बालबालिकाको निमित्त गैर-सरकारी संस्थाहरूको महासंघले स्थानीय स्तरमा बालअधिकारको क्षेत्रमा काम गर्ने स्वयसेवीहरूको समूह बनाउँदै थियो। म महासंघको अध्यक्षको रुपमा कार्यरत। यही क्रममा सप्तरीकी सलिताकुमारी सदा समाजिक संजालमार्फत मसँग जोडिइन्।
सलिता आफै मुसहर जातिको महिला भएको कारण पनि मुसहर महिला र बालबालिकाको अवस्थाको बारेमा धेरै संवादहरू हुन्थ्यो। मेरो प्रश्नै प्रश्नको खातले होला 'तपाईं बस्तीमै आउनुहोस् आफ्नै आँखाले देख्नु हुनेछ, प्रत्यक्ष भेटेर कुरा गर्दा झन् बढी यथार्थ सूचनाहरू पाउनु हुनेछ र नयाँ अनुभव पनि गर्न सक्नुहुनेछ' सलिताको भनाइ थियो।
माघी नजिकिँदै थियो। कुरैकुरामा सलितालाई सोधेँ 'मुसहर जातिले माघीलाई कति महत्वका साथ मनाउँछन्?'
उनले एक महत्वपूर्ण चाँड भएको बताइन्। यही मौकामा माघीमा सहभागी हुने मेरो इच्छा सुनाएँ।
'हामीकहाँ आउनुस् न सर' उनले दिएको निमन्त्रणालाई स्वीकार्दै पुस ३० गते शुक्रबार बिहान सप्तरीको अमाहास्थित मुसहर बस्ती तिर हिँडेँ।
विपी राजमार्गको नागबेली सडक, सडक किनाराका सुनौलो तोरी बारी अनि कोशी किनाराको रमणीय दृश्यहरू आँखामा कैद गर्दै ड्राइभ गर्दा एक्लो महसुस भएन। म सात घन्टाको ड्राइभमा अमाहा पुगेँ जहाँ सलिता बाटोमा कुरिरहेकी थिइन्।
'समाजिक संजालमा चिनेको, प्रत्यक्ष भेट नभएको, सहरमा बस्ने व्यक्ति झुपडी बस्ती त्यसमा पनि दलितहरूसँग बस्न आउनेछन् भन्ने विश्वास नै थिएन तर पनि एक दुई प्रतिशत विश्वासको साथ बाटोमा कुरेको थिएँ,' आश्चर्य मान्दै पहिलो भेटमै निर्धक्क सुनाइन् सलिताले।
उनको अनुहार हेरेँ, मुसुक्क हाँस्दै गाडीमा बस्न र घर जाने बाटो देखाउन अनुरोध गरेँ। उनी लाजले मुस्कुराइन्।
समाजिक संजालमार्फत चिनेको मानिससँगको पहिलो भेट भएकोले होला कारको अगाडि बस्न उनलाई असहज लागेको महसुस गरेँ। झण्डै ३० मिनेटमा हामी उनको घरमा पुग्यौं।
मैले गाडी रोकेँ, बस्तीका ६/७ जना मानिसहरू मेरो कार घरसम्म पुर्याउन बाटो बनाइरहेका रहेछन्। 'मैले कार बाटोमा राख्छु, जम्मा दुई रात न हो' आग्रह गरेँ तर मेरो सुनवाई भएन। कारले उहाँहरूको घरको आँगनमा बास बस्यो।
मलाई सलिताको साहस, त्यो खुला व्यवहार देखेर अति श्रद्धा लाग्यो। केटी मान्छेले सामाजिक संजालबाट चिनेको व्यक्तिलाई निमन्त्रणा दिनु र घरमा लिएर जानु हाम्रो समाजमा आफैमा सजिलो थिएन। उनीमात्र होइन उनको परिवार पनि सहज रहेछन्।
सलिताको अनुरोध थियो- 'माटाको झुप्रो, झुप्रो भित्र गाई, सुंगुरहरूको गोठ, यताउता छरिएको गाईभैँसीको मल र गुइँठाहरूको बीचमा हामी सुत्छौं। तपाईंलाई शौचालय असहज हुनसक्छ। त्यसकारण बेलुका होटेलमै सुत्नुहोला'
