पछिल्लो समयमा नेपालमा मानिस र चितुवाका बीच बढ्दो द्वन्द्वलाई लिएर प्रशस्त मात्रामा छलफल हुने गरेको छ। चितुवासँगको समस्या विशेषगरी नेपालका पहाडी भूभागमा बढी केन्द्रित छ।
यो लेख चितुवालाई राम्रोसँग बुझ्न, द्वन्द्वसँग सम्बन्धित भ्रम र वैज्ञानिक तथ्य पहिल्याउन र कसरी चितुवा भएका ठाउँमा सुरक्षित रही जीविकोपार्जन अघि बढाउन सकिन्छ भन्ने कुरामा केन्द्रित रहेको छ।
चितुवा ठूलो बिरालो प्रजातिको एक निशाचर प्राणी हो। चितुवा अरु ठूलो बिरालो प्रजाति (जस्तैः बाघ, सिंह) सरह जंगलमा आफ्नो निश्चित क्षेत्र (टेरिटोरी) बनाएर एकआपसमा दूरी कायम गरेर बस्छन्। प्रजननको समयमा मात्र भाले र पोथी चितुवाहरू सँगसँगै रहने गर्छन्।
चितुवाले एक बेतमा २-३ ओटा डमरु जन्माउने गर्दछ भने २-२.५ वर्षसम्म ती डमरुहरू आमासँगै रहने गर्दछ। जंगलमा चितुवा १२ वर्षसम्म बाचेको पाइएको छ भने यसको आहारा प्रजातिमा विशेषगरी मृग प्रजातिका जनावर पर्छन्। तर वैज्ञानिक अध्ययनअनुसार यसको आहारामा किरा, मुसा, कुकुर र घरपालुवा वस्तुभाउ पनि प्रशस्तै भेटिएको छ।
रोचक कुरा के छ भने सामान्य आँखाले हेर्दा सबै चितुवा उस्तै देखिए पनि यसको शरीरमा रहेको बुट्टाहरू एकअर्कासँग मिल्दैन। मानवसँग तर्किएर जंगलको एकान्तमा बस्न रुचाउने चितुवा अहिले घना मानव बस्तीहरूका बीच टापूजस्तो खुम्चिँदै गएको जंगलहरूमा कैद भएका छन्।
घना बस्तीको बीचमा रहेका जंगलमा बस्ने चितुवा मानिसका गतिविधि कम हुने समय झम्मक साँझ, सबेरै बिहान वा रातिको समयमा सक्रिय हुने गर्दछ। यो दिउँसोको समयमा सामान्यता झाडी वा अग्ला रुखहरूमा आराम गरेर बस्दछ। यसले चितुवाको एउटा विशेष खुबीको परिचय दिन्छ, त्यो हो मानिसहरूको बीचमा पनि बाच्न सक्ने अनुकूलन क्षमता। यसै कारणले गर्दा पनि मानिसहरूसँग जम्काभेट हुने र द्वन्द्वका घटनाहरू हुने गर्दछ।
हुन त सबै जंगली जनावरजस्तै चितुवा जंगलमा मात्रै बस्ने प्राणी हो तर वास्तविकता के हो भने यसले मानिसले व्यवस्थापनका हेतु बनाएको जंगल र बस्तीको सीमाहरू बुझ्दैन। जहाँ आहाराको सम्भावना देखिन्छ त्यहाँ विचरण गरिहाल्छ। त्यसैले हामीले के बुझ्न पर्छ भने चितुवा जंगलभित्र मात्र हैन बाहिर पनि विचरण गर्छ।
जंगली आहारा प्रजाति समात्न बढी मेहनत गर्नुपर्ने तर घरपालुवा जनावर सजिलो शिकार हुने हुनाले यी चितुवाको रोजाइमा पर्न सक्छ। तर चितुवाले मानिसलाई किन आक्रमण गर्छ भन्ने कुरा पनि प्रष्ट छैन। मानिसहरू चितुवाका स्वाभाविक आहारा होइनन् र एकचोटि मानिसको मासु खाएपछि सधैँ मानिसको मासु खान खोज्छ भन्नुमा कुनै वैज्ञानिक आधार छैन।
चितुवाले मानिसलाई आक्रमण गरेका घटनाहरू हेर्दा अपर्झट जम्काभेट भएको अवस्था, मानिसहरू टुक्रुक्क बसेको अवस्थामा जहाँ चितुवाको लागि मानिस चार खुट्टे अरु जनावर जस्तो देखिने हुँदा भएको हुनसक्छ। यस्ता घटनाहरू पनि बुढो वा घाइते चितुवा वा भर्खर माउसँग छुट्टिएर शिकार गर्न सिक्दै गर्दाका जवान चितुवाहरूबाट बढी हुने सम्भावना हुन्छ।
चितुवा धेरै भएको ठाउँमा द्वन्द्व पनि बढी हुन्छ भन्ने बुझाइ पनि छ तर त्यो पूर्ण रुपमा सही होइन। यसका लागि भारतको मुम्बईस्थित सञ्जय गान्धी राष्ट्रिय निकुञ्जको उदहारण उपयोगी हुन सक्छ। यहाँ २०१५ को गणनाअनुसार १०८ वर्ग किलोमिटरमा ३५ ओटा चितुवा छन्। तर मानिसहरूमाथि त्यति धेरै आक्रमण छैन।
