बिहान सबेरै नानीबाबुलाई बससम्म छोड्न जाँदै थिएँ। एउटा पहेलो रंगको ठूलो स्कुल बस सडकमा आउँदै गरेको देखेँ। त्यस बसको पछाडिको ठूलो सिसामा यो हरफ लेखिएको थियो-
'सामुदायिक स्कुललाई माया गरौं- ट्रस्ट कम्युनिटी स्कुल!'
यो बसमा लेखिएको भनाइ देखेर आँखा रसाए। आजभन्दा ४५ वर्ष पहिले स्कुलमा आँपको बोटमुनि बसेर पढ्दै गर्दा सरलाई 'मे आई कम इन सर' नभनेको भनेर पिटाइ खाएको दिनको याद आयो। यो पिटाइ मेरै लागि थियो तर सरलाई पिटाइबाट बाल मानसपटलमा के असर पर्छ भन्ने जानकारी थिएन होला। सायद थाहा भएको भए उहाँले मलाई पिट्नु हुन्थेन होला।
उहाँका पिटाइ सार्थक थिए। उहाँहरू जस्ता सरहरूको मेहनतले मलाई यहाँसम्म पु्र्यायो। हुन त मसँग मनग्य पैसा छैन न त पावर नै। तर पनि उहाँले सिकाएको बाटो मलाई प्रिय छ जसमा सादा जीवन उच्च विचार छ।
नानीले सोधी, 'बाबा, सरलाई भेट्नु भयो? अनि कुरा गर्नुभयो?' म निःशब्द भएँ। नानी बारम्बार भन्ने गर्थी।
म हरेक दिन उसलाई स्कुलको बससम्म पुर्याउन आउँदा उसको करिब आठ किलोको झोला बोकिदिन्थेँ। बससम्म आउँदा त मैले उसको पीडा आफू लिन्थेँ तर विचरी स्कुलबाट फर्कँदा र बसबाट ओर्लेर घरसम्म पुग्दा त्यो झोला सकि-नसकी आफै बोक्थी। किनकि त्यहाँ 'झोला गह्रुंगो भयो, बोकिदिनुस् न' भन्ने बाबुआमा थिएनन्।
म स्कुल पुगेँ। पीडा सर-मिसलाई बताएँ तर उहाँहरू पनि नाजवाफ हुनुहुन्थ्यो। तर मैले भेट्न पर्ने, भन्न पर्ने मानिस भेट्न सकिनँ किनकि उहाँलाई यस्ता सानातिना विषयमा सोच्ने फुर्सद थिएन वा उहाँको दिमागसम्म यो कुरा पुगेको छैन। अर्थात् उहाँले जानी बुझी बेवास्ता गर्नु भएको छ वा यो कुराले उहाँलाई घाटा हुन्छ।
म बुझ्न सकिरहेको थिइनँ तर मलाई सधैँ याद हुन्छ कि हामी स्कुल पढ्दा झोला नभएर हातमै किताब कापी बोकेर जान्थ्यौं भलै हामीसँग त्योबेला टिफिन र पानी भने हुन्थेन। त्यही भएर होकि हल्का लाग्थ्यो। आज त नानीको ब्यागमा टिफिन, पानी, किताब, कापी, डायरी, पेन्सिल बक्स यावत् कुरा भएर होला म केवल आफैलाई प्रश्न गर्छु? यो झोला किन यति गह्रुंगो भो भनेर सोध्ने, खोज्ने, बोल्ने ताकत मेरो देशको प्रजातन्त्रमा छैन।
नानीको गह्रुंगो झोलाको बारेमा घरमा पनि परिवारभित्र धेरै बहस भए तर उपाय छैन। एक/दुई पटक स्कुलमा रिजल्ट लिन जाँदा हिम्मत गरेर म्याडमसँग बोल्ने दुस्साहस गरेँ, 'म्याडम किताब कापी केही स्कुलमै र्याकमा राख्न मिल्दैन?'
