गर्, म रोए जस्तो गर्छु भन्ने आहान जस्तै लाग्छ। तीन दिनसम्म धामा गर्दा पनि नभेटेपछि हामीसँग भएका कागजात लगेर नयाँ फाइल खडा गरेँ।
यहाँ फाइल हराउनु नौलो कुरो होइन। २०७२ मा पर्यटन महाशाखा, भृकुटीमण्डपमा नवीकरण गर्न जाँदा पनि हाम्रो फाइल भेटिएन। हामीसँग भएका कागजात लगेर नयाँ फाइल खडा गरेका थियौं। त्यो बेला बेहोर्नुपरेको थोरबहुत झन्झट अझै ताजा छ मस्तिष्कमा।
गत साउन ४ गते उपत्यका पर्यटन कार्यालयका लागि निस्केँ। कतै यो पटक पनि हाम्रो फाइल हराएको त छैन! चिन्ताले ढाकेको थियो मेरो मन।
बिहान ११ बजे पुगेँ। रिसेप्सनमा थिइन् प्रतिमा श्रेष्ठ।
‘म एडभेन्चर थर्डपोल ट्रेक्सबाट आएको। कम्पनी नवीकरणका लागि प्रक्रिया बुझ्नु थियो।’ मैले नम्र भावमा भनेँ।
उनले मलाई दिनु पर्ने सबै जानकारी दिइन्।
‘आएको बेला एकपटक फाइल पनि खोजौँ कि!’ उनीसँग अनुरोध गरेँ।
यसैमा खुलदुली जो थियो मेरो मनमा।
प्रतिमाले मलाई फाइल राखिएको कोठामा लगिन्। साँघुरो कोठा। कोठाका चारै सुरमा फलामका र्याक र दराज उभ्याइएका। अरू त अरू कोठाकोबीच भाग पनि खाली छैन। दराजै दराजको बीचबाट मुस्किलले एकजना मान्छे छिर्न सक्छ। कतिपय एजेन्सीका फाइल दराजका अन्तरकुन्तरमा खाँदिएका थिए। नेपालका लगभग असी प्रतिशत ट्राभल, ट्रेकिङ र राफ्टिङका फाइल भएको ठाउँ देख्दा बिरक्तलाग्दो देखिन्थ्यो।
प्रतिमाले ४५२ नम्बरको फाइल राखिएको दराज खोलिन्। फाइल जसरी राखिनु पर्ने हो त्यसरी राखिएका थिएनन्। पोकापोका पारिएका थिए फाइल। सायद तीन वर्षअघि महाशाखा, भृकुटीमण्डपबाट फाइल यता (सानो हात्तीवन) सार्दा पारिएका थिए ती पोका। उनले पोका खोलेर हेरिन्। दुर्भाग्यबस, त्यसमा हाम्रो फाइल थिएन।
दराजभित्र नअटेका फाइलका पोका दराजमाथि पनि राखिएका थिए। मझौलो कदकी प्रतिमालाई हम्मेहम्मे परेथ्यो पोका झिक्न। आफैंले सघाएँ। फाइल राखिएका दराजभित्रका सबै पोका खोलिन्। पाइएन। उनले ट्राभल र राफ्टिङका फाइल राखिएका दराजहरू पनि खोलिन्। हात लाग्यो शून्य!
