मैले कतिपय ठाउँमा कसैको बिहे भयो अथवा कसैको बिहेको कुरा चल्यो भने धेरै जना एकै ठाँउमा जम्मा भएर 'ओहो! फलानाले त यति दाइजो दिने भएछ। उसका माइती त धनी रहेछन्' यी यस्तै कुराहरू चलिरहेको देख्छु/सुन्छु।
गुनगुन पारामा के-के दिए दाइजो? केटी कस्ती छे? भन्ने चियो तथा चासो रहन्छ। यस्ता कुराहरूले हाम्रो समाजमा विकृति मात्रै हैन, कतिको ज्यान पनि गएका समाचार सुने/देखेका छौँ।
बुहारी पनि कसैका छोरी हुन्। उनीहरूको पनि खुसीले बाँच्ने इच्छा हुन्छ। पहिलाको जस्तो जमना अहिले छैन जहाँ अरुको दबाबमा बस्ने, किचकिच सहने। किनकि उनीहरूको पनि स्वतन्त्र रुपमा बाँच्ने अधिकार हुन्छ। छोरीलाई दाइजो हैन शिक्षा दिने गर्नुस्, उनी आफै आत्मनिर्भर बन्न चाहन्छिन्।
छोरी पढाऔँ, दाइजो हटाऔँ, छोरी बचाऔँ भन्ने कुरामा नारामा मात्रै सीमित छ। हाम्रो समाजको यस्ता मुद्दामा अझै पनि ध्यान जान सकेको छैन। एउटी नारी आफ्नो आमाबुबा छाडेर आएकी हुन्छिन्, योभन्दा ठूलो दाइजो के हुन सक्छ र?
छोरीलाई बाबाआमाको काखबाट छुटाएर अर्कैको घरमा सुम्पिएर पनि दाइजोको नाम जप्दै हिँड्ने हाम्रो समाज अझै पनि परिवर्तन हुन सकेन।
दैनिक जीवनमा चाहिने घरेलु सामानहरू जस्तैः फर्निचर, खाना पकाउने भाँडाकुडा, लत्ताकपडाहरू, सुन, चाँदी, हिरा, मोतीका महँगा गरगहना दाइजोमा लिने चलन छ। धनी घरका छोरीहरूले त दाइजो दिन सक्लान्, बिहे गर्लान् तर यो समयमा गरिबका छोरीहरूले के गर्ने?
समय क्रमसँगै आधुनिक सुविधाका सामग्रीहरू जस्तैः टिभी, मोटरसाइकल, कम्प्युटर, कार लगायतका सामग्रीहरू पनि दाइजोको रुपमा दिने चलन बढेको छ। केटा पक्षको समस्या भनेकै के-के गरगहना दिने हो भन्ने अनि केटीको तिर के-के समान दिने होला? यसरी नै समाज पछाडि तिर धकेलिएको छ।
आजको एक्काइसौँ शताब्दीमा पनि हाम्रो देशका महिला दाइजो, बोक्सी, छाउपडी, बहुपत्नि लगायतका कुप्रथा तथा अन्धविश्वासीबाट घरेलु हिंसा, यौनजन्य हिंसा तथा बलात्कारका साथै शारीरिक तथा मानसिक हिंसाको शिकार भइरहेका छन्।
जसले गर्दा नेपाली नारीहरूलाई सम्मानपूर्वक बाँच्न पाउने आधारभूत मानव अधिकारबाट वञ्चित गरिरहेको छ। अहिलेको अवस्थामा पनि दाइजोको पछाडि दौडेको हाम्रो समाजबाट के अपेक्षा गर्ने?
