समाजमा छोरी मान्छे भएर जन्म लिनु पाप हो र? छोरी मान्छेलाई सबैले गिद्दे नजरले हेर्ने छोरी मान्छे कुनै पनि ठाउँमा सुरक्षित छैनन् समाजमा।
छोरी भएको घरमा गएर जो मान्छे पनि तपाईंको छोरी ठूली भई त बिहे गर्ने बेला भयो भनेर २०/२१ वर्षको उमेरमा घरका नातेदारदेखि अन्य मानिसले पनि नजर लगाइराखेको हुन्छ।
यसरी छोरीले उच्च शिक्षा हासिल गरिराखेकी छ भने पनि तपाईंको छोरी ठूली भई बिहे गर्ने बेला भयो, बढेको छोरीलाई घरमा राख्नु हुँदैन भनेर हतोत्साही गर्ने समाज छ। घर होस वा घर बाहिर जहाँसुकै भए पनि छोरीलाई हेला गर्ने परम्पराको अन्त्य अहिलेको २१ औं शताब्दीमा आएर पनि हुन सकेको छैन।
छोरी मान्छे अर्काको घर जाने जात हो। छोरी मान्छे त जन्मघरको दुई दिनको पाहुना हो। पढेर पनि के गर्छेस् र यति त पढिहालिस्। बिहे गरेर पनि पढ्न पाइहालिन्छ भनेर करकाप डर धम्की देखाएर सानै उमेरमा बिहे गर्न बाध्य बनाउने हाम्रो समाज छ।
परिवारले पनि सानै उमेरदेखि मनमा डरत्रास बसालेको हुन्छ तँ छोरी मान्छे होस् सर्तक भएर हिँड्नुर्छ। कोही केटा मान्छेसँग धेरै नबोल्नू, सज्जन र इमान्दार भएर हिँड्नु आफ्नो परिवारको इज्जत राख्ने काम गर्नू, कसैसँग मुख मुखे नलाग्नू भनेर छोरी मान्छेलाई सतर्क बनाउने गरिएको देखिन्छ। तर त्यही परिवारले छोरा मान्छेलाई कहिले पनि यस्ता किसिमका नियम लगाउँदैन। उसले जे गरे पनि परिवार र समाजले उसलाई छुट दिएको हुन्छ। तर त्यही समाजमा हुर्किंदै गरेको छोरीले स्वतन्त्र भएर हिँड्न नपाउने हाम्रो समाज छ। छोरी भएकै कारण सबैसँग डराएरै बस्नुपर्ने!
अहिलेको समाज तथा परिवारले छोरी मान्छे कहीँ कतै सामाजकि विकृति वा आफ्नो भविष्यको बारेमा बोल्दा पनि बोल्न नपाउने, 'छोरी मान्छे भएर पनि कति उताउली भएकी यस्तै भयो भने भोलि बिहे गरेर कसले पो लैजाला' यसलाई भन्ने गरेको पाइन्छ।
छोरी मान्छे भएर ठूलो मान्छेसँग मुखमुखै लाग्नु हुन्न भनेर हकार्ने पनि गरिन्छ।
छोरी मान्छेको पीडा उसको आफ्नो सपना हुँदैन, आफ्नो घर हुँदैन, आफ्नो थर हुँदैन, आफ्नो निर्णय हुँदैन र आफ्नो स्वतन्त्रता हुँदैन। यदि छोरीहरू आर्थिक रूपमा सक्षम छन् भने चाहिँ केही हदसम्म उनीहरूले चाहेको कुरा गर्न सक्छन् नत्र सबै रहरहरू मनमा दबाएर राख्नैपर्छ।
छोरी मान्छे बिहे गर्नको लागि मात्र ठूलो हुने हाम्रो समाज छ। आफ्नो स्वतन्त्राको लागि, सपनाको लागि, आफ्नो जीवनको लागि, कुनै स्वतन्त्र भएर निर्णय गर्नको लागि, कुनै मन लागेको ठाउँमा घुम्न जानको लागि। निर्णय गर्न पाइँदैन। अरूले भनेको कुरामा हो मा हो भन्दै बस्नुपर्छ।
घरायासी कुराहरूको निर्णय लिने कुरामा छोरीलाई अझै पनि स्वतन्त्रता छैन।
घरको कुनै पनि निर्णय लिने कुरामा सकेसम्म छोरीहरू नबोलिदिए हुन्थ्यो जस्तो गर्छन्। निर्णय लिन/दिन त परको कुरा। यी कुरामा छोरी मान्छे कहिले ठूलो नहुने खाली कलिलो उमेरमा बिहे गर्नको लागि मात्र छोरी ठूली भएको सबैले देख्ने हाम्रो समाज छ।
राम्रो अध्ययन गर्दै गरेको छोरीलाई उसको भविष्य राम्रो होस् भनेर कसैलाई चिन्ता हुँदैन ऊ राज्यको उच्च ओहदामा पुगोस् भनेर कसैलाई चिन्ता हुँदैन। उसको उज्वल भविष्य होस्, आफ्नो खुटामा उभिओस्, उच्च शिक्षा हासिल गरोस् समाजमा प्रतिष्ठित महिला बनोस् भनेर स्वयम परिवार तथा नातागोताको पनि चासो हुँदैन।
तर २०/२१ वर्षको कलिलो उमेरमा तपाईंको छोरी ठूली भइसकी, बिहे गर्ने बेला भयो राम्रो परिवारबाट कुरा आएको खण्डमा बिहे गरिदिनुपर्छ। बढेको छोरीलाई घरमा राख्दा राम्रो हुँदैन, अर्कोको घरमा जाने जात हो। छोरीको जातलाई धेरै उमेरसम्म राख्नु हुँदैन बिहे गरेर पठाइदिई हाल्नुपर्छ भनेर समाजका शिक्षित वर्गले पनि छोरी मान्छेलाई 'टार्गेट' गरेको हुन्छ।
के छोरी मान्छेको आफ्नो स्वतन्त्रा छैन?, के उसले आफ्नो भविष्य उज्वल बनाउने अधिकार छैन? उसले आफ्ना इच्छा आंकाक्षालाई कलिलो उमेर नै बन्चित गर्नुपर्ने? उसलाई उच्च शिक्षा हासिल गर्ने अधिकार छैन। कलिलो उमेरमा बिहे गरेर पठाउँदा घरपरिवार तथा समाजको बोझ हट्ने हो र? उसलाई राम्रो शिक्षा दिन आवश्यक छैन र? छोरी मान्छेले कुन उमेरमा बिहे गर्दा ठिक हुन्छ भनेर सोच्ने अधिकार स्वयम् छोरी मान्छेलाई हुँदैन र?