दुई घन्टासम्म लगातार फाइलका पोका खोल्दै फेरि जस्ताको तस्तै गरी बाँधेर राख्दै गर्दा उनी थाकिसकेकी थिइन्।
मैले मनमनै भनेँ, सरकारी कार्यालयमा अझै पनि फाइल व्यवस्थापन सहज ढङ्गले हुन नसक्नु डिजिटल युगकै उपहास हो।
अन्ततः उनले भनिन्, ‘भोलि आउनुस्! फेरि यसरी नै हेरौंला।’
नाइँ भन्न सकिनँ।
हेर्ने जति त हेरिसकियो। फेरि नम्बरिङ गरिएको ठाउँमा नभेटिएपछि अन्त कहाँ भेटिएला र! अर्को दिन फाइल भेटिएला भन्ने विश्वास थिएन मलाई।
पर्यटन महाशाखा भृकुटीमण्डमा पनि फाइल सिस्टम गतिलो थिएन। फाइलहरू छरपस्ट हुन्थे। एक पटक काम विशेषले महाशाखामा जाँदा ‘सी एन्ड के ट्रेक्स’ को फाइल भर्याङमा भेटेको थिएँ। आवतजावत गर्नेहरूले फाइल कुल्चेर हिँडेको देखेपछि मैले टिपेर र्याकमा राखिदिएको थिएँ। करदाताहरूको दर्ता र नवीकरणसित सम्बन्धित फाइलहरू सम्बन्धित निकायले किन सुरक्षित राख्न सक्दैन?
यो अत्यन्तै गम्भीर प्रश्न हो। भोलिपल्ट १० बजे उपत्यका पर्यटन कार्यालय पुगेँ। अघिल्लो दिनझैं प्रतिमाले धुइँधुइँती फाइल खोजिन्। तीन घन्टामा पनि भेटिएन।
‘अब नयाँ फाइल खोल्नुको विकल्प छैन,’ उनले भनिन्।
त्यसपछि हाकिम टंकप्रसाद भट्टराईको कोठामा गएँ।
‘सर! म कम्पनी नवीकरणका लागि आएको। फाइल भेटिएन,’ अभिवादन गर्दै नम्र निवेदन गरेँ।
‘के हो कम्पनीको नाम?’ मेरो अभिवादन नफर्काई हाकिमी शैलीमै उनले मलाई सोधे।
मैले आफ्नो कम्पनीको ना बताएँ।
‘कसरी पाइएन त?’ बिरसिलो भाषामा मलाई सोधे।
उनको प्रश्नले यस्तो लाग्थ्यो– मानौं म उनको कार्यालयको अर्दली हुँ।
‘फाइल खोजेको बेलामा भेटिनु पर्ने हो। कसरी भेटिएन भन्ने कुरा तपाईंले मलाई दिनु पर्ने जवाफ हो।’ यसो भनुँ कि झैँ लागेको थियो तर भनिनँ। आफूलाई रोकेँ मैले।
अक्सर कुनै पनि सरकारी कार्यालयमा हाकिमको मधुर वचन सुन्न पाइन्न। नेपालको सन्दर्भमा यस्ता कुरा नौला होइन यद्यपि उनको कर्कस बोलीले एउटा गम्भीर प्रश्न उठ्यो मेरो मनमा। आखिर को हुँ त म?
म, यो देशको एउटा नागरिक। म, स्वरोजगारी सिर्जना गरेर जीवन यापन गर्ने मान्छे। थोरै नै सही, म यो देशको करदाता पो हुँ त। ती हाकिमले लिएको बेतन र सुविधामा मैले तिरेको करको अंश पनि परेको छ। निजामती कर्मचारी हुन् उनी। नेपालका निजामती कर्मचारीमा किन आफ्नो हैसियत बिर्सने रोग व्याप्त छ? छक्क पर्छु।
‘हिजोदेखि खोजेको हो। पाइएन। नयाँ फाइल खोल्न के गर्नुपर्छ सर?’ विनम्रतापूर्वक सोधेँ।
‘तल गएर अर्जुन ज्ञवालीलाई सोध्नू!’ रुखो पारामा जवाफ फर्काए।
मैले अर्जुनलाई भेटेँ। उनले नयाँ फाइल खोल्न आवश्यक कागजात बताए र नवीकरणका लागि चाहिने कागजातका चेकलिस्ट थमाए।
साउन १४ गते उनले भनेबमोजिम हात्तीवन पुग्यौं। इजाजतको मिति सकिएको वर्ष दिन नाघेकोले बैंकले ब्याक डेटको ग्यारेन्टी नदिई बाँकी पाँच वर्षको लागि दिएको थियो। अर्जुन ज्ञवालीले अर्को कोठाको अधिकृतसँग बुझ्न भने। हामीले कार्यालयका अर्का कर्मचारीसँग सोध्यौं।
