मैले चिनेको एक जना युवतीले काठमाडौंबाट अलि टाढा यात्रा गर्ने क्रममा कहिल्यै पनि उनले सार्वजनिक गाडी नचढेको र आफू सधैं आफ्नो बाबा र ब्वाई फ्रेन्डको निजी गाडीमा हिँडडुल गर्ने भन्दै निकै ठूलो-ठूलो गफ दिइहेकी थिइन्। यात्रामा उनले निकै गाह्रो परेको बताउँदै थिइन्। कैले के त कैले के भन्दै सबै जनालाई सुनाइरहेकी थिइन्।
मलाई उनको यो कुरासँग कुनै समस्या थिएन। म चुप बसें। मलाई यस्तो पनि लाग्यो कि कोही व्यक्तिमा सार्वजनिक गाडी प्रयोग गर्ने बानी हुँदैन होला, घरमा निजी साधन भएर वा अन्य कारणले गाडी प्रयोग गर्नु नपर्ने होला। संयोग भनम मैले केही दिनपछि उनलाई रत्नपार्कमा माइक्रो कुरिरहेको देखें। म छक्क परें। यसरी मैले उनलाई निरन्तर पब्लिक गाडी प्रयोग गरिरहेको पाएँ कैले कता-कैले कता।
अनि एकदिन भेटेको दिन उनलाई हिम्मत गरेर सोधें- मैले तपाईंलाई यो यो ठाउँमा गाडी कुरिरहेको देखेको थिए कता जान लाग्नुभएको थियो। सुरूमा त उनी अँध्यारो मुहार लगाएर होइन होला भन्दै थिइन् तर मैले यो यो ठाउँमा यति बेला यो ड्रेसमा भनेपछि उनले स्वीकारिन् र निलो कालो मुख लगाउँदै मेरो गाडी बिग्रेको थियो त्यही भएर हो भनिन्।
उनी लाजले पानी-पानी भइन्। यो उनको समस्या उनीभित्रको सोचसँग थियो। उनीसँगको यो आडम्बरी सोच देखेपछि मलाई अरू पनि यस्ता व्यक्तिहरूको कुराहरूको याद आयो र यो विषयमा केही कुराहरू लेख्न मन लाग्यो।
के सार्वजनिक यातायात प्रयोग गर्नु गरिबी नै हो त? आखिर समस्या कहानेर छ? के मान्छेले प्रयोग गर्ने भौतिक साधनले उसको हैसियत निर्धारण गर्छ त? सार्वजनिक गाडी चढ्दैमा लाज मान्नुपर्ने?
के भौतिक रूपमा सम्पन्न हुनु नै मानिसको सम्पन्नता त हो त?
एक जना दाइको कथा निकै रमाइलो छ। उहाँ राम्रो पैसा कमाउनुहुन्छ, राम्रो ड्रेस लगाएर हिँड्नुहुन्छ, उहाँको जीवन राम्रैसँग चलिरहेको छ। तर उहाँको एउटा समस्या छ त्यो हो उहाँसग आफ्नो निजी साधन छैन। उहाँसँग आफ्नै साधन नहुनुको कारण उहाँसँग पैसा नभएर वा किन्न नसकेर होइन, कारण हो उहाँलाई बाइक, कार चलाएर हिँड्न डर लाग्छ। तर दु:खलाग्दो कुरा उहाँ आफू पब्लिक गाडी प्रयोग गर्छु भनेर स्वीकार गर्न सधैं हिच्किचाउनु हुन्छ।
एउटा रोचक प्रसंग छ: मान्छे मरेपछि पशुपति जानुपर्ने हुन्छ। जब उहाँलाई पशुपति जानुपर्ने हुन्छ उहाँ डरले थुर-थुर काम्नुहुन्छ र कतिपय अवस्थामा उहाँ पशुपति जान मन हुँदाहुँदै पनि जानुहुन्न। उहाँ डराउनुको वा जान मन हुँदाहुँदै नजानुको कारण मान्छे गुमाएर, वा कसैको मृत्युको कारणले होइन। उहाँको डर उहाँसग आफ्नो निजी साधन नहुनु र अरूले पब्लिक साधन प्रयोग गर्दा के भनेर मूल्यांकन गर्छन् भन्ने कुरासँग हो।
उहाँका साथीभाइहरू सब जनासँग आफ्नै निजी साधन हुँदा उहाँलाई हिनताबोध हुँदोरैछ। उहाँले आफूभित्र ठूलो डर पाल्नु भएको रहेछ। यदि कसैले उहाँले सार्वजनिक यातायात प्रयोग गरेको थाहा पाए उहाँको हैसियतमाथि प्रश्न गर्छन् कि भन्ने असुरक्षा रहेछ।
मलाई उहाँको यो कुरा सुन्दा र उहाँले देखाएको व्यवहार देख्दा अचम्म लाग्यो।
निजी साधन प्रयोग गर्दैमा मानिसको हैसियत राम्रो हुने हो त? किन मान्छेले आफूलाई स्वीकार गर्न सक्दैनन् त? मान्छेले प्रयोग गर्ने भौतिक साधनले किन ल्याइरहेको छ त मानिसमा मानसिक विचलन र असुरक्षा?