समाजका अनावश्यक मान्छेले तिमी ठूली भइसकेउ बिहे गर्नुपर्छ भने शब्द निकाल्नु पनि छोरी मान्छेलाई गरेको एउटा नारी हिंसा हो।
अध्ययन गरिराखेको छोरीलाई छोरी ठूली भई बिहे गरेर पठाइ हाल्नुपर्छ भने जुनसुकै मानिसलाई पनि कारबाही गर्नुपर्ने कानुनको आवश्यकता छ। सबैले छोरी मान्छेको स्वतन्त्रामा औंला उठाउन आवश्यक छैन। उसले आफ्नो भविष्यको निर्णय आफैं गर्न पाउनु पर्छ।
छोरीमाथि हुने हिंसाको मुख्य कारण पितृसत्तामक हाम्रो सामाजिक संरचना हो। यो पितृसत्ता सोच विश्वभरिका छोरीमाथि हाबी भएर बसेको छ। पुरूषको जस्तो समान योग्यता भए पनि छोरीहरू पुरूषको जस्तो अघि बढ्न सक्दैनन्। उनीहरूलाई अघि बढ्नको लागि पुरूषको भन्दा बढी योग्यताको खाँचो पर्छ।
तर छोरा मान्छेका लागि यो कुरा लागू हुँदैन। यसको अर्थ छोरी मान्छे भएपछि जन्मिँदै प्राकृतिक रूपमै समाजले निर्धारण गरेको ‘राम्रो गुण’ लिएर जन्मिनुपर्छ। सकेसम्म ‘बत्तीसै लक्षणले युक्त’ हुनुपर्छ। अचम्म त यस्ता गुण र लक्षण तोकिदिने फेरि छोराहरू अर्थात् पुरुषहरू छन्।
यसरी छोरीको कलिलो उमेरमा बिहे गरिदिँदा त्यसले समाजमा विभिन्न किसिमका सामाजिक हिंसामा वृद्धि गरेको पाइएको छ। जस्तै: आत्महत्या गर्ने, बच्चा पाउन नसक्दा कलिलो उमेर ज्यान जाने, घरेलु हिंसामा वृद्धि हुने, सम्बन्ध बिच्छेद हुने, मानव बेचबिखनमा वृद्धि हुने, विभिन्न किसिमका रोगहरू लाग्ने सोचेको कामहरू गर्न नपाउने जस्ता सामाजिक हिंसामा वृद्धि भएको विभिन्न अध्ययनहरूले जनाएको छ।
छोरीलाई तिमी आफ्नो सहजता हेर, छोरी भएकै कारण गर्न नसक्ने भन्ने केही कुरा हुँदैन, कुनै बन्देज हुँदैन, स्वतन्त्र भएर काम गर, तिमीले चाहेको कूरा पूरा गर। तिमी अघि बढ सिंगो समाजले र देशले साथ दिनेछ। आफ्नो सपना पूरा गर, इच्छा लागेको मान्छे र आफ्नो निर्णय अनुसार विवाह गर्न पाउने भन्ने साहस दिने खालको व्यवहार कहिले होला समाजमा?
नेपाली समाजमा भएको सामाजिक विकृति, कुसंस्कार जरैबाट उखाल्नको लागि हामी सबैले सबभन्दा पहिला आफ्नै घरबाट सुरूआत गर्नुपर्छ। छोरी ठूली भई भनेर गिद्दे नजर लगाउने समाजका गिदहरूलाई समाजबाट तिरस्कार गर्नुपर्दछ।
अतः हामी सबैले हातमा हात काँधमा काँध मिलाएर अगाडि बढेमा समाजमा हुने विभिन्न किसिमका सामाजिक अपराधलाई निर्मूल पार्न सक्छौं। हामी आफैंबाट आफ्नै घरबाट छोरीमाथि हुने हिंसा अन्त्य गर्ने प्रतिवद्धता व्यक्त गरौं। छोरी नै घरको बोझ हो भन्ने सोचको अन्त्य गरौं छोरीलाई घरको लक्ष्मी हो भन्ने भावनाको विकास गरौं।
(लेखक खड्का नेपाल प्रहरीका प्रहरी निरीक्षक हुन्।)