उनले भने, ‘म्याद सकिएको दिनदेखि आजसम्मको एउटा र आजको मितिदेखिको अर्को ग्यारेन्टी पेपर ल्याउनू। बैंकको मान्छेले बुझेनन् भने मलाई फोन गर्नू। म भनूँला।’
‘यहाँको शुभनाम?’ ती कर्मचारीलाई सोधेँ।
‘उः त्यहाँ हेर्नू।’ ढोकाबाहिर उनको ‘नेमप्लेट’ देखाउँदै भने।
नम्रतापूर्वक कसैले कसैको नाम सोधनी गर्दा सामान्यतया यस्तो जवाफ मैले पाएको थिइनँ। यस्तो छुद्रता मेरो जीवनको पहिलो अनुभव थियो।
‘कति टुप्पिएको कर्मचारी!’ ओठले प्वाक्क नभने पनि मेरो मनले भन्दै थियो।
बाहिर निस्केर पाटीमा हेरेँ। ‘पवन कट्टेल’ लेखेको रहेछ। अधिकृत सातौं तह। कार्यालयको मूलगेटबाट छिर्नेबित्तिकै भित्तामा झुन्ड्याइएको फ्लेक्समा पनि छ उनको तस्वीर। उत्कृष्ट कर्मचारी भएको अर्थमा राखिएको रहेछ त्यो। यस्ता रुखा अधिकृत कसरी उत्कृष्ट भए होलान्! चकित परेथेँ।
भनेबमोजिमका कागजात सबै तयार पारिसकेका थियौं। यसै पनि जरिवाना तिर्नैपर्छ। फागुन मसान्तसम्म म्याद भएकाले उपत्यका पर्यटन कार्यालय जान हतार गरेनौं। कारोबार नभएपछि मान्छे स्वतः सुस्ताउदो रहेछ। सुस्ताएका थियौं हामी पनि।
२०७८ माघ ४ गते। झोलामा पच्चीस–तीस थरी कागजातको ठेली बोकेर उपत्यका पर्यटन कार्यालयतिर लाग्यौं हामी दुई भाइ दीपक महत र म। हामीले लगेका कागजात चेकजाँच गरे, ट्रेकिङ शाखा हेर्ने अधिकृत सातौं तहका छविलाल पौड्यालले। सब ठिक थियो। उनले निवेदन, नवीकरण दस्तुर र जरिवानावापत् लाग्ने दस्तुरको योगफल निकाले। सबै गर्दा साठी हजार भएछ। हामीले सोही दिन सात दोबाटोस्थित नेपाल बैंकमा रकम दाखिला गर्यौं र पर्यटन कार्यालयले बनाइदिएको रोक्का पूर्जी कालीमाटीस्थित कृषि विकास बैंकमा बुझायौं। र, बैंकले पठाएको प्रत्युत्तरपत्र पनि सँगै ल्यायौं।
२०७८ माघ ५ गते बिहान ११ बजे हात्तीवन पुग्यौं। अधिकृत छविलाल पौड्यालले टिप्पणी उठाउन लगाए।
लाइन बस्दैमा ढिलो भयो। खाजा खान ठ्याक्कै सवा घन्टा लाग्यो। फेरि कम्प्युटरमा बसेर काम गर्ने एक कर्मचारीले टिप्पणीमा पुर्याउनु पर्ने कुराहरू नपुर्याएकीले तीन पटकसम्म त टिप्पणी सच्याउनमै लाग्यो।
अचम्म त के भने उनको लेखाइको वर्ण विन्यासमा यति अशुद्धी थियो कि एकाध शब्दबाहेक ह्रस्व हुनुपर्ने दीर्घ र दीर्घ हुनुपर्ने सबै ह्रस्व थिए। उही शब्द ह्रस्व हुँदा एउटा अर्थ लाग्छ भने दीर्घ हुँदा अर्कै अर्थ लाग्छ।
अंग्रेजी शब्दमा भएका हिज्जे सही वा गलत भएको छुट्टयाउन सक्ने हामीले आफ्नो नेपाली भाषा शुद्ध लेख्न नसक्नु भनेको भाषाकै उपहास हो।
सरकारी कार्यालयले लेख्ने नेपाली भाषा शुद्ध हुनैपर्छ भन्ने लाग्छ मलाई किनकि यो भाषाको सवाल हो। यो नेपाली भाषाको इज्जतको सवाल पनि हो। शुद्ध नेपाली लेख्न नसके पनि जागिर पाएकी रहिछन् एउटी चेलीले। खुसी नै लाग्यो!
