कक्षा दशको एसइईमा स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षा (एचपिई) को जाँच सकेर बाहिर निस्केका केटाकेटीहरूलाई सोध्यो, 'जाँच कस्तो गरेऊ?' प्रफुल्ल मुद्रामा भन्छन् 'दामी भयो सर, ए प्लस त मरु।'
साँच्चै होला भन्नी हुन्छ। रिजल्ट आको भोलिपल्ट थुतुनो बिगार्दै भन्छन् 'सर एचपिईले त डुबायो नि- बि प्लस।'
'अरु विषय कस्तो भयो?'
'साइन्स र सोसल (विज्ञान र समाजिक अध्ययन) पनि खत्तम।'
अनि पूरै परिणाम निराशाजनक। पहिलेको एसएलसी अहिलेको एसइई परीक्षा प्रणालीमा क्रान्ति नै गरिए पनि नतिजा उस्तै छ। आखिर किन त? हरेक वर्षको एसइईमा विज्ञान, समाजिक, गणित र स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षा ए प्लस (ग्रेड) ल्याउनु किन चुनौतीपूर्ण हुन्छ? व्याख्या र विश्लेषण धेरै हुन्छन् तर चुनौती नै रहन्छ। बहस र छलफलमा सधैँ छुट्छ वा छुटाइन्छ: उत्तरपुस्तिका परीक्षणको पाटो।
विसं २०६९ सालमा स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षाको एसएलसी परीक्षाको कपी जाँचेँ विगतलाई निरन्तरता दिँदै। जम्माजम्मी २६० जति कपी पूरा एक हप्ता लाएर जाँचियो। त्यही अवधिमा साथीहरू झण्डै एक हजार थान कपीहरू फाँड्छन्। एउटा कपी चेक गर्दा भने साह्रै आनन्द आयो। पूर्णांक ७५ मा ६९ प्राप्तांक लेखियो कपीको पुछारमा। सङ्गै कपी जाँच्न बसेका शिक्षक मित्रहरू छक्क परे। स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षामा पनि यत्रो नम्बर!
मैले जिज्ञासा राखेँ, 'आउनु पर्ने चाहिँ कति नि? ल हेर्नुस्' भनेर कपी दिएँ। साथीहरूले हेरेपछि भने समपरीक्षकले बोलाउलान् है सर, विचार गर्नुस्। मैले भनेँ, 'बोलाए ठिकै छ, जाँउला।'
हर्षको अर्को कुरा यी हातहरूले कसैलाई पनि फेल गर्नु परेन, त्यो बेला।
हरेक वर्षका एसइई/एसएलसीको नतिजा हेर्दा राम्रा विद्यार्थीहरूले पनि पूर्णांक ७५ को सैद्धान्तिक परीक्षामा पनि औसत अंक (५०-६०% अंक) प्राप्त गरेको देखिन्छ। कपी परीक्षणको लागि हरेक विषयमा उत्तरकुन्जिका वितरण गरिन्छ। त्यसलाई आधार मान्ने त विरलै हुन्छन्। अनि अंक ठोकिन्छ ४ मा दुई वा तीन एवं सातमा अधिकतम ५। त्यो पनि कपीमा लेखिएको उत्तर पढेर होइन, विचार गरेर। शिक्षक मित्रहरूको आफ्नो स्कुले जीवनदेखि अभ्यास हुँदै आएको कठोर अंक प्रणालीको क्रमभंग सजिलै होलाजस्तो लाग्दैन।
एक पटक एसइईमा विज्ञान विषयमा दुईजना विद्यार्थीहरूले ७५ मा ७५ अंक नै प्राप्त गरे। उत्तरपुस्तिका परीक्षण केन्द्रमा हंगामा भयो। हैन! साइन्समा ७५ मा ७५ अंक नै कसरी दिन मिल्छ? पूर्णांक ७५ भन्दा धेरै पो दिन मिल्दैन भन्ने कुरो कहिले बुझिन्छ खै?
हरिश्चन्द्र घिमिरे (हाल भरतपुर, चितवन), उमेरले मेरो बाबा समान भए नि हामी उहाँलाई दाइ भन्छौँ, हरि दाइ। लमजुङको एक सरकारी विद्यालयमा लामो समय गणित विषय अध्यापन गरेका अवकाश प्राप्त एक प्रधानाध्यापक हुनुहुन्छ, उहाँ। कपी जाँच्ने सवालमा उहाँसँग अनुशरणयोग्य (टेस्टेड) अनुभवहरू छन्।
'बरुवाल भाइ, कपी काट्दा विद्यार्थीहरूलाई मार्क (अंक) दिने ठाउँ सधैँ खोजियो। म्याथम्याटिकल प्रोसेस (गणितीय प्रकृया) को कुरै छाडौं, प्रश्नपत्रमा भएको प्रश्न गलत सारेर त्यस प्रश्नको जवाफ मिलेकोमा पनि अंक प्रदान गरियो। मापन गर्न खोजेको कुरो महत्त्वपूर्ण हुने हो, अन्य कुराहरू गौण हुन्।'
हरिसरले बाँड्नु भएको अनुभव। म्याथम्याटिक्समा प्रायःको एउटै साझा अनुभव हुन्छ, फेल कहिल्यै भइएन, राम्रो पनि कहिल्यै गर्न सकिएन। सायद कक्षा कोठाहरूबाट 'ब्युटी अफ म्याथम्याटिक्स (गणितीय सौन्दर्य)' अलप हुँदै गएर पो हो कि!