आफ्नी छोरी, दिदी, बहिनीलाई विवाह गरिदिँदा केटाको नालिबेली सोध्ने अनि सुखले पाल्न सक्ने र जागिर भए बिहे गर्न सहमती हुने हाम्रो समाज आफ्नो छोराले मन पराएर बिहे गर्दा बुहारीलाई 'दु:ख सुख त झेल्नु त पर्यो नि, आफैले रोजेर आएपछि जे पनि सहनु पर्यो' भन्ने व्यवहार यथावत नै छ।
हाम्रो समाजमा दाइजो दिने र लिने चलन निकै पहिलेदेखि नै चलिआएको हो। तर यो चलनले नेपाली समाजमा दिन प्रतिदिन नकारात्मक रुप लिएको देखिन्छ। आफ्नी छोरी बहिनी, दिदी, भान्जीलाई सुखले जीवन कटाएको हेर्न चाहने समाज अर्काकी छोरी बुहारीको रुपमा आएपछि 'भनेजस्तो पनि सहनु पर्छ, हामीहरूले कति दु:ख भोग्यौँ' भन्न मिल्छ? आखिर यो समाज परिवर्तन कसरी हुन्छ?
समयको परिवर्तनसँगै दाइजो प्रथा कतै स्वेच्छिक छ त कतै बाध्यात्मक रूपमा चलिरहेको छ। दाइजो प्रथाकै कारण समाजमा निकै समस्याहरू देखा परेका छन्। केटाहरूले दाइजो पाउने आशले दुई/तीन वटा बिहे गरेको घटनाहरू पनि भेटिन्छ।
दाइजोलाई हाम्रो समाजमा उपहारको रुपमा पनि लिने गरिन्छ। उपहार त दिए पनि नदिए पनि हुन्छ। तर, दाइजो त सदियौँदेखि हाम्रो समाजमा एक बाध्यात्मक कुप्रथाको रुपमा जरा गाडेको छ।
विवाह जीवनको एक महत्वपूर्ण पाटो हो। हर सुख दुःखमा साथ दिने र सहयोग गर्ने मान्छे भेटियोस् भनेर विवाह गरिन्छ। दाइजो दिनु र लिनु अपराध हो भन्ने थाहा हुँदाहुँदै पनि अहिलेको पुँजीवादी समाजमा यो बढिरहेको पाइएको छ।
दाइजोका कारण सयौं बिहे असफल हुन्छन् र चेलिबेटिमाथि महिला हिंसा हुन्छ। तराई मधेसका कतिपय ठाउँहरूमा त केटाको पढाइ र जागिरलाई दाइजोको रुपमा पनि लिइएको पाइन्छ। जति धेरै पढाइ वा जागिरको कमाइ, उति नै धेरै दाइजो दिनुपर्ने चलन छ।
कतिपय महिलाहरू विवाहपछि दाइजो नल्याएको बहानामा कुटपिट, बहुविवाह लगायतका हिंसामा पर्ने गरेका छन्। यही प्रथाका कारण समाजमा अन्य थुप्रै सामाजिक कुरीतिहरू निम्तिएका छन्।
दाइजो पाइने आशामा कति पुरूषहरूले दोस्रो, तेस्रो विवाह गर्ने गरेका छन्। हुने खाने परिवारले त स्वेच्छाले दाइजो देलान् र त्यसमा कसैको आपत्ति पनि नहोला। तर, यसलाई बाध्यता बनाइँदा गरिब निमुखा परिवारले भने के गर्ने त? दाइजो करकाप र डरले दिने नै होइन वा छोरी-बुहारीलाई दाइजो निहुँमा मोलमोलाई गर्नै हुँदैन।
कतिपय पुरूषले त दाइजो नल्याएको भन्दै आफ्नी श्रीमती, बुहारीलाई तथानाम गाली गर्ने, मानसिक तनाव दिने, कुटपिट गर्ने र घरबाटै निकाल्ने, जलाउने पनि गर्छन्। हामीलाई तातो तेलले पोल्दा त एकदम गाह्रो हुन्छ भने जिउँदो जलाउने घटनाहरू त कल्पना गर्दा नि गाह्रो हुन्छ।