मेरो एक जना साथी मलाई भेट्न आएकी थिइन्। हामी निकैबेर गफ-गाफ गरिसकेपछि छुट्टिने बेला मैले बस चढाउन लैजाँदा उनले भनिन् उनलाई लिन उनका श्रीमान आउँछन् र बसको आवश्यकता पर्दैन।
उनको यो कुरा सुनेपछी म होला भनेर फर्किएँ। तर केहीबेरपछि म त्यही बाटो जाँदा मैले उनलाई बस स्टेसनमा बस कुरिरहेको देखें र मैले बुझें उनको समस्या र उनलाई देखेपछि उनलाई अप्ठ्यारो महसुस नहोस् भनेर म फरक्क फर्किएँ नदेखेजसरी। किनकि म उनलाई हेर्न गएकी थिइनँ। म त आफ्नै कामले गएको थिएँ र उनको बस नआएर संयोगवश देखेको थिएँ बसस्टेसनमा।
अर्कोचोटि भेट्दा पनि उनले भनिन् उनलाई श्रीमानले कारमा ल्याएर छोडिदेको र लिन पनि आउने छन्। उनको त्यो कुरा मलाई पत्यार लगिरहेको थिएन र मैले कुनै प्रतिक्रिया देखाइनँ पनि। त्यो दिन पनि मैले उनलाई परसम्म पुर्याइदिएँ र फर्किएँ। त्यो दिन चाहिँ मलाई उनको आडम्बर हो कि मेरो भ्रम हो भनेर सत्यता पत्ता लगाउनु थियो।
केही मिनेटपछि, म उनी जाने बस स्टेसनमा गएर हेर्दा उनी पूरा प्याक गाडीमा झुन्डिएको पाएँ। योबाट मैले उनको खोक्रो आडम्बर छर्लङ्गै बुझें।
मेरो समस्या उनी निजी साधन प्रयोग गरून् वा पब्लिकसँग होइन। मैले उनको जीवन जिउने शैलीमा कुनै चासो नि देखाएको होइन तर उनी किन यति झूट बोलेर आफूलाई ठूलो बनाउन खोज्दैछिन् भनेर नबुझेको कुरा हो।
कुनै पनि व्यक्तिले पब्लिक साधन प्रयोग गर्दैमा उसलाई तल्लो स्तर र निजी साधन प्रयोग गर्दैमा खत्रा हैसियत भएको भन्न मिल्दैन।
यो त एउटा उदाहरण मात्र हो यस्ता निकै मान्छेहरू छन् जो खोक्रो आडम्बरमा बाँचिरहेका छन्।
मैले धेरै मान्छेहरू भेटेको छु। जसले बारम्बार भन्ने गर्छ कि आफू पब्लिक बस नचढेको र बस कता-कता लाग्छ, कता कता रोक्छ त्यो बारेमा केही थाहा नभएको। तर हास्यस्पद कुरा उनीहरूसँग आफ्नो कुनै निजी साधन भने हुँदैन। अरूले आफूलाई ठूलो मान्छे भन्दियोस् भनेर त्यस्ता धारणा व्यक्त गरेका हुन्।
मैले कैले-कैले प्रतिप्रश्न गर्ने गर्छु। उत्तरमा कतिपय भन्ने गर्छन्: ब्वाई फ्रेन्डले छोडिदिने गर्छन्। मैले नबुझेको कुरा के जान्नेदेखि नै ब्वाई फ्रेन्ड सँगै आएछन्? यस्ता खोक्रो आडम्बर देख्दा अचम्म लाग्छ।
मेरो आशय कसैको व्यक्तिगत जीवनशैलीको निन्दा गर्नु र बहस गर्नुसँग होइन। जसलाई जसरी जिउन मन लाग्छ, जसरी जीवन सहज लाग्छ त्यसरी जिओस्। आफ्नो आवश्यकता, परिवेश, आफ्नो इच्छा चाहना अनुसार जीवन जिउन पाउने मानिसको नैसर्गिक अधिकार हो।
मैले उठाउन खोजेको विषय मानिसले आफूलाई जोहो त्यहीमा नस्वीकारेर देखाउने मान्छेको खोक्रो आडम्बरको बारेमा हो।
