आमा,
हिजो बेलुका झापादेखि गाडी चढेदेखि काठमाडौं आइपुग्ने बेलासम्म म झिमिक्क निदाउन सकिनँ।
आमालाई आफ्नो प्रेमको बारेमा भन्न र छिट्टै आफ्नो प्रेम विवाहमा परिणत गर्न हजुरको आशीर्वाद लिन गएको म, मनभरि गुनासो लिएर राजधानी फर्केको छु।
आमा, तपाईंलाई याद छ? म छ कक्षामा पढ्दा अन्तर विद्यालय हिज्जे प्रतियोगितामा 'मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन' शीर्षकमा प्रथम भएको थिएँ।
म निधारमा टीका र हातमा पुरस्कार लिएर घर फर्किंदा हजुर कति खुसी हुनुभएको थियो।
मेरो जितको खबर तल्लाघरे दिदीदेखि पिपलबोटे साइला दाइलाई तपाईंले नै हो हाम्रो कान्छाले त जितेर आयो भन्दै सुनाएको।
आमा, त्यो दिन हजुरले मेरो गालामा थप्पड हान्दै मान्छे ठूलो दिलले होइन जातले हुन्छ भनिदिएको भए मैले सजिनालाई आफूभन्दा 'तल्लो' जात देख्थे होला। त्यो दिन मेरो जितको खुसी नमनाइदिएको भए मैले सजिना कार्कीलाई प्रेम गर्दैन थिएँ होला।
मेरो प्रेम नपरेको भए तपाईंले पनि कूलको इज्जत जाने र समाजले के भन्ला भन्ने डर मान्न पर्दैनथ्यो होला।
आमा, मैले बुझ्छु कि हजुरले जिन्दगीभर क्षेत्री अझ जैसी बाहुन नै पनि आफूभन्दा 'तल्लो' जात मान्नुभयो। तर त्यो गलत हो आमा।
आज मैले मेरी आमालाई जिन्दगीमा पहिलो पटक हजुर गलत हुनुहुन्छ भन्ने दुस्साहस गरेको छु।
तर यो भनिरहँदा मैले यो बुझ्छु कि यो मानसिकतामा हजुरको भन्दा हजुर हुर्किएको समाजको गल्ती छ। तर समाज पनि त तपाईं हामीजस्तै मिलेर बन्ने त हो। तपाईं हुर्किंदै गर्दा जात धर्म रंगमा विभेद व्याप्त थियो। त्यै व्याप्त विभेदलाई हजुरले पनि सत्य ठानेर अपनाउनु भयो। तर समाजमा व्याप्त मानेका हरेक कुरा सही हुँदैनन् आमा। जस्तो कि हाम्रो गाउँका धेरै महिलाहरू चुलोचौकोमै सीमित छन् तर यसको अर्थ महिलाहरूलाई भान्सामै सीमित राख्नुपर्छ भन्ने होइन। बरू महिलालाई पनि पुरूषजस्तै अगाडि बढ्ने अवसर दिनुपर्छ। सोच्नुहोस् त हजुरलाई पनि हजुरबुवाले मामालाई जस्तै स्कुल पठाएको भए सायद आज मैले लेखेको यो चिठी हजुर घरको कुनै कुनामा बसेर पढ्नुहुँदो हो।
आमा, सजिना मेरो प्रेम हो। म जुन बेला काठमाडौंमा जागिर नपाएर भौंतारिएको थिएँ, त्यही बेलादेखि मलाई सही बाटोमा डोहोर्याउने काम गरेकी छ उसले। हजुरको छोरो कुनै समय गाँजाको कुलतमा फसेको थियो। त्यो भयानक चक्रबाट निकाल्ने सजिना हो। आज पनि हरेक बेलुका हजुरलाई फोन गरी सन्चो बिसन्चो सोध्न उसैले सम्झाउँछे। त्यही सजिनालाई मैले बिहे गर्छु भन्दा आँखाभरी आँसु लिएर 'जे जस्तो भए पनि केटी त उपाध्याय बाहुन नै चाहिन्छ कान्छा' भनेर मलाई मेरो चार वर्षको प्रेम त्यागिदिन भन्नुभयो।
