पछिल्लो समय देशको राजनीतिमा जस्ता मोडहरू देख्यौं, राजनीति खिचातानीका जुन अभ्यास देख्यौं, त्यसले देशलाई भलो गर्दैन।
नेपालजस्तो संसदीय प्रणालीमा विश्वास गर्ने देशमा राजनीतिबाट जनतालाई समुचित न्याय होस् भन्नका लागि संसदमा सहभागिता निकै महत्वपूर्ण हुन्छ। एउटा सांसदले मात्र जनताका सरोकारका विषयमा उचित न्याय गर्न सक्छ, जनताका मुद्दा र जनताको आवाजलाई सुन्ने गरी राष्ट्रिय मुद्दा बनाउन सक्छ। राष्ट्रिय सभाको मेरो चार वर्षे कार्यकालमा मैले यही कुरामा विशेष जोड दिएकी थिएँ। राष्ट्रिय सभामा मैले जति दिन रोस्ट्रममा उभिएर होस् या शून्य समयमा आफ्ना विचारहरू राखें, ती नितान्त मेरा विषय थिएनन्, जनताका मुद्दा थिए।
राष्ट्रिय सभाका यी चार वर्ष सम्झिँदा म सुरूमा पुग्छु, २०७४ माघ १२ गते। त्यसको चार दिनअगाडि नेकपा एमालेको स्थायी कमिटी बैठकले जिल्ला र प्रदेशबाट सिफारिस भएकाले मलाई राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनाउने निर्णय गरेको थियो। प्रदेशको महिला क्लस्टरबाट मैले उम्मेदवारी दिएको पदमा अरू कसैले पनि उम्मेदवारी दिनुभएन, म निर्विरोध राष्ट्रिय सभा सदस्य भएँ। त्यस दिन मैले राजनीतिमा लाग्दा आफैंसँग गरेको प्रतिवद्धतालाई फेरि सम्झिएँ। मैले सुरूमा रेडियो नेपाल छाडेर राजनीतिमा लाग्दा एउटा कुरा मात्र कल्पना गरेकी थिएँ- जनताका बीचमा रहेर जनताको काम गर्छु। बानेश्वरमा रहेको संसद भवनमा राष्ट्रिय सभा सदस्यका रूपमा २०७४ फागुन २१ गते प्रवेश गर्दा मेरो मनमा देशको विकास, जनताको चाहना र मैले निर्वाह गर्नुपर्ने भूमिकाका विषयमा मात्र सोचिरहेकी थिएँ।
राष्ट्रिय सभाका यी चार वर्ष सम्झिँदा मैले ४ चैतलाई बिर्सन सक्दिनँ। त्यस दिन मैले पहिलो पटक सदनमा आफ्नो धारणा राखेकी थिएँ- ‘हाम्रो राष्ट्रिय सभा साझा फूलबारी हुनुपर्छ।’
अहिले पनि म त्यही बेलाको यस विचारमा अडिग छु। राष्ट्रिय सभामा सबै क्षेत्र, तह र तप्काबाट प्रतिनिधित्व हुनुपर्छ, यसले राष्ट्रिय भाव बोकेको हुनुपर्छ, समावेशी प्रतिनिधित्वले राष्ट्रियता र यसका अवयव, अनेक आयाम र देशको चाहनालाई बुझ्नुपर्छ।
मलाई लाग्छ कोही पनि कुनै स्थानमा पुग्नु ठूलो उपलब्धि होइन, त्यसको गरिमालाई बचाउनका लागि आफूलाई उचित पात्र हो भन्ने प्रमाणित गर्नु नै विशिष्टता हो। त्यसका लागि आवश्यक अध्ययनलाई सबैले आत्मसात् गर्नुपर्छ। त्यही अध्ययन र विभिन्न विज्ञहरूसँगको बारम्बारको विमर्शपछि मैले राष्ट्रिय सभामा आफ्ना धारणा राखिरहेकी थिएँ। त्यसका लागि मैले विज्ञहरूसँग परामर्श मात्र गरिनँ, अनेक सन्दर्भ पुस्तक तथा लेखहरूको अध्ययनलाई थप बलियो बनाउँदै लगेँ।
२०७५ वैशाख २३ गतेबाट राष्ट्रिय सभाको दोस्रो अधिवेशनको पहिलो बैठक सुरू भयो। राष्ट्रिय सभाको दोस्रो अधिवेशन सुरू हुने समयमा मेरो पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर नेपाल कम्युनिस्ट पार्टी बनिसकेको थियो। देशमा केपी शर्मा ओलीले प्रधानमन्त्रीका रूपमा नयाँ सपना र आशा, विकासका मोडल र असल शासनलाई स्थापित गर्दै हुनुहुन्थ्यो। दुई कम्युनिस्ट घटक एक भएपछि राष्ट्रिय सभामा हामी अत्यधिक बहुमतमा मात्र भएनौँ, देशभर नयाँ उल्लास र आशाको वातावरण बन्यो। बलियो सरकारको नेतृत्व गरेको हाम्रो पार्टीले संविधानलाई पूर्ण पालना गरिरहेको थियो।