पौने चार भइसकेको थियो हामी फाइल बोकेर हाकिमको कोठामा छिर्दा।
हामीले अभिवादन गर्यौं। फाइल उनको टेबलमा राख्यौं।
‘के हो यो?’ हाकिमको सोधनी।
भाषामा किञ्चित छुद्रता थियो।
‘ल बस्नुस्!’ उनले भने।
अचम्मै भयो। ‘बस्नुस्’ भने गाँठ !
‘कोभिडको खोप लाउनुभो?’ उनले सोधे।
सवाल असान्दर्भिक त थिएन किन्तु पर्यटन व्यवसायमा लागेको मान्छेले यतिखेरसम्म खोप लगाइसकेका हुन्छन् भन्ने कुराको सामान्य हेक्का हुनु पर्ने हो, रहेनछ। हुनत यो अस्वाभाविक पनि होइन।
‘लगाइसक्यौं।’
लगभग दस मिनेट जति कोभिडको विषयमा कुरा भएपछि उनले फाइल पल्टाउँदै सोधे, ‘के गर्ने हो यो?’
‘नवीकरण। फाइल हराएकाले नयाँ बनाएको।’ दीपकदाजुको जवाफ।
‘कसरी हराउँछ फाइल? हुनुपर्छ। खोज्नुस्! भेटाउँछ। म भोलि साथीहरूलाई खोज्न लगाउँछु।’
साउन महिनामै खोजेको, भेटिएन। अस्ति पनि खोज्यौँ, भेटिएन। मैले सरसँग उति बेलै कुरा गरेको थिएँ। हामीले फाइल खोजेर नभेटाएको कुरा हाकिमसमक्ष पुष्टि गर्न सकेनौं।
उनले भने, ‘यहाँ नभए विभागमा कहीँ कतै अन्तरकुन्तरमा परेको होला। खोजेर ल्याउनुस्!’
बिल्कुल गलत कुरा गर्दै थिए उनी। विभाग गएर फाइल खोज्ने काम सेवाग्राहीको होइन। त्यो त सम्बन्धित निकायको काम हो। उनको वचन सुन्दा यस्तो लाग्थ्यो कि हामी त मान्छे नै होइनौं। एउटा करदातासँग कसरी व्यवहार गर्नुपर्छ भन्ने कुरा ज्ञान नहुने मान्छे कसरी हाकिम भए होलान्! सोचमग्न हुँदै थिएँ म।
उनले थपे, ‘म भन्छु यो तपाईंहरूकै गल्ती हो। कुनै वकिल वा अडिटरलाई काम लगाउनु भएको थियो होला। पछि उसलाई काम नदिई अर्कोलाई दिँदा पहिलोले गायब पार्यो होला। वा तपाईंको कुनै रिसइबी गर्नेले लगेको हुनसक्छ।’
क्या बेतुकका कुरा! कुनै एउटा व्यक्ति पर्यटन कार्यालयमा गएर कुनै एजेन्सीको फाइल कसरी लान सक्छ? सक्छ भने यो कार्यालयका कर्मचारी के हेरी बस्छन्?
