हालैमात्र हरि खड्कालाई प्रहरी सेवामा रहँदा नक्कली प्रमाणप्रत्र पेश गरी बढुवा भएको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको भ्रष्टाचार सम्बन्धी मुद्दामा अदालतले दोषी ठहर गरी पाँच हजार रुपैयाँ जरिवाना गरेको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का महिला फुटबल प्रमुख प्रशिक्षक समेत रहेका उनी माथिको यस फैसलासँगै उनका हजारौं फुटबल समर्थकहरू दुखी भएका छन्। कतिपयले राष्ट्रले गौरव गर्न लायक खेलाडी भनेको त यस्तो पो रहेछ भनेर स्वभाविक टिप्पणी गरिरहेका छन्। उनी आफै पनि कति तनावमा होलान्।
हरि खड्का नेपाली युवा जमातको लागि अपरिचित नाम होइन। नेपाली फुटबल इतिहासले बिर्सन नसक्ने नाम हो। नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान समेत रहेका उनी पुरुष टिमको लागि एक सर्वाधिक गोलकर्ता पनि हुन्। उनले अन्तर्राष्ट्रिय प्रतियोगितामा १३ गोल गरेका छन्।
२०५५ सालमा नेपाल नेपाल प्रहरीमा प्रहरी सहायक निरीक्षक पदमा नियुक्त भई पुलिस क्लबबाट लामो समय फुटबल खेलेका उनकै कप्तानीमा पुलिस क्लबले २०६३ मा सहिद स्मारक ए डिभिजन लिगको उपाधि चुमेको थियो भने २०६४ को लिग फुटबल प्रतियोगितामा उनी सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए।
चर्चित फरवार्ड रहेका उनले प्रशिक्षक र व्यवस्थापकको रुपमा केही वर्ष पुलिस टिम सम्हालेपछि उनको शैक्षिक प्रमाणपत्रमाथि भैरहेको छानविनमा सघाउन पेन्सन प्राप्त हुन लागेको अवस्थामा प्रहरी सेवाबाट राजिनामा दिएका थिए। सन् २०१५ मा राष्ट्रिय पुरुष टोलीमा सहायक प्रशिक्षक भएर काम गरेका उनले सन् २०१९ मा राष्ट्रिय महिला फुटबल टिमको मुख्य प्रशिक्षक भएका थिए। हाल उनी एसियाली फुटबल महासंघ (एएफसी) को सहयोगमा महिला फुटबल प्रमुख प्रशिक्षकको रूपमा कार्यरत छन्।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उनीमाथि झुट्टा प्रमाणपत्र पेश गरी सोही प्रमाणपत्रका आधारमा २०५५ मा खुला प्रतिस्पर्धाबाट प्रहरी सहायक निरीक्षक पदमा नियुक्ति भएको, प्रहरी सेवामा निरन्तर बहाल रही २०५९ मा प्रहरी नायब निरीक्षक पदमा बढुवा भएको र नेपाल सरकारलाई हानि-नोक्सानी पुर्याई आफू समेतलाई लाभ हुने बदनियत राखी गरेकोले उनको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०१७ भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिमको कसुर भएको अभियोग सहित विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
उनको त्यो कसूर भ्रष्टाचार हो भनेर भ्रष्टाचार नियन्त्रणको लागि विद्यमान ऐन कानुनले स्पष्ट उल्लेख गरेको तथा सोही कानुनी व्यवस्थाको आधारमा अदालतले कसूर ठहर गरेको सन्दर्भमा त्यो भ्रष्टाचार होइन भन्ने कथन पंक्तिकारको किंचित होइन। तर उनको र उनीजस्ता शैक्षिक प्रमाणपत्र पीडित अन्य खेलाडीको कथाभिन्न चाहिँ हो मात्र भन्न खोजिएको हो। यहाँ विचारणीय के छ भने हरि खड्का खेलाडी भएको कारणले प्रहरीमा भर्ना भएका हुन् कि प्रहरीमा भर्ना भएपछि खेलाडी भएका हुन्?