म्याडमले उत्तर दिन सक्नु भएन, मैले विवशता बुझेँ।
यही बिषयमा बाबु जो नानीसँग त्यही स्कुलमा पढ्थ्यो ऊसँग कुरा गर्दा उसले किताब कापी स्कुलमा राख्दा साथीहरूले च्यात्छन्, हराउँछ ,चोर्छन् भन्ने तर्क राख्यो। मेरो मनमा लाग्यो यो गह्रुंगो झोलाको समस्या समाधान नहुने खालको हो त कि स्कुलको नभई प्रणालीको समस्या हो? अनि कामबाट घर फर्कने बेलामा स्कुलबाट फर्कँदै गरेका नानीहरूलाई नियालेर तिनीहरूको झोला हेरेँ, हालत उही छ। म विश्वस्त भएँ कि यो नेपालकै समस्या रहेछ।
नेपालका करिब ४० लाख बालबालिकाहरू मध्ये स्कुल जाने करिब ३० लाखमा यो समस्या होला कि नहोला? तर पनि यो समस्या मलाई गम्भीर लाग्यो। म हरेक दिन नानीको यो समस्या बोकेर हिँडिरहेको छु। म एक नाजवाफ, कायर, लाछी, अयोग्य, गैरजिम्मेवार बाबु हुँ। अब त लाग्छ यो समस्या कहिल्यै समाधान हुँदैन।
अस्तिमात्र एक आफन्तको घरमा गएको थिएँ। कक्षा एकमा पढ्ने बाबुकी आमाले 'म त बाबुको स्कुल सार्ने किनकि स्कुलले होमवर्क दिन्न, किताब-कापी बोक्न पर्दैन, उतै स्कुलमा राख्छ।'
अब मेरो मनमा कुरा खेल्छ, यो ठिक कि त्यो ठिक? अर्थात् गह्रौं झोला या सबै किताब कापी स्कुलमै राख्ने? म द्विविधामा छु। तर मलाई अझै पनि विश्वास छ यो भारी झोलाको विषयवस्तु कुनै दिन संसदको कार्य सूचीमा नपरोस्।
एकदिन नानीको झोलाको कुरालाई स्कुलको अभिभावक दिवसमा राख्ने हिम्मत गरेर विद्यालयमा गएँ। घन्टौँ स्कुलको प्रधानाध्यापकको एकोहोरो भाषण भयो तर अभिभावक सुन्ने परिपाटी थिएन। निराश भएर फर्किएँ।
कलिला हात र ढाडले मक्किने गरी बोकेको झोलाले के परिणाम ल्याउला हेर्न बाँकी छ। तथापि त्यो अगावै नानीलाई हड्डीको डाक्टरकोमा नाम लेखाउन नपरोस् भन्ने कामना गर्दछु।
स्कुलले नबुझेको बाल मस्तिष्क, बाल पीडा, बाल मनोविज्ञान हामीले बुझ्न सकिन्न निश्चय नै। तर बाहिरबाट झट्ट हेर्दा नै अस्वभाविक लाग्ने गह्रुंगो झोलाको कहानी न त स्कुललाई बोध छ, न त मन्त्रालयलाई, न शिक्षा विभागलाई नै पत्तो छ।
प्रसिद्ध बेलायती कवि वडस्वर्थका शब्दमा बालबालिकाहरू मानिसका पिता हुन् तर हामी हाम्रो समाज बालबालिकाहरूलाई सुन्दैनौं चाहे वर्तमान खुला समाज या विगतको बन्द परिवेश, यो निरन्तर चलिरहेकोछ।
सरकारले निजी तथा सरकारी विद्यालयको जिम्मा स्थानीय निकाय नगरपालिका/गाउँपालिकालाई दिएको छ। तथापि नगरपालिका फोहोरसम्म व्यवस्थापन गर्न सकिररहेको छैन, विद्यालय उसको बसको कुरा होइन। गाँउपालिकाको त्यस्तै हालत छ।
आऊँ हामी अभिभावक जुटौं, गह्रुंगो झोलाको विरुद्ध जुटौँ।