‘हामी फाइल खोज्न विभाग जाँदैनौं सर। जानै पर्ने हो भने सोही ब्यहोराको चिठ्ठी दिनुस्,’ विनम्रताका साथ भन्यौं हामीले। उनले चिठी दिन मानेनन्। चिठी किन नदिने हो, त्यो भनेनन्।
उनले भने, ‘म विभागमा पर्वत गिरीलाई कल गरूँला।’
फाइल जस्तो कुरा मौखिक रूपमा भनेर/मागेर नेपालमा कुन सरकारी निकायले दिन्छ? बिल्कुल नाजायज थियो उनको कुरा।
‘ल भोलि आउनुस्, म खोज्न लगाउँछु।’ टेबुलमा भएको हाम्रो फाइल हामीलाई नै थमाउँदै उनले भने। हाकिमसँगै तल ओर्लियौं हामी।
चार बजिसकेको थियो। कार्यालयका अरू कर्मचारी हिँडिसकेका थिए। रिसेप्सनकी अस्मिता मात्र बाँकी थिइन्।
‘भोलि अर्जुन र रवीन आउनेबित्तिकै यो कम्पनीको फाइल खोज्न लगाउनू! फाइल जिम्मा लिनु पर्दैन? हिरो बनेर हुन्छ,’ हाकिमले अस्मितालाई अह्राए।
हामी गेटबाट बाहिरिन लाग्दा उनले भने, ‘भोलि फाइल भेटिएन भने विकल्प खोजुँला।’
भोलिपल्ट अर्थात् २०७८ माघ छ गते।
उपत्यका पर्यटन कार्यालयका लागि निस्क्यौं दीपकदाजु र म।
‘आफ्नै अफिसको फाइल हो तैपनि विभागमा भेटिइ पो हाल्छ कि, विभाग भएर जाऔं न!’ हामीले सल्लाह गर्यौं।विभाग पुगेर फाइल नभेटेको विषयमा कुरा राख्दा त्यहाँका अधिकृतले गोपाल भण्डारीलाई भेट्न भने। हामी उनको कोठामा पुगेर समस्याको बेलीबिस्तार लगायौं।
उनले भने, ‘यहाँबाट उता पठाउनुपर्ने फाइलको लिस्टसहित पठाएका थियौं। जुनजुन कम्पनीको फाइल मिसिङ भएको थियो, तिनको पनि लिस्टिङ गरेका थियौं। यति गरेपछि व्यक्तिपिच्छेलाई यहाँ पठाइरहनुपर्ने जरुरी थिएन। केही समयअघि पनि चार–पाँच जना आएका थिए। तपाईंहरूले यसरी दुःख पाउनु दुर्भाग्य हो।’
यही सन्देश लिएर हामी उपत्यका पर्यटन कार्यालयतर्फ लाग्यौं।
कर कार्यालयमा कम्प्युटर सिस्टम छ भने पर्यटनमा किन हुँदैन? विभागले लिस्टसहित फाइल पठाएको हो भने त्यो लिस्ट उपत्यका पर्यटन कार्यालयमा हुनुपर्ने हो। र, त्यही लिस्टअनुसार सेवाग्राहीको फाइल भए/नभएको कुरा थाहा पाउनुपर्ने हो। कम्तीमा विभागले पठाएको इमेल त पर्यटन कार्यालयमा हुनुपर्ने। त्यसबाट पनि त थाहा पाउन सकिन्थ्यो।
किन उपत्यका पर्यटन कार्यालय गैरजिम्मेवार बनिरहेछ? सेवाग्राहीलाई झुलाउनुको अभिप्राय के हो? यावत् प्रश्नहरू उब्जिरहेथे मेरो मनमा।