आमा मैले क्षेत्री बिहे गर्दा के हुन्छ? धेरैमा धेरै कान्छा बाले सजिनाले पकाएको नखालान्। मेरा बारेमा कुरा काट्लान् वा हाम्रा सन्तान क्षेत्री होलान्। त्योभन्दा धेरै केही हुँदैन। तर मैले सजिनालाई जातकै कारणले छोडें भने मैले आफूले आफूलाई कहिले माफ गर्न सक्ने छैन आमा।
यो मेरो प्रेमको मात्र कुरा होइन। यो मैले २७ वर्षको उमेरसम्म विश्वास गरेको कुरा हो। यो समय मजस्तै देशका छोराहरूले समाजमा विद्यमान विभेद मेटाउने बेला हो। यो त हजुरको लागि पनि एउटा अवसर हो आमा। हिजो कसैले श्रीमानको चितामा हामफाल्ने कुसंस्कार नहटाएको भए बासँगै मैले हजुलाई पनि गुमाउन पुग्थें होला। यस्तै एउटा कुसंस्कार हटाउने जिम्मा हजुरको पोल्टोमा आएको छ।
अब यो अवसरलाई छोराको खुसी मात्र नभई परिवर्तनको नौलो कदम सम्झेर अघि बढ्नुहुन्छ कि छिमेकले के भन्ला भनेर पाइला डगमगाउनु हुन्छ?
आमा हजुलाई त थाहा छ मैले समाजका विभेदका बारेमा तीजका गीत लेखें, कथा लेखें, कविता लेखें र कयौ पटक आफ्नाहरूसँगै विवाद पनि गरें। आज आफैंले जात मिलेन भनेर आफ्नो प्रेम छोडें भने म भित्रको तपाईंको छोरोको आत्माले जिन्दगीभर धिकार्ने छ।
आमा, यो युग राम र रदिफाले राफेल जन्माउने युग हो। हरेक रंग मिलेर इन्द्रेणी बनेजस्तै हामी अनेक जातजाति धर्म वर्ण मिलेर समानताको समाज बनाउने समय हो। यसपटक पनि तपाईं फलानाले के भन्ला भनेर पछि हट्नुभयो भने अन्धविश्वासले अझ गहिरो जरो गाड्ने छ।
आमा मैले हजुरलाई सामज नै परिवर्तन गर्ने जिम्मेवारी दिएको होइन न त मैले समाज परिवर्तन गर्न सक्छु भनेको हो।
मैले त बस हजुरले भैंसीको दूध बेचेर पठाएको स्कुलमा बुझेको कुरा हजुरलाई भनेको मात्र हो। जस्तोसुकै विभेद पनि गलत हो आमा।
मैले यो हजुरलाई बुझाउन सकिनँ भने मैले पढेको कुनै अर्थ हुने छैन आमा।
मैले समानताको जिद्दी गरिरहँदा हजुरले मेरा लागि गर्नु भएको हरेक त्यागको सम्मान गर्छु।
मैले हजुरलाई निकै प्रेम गर्छु आमा। जब जब अप्ठ्याराहरू आइपुग्छन् पर्समा राखेको हजुरको फोटो हेर्छु अनि अगाडि बढ्ने हिम्मत जुटाउँछु।
मैले यति प्रेम गर्ने हजुर रोएको देख्न सक्दिनँ आमा।
हजुर मेरा अगाडि रूनुभयो भने मैले केही नसोची हजुरको खुसीको लागि मेरो प्रेम पनि छोड्न सक्छु होला। तर बिन्ती मबाट म आफैंलाई धिकार्ने यस्तो गल्ती नगराउनुहोस्।
आमा, सजिनालाई बुहारी स्वीकार्नुहोस् र विभेदलाई हाम्रो घरको तगारो बाहिरै छोडिदिनोस्।
हामीले नस्वीकारेको विभेदलाई कुनै दिन हाम्रो समाजले पनि कन्काईमा बगाएर सधैंको लागि अन्त्य गरिदिने छ।
उही हजुरको छोरो