हामीलाई थाहै छ, २०६० को दशक अघिसम्म प्रहरी र सेनाजस्ता विभागीय टिमको नेपाली खेलकुद जगतमा राम्रै वर्चश्व थियो। अझ पुलिस र आर्मी टिमबीच फुटबल प्रतियोगिता भयो भने दर्शकहरू औधि रोमान्चित हुन्थे। आफ्नो टिम अब्बल कायम राख्न राम्रा-राम्रा खेलाडीहरू यी टिम सम्हाल्ने तत्कालीन नेतृत्वको नजरमा परिहाल्थे।
भर्ना छनौटको जिम्मेवारी लोक सेवा आयोगमा गइनसकेको तत्कालीन परिवेशमा राम्रा खेलाडीहरूलाई विभागीय टिम आफैले भर्ती गराउन सक्थ्यो। खेलाडीहरूले पनि आफ्नो सौख तथा लक्ष्य अनुरूप खेल जीवनमै भविष्य देख्न पाउँथे नै, साथै आफ्नो शिक्षा अनुरूपको पद पनि पाउँथे। नाम लिन उपयुक्त नहोला, तत्कालीन समयका कतिपय खेलाडी यसरी नै फर्जी शैक्षिक प्रमाणपत्र पेश गरेर भर्ना हुन्थे। सो मध्ये केहीले भाग्यवश लामो समय सो टिममा बिताउन पाए, केहीले हरिको जस्तै नियति भोग्न नपरोस् भनेर बीचैमा जागिर छाडे।
खेलाडीले उच्च शिक्षा हासिल गर्न हुँदैन भन्ने होइन। शिक्षा व्यक्तिगत अभिरूचिमा पनि भर पर्ने विषय हो। विश्व इतिहासलाई नियाल्ने हो भने विश्वविख्यात फुटबल खेलाडी पेलेले प्रारम्भिक विद्यालय शिक्षा समेत पूरा गरेका थिएनन्। त्यस्तै, म्याराडोनाको शैक्षिक पृष्ठभूमि समेत विद्यालय शिक्षामै सीमित थियो। हाल विश्वका चर्चित फुटबल खेलाडीहरू लियोनल मेस्सी र क्रिष्टियानो रोनाल्डोले विधालय शिक्षा समेत पूरा गरेका छैनन्। उनीहरूको फुटबल कौशलले दर्शकहरू नतमस्तक छन्। त्यहाँ कुनै फुटबल क्लब र संघ-संगठनले अनुवन्दित गर्नुपूर्व शैक्षिक प्रमाणपत्रको चाङलाई आधार मान्ने गर्दैनन्।
हरि खड्काले नक्कली प्रमाणपत्र पेश गरेर प्रहरीको फुटबल क्लबमा अनुबन्धित हुन पाउनुपर्छ भन्न खोजेको कदापि होइन। तर सवाल उनमा रहेको फुटबल खेलको निपुणता देखेरै प्रहरीमा अनुवन्दित गराउन आतुर तत्कालीन नेतृत्व उनीजस्ता खेलाडीलाई भर्ना गर्न बेग्लै मापदण्ड निर्धारण गर्न किन अग्रसर भएनन्? भन्ने हो।
काठमाडौँमा बाल्यकाल बिताएका उनले भारतको उत्तर प्रदेशबाट अध्ययन पूरा गरेको तथ्य माथिको विश्वासनियतामा तत्कालीन सम्बन्धित पदाधिकारीहरू अनभिज्ञ थिए होलान् त? खेलमा मात्र रमाउने हरिलाई नक्कली शैक्षिक प्रमाणपत्रको खोस्टा बटुलिदिने चाँजोपाँजो कसले मिलायो? निश्चय नै चमत्कारिक खेल प्रदर्शन गर्न सक्ने उनको खुबी देखेरै यी सबै तानावानाको पनि व्यवस्थापन भयो भन्दा अतिशयोक्ति नहोला।