कार्यालय पुगेपछि हाकिमले निर्देशन दिएबमोजिम फाइल खोजे/नखोजेको कुरा अस्मिता खड्कालाई सोध्यौं। खोजेका रहेनछन्। भेटाउने भए पो खोजून् त उनीहरू पनि। तीन दिनअघिदेखि एउटै समस्या झेलिरहेका होलिडे प्लानरका एकलाल अमगाईंलगायतका तीनजना सेवाग्राही पनि आइसकेका थिए। एकलाल र म त प्रतिनिधि पात्र मात्र हौं। यस्ता पीडित कति होलान्! मनमनै कल्पना गरेँ।
फाइल लिएर हामी हाकिमकोमा गयौं। मज्जाले हिटर बलिरहेकोले न्यानो थियो उनको कोठा। उनले तत्कालै अर्जुन ज्ञवालीलाई डाक्न लगाए।
उनले कड्किएर हाम्रो पुरानो फाइल खोज्ने आदेश दिए। अर्जुन ज्ञवालीले मानेनन्।
गाँड कोराकोर भयो हाकिम टंकप्रसाद भट्टराई र छैठौं तहको अधिकृतबीच–
भट्टराई– कोसँग छ फाइलको लिस्ट?
ज्ञवाली– मलाई थाहा छैन। मलाई यो कुरा सोध्दै नसोध्नुस्!
भट्टराई– कसलाई थाहा छ त?
ज्ञवाली– मैले बुझेको हो र मलाई थाहा हुन?
भट्टराई– कसले बुझ्या’थ्यो त?
ज्ञवाली– मलाई के थाहा?
भट्टराई– फाइलको लिस्ट मगाउन विभागलाई चिठी लेख्नुस्!
ज्ञवाली– म लेख्दिनँ। त्यो कार्यालय प्रमुखको काम हो।
फाइल नभेटिएपछि नियमबमोजिम सेवाग्राहीको काम पहिले पनि सल्टाएको र फेरि पनि सल्टिनु पर्ने जिकिर थियो ज्ञवालीको।
भट्टराई– तपाईं जानुस् त त्यसो भए, म गर्छु सबै काम।
ज्ञवाली– तपाईंले जा भन्दैमा जाने हो म? तपाईंले जागिर दिनुभा’को हो र मलाई?
भट्टराई– यहाँ किन आउनु भो त त्यसो भए?
ज्ञवाली– तपाईंले पठाउनुभा’को हो र मलाई?
भट्टराई– कसले पठायो त?
ज्ञवाली– सचिवज्यूले।
भट्टराई– अनि यहाँ घन्टा... गर्न बस्नुभा’को त तपाईं?
ज्ञवाली– के रे? के भन्या? कार्यालय प्रमुखले जे पायो त्यही बोल्न पाखुरा सुर्काउँदै?
भट्टराईले बोलेको शब्दले सरकारी कार्यालयका हाकिमको स्तर मापन गर्थ्यो।
भट्टराई– ह्वाँ...हरूको काम त गरिदिनु पर्यो नि।
ज्ञवाली– गरिदिनुस् न त। काम त तपाईंले रोकिरहनु भएको छ।
भट्टराई– कसरी रोकेँ मैले?
ज्ञवाली– अरूको काम भा’को थियो। ह्वाँ...हरूको किन रोक्नु भो त?
भट्टराई– कहाँ रोकेँ मैले?
ज्ञवाली– तपाईंले रोकेको होइन? कसैलाई एउटा निर्णय गर्नुभा’छ, कसैलाई अर्को गर्नुभा’छ। अरू काम भएका फाइलहरू देखाइदिऊँ म?
भट्टराई– खै त तपाईंले जिम्मेवारी पूरा गरेको?
ज्ञवाली– मैले जिम्मेवारी पूरा गरेको छु र त फाइलमा आवश्यक सही गरेको छु नि! म बाटोको मान्छे हो र? म यही कार्यालयको मान्छे होइन?