जुन बेला चितुवा मानव बस्तीमा धेरै देखिन्थ्यो र समातेर अन्यत्रै लगिन्थ्यो त्यस बेला आक्रमण बढी हुन्थ्यो तर वैज्ञानिकहरूको सल्लाहअनुसार चितुवा समात्न छोडेपछि आक्रमण पनि कम हुँदै गए। यो विषयमा तल फरक कोणमा छलफल गरिएको छ। हाम्रै नेपालको परिपेक्षमा पनि तराईका संरक्षित क्षेत्रहरूमा प्रशस्त चितुवा छन् तर द्वन्द्वको (मानिसमा आक्रमण) समस्या तुलनात्मक रुपमा कम छ।
मानव चितुवा द्वन्द्व व्यवस्थापनमा अपनाइएको एउटा प्रमुख उपाय समस्या दिने चितुवालाई समातेर अन्यत्र छोड्नु हो भने अर्को भनेको स्थानीय र सम्बन्धित निकायको सहयोगमा समस्या दिने चितुवालाई मार्नु हो। तर भारत र रसियामा गरिएको अध्ययनअनुसार यो विधिले समस्याको क्षणिक समाधान त हुन्छ तर दिगो समाधान निस्किँदैन।
एउटा स्थानीय चितुवालाई निकालेर अन्यत्र सार्ने बितिक्कै सो खाली ठाउँमा अर्को नयाँ चितुवाले ओगट्छ। नयाँ चितुवालाई ठाउँ र स्थानीय परिस्थितिको ज्ञान नहुने हुँदा घटनाहरू झनै बढेर जना सक्छ। त्यसैगरी सारिएको चितुवालाई नयाँ ठाउँमा त्यस्तै चुनौती हुने हुँदा सो ठाउँमा पनि आक्रमणमा घटनाहरू बढ्न सक्छन। अझ चितुवालाई समात्ने र मार्नलाई खोज्ने क्रममा हुने तनावका कारण चितुवा मानिसप्रति झन् आक्रामक हुने सम्भावना पनि त्यतिक्कै रहन्छ।
यसलाई हामीले सडकमा रहेका भुसिया कुकुरको व्यवस्थापनजस्तै बुझ्न सक्छौँ। सडकमा रहेका छाडा कुकुरहरू समातेर अन्यत्र छोड्ने हो भने सो खाली ठाउँमा अर्को नयाँ कुकुर आएर बस्छ र समस्या फेरि सुरु हुन्छ। त्यसकारण समस्या दिने चितुवा सार्नु भनेको समस्यालाई नै एक ठाउँबाट अन्यत्र सर्दिनु हो। मानव सुरक्षाका लागि धेरै समस्या दिने चितुवाहरूलाई समात्नुको कुनै विकल्प नहोला तर त्यो प्रकृयामा हामीले चितुवा थप आक्रमक नहोस् भन्ने कुराको हेक्का राख्नु पर्ने हुन्छ।
त्यसो भए चितुवासँग द्वन्द्व कम गरेर सँगै बच्ने उपाय के हुन सक्छ त? कुनै पनि समस्याको समाधान एक पक्षको मात्र प्रयासले सम्भव हुदैन। यो समस्या समाधानको लागि पनि स्थानीय समुदाय, प्रशासनको र खासगरी संचार मध्यमहरूको संयुक्त प्रयास आवश्यक हुन्छ। हामीले साधारण लाग्ने केही उपायहरू गर्ने हो भने आफू र घर परिवारलाई चितुवाको आक्रमणबाट धेरै हदसम्म सुरक्षित राख्न सक्छौँ। यहाँ त्यस्ता केही बुँदा प्रस्तुत गरिएको छ।
- आफ्नो घर वरिपरि रहेका झाडी र बुट्यानहरू सफा राख्ने। झाडीले चितुवालाई लुक्ने ठाउँ पुग्ने हुनाले आक्रमणको सम्भावना बढी हुन्छ।
- घर वरिपरि अँध्यारो नराख्ने र बत्ती भएको अवस्थामा बालेर राख्ने। चितुवा राति सक्रिय हुने जनावर भएकोले अध्यारो हुँदा आक्रमण बढी हुनसक्छ।
- द्वन्द्वका घटना बढी भएको स्थानहरूमा सकेसम्म एक्लै नहिँड्ने। साना केटाकेटीहरूलाई स्कुल वा पसल पठाउँदा समूहमा पठाउने। चितुवाले साना केटाकेटीहरूलाई बढी हेप्ने र आक्रमण गर्ने गरेको पाइएको छ।