संविधानमा नै भएअनुसार हामीले पहिलो राष्ट्रिय सभा भएकाले चिट्ठाबाट हाम्रो पदावधिको समयलाई निर्धारण गर्ने चरणमा हामी थियौँ। ४ असारमा राष्ट्रिय सभामा चिट्ठा तान्ने र पदावधिको निर्धारण हुने कार्यक्रम राखिएको थियो। मैले घरबाट निस्किनुअघि मेरी आमा दीपा वलीको आशीर्वाद लिएकी थिएँ। उहाँलाई मैले दुई वर्ष, चार वर्ष र छ वर्षमध्ये कति वर्ष सांसद हुने भन्ने आज थाहा हुन्छ आमा भनेकी थिएँ। उहाँलाई के लाग्यो कुन्नि, उहाँले भन्नुभयो– चार वर्ष भए पुग्छ। यही भन्दै उहाँले मलाई आशीर्वाद दिनुभयो। मलाई पनि मनमा चार वर्ष कार्यकाल नै सही हुन्छ भन्ने लागेको थियो। हामी राष्ट्रिय सभामा भेला भइसकेका थियौँ। प्रदेश र नामको वर्णानुक्रमअनुसार हाम्रो प्रदेशको पालो आयो। हाम्रो प्रदेशबाट सुरूमा अनिता देवकोटाले चिट्ठा तान्नुभयो, छ वर्ष। त्यसपछि मेरो पालो आयो। मैले चिट्ठा तानेँ, मेरो कार्यकाल चार वर्षको हुने भयो। मैले आमाले दिनुभएको आशिष मात्र सम्झिइनँ, मेरो कामना पनि पूरा भएकाले मनै मनबाट देवका देव महादेवलाई धन्यवाद दिएँ।
चार वर्षको कार्यकाल हुने निश्चित भएको भोलिपल्टदेखि नै मैले एउटा खाका बनाउन थालेँ, राष्ट्रिय सभामा मैले के गर्ने र कसरी आफ्नो उपस्थितिलाई जनताको उपस्थिति बनाउने भन्ने विषयमा सोच्न थालेँ। केही विज्ञहरूसँग छलफल गरेँ, केही पढ्नै पर्ने पुस्तकहरू लिएर घरमा आएँ। त्यसको केही समयमा संसदीय समितिहरू बन्न थाले। संसदीय समितिलाई मिनी पार्लियामेन्टका रूपमा पनि लिइन्छ। म राष्ट्रिय सरोकार तथा समन्वय समितिमा सदस्य भएँ। यो समितिले हाम्रो तीनै तहको संरचना, समन्वय, यसको कार्यान्वयन तथा देशको सीमाबारे पनि ध्यान दिन्थ्यो। त्यति मात्र होइन, राष्ट्रिय गौरवका आयोजना, राष्ट्रिय सुरक्षा नीति तथा संस्कृति र राष्ट्रिय सरोकारका विषयमा पनि यो समितिको काम निकै महत्वपूर्ण हुन्छ। त्यसैले यो संसदीय समितिमा रहनु मेरा लागि उपलब्धिमूलक थियो। समितिको सदस्य भएपछि मैले आफूलाई यसका काम र कर्तव्यबारे थप परिष्कृत गर्ने सोच बनाएँ, यसबारे पनि अध्ययनलाई प्राथमिकतामा राखेँ। त्यसैले पनि मेरो यस कार्यकालमा मैले संसदीय समितिका प्रायः सबै बैठकहरूमा आफ्नो उपस्थिति जनाएँ।
राष्ट्रिय सभाका यी चार वर्ष सम्झिँदा म राष्ट्रिय सभामा मैले उठाएका विषयहरू पनि सम्झिन्छु। मलाई विभिन्न विषयमा थप सहयोग गर्नुभएका माननीयहरूको सहयोगलाई कहिल्यै बिर्सिन्न सक्दिनँ। यी चार वर्षमा मैले राष्ट्रिय सभामा विशेष समय तथा शून्य समयमा जनताका विषयमा कुरा गरेँ, मैले सरकारका नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राखेँ। विकास तथा निर्माणका हाम्रा योजना र हामीले गर्नुपर्ने कार्यान्वयनका विषयमा पनि अध्ययन गरेर आफ्ना धारणाहरू राखेँ। देशमा महिलाको अवस्था र स्थिति सुधारका लागि के गर्नुपर्छ भन्ने विषय सधैं मेरो प्राथमिकतामा परिरह्यो। विश्वमा भएका राजनीतिक परिवर्तन तथा बदलिँदो समाजसँग ‘कोप’ गर्ने तौरतरिकाबारे पनि मैले बोलिरहेँ। आफ्नै पार्टीको नेतृत्वमा सरकारमा हुँदा मैले सरकारका नीति तथा कार्यक्रमहरू तथा बजेटबारे प्रशंसा मात्र गरिनँ, त्यसमा आलोचनात्मक सुझाव पनि दिएँ। यी सुझावका लागि मैले जनतासम्म पुगेर राय लिएकी थिएँ।