तीन वर्ष भएछ यो बस्तीमा शौचालय घरघरमा बनाएको तर शौचालय न सफा थियो न उचित प्रयोग। शौचालय नै रोग सर्ने माध्यम हुने होकि भन्ने डर देखिन्थ्यो। तर शौच खुल्ला चौरबाट शौचालयसम्म आउनु आफैमा उदाहरणीय थियो।
मैले सलितालाई समुदायमै रात बिताउन पाउने भएमात्र आउँछु भनेको थिएँ। उनीहरूसँग बस्न त कुनै आपत्ती थिएन तर हामी सहरिया भनाउँदाहरू बस्न सक्दैनन् भन्ने बुझाइ रहेछ।
सलिताले उनको परिवारसँग परिचय गराइन्। उनको बुबा भने माघीको लागि सामान जुटाउन बिहानै निस्केका रहेछन्। घरमा उनी, उनको बुबाआमा, चार बहिनीहरू, माइली बहिनीको सानो छोरा र एक भाइ रहेछन्।
सलिताले मेरो सुत्ने कोठा देखाइन्। उनको बुबा र म त्यही कोठामा सुत्ने जानकारी दिइन्। रातको झण्डै ८ बजेको थियो। सलिताको बहिनी शर्मिलाले 'भन्सा बैनगेलई खाइला आबू' मैथलीमा खानाको लागि डाकिन्।
जाडोबाट बाच्नको लागि प्रत्येक घरमा बिहान बेलुका आँगनको बीचमा घुर बालेर ताप्ने दैनिकी। पराल र दाउरा बालेर घुर ताप्दा धुवाँको मुस्लो निस्किएको हुन्थ्यो। मलाई धुवाँको मुस्लोको गन्ध र धुवाँले असहज भएको थियो। यो धुवाँले वातावरण अति प्रदुषित बनाएको थियो।
सलिताको आमा बोल्न लजाउनु भयो सायद, म मैथिली बोल्न नसक्ने। नयाँ भएर होला। मैले उहाँहरूसँगै खाना खाने अनुरोध गरेँ र अँगेनाको छेउमा सबै परिवारसँगै खाना खाएँ।
भोलिपल्ट माघी थियो। माघीको लागि स्पेसल विभिन्न प्रकारको लड्डुको तयारी हुँदै थियो। म पनि लड्डु बनाउन सहभागी भएँ। लड्ड् बनाएको टिकटक बनाउन सहयोग गरेँ र सलिताको आमालाई देखाएँ। भिडिओ हेर्दा उनको मुहारमा देखिएको त्यो हाँसो, खुसी अदभुत थियो जुन कहिल्ये बिर्सन सकिँदैन।
सलिता, शर्मिला र आमासँगको त्यो एक घन्टाको बसाइले मेरो जीवन प्रतिको सुख र दुःखको सोचाइ नै परिवर्तन भएको थियो। कुनै पनि भौतिक वस्तुले भन्दा कयौँ गुणा सुख मनको शान्तिले दिनेरहेछ।
सलिताको भान्सासँग जोडिएको अर्को घरबाट झगडाको आवाज आइरहेको थियो। 'सर यस्तै हो, पुरुषहरू रक्सी धोकेर आउने अनि घरमा श्रीमतीसँग झगडा गर्ने, दुःख दिने आजसम्म पनि निरन्तर छ,' सलिताले दुःख मनाउ गरिन्।
सलिताले उनीहरूलाई मैथिलीमा 'हमरा घर पुगैको छै यहाँ सब झगडा नैकरु न' भन्दै झगडा नगर्न अनुरोध गरिन्। उनीहरूबीच केही बेर चर्काचर्की पनि पर्यो। मैले छोडिदिनुहोस् भनेँ, विस्तारै झगडाको आवाज कम हुँदै गयो।
घरपरिवारको पुरै जिम्मेवारी बोकेर होला सलिता गम्भीर, परिपक्व, साहसी, कामकाजी रहिछन्।