कतिपय मान्छेहरू यस्तो नि भेटिएका छन् पब्लिक गाडी चढ्ने मानिसहरूलाई नाक खुम्चाउने, लोकल बस चढ्छ यो भनेर उसको आर्थिक अवस्थामाथि शंका गर्ने! एउटा प्रसंग नि निकै रमाइलो छ।
एक जना दाइले केटी हेर्न जाँदा केटी पक्षले हेप्छन् भनेर अरू कसैको बाइक मागेर जानु भएछ र केटीको घरमा निकै समय लागेपछि जसको बाइक मागेर लगेका थिए उसलाई कतै जान आवश्यकता परेपछि बारम्बार फोन गरेछन् जति फोनको इग्नोर गर्दा पनि निरन्तर फोन आएपछि उनी बहाना बनाएर त्यहाँबाट निस्किएर बाइक फिर्ता दिएछन्।
मैले नबुझेको कुरा कसलाई प्रभाव पार्न अरूको बाइक लिएर जानैपर्छ त? आफू जे हो त्यही किन भन्न रूचाउँदैनन् मान्छेहरू?
धेरै मान्छेहरूले यस्तो भनेको नि सुनेको छु फलाना त केही गर्न सकेन एउटा गाडी त छैन, खाली पब्लिक गाडीमा हिँड्छ। कसैले जागिर खायो भने के जागिर खायो त एउटा कार नि किन्न सकेन जस्ता धारणा निकै सुनिन्छन् अरूको बारेमा।
कतिपयले पब्लिक बस प्रयोग गर्यो भन्ने कमजोर आर्थिक हैसियत भएको भनेर मूल्यांकन गर्छन् भनेर आफ्नो वास्तविकता लुकाइरहेका हुन्छन्। यो सब हाम्रो सोचको समस्या हो।
वरिष्ठ समालोचक तथा सामाजिक चिन्तक चैतन्य मिश्र भन्छन् : समाज बुझ्न मानिसले सार्वजनिक यातायात चढ्नुपर्छ। उनको भनाइ एकदम सही लाग्छ, तर यो होइन कि समाज बुझ्नकै लागि पब्लिक गाडी चढ्नुपर्छ। मान्छेले आफ्नो अनुकूलता अनुसार साधन प्रयोग गर्ने हो।
सार्वजनिक यातायातका आफ्नै समस्या र अप्ठ्यरा छन्। तर मैले यो लेखमा उठाउन खोजेको विषय सार्वजनिक यातायातको समस्यासँग नभएर आडम्बरी सोचसँग छ।
मान्छेले अनुकूलता, सहजता, आफ्नो अवस्था अनुसार जुन साधन प्रयोग गर्दा नि अरूलाई कुनै समस्या हुनुहुँदैन। चाहे पब्लिक बस प्रयोग गरोस्, कार चलाएर हिँडोस्, बाइक चलाओस्, स्कुटी चलाओस् यो सब उसको व्यक्तिगत रोजाइमा भरपर्ने कुरा हो।
कोही मान्छे कार चढ्दैमा खत्रा मान्छे र नचढ्दैमा औकात नभएको भन्न कदापी मिल्दैन।
भौतिक स्रोत साधनको आधारमा मान्छेलाई हेर्ने दृष्टिकोणको अन्त्य हुनुपर्दछ। कोही कसैले पनि खोक्रो आडम्बरमा आफूलाई देखाउनुभन्दा यथार्थताको धरातलमा आफू जो हो त्यो भएर बाँच्ने कि?
मैले निजी साधन प्रयोग गर्ने कोही कसैको विरोध गर्न खोजेको होइन र पब्लिक साधन प्रयोग गर्नेलाई समर्थन गर्न नि खोजेको होइन।
धेरै व्यक्तिहरूले बारम्बार खोक्रो, फुस्रो धाक् लगाएको, अरूलाई होच्याएको र कतिपयले आफूमाथि हिनताबोध गरेको देखेर यो विषय उठाएको हो।
कतिपय अवस्थामा हास्यस्पद र लज्जास्पद व्यवहार देखेर लाग्यो कि यो धेरैको समस्या हो। अन्त्यमा कोही कसैलाई व्यक्तिगत रूपमा परेमा क्षमाप्रार्थी छु।