प्रहरी सेवामा प्रहरी सहायक निरीक्षक (असई) पदमा बहाल रहेको व्यक्तिले कुनै प्रहरी चौकीको नेतृत्व गर्न पाँउछ र प्रहरी नायब निरीक्षक (सई) दर्जाको व्यक्तिले ईलाका प्रहरी कार्यालयको नेतृत्व गर्ने अवसर पाँउछ। तर हरि खड्काले आफ्नो झण्डै दुई दशक लामो प्रहरी जीवनमा कहिल्यै त्यस्तो अवसर पाएनन्, न त त्यस्तो कानुन कार्यान्वयन गर्ने जिम्मेवारीमा उनको आकांक्षा नै रह्यो। उनले पदको दुरूपयोग कहिल्यै गरेनन्, न उनले नेपाल सरकारलाई हानी नोक्सानी पुग्ने कुनै भ्रष्टाचारजन्य कुनै कार्य नै गरे।
उनी सबैको प्रिय बनेरै रहे, युवा खेलाडी जमातको आदर्शको रूपमा रहे, प्रायः सबै क्षण प्रहरीको बर्दी नलगाएरै पुलिस क्लब, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा भरपुर योगदान पुर्याए, फुटबल खेलाडीको रूपमा। उनको कौशलतापूर्ण खेलमा कहिल्यै त्यो नक्कली प्रमाणपत्रले टेवा पुर्याएन। बरू उनको सहृदयी, मिलनसार, मेहनती तथा सबैलाई उत्प्रेरणा दिन सक्ने स्वभावले फुटबल जीवनबाट सन्यास लिइसकेपछि पनि उनलाई उत्कृष्ट कोचमा दर्ज गरायो।
नेपालको संविधान २०७२ को धारा ५१ मा व्यवस्था गरिएको राज्यका नीतिहरू अन्तर्गत (ञ) सामाजिक न्याय र समावेशीकरण सम्बन्धी नीतिको (७) मा 'राष्ट्रिय विकासमा युवा सहभागिता अभिवृद्धि गर्दै राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारहरूको पूर्ण उपयोगको वातावरण सिर्जना गर्ने, युवाको सशक्तिकरण र विकासका लागि शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका क्षेत्रमा विशेष अवसर प्रदान गर्दै व्यक्तित्व विकास गर्ने तथा राज्यको सर्वाङ्गीण विकासमा योगदानका लागि उपयुक्त अवसर प्रदान गर्ने' उल्लेख छ। संविधानमा व्यवस्था भए बमोजिमको अवसर श्रृजना गर्नु राज्यको दायित्व पनि हो।
यहाँ हरि खड्का एक्लैको सवाल उठाउन खोजिएको होइन। उनी त एउटा प्रतिनिधि पात्रमात्र हुन्। यसै घटनाबाट उनी विचलित हुनुपर्ने देखिन्न। उनले नेपाली फुटबलको स्तरोन्नतिमा अझ धेरै योगदान पुर्याउने अपेक्षा छ। उनीजस्तै साबित्रा भण्डारी 'साम्बा', मीरा राईजस्ता धेरै खेलाडी जसले आफ्नो जीवन नै खेलकुदमा उत्सर्ग गरिरहेका छन्, खेलकुद क्षेत्रबाट नै आफ्नो पहिचान बनाएका छन्, राष्ट्रिय-अन्तर्राष्ट्रिय ख्याती आर्जन गरेको छन्, उनीहरूले राज्यबाट प्राप्त हुने सामान्य अवसर पाउन पनि नक्कली प्रमाणपत्रहरूको जोहो गर्नुपर्ने? त्यसैले यो दोष हरि खड्कामाथि मात्र थोपर्न मिल्दैन।
यो अवस्थाको सर्जक हाम्रो प्रणाली पनि हो, हाम्रो दयनीय व्यवस्थापकीय मापदण्डको हो। होइन भने एउटा खेलाडीको स्तर निर्धारण उसको खेलको गुणस्तरीयताबाट निर्धारण गरिनुपर्ने हो न कि नक्कली नै भए नि प्रमाणपत्रबाट। माछालाई रूख चढ्न लगाएर उसको ल्याकत जाँच्ने परिपाटी रहेसम्म खेल जगतमा प्रतिवद्ध हाम्रा खेलाडीले हरि खड्काको जस्तो अपमानजनक भोगाइबाट छुटकारा पाउन सक्दैनन्।