यो संसारमा आउने वित्तिकै कोही आमाको हातमा हुँदैन। त्यो बेला आमा जतिनै माया दिने र रोएको बेला न्यानो लुगामा बेरेर आमाको हातमा दिने 'नर्स' हन्छिन्।
सानोमा फ्लोरेन्स नाइटिंगेलको बारेमा पढेकी थिएँ, कसरी उनले आफ्नो केही परवाह नगरी हैँजाजस्तो महामारीमा पनि एउटा मानवमा हुने गुणहरू प्रस्तुत गरिन् अनि विस्तारै मोडर्न नर्सिङको स्थापना गरिन्। अहिलेको समयमा आइपुग्दा पनि उनका ती योगदानका कथाहरू ताजा नै छन्।
नेपाली समाज न हो अझै पनि छोरा र छोरीलाई हेर्ने दृष्टकोण फरक छ। त्यसैगरी नर्सलाई भन्दा डाक्टरलाई धेरै महत्व दिने चलन छ। महत्व दुवैको आफ्नै आफ्नै ठाउँमा छ तर किन बुझ्न सकिँदैन कि दुवैले बिरामीलाई दिने भनेको उपचार, सेवा र माया नै हो। डाक्टरभन्दा अझै धेरै, हरेक समय, हरेक दिन, निन्द्राको परवाह नगरी आफ्नो सम्पूर्ण समय त्यही बिरामीमा लगाई, आफ्ना सबै इच्छाहरू दबाइ बिरामीको सेवामा लागि पर्छन्।
सबैले भन्लान् र भनेका पनि छन्, काम हो गर्नै त पर्छ नि भनेर। तर म भन्छु यो कामभन्दा पनि एउटा छुट्टै किसिमको दायित्व हो। यस्तो अधिकार हो जहाँ नर्सले बिरामीको सेवालाई कामको रूपमा हेर्दैनन्।
एउटा बच्चा डेलिभरीदेखि वृद्धहरूको सेवा गर्न पछि हट्दैनन्। बच्चाले दिसापिसाब गरेकोलाई त छिः भन्छन् तर हामी बिरामी पर्दा त्यो सबै गर्छौँ जुन जो कोहीले सोच्न पनि सक्दैन। एउटा आमाबुवाले आफ्नो बच्चालाई जति माया दिएको हुन्छ नि त्यसैगरी आफ्नो अगाडि रहेको हरेक बिरामी उसको लागि बच्चाजस्तै नै हुन्छ।
आफूलाई कोरोना सर्छ कि भनेर अरु कोही बिरामीको छेउ पर्न नखोज्दा उनीहरूले त्यो सबै सहयोग गरे जुन बिरामीलाई चाहिएको थियो। त्यस्तो समयमा समेत उनीहरूले बिरामीको स्याहारमा कुनै कमी परेनन्। तर अझै पनि उनीहरूले आफ्नो कामको इज्जत र सम्मान पाइराखेका छैनन्।
डेराबाट निकाल्ने कोसिस, बेइज्जति! यस्ता बाहेक अरु के नै दिएको छ र हाम्रो समाजले? बिरामी पर्दा उनीहरूलाई गुहारिन्छ तर उसलाई अलिकति अप्ठ्यारो पर्दा घरबाट निकाल्ने धम्की अनि अनेकौं गाली दिइन्छ। त्यसो गरेर के पायौ?
बेलाबेला त लाग्छ शब्दकोसबाट मानवता भन्ने शब्द नै हटाए नि हुन्छ। तर फेरि लाग्छ यस्ता झारेझुरेका लागि यो शब्दको कुनै महत्व नै छैन। जब आफ्नो बारेमा सोच्न छोडेर अरूको बारेमा सोच्न सुरु गरिन्छ नि तब मनमा एउटा छुट्टै आनन्द आउने छ। तर यसैगरी अरुलाई हेला गरी अघि बढ्छौँ भने कुनै न कुनै दिन त्यसको शिकार आफै नै भइन्छ।
त्यस्ता मान्छेहरूको सोचले गर्दा कतिले त पछुतो पनि मान्छन् किन नर्स हुन पुगेँ? किन यसरी रातभरि जागेर अरुलाई जीवनदान दिन मर्दैछु अनि यति सब गरेर मैले के पाएँ? त्यो नराम्रो भन्नेहरूलाई हात जोडेर बिन्ती छ, एकचोटि मात्र उनीहरूलाई गहिरिएर हेर, आँखामा परिरहेको त्यो खाडलले उनीहरूको त्यो हरेक परिश्रमको बयान गर्छ। त्यो रातभरि खटेर बिहानी पख घर फर्कँदा आँखामा निन्द्रा भए पनि सुतौँ कि के गरौं झैँ लागेको त्यो पीडालाई बुझ। अरूको लागि लडेको हेर, माया गरेको हेर, एउटा अपरिचितलाई आफ्नो मानेर माया दिएको हेर।
जति नै पीडा आए नि उनीहरू नर्स हुनुमा गर्व गर्छन्, किन थाहा छ? किनभने एउटा नर्सले धैर्यताको महत्व बुझेको हुन्छ। हामी अहिले यस्तो समयमा आएका छौं जहाँ हतार हतारमा काम गर्दा गर्दै धैर्यता के हो थाहा नै हुँदैन।
एउटा नर्सले आमा बन्नुको खुसी देखेको हुन्छ, आमाले आफ्नो खोसिएको बच्चाको लागि लुकेको पीडा महसुस गरेको हुन्छ। उसैको हातमा एउटा बच्चाले पहिलो सास लिन्छ साथै उसैको हातमा कसैले अन्तिम सास पनि। उनले जीवन र मृत्युलाई एकदम नजिकबाट देखेकी हुन्छिन्। त्यसैले त उसले त्यो सबै महसुस गरेकी हुन्छे जुन अरूले गर्न सक्दैन।
हरेक दिन हामीलाई बुझाइने कुरा, नर्सिङ पढेर मात्र नर्स भइँदैन, नर्स हुनलाई मनमा त्यो कामप्रति माया हुनुपर्छ। नर्स हुनु एउटा विशेष जिम्मेवारी हो, एउटा गौरव हो, एउटा सान हो। धेरै चाहनाहरू मारेर एउटा नर्स बनिन्छ र उनीहरू केवल इज्जत र सानो धन्यवादको पर्खाइमा हुन्छन्।
सोचेको थिइनँ कि नर्स भन्ने शब्दले मैले आफूलाई हेर्ने दृष्टिकोणमा परिवर्तन र बिरामीको शब्दमा बयान गर्न नसक्ने पीडाको सहारा बन्न सक्छु भनेर। कोही नभए पनि एउटा नर्सले सधैंभरि बिरामीको स्वास्थ्य लाभको प्रार्थना गरिरहेको हुन्छ।
सोच बदलौं, सुरुआत आफैँबाट गरौँ।