बुढापाकाले पुस-माघका दिन छिटो नै हुन्छन्, रात लामो हुन्छ भने झैँ मेरो जीवनमा त्यस्तै दिन आयो। मेरो दैनिकी बिहान पाँच बजे उठ्ने, छ बजे अफिस पुग्ने, अफिसमा १० बजेसम्म सम्पूर्ण काम गर्ने। फेरि अर्को अफिस सुरु हुन्छ १० बजेदेखि साँझ अबेरसम्म। अफिसको अफटाइम निश्चितै हुँदैन।
यस्तै दैनिक बत्तिँदै थियो। परिपक्व उमेरमा विवाह भयो। विवाह भएको धेरै समय पनि भएको छैन। माघ ३ गते साँझ बुढीसँग गफ भयो।
'बुढा, भोलि साँझ आउने हो?' श्रीमतीको यो प्रश्नले धेरै सोच्न पुगेँ।
'खै' भनेँ।
'आउनी भए आउनु आज स्टाफको बिदा छ, रातिमा म एक्लै हुन्छु।'
फेरि सोच्न बाध्य भएँ।
'आउनु साँझ' भनि उनले फोन राखिन्। रातभरि सोचेँ र बिहान स्वास्थ्य चौकी मालारानी सुर्खेतको क्वाटर रूमसम्मको यात्राको तय भयो।
बिहानी अफिसमा धेरै काम थियो। सहकारीका ऋण उप-समितिको बैठक बसाइ, झण्डै १२ लाख ऋण लगानी गर्नुपर्ने थियो। ऋण माग धेरै संख्यामा आएकोले सयम धेरै लाग्ला जस्तो थियो। सबैको सहयोगमा १० बजे नै सहकारीको बिहानी जागिर सकियो।
सुरु भयो दिउँसको पत्रकारिता, दुई वटा कार्यक्रममा पुग्नुपर्ने र समाचार लेख्नुपर्ने। साँझको लगभग ५ बजेको थियो। मेरो यात्रा दाङ कालिमाटी हुँदै सुर्खेत जिल्लाको गुभार्कोट नगरपालिका वडा नम्बर २ मालारानीसम्म करिब २ घन्टा ३० मिनेटको मोटरसाइकल यात्रा थियो। जान तयार हुँदै थिएँ, त्यति नै बेला एकजना विज्ञापन दाताले फोन गर्नु भयो कता हो भन्दै।
अफिसमै भएको जानकारी दिएँ। उताबाट 'मेरो बुवाको समवेदना राख्नु थियो, पत्रिकामा के कसरी छ आउनु पर्यो' भन्ने कुरा आयो।
विज्ञापान भनेपछि तुरुन्तै बोलाएँ र म पनि गएँ। काम सक्काउँदा साँझको ६ बजेको थियो। दाङदेखि सुर्खेत पुग्नु छ। दिमागभरि त्यही छ। अफिसमा विज्ञापनको चटारो छ। शुद्ध, अशुद्ध सम्बधी ठाउँमा देखाउन गयो र सबै ठिक भएपछि पत्रिकामा राख्नुपर्ने। साँझको ७ बजे तय भयो दाङ तुलसीपुरदेखि हापुरे, सल्यान कालिमाटी हुँदै सुर्खेत सल्यानको सिमाना काल्चे हुँदै गुभाकोटसम्मको मोटरसाइकल यात्रा।
पश्चिम दाङको हापुरेसम्म त कुनै समस्या हुँदैन। हापुरेदेखि कालिमाटी जाने क्रममा यसै वर्षको तिहार मानेर फर्कने क्रममा जिप दुर्घटना भएको दाङ सल्यान सिमानाको एकलेबर पुग्दा झण्डै ८ बजेको थियो। मनमा हल्का डर थियो। घनघोर वन क्षेत्र भएको र केही महिना अगाडि दुघर्टनाको दृष्यले मनमा डर थियो।
रामपुर कालिमाटी साँझ सबा ८ मा पुगियो। यात्रा अझै एक घण्टा १५ मिनेको थियो। रातिको चिसो समयम भएकोले होला सबै गाउँ घरहरू सुनसान थिए। सुनसान सँगसँगै सारदा (रलङ) नदीको छेउ-छेउ यात्रा थियो। रलङ नदीको हल्का सुसावटले मेरो यात्रामा झनै जोस जागेको थियो।
कालिमाटीबाट मोटरसाइकलमा लगभग ४५ मिनेट यात्रा गरेपछि सल्यान र सुर्खेतको सिमानको उकालोको यात्रा गर्नुपर्ने हुन्छ। रलङ नदीलाई छोडी वनको चिसो हावासँगै उकालोमा चढ्दै थिएँ जहाँ सिमाना आउँदै गर्दा साउन, भदौ र असोज महिनामा राउटे बस्ती बसेको थियो। राउटे बस्ती बसेको ठाउँमा वन र खोलाको गुप्तो ठाउँ छ। राउटेको एकजना बालकको मृत्यु भएपछि उनीहरू त्यहाँबाट बसाइ सराई गरका थिए।