हामीले छोरीको पढाइ, आत्मनिर्भर तथा सुरक्षामा ध्यान दिनु पर्दछ। एउटी नारीले आफ्नो जन्मघर, जन्मदातालाई छाडेर आएकी हुन्छे, योभन्दा ठूलो दाइजो के हुन सक्छ र? जर्बजस्ती दाइजो लिनु भनेको डकैती गर्नु सरह हुन्छ।
समय समयमा शिक्षित बुहारीहरू पनि अपेक्षित दाइजो नल्याएका कारण हिंसामा परेका मृत्युका घटनासम्म आउने गर्छन्। जवान छोरीलाई घरमा राख्नु भन्दा दाइजो दिएर विवाह गर्नु नै उत्तम हो भन्ने सोचाइका कारण पनि यस्ता घटना दिनदिनै बढिरहेका हुन्।
विवाहित छोरीलाई खाली हात पठाउँदा समाजले के भन्ला अनि केटाको घरमा छोरीलाई के भन्लान् भन्ने चिन्ताबाट मुक्त हुन पनि दाइजो दिने गरिन्छ। कतिपयले त ऋण खोजेर, जग्गा बेचेरै भए पनि दाइजो दिने गर्छन्। यसले गर्दा समाजमा असमानता, उत्पीडन, हत्या तथा हिंसाजस्ता जघन्य सामाजिक अपराधलाई पनि टेवा पुर्याएको छ।
वर्तमान शिक्षाले दाइजो लिनु-दिनु सामाजिक अपराध हो भन्ने चेतना दिन सकेको छैन। यद्यपि, शिक्षा र चेतनाको अभावका कारण दाइजो प्रथा चलेको भनिए पनि शिक्षित र सम्पन्न परिवारमै यसको विकृति बढ्दै गएको छ।
२१ औं शताब्दीका हामी महिलाहरूले दाइजो लिएर होइन, अब्बल भएर अगाडि बढ्नुपर्छ। दाइजोलाई शानका रूपमा नलिएर यसलाई निरुत्साहित गर्नका लागि सदैव अगाडि बढ्नुपर्छ।
आज हामी नागरिकले दाइजो प्रथाले निम्त्याएका नकारात्मक पाटाहरूका बारेमा संवेदनशील हुन जरुरी छ। कुनै पनि चलन राम्रै उद्देश्यका साथ सुरु भए पनि यसको सही व्यवस्थापन गर्न नसक्दा समाजमा विकृति फैलिएको हो। दाइजो प्रथा नियन्त्रणका लागि व्यक्ति, परिवार र समाजको सोचमा सकारात्मक परिवर्तन ल्याउन आवश्यक छ।
संविधान र विभिन्न कानुनले यो विषयलाई समेटे पनि कार्यान्वयन पक्ष फितलो र समाजको रीतिथिति यस्तै छ भनेर साथ दिँदा समस्या दिन प्रतिदिन विकराल बनिरहेको पनि हुनसक्छ।
दाइजो समाधानका लागि सबैभन्दा कडा कानुन बनाएर त्यसको पूर्ण कार्यान्वयनका लागि विशेष पहल गर्नुपर्छ। छोरीलाई दाइजो होइन, शिक्षा दिऊँ भनेर सबैतिर थप चेतना फैलाउन जरुरी छ।
दाइजो प्रथा विकराल बनिरहनुमा अशिक्षा, परम्परागत सोच, सामाजिक संस्कार, अन्धविश्वास, बालविवाह, बेरोजगारी, लैङ्गिक असमानता तथा विभेद मुख्य कारकहरू रहेकाले यसको अन्त्यका लागि सबै सरोकारवाला निकाय सजग र संवेदनशील बन्न आवश्यक भए जस्तो लाग्छ मलाई।
यो सम्झनुस् कि तपाईंका छोरी, दिदी, बहिनीलाई अर्कैको हातमा सुम्पिँदा जसरी जसरी सुख र खुसीले जीवन काटेको तपाईंलाई हेर्न मन छ त्यसैगरी अर्काकी छोरी, बहिनी, दिदीलाई पनि मन हुन्छ। त्यसैले बुहारी पनि घरको एउटा सदस्य हुन्, उनको पनि उचित मूल्यांकन र महत्व दिनुहोस्।