डाक्टर जीबी गुरुङ, एसओएस हर्मन माइनर विद्यालय भरतपुरका पूर्व प्राचार्य हुनुहुन्छ। हाल एसओएस बालग्राम नेपालका राष्ट्रिय नायब निर्देशक रहनु भएका उहाँले एसएलसीको कपी परीक्षणमा जानुअघि सधैँ सम्झाउनु हुन्थ्यो 'सरको कलमले कोही फेल हुन् नपरोस्।'
एसएलसीको कपी परीक्षणमा कहिलेकाहीँ कोही कदम कथाचित फेल भैहाल्यो भन्यो पनि त्यसले भावुक बनाउथ्यो।
विसँ २०७५ मा क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाको आयोजनामा भरतपुरस्थित शैक्षिक तालिम केन्द्रमा स्तरिकृत परीक्षा सम्बन्धी एउटा कार्यशाला भएको थियो। सो कार्यशालामा स्रोत व्यक्तिहरूले प्रसंगवश हेटौंडामा दुई जना परीक्षार्थीहरूले समाजिक अध्ययनको एसइईमा पूर्णांक ७५ मा ७५ नै प्राप्त गर्न सफल भएको तथ्य सुनाउनु भयो। सहभागी शिक्षक साथीहरूले विश्वास गर्नै सकेनन्। त्यो आठौं आश्चर्य जस्तो पो भयो।
यस्तो मानसिकता आम शिक्षकवृन्दहरूको मगजमा निकै शक्तिशाली भएर बसेको छ। जसको फुल-स्क्यान जरुरी छ। गफ ठोक्ने बेला अहिलेको जेनेरेशन हामीभन्दा स्मार्ट छ भन्ने तर उपलब्धी मापनमा भने कन्जुस्याइँ गर्नु पर्ने किन हो?
हरेक वर्ष एउटा उत्तरपुस्तिका परीक्षण केन्द्रमा एकजना परीक्षकले १२००-१५०० कपीहरू परीक्षण गर्छन्। यति कपीहरू बढीमा दुई हप्ता (१४ दिन) भित्र कत्लेआम पारिन्छ। यस हिसाबले प्रतिदिन सरदर एकसय कपी परीक्षण गर्छन् एक परीक्षकले। स्कुलमा एकदिनमा एउटा कक्षाको गृहकार्य पनि चेक गर्न धौँ-धौँ पर्ने परीक्षकहरूलाई आणविक भट्टीबाट निस्केको जस्तै उर्जा एसइईको कपी परीक्षण गर्ने बेला सहजै प्राप्त भैराखेको हुन्छ। र अति न्यून पारिश्रमिकका खातिर पनि शिक्षक साथीहरूलाई त्यही उर्जाले चलायमान बनाउँछ।
उत्तरपुस्तिका परीक्षण केन्द्रको वातावरण पनि रमाइलो हुन्छ। कपी परीक्षणको दौरान देखिने उच्च लगाव र पेशागत समपर्ण पनि प्रशंसनीय हुन्छ। केन्द्रका कोठाहरू योगका कक्षाहरूजस्ता बन्छन्। बात मार्नी र बोल्नी चाख एकाधमा मात्र भेटिन्छ। साँझपख बत्ती होस नहोस, हुरी, बतास र पानी झ्यालढोकाबाट छिरोस् नछिरोस् काम रोकिन्न, मोबाइल फोनको टर्चले काम चल्छ।
रातो मसीको काम सकिएपछि हरियो चल्छ अर्थात् समपरीक्षणको काम प्रारम्भ हुन्छ। एसइईको कपी परीक्षण गर्दा समपरीक्षकहरू अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्तहरूजस्तै हुन्। सामान्य मानवीय त्रुटिहरू पनि अक्षम्य हुन्छन् र परीक्षकहरू तुरुन्तै डाँकिन्छन्। मानौँ उनीहरू धर्तीका सर्वज्ञ हुन्। समपरीक्षकहरूको मनोवैज्ञानिक त्रासका कारण पनि परीक्षकहरू खुलेर अंक दिन खोज्दैनन्।
पाठ्यक्रममा सुधार, परीक्षा प्रणालीमा परिवर्तन, विद्यालयको संरचनामा फेरबदल आदि इत्यादि शैक्षिक गुणस्तर वृद्धिका लागि। तर उत्तरपुस्तिका परीक्षण र अंकन प्रणालीमा सुधार कहिले हो? उत्तरपुस्तिका परीक्षण र अंकन प्रणालीको परमपरागत शैली परिवर्तन नभएसम्म विद्यार्थीहरूको अपेक्षित नतिजा क्षितिजपारि नै रहन्छ।