मनमा डरत्रास थियो। दोस्रो राउटे बस्ती पार गरी उकालो चड्दै थिएँ। उकालोमा अत्याधिक धुलो थियो। मोटरसाइकल धौँ-धौँले उकालो चढेको थियो। दोस्रो राउटे बस्ती पार गरी पहिलो राउटे बस्ती पुग्दै थिएँ। बाटोमा रातो झोला देखियो। रातो झोला भित्र विभिन खालका महिलाहरूले प्रयोग गर्ने सामान थिए। मोटरसाइको लेग गार्डमा झुन्डाएँ।
करिब ९ बजेको थियो सल्यान सुर्खेतको सिमान पुग्दा। सिमानामा अग्लो लेक भएकोले गुभाकोट नगरपालिकाको भ्याली देखिन्छ। ५ मिनेट मोटरसाइकल रोकी रातो झोला कसैको घरमा छोडौँ कि झैँ लाग्यो। रातिको समय भएकोले होला फाटफुट भएका बस्ती सुनसान थिए। नयाँ मान्छे भएकोले कसैलाई बोलाउन सकिनँ।
यात्रा अन्तिम अन्तिम चरणमा थियो। मालारानी स्वास्थ्य चौकीमा श्रीमतीले मोटसाइकलको लाइट हेर्दै बसेकी रहेछिन्। मोटरसाइकलको लाइट बाहेक केही उपाय थिएन श्रीमान आएको संकेत।
सल्यान र गुर्भाकोट नगरपालिकामा रातिको समयमा कुनै सिमकार्डले नेटर्वक दिँदैन। साँझ सात बजेबाट फोनले काम गर्दैन। स्वास्थ्य चौकी नजिकको घुम्तीमा मोटरसाइकलको लाइट बलेको देखेपछि झटपट गेट खोल्न दौडेकी श्रीमती रिसाउँदै भनिन्, 'किन यति राति? के हो पारा?'
हाँस्दै भनेँ, 'पत्रकार हुँ, राति र दिउँसो एउटै हुन्छ।'
गफ गर्दै मोटसाइकल पार्किङ गरेँ। फेरि उनले प्रश्न गरिन्, 'के हो रातो झोला?'
बाटोमा भेटिएको कहाँ फाल्नु, लिएर आएको। भोलि अफिस समयमा श्रीमानले भेट्टाएर ल्याइदिनु भएछ भनेर दिनू।'
अफिसमा आएका मानिसलाई के छ र ब्यागमा भन्दै थिए। गाउँघरमामा चल्ने अझ रातिको समयमा अटो एम्बुलेन्स साढे ९ बजे बिरामी लिएर आयो।
'आज एक्लै छु, स्टाफ सल्यान जानु भएको छ। त्यहीबेला बिरामी आउने, हजुर आउने कस्तो संयोग भएछ! तातो बनाएर खाना खानु, सुत्केरी गराउने ठाउँमा जान्छु है। एकछिनमा सुत्केरी भइहाल्छ। पहिलो भए त अलि ढिला हुन्छ, दोस्रो त भइहाल्छ।'
उनी बोल्दै तल्लो फ्याटमा झरिन्। बिरामी बोक्ने एम्बुलेन्स अटो इमरजेन्सी लाइट बाल्दै हुइँकिएको थियो। भित्र बिरामीलाई बर्थिङ सेन्टरमा लग्दै थिए। बिरामीको दुखाइको आवाजले स्वास्थ्य चौकी नै थर्किएको थियो। रातिको समयमा आवाज अझ ठूलो आउँदै थियो।
दुई घन्टा ३० मिनेटको मोटसाइकलको यात्राले थकाई लागेको थियो, म निदाएछु। रातिको १ बजेसम्म स्टाफ नर्सले बिरामीलाई छोड्नै नमिल्ने। बच्चा अप्ठ्यारोमा भएकोले आमा र बच्चालाई जतिखेर पनि समस्या हुनसक्ने सम्भावना रहेछ। बिहान सात बजेसम्म बच्चा भएको थिएन। बिहान ७ बजे बर्थिङ सेन्टरमै श्रीमान, श्रीमतीको भेट भयो।
'माया पनि लाग्दैन कि क्या हो?'
'अचम्म छ त! आफूलाई कति तनाव छ। अहिलेसम्म ८ घर खुलेको छ, पानी सुख्खा छ, रिफर गर्ने केस छ। इन्चार्जलाई फोन लाग्दैन, नेटर्वकले काम गर्दैन, हजुरलाई माया ...।'
स्टाफ नर्सका कुरा सुनेपछि ८ बजे मेरो यात्रा तय हुन्छ सुर्खेत-दाङको। स्टाफ नर्सले बिरामीलाई देखाएको मायाले सबै बिर्सिएर फर्किएको म सोच्दै थिएँ।