आधा घन्टासम्म यसरी नै कटाक्ष भयो दुईबीच।
अन्त्यमा ज्ञवालीले भने– तपाईंले यसलाई सदर गरिदिनुपर्थ्यो। यसरी काम अड्काउन हुँदैनथ्यो। आजसम्म मलाई कुनै हाकिमसित रिसाउनु परेको थिएन। आज चाहिँ पर्यो।
संवादको दृश्य देख्दा यस्तो लाग्थ्यो कि त्यहाँ एउटा ‘मेलोड्रामा’ मञ्चन भइरहेको थियो। दर्शक थियौं दीपकदाजु, म र सोही कार्यालयका अर्कै फाँटका अधिकृत पवन कट्टेल। हाम्रै फाइल पल्टाउँदै थिए उनी, खोज्दै थिए कुनै कागज अपुग छ कि भनेर।
त्यही नाममा फाइल अड्काउन सकिन्छ कि भन्ने आशय बुझ्न कठिन थिएन। हाकिमले नै लगाएका थिए उनलाई त्यसो गर्न। उनी चाहिँ भट्टराईको विश्वासपात्र हो कि भन्ने प्रतीत हुन्थ्यो।
‘सम्बन्धित फाँटका अर्जुन ज्ञवाली र छवीलाल पौड्यालले चेक गरेर सही गरेको फाइल तेस्रो व्यक्तिले पनि चेक गर्नुपर्छ र!’ भन्ने जिज्ञासा राख्दा प्रतिप्रश्न गरे पवनले, ‘चोरको जस्तो साक्षी बस्दै छु। तपाईं मलाई तेस्रो व्यक्ति भन्ने?’
के हामी पर्यटन व्यवसायी चोर हौं? के हाम्रो अलिकति पनि हैसियत छैन? सरकारी अधिकृतले जस्तो शब्द पनि बोल्न मिल्ने? मभित्र यस्ता थुपै प्रश्नका ज्वारभाटा नउठेका होइनन्।
मलाई लाग्यो– कति निरीह छौं हामी सेवाग्राही! हामी असन्तुष्टि पोख्न सक्दैनौं। सरकारी कार्यालयमा हामी यस्ता तिरस्कार सहनुपर्छ। हामी सुन्छौं, प्रत्यक्ष देख्छौं तर प्रतिवाद गर्न सक्दैनौं।
भट्टराई र ज्ञवालीबीचमा भएको संवादको यो तौरतरिकाले कार्यालयमा कर्मचारीबीच कति असमझदारी रहेछ भन्ने प्रस्ट बुझिन्थ्यो। त्यसो त दुई जना अधिकृतले हेरिसकेको हाम्रो फाइलमा विश्वास नगरेर पवनलाई हेर्न लगाउनुले पनि त्यही कुरा प्रतिविम्बित गर्थ्यो।
कुनै सरकारी कार्यालयमा कर्मचारीबीच भएको यस्तो अशिष्ट संवाद मैले प्रत्यक्ष कहिल्यै सुनेको थिइनँ। देख्नेलाई लाज चरितार्थ भइरहेथ्यो। यो घटनाले उपल्लो कर्मचारीको कद हदैसम्म घटाएको महसुस हुन्थ्यो।
फाइल हराउनु हुन्थेन तर हरायो। त्यसमा सेवाग्राहीको गल्ती हुँदैन। सम्बन्धित निकाय नै जिम्मेवार हुनुपर्छ। कदाचित् हराइहाले अर्को फाइल खडा गरेर कम्पनी नवीकरण प्रावधान हुँदा हुँदै यति धेरै बितन्डा मच्चाइरहनु पर्ने कारण थिएन। मातहतको कर्मचारीलाई दपेट्नु पर्ने कारण पनि थिएन। नयाँ तयार गरेको फाइलले नै पुरानो फाइल हराएको कुरा बोलेको छ।
उनको र हाम्रो बीचमा कुनै दुश्मनी त थिएन तर उनी किन हाम्रो फाइल अगाडि बढाउन चाहँदैनन् भन्ने कुरा प्रस्ट हुन सकेन।
एउटा कम्पनी बन्द हुँदा स्वतः बेरोजगारी बढ्छ। थोरै भए पनि राजस्व घट्छ। यसले रोजीरोटीमा पनि त विकराल समस्या खडा गर्छ। यो कुरा हाकिमले बुझ्नु पर्ने थियो। फेरि हामी गैरकानुनी काम गर्दै थिएनौं। फाइल नभेटेको कुरा सत्य थियो। हामीले दुःख पाउनु हुन्थेन तर पाइरहेथ्यौं।
‘के अब हामी कम्पनी बन्द गरौँ त?’ म कड्किएँ।
जवाफमा उनले भने, ‘मैले कहाँ त्यसो भनेको छु र!’