उनको आँगनमा मोटरसाइकल राखिएको थियो। मैले मोटरसाइकलको बारेमा सोधेँ। 'मेरो हो नि सर, भोलि म तपाईंलाई राखेर कुदाउला नि हुन्छ?' एक सासमा हाँस्दै भनिन्।
'सबै केटीहरूले स्कुटी चलाउँछन् तर तपाईंको त बाइक रहेछ?' मेरो यो प्रश्नमा उनले तुरुन्तै जवाफ दिइन्, 'पुरुषभन्दा महिला केही कुरामा कम हुँदैनन् सर। मलाई महिला र पुरुषको समाजिक विभेदसँग लड्नु छ।'
साँच्चै नै महिला र पुरुषको विभेद त समाजले बनाएको हो। महिलाले गर्न नसक्ने त केही छैन बरु प्रकृतिले नै पुरुषलाई सन्तान कोखमा राख्न नसक्ने गरी विभेद गरेको छ। उनको यो विचार गहिरो र परिवर्तनगामी थियो। हुन पनि उनी सर्ट-पाइन्ट लगाउने, मोटरसाइकल कुदाउने, २६ वर्षसम्म पनि विवाह नगरी परिवारको जिम्मेवारी बोकेकी साहसिली महिला हुन्।
३५ घरधुरी रहेको अमाह बस्तीमा कुल १८२ मुसहरहरू बस्दा रहेछन्। त्यसमा महिला ८०, पुरुष ४९ जना र बालबालिकाहरू ५३ जना रहेछन्। मलाई दुःख त त्यो बेला भएँ जब सलिताले त्यो बस्तीमा ६० नाघेका बुढाबुढी नभएको बताइन्।
चरम गरिबीले रोग लाग्दा समयमा उपचार गर्न नसक्नु, कुपोषण, सरसफाईको लापरबाही, छिटो विवाह गरी सन्तान जन्माउने र पुरुषहरूले अत्याधिक रक्सी सेवनले अकालमै मृत्यु हुँदा बुढाबुढी हुँदैन रहेछन्।
पुरुषहरू नागरकिता बनाएपछि पढाइ बीचमै छाडेर पैसा कमाउन ऋण काढ्न सक्नेहरू खाडी मुलुक जाने र पैसाको जोहो गर्न नसक्नेहरू भारतमा श्रमको लागि जाने रहेछन्। त्यहाँको औसत महिलाहरूको विवाह उमेर १६ र पुरुषको १८ वर्ष रहेछ।
१८ वर्षसम्म पनि विवाह नगरी बस्ने केटीहरू एकाध मात्र भेटिने रहेछ। 'जम्मा तीन जना केटीहरू मात्र छन् सर यहाँ १८ वर्ष काटेका तर विवाह नगरी बसेका,' सलिताको जवाफ थियो।
मुख्यतः उमेर ढिला भएपछि विवाह गर्ने केटा नपाउने र दाइजो झन् बढी लाग्ने हुनाले १६/१७ वर्ष भित्रै परिवारले विवाह गरिदिने रहेछन्।
सामाजिक संजालबाट १४/१५ वर्षमै प्रेम गरी स्कुल नै छोडेर विवाह गर्ने घटना अत्याधिक बढेको रहेछ। सामाजिक संजालले झन् कम उमेरमा विवाह गर्ने चलनलाई बढाएको रहेछ।
रातको १० बज्दासम्म सलिताको बुबा आउनु भएको थिएन। 'यस्तै हो सर, बुबा ढिला नै आउनु हुन्छ र पिएर पनि,' सलिताको जवाफ थियो। परिवारसँग बिदा लिएँ र सुत्ने कोठा तिर गएँ। दिनभरिको ड्राइभले होला थाकेको थिएँ।
भोलि माघी मनाउने, मुसहरको अन्तर्राष्ट्रिय भुइया दिवशमा सहभागी हुने योजना सलिताले सुनाएकी थिइन्। म उत्साहित थिएँ नयाँ अनुभवको लागि। मलाई त्यो माटाको झुप्रो दरबार महसुस भएको थियो। कतिखेर निदाए पत्तो नै पाइनँ।