- वस्तुभाउलाई खुल्ला वा छाडा नछोड्ने। यसले चितुवालाई शिकारको लागि आकर्षित गर्छ र मानिससँगको जम्काभेटको सम्भावना बढ्छ। वस्तुभाउ मारी हालेको खण्डमा त्यसलाई नछुने नचलाउने। छुने चलाउने वा खोसेर लेराउने काम गरेमा चितुवा भोकै रहन्छ र फेरि तुरुन्तै अर्को आक्रमण गर्न सक्छ।
- आफ्नो घर वा गोठलाई राम्रोसँग सुरक्षित रुपमा चितुवा पस्न नसक्ने गरी निर्माण गर्ने।
- जंगलमा चितुवाको आहारा प्रजाति जस्तैः मृग, बँदेल, कालिज र अन्य साना जनवारको शिकार गर्ने पासो थप्ने काम तत्काल बन्द गर्ने। यो गैह्र कानुनी हुनुका साथै यसले चितुवाको प्राकृतिक आहारा कम हुन्छ र चितुवा आहारा खोजिका लागि बढी मानव बस्ती तिर पस्न थाल्छ।
त्यस्तै प्रशासनका तर्फबाट गर्न सकिने केही उपायहरू पनि तल प्रस्तुत गरिएको छ।
- -घटना घटेको ठाउँमा तुरुन्तै स्थानीयहरूको सहभागितामा गस्ती गर्ने। स्थनीय बासिन्दाहरूलाई प्रशासनको उपस्थिति देख्दा केही राहत महसुस हुन सक्छ।
- मानवीय क्षतिको अवस्थामा पीडितको कुरा सुन्ने र मानवीय नातामा त्यसलाई बुझ्न प्रयास गर्ने।
- राहत र उपचारका खर्चको हिसाबमा सकेसम्म छिटो प्रकृया पुराएर भुक्तानी गर्ने।
- पायक पर्ने गरी क्षेत्रगत हिसाबले आर्थिक श्रोतअनुसार वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि प्राविधिक टोलि बनाई तयारी अवस्थामा राख्ने। मानिसमाथि आक्रमणको अवस्थामा तुरन्तै टोली खटाएर समस्या समाधान गर्ने। हाम्रो परिप्रेक्षमा प्रदेशअनुसार वन्यजन्तुको समस्या समाधानका लागि आवश्यक साधन सहितको दक्ष टोलीको गठन गर्ने।
- वन प्रशासन, स्थानीय प्रशासन र सामुदायिक वनहरूको समन्वयमा भिड व्यवस्थापन र संचार मध्यामलाई जानकारी दिने।
मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनमा संचार मध्यमहरूको उल्लेख्य भूमिका हुने हुँदा कस्तो समाचारहरू सम्प्रेषित हुन्छन् भन्ने कुरा महत्वपूर्ण हुन्छ। संचार मध्यमको सहयोगी भूमिका लागि तल केही बुँदाहरू प्रस्तुत गरिएको छ।
- तथ्यमा आधारित जिम्मेवार रेपोर्टिङ गर्ने। यसका लागि वन्यजन्तु विज्ञ र अनुसन्धानकर्ताहरूसँग सम्पर्क गरी डाटा समावेश गर्ने।
- घटनालाई अतिरन्जित रुपमा प्रस्तुत नगर्ने। निरपेक्ष र तठस्थ रिपोर्ट तयार गर्ने। समाचारको शीर्षकलाई उत्तेजक नबनाउने।
- आम संचारमा आएका सूचनाका आधारमा जन समुदाय, स्थानीय नेता र अगुवाहरूले आफ्नो विचार वा धारणा निर्माण गर्ने हुनाले यो पक्ष ज्यादै संवेदनशील हुन्छ। त्यसकारण कालान्तरमा समस्या समधान होस् भन्नेतर्फ रेपोर्टिङ गर्ने।
चितुवा नेपालको अत्यन्तै महत्वपूर्ण मध्य पहाडी भूभागको परिस्थिकिय प्रणालीको सूचक हो। मान्छे र चितुवा संँगै बस्न नसकिने होइन। नेपालमा धेरै शताब्दीदेखि तराईमा आदिवासी थारुहरू बाघ, हात्ती र गैंडासँगै बस्दै आएका छन् भने हिमालमा शेर्पा जातिहरू हिउँ चितुवासँग बस्दै आएका छन्।
पहाडमा चितुवाको संरक्षण हुनु भनेको तराईमा बग्ने खोलानालाका श्रोतहरू सुरक्षित रहनु हो। त्यसैले चितुवाको उपस्थितिलाई समस्याको रुपमा नलिएर द्वन्द्वको समाधन सम्भव छ भन्ने सकारात्मक सोचले अघि बढ्ने हो भने अवश्य पनि समाधान निकाल्न हामी सफल हुनेछौँ।
(लेखक अमेरिकास्थित कर्नेल विश्वविद्यालयमा मानव-वन्यजन्तु द्वन्द्वमा विद्यावारिधी गर्दैछन्।)