‘त्यसो भए हाम्रो काम हुनु पर्यो नि त!’
अन्तमा लाजगालले टिप्पणीमा उनले लेखे तीन अक्षरको शब्द ‘सदर’ अनित सही गरे।
हाकिम भट्टराईले सही गर्दै गर्दा मैले सम्झेँ मेरै ठूल्दाजु, जो हलो अड्काएर गोरु कुट्थे। हलगोरु भड्किएको, सोइला भाँचिएको, जोतारो चुँडिएको र गोरुले जुवा फालेर दाजुको काबुमा नरहेको ‘फ्ल्यासब्याक’ आइरह्यो मेरो मस्तिष्कमा।
जसरी मेरा दाजुले पशुको इज्जत राख्न सकेनन्, त्यसरी नै भट्टराईले मातहतका कर्मचारीको इज्जत राख्न सकेनन् वा जानेनन्। हाकिमले त्यसरी मातहतका कर्मचारीलाई दच्काउनु हुन्थेन। त्यो स्थायी समाधानको भरपर्दो उपाय पनि होइन।
जसरी मेरो दाजुलाई लखेटेर गोरुले आत्मरक्षा गरेको थियो, त्यसरी नै ज्ञवालीले प्रतिवाद गरे उनीसँग। आखिर चारजना मान्छेको अघि ज्ञवालीले आफूलाई नै सही सावित गरे। सायद हाकिमलाई मातहतको कर्मचारीको वचनले च्वास्स छोएथ्यो होला। जसरी त्यो दिन मेरो दाजु न्याम्म परेर घर फर्केका थिए, त्यस्तै गरी नूर गिरेको देखेँ हाकिम टंकप्रसाद भट्टराईको। उनको नूर गिरेको देख्दा साँच्चै मानवीय संवेदनाले छोएथ्यो मलाई।
उपत्यका पर्यटन कार्यालयका बारेमा जे सुनेका थियौं, कर्मचारीबाट काम लिँदासम्म हामीले सुनेको गलत रहेछ भन्ने लागेको थियो। काम सकिएपछि प्रशंसा गरौंला भन्ने सोचेका थियौं तर त्यसो गर्न सकिएन। यथार्थमा हामीले सुनेको कुरा सही रहेछ भन्ने सिद्ध गर्यो यो घटनाले।
मेरो बालमस्तिष्कमा परेको त्यो छाप र अहिले प्रौढ हुँदा परेको यो छाप अमिट बनेर जीवनभर रहिरहने छ। उपत्यका पर्यटन कार्यालय र सेवाग्राहीबीचको सम्बन्ध राम्रो होस् भन्नेबाहेक विकल्प थिएन मसँग। आइन्दा फाइल हराएकै अर्थमा कसैले दुःख पाउन नपरोस्! नवीकरण भएको प्रमाणपत्र लिएर फर्कंदै गर्दा यही कामना गरेथेँ मैले।