राष्ट्रिय सभामा आएका प्रत्येक विधेयकमाथि छलफल गर्ने बैठकहरूमा म सहभागी भएँ। त्यसमा आफूलाई लागेका विषयमा संशोधन प्रस्तावसमेत दर्ता गराएँ। हामी संविधानको कार्यान्वयनको चरणमा थियौँ, त्यसैले विधायकीको नाताले विधेयकमाथि छलफल गर्ने र आवश्यक संशोधनका लागि प्रस्ताव पेस गर्ने मेरो जिम्मेवारी थियो। मैले यी चार वर्षमा आफ्नो जिम्मेवारी पूरा गरेँ भन्ने लाग्छ।
दाङको विकासका लागि पनि यी चार वर्षमा मैले सकेको जति गरेँ। लामो समयदेखि रोकिएका दाङका विकासका कामहरूलाई फेरि अगाडि बढाउन सम्बन्धित व्यक्तिहरूलाई भेटेँ, ती कामको कार्यान्वयनका लागि प्रभावकारी भूमिका खेलेँ। यो स्वाभाविक थियो, दाङ मेरो गृहजिल्ला भएकाले त्यहाँका बाटाघाटा, पुल, पुलेसा, सिँचाइ, तटबन्ध र डिप बोरिङ तथा दाङका जनताका आवश्यकता सधैँ मेरो मनमा रहिरहे, सधैँ रहिरहनेछन्।
राष्ट्रिय सभाको एक दिन सम्झिँदा म अहिले पनि त्यो दिन सम्झिन्छु जुन दिन मैले ‘बाँदर’ शीर्षकमा एउटा कविता वाचन गरेकी थिएँ। हामी सबैलाई स्मरण पक्कै छ, त्यस कविताले राष्ट्रिय राजनीतिलाई व्यङ्ग्य गरेको थियो, यसका खलपात्रहरूलाई कठोर प्रहार गरेको थियो। त्यसैले पनि हुनुपर्छ, यस कविताले लामो समय त्यतिबेला चर्चा पायो। यस कविताको चर्चा मात्र होइन, मलाई अहिले सम्झिँदा गर्व लाग्छ, मैले राष्ट्रिय सभामा उठाएका विषयहरूमा राष्ट्रिय सभाका अन्य माननीयहरूले विचार विमर्श गर्ने मात्र होइन, मलाई जवाफ दिने पनि गर्नुभयो।
जीवन फेरि अनेपक्षित मोडहरूसँगको साक्षात्कार पनि रहेछ। सरकारमा स्पष्ट बहुमत भएको मेरो पार्टीले मेरो राष्ट्रिय सभाकै यी चार वर्षे कार्यकालकौ दौरानमा नै प्रतिपक्षको भूमिकामा आउन परेको छ। पार्टी राजनीतिमा म यो कुरा पनि बिर्सिन्न सक्दिनँ। हामीले पछिल्लो समय देशका राजनीतिमा जस्ता मोडहरू देख्यौँ, राजनीति खिचातानीका जुन अभ्यास देख्यौँ, त्यसले देशलाई भलो गर्दैन। देशका लागि यो सबैभन्दा दुःखद पक्ष हो तर हामीसँग फेरि पनि सपना छन्, फेरि पनि उज्याला दिन आउने छन् भन्ने विश्वास छ। यसका लागि म प्रतिबद्ध छु, मैले मेरा जिम्मेवारी पूर्ण रूपमा पूरा गर्नेछु, आफ्नो कर्तव्य सम्झिनेछु।
यस दृढताका लागि मलाई विश्वास भरिदिनुभएको छ, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले। राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना, उपाध्यक्ष शशिकला दाहाललगायत सबै माननीयहरूले मलाई राष्ट्रिय सभामा दिनुभएको साथ र सहयोग मैले कहिल्यै बिर्सिन्नँ। राष्ट्रिय सभाका महासचिव डा. भरतराज गौतम, सचिव राजेन्द्र फुयाँललगायत राष्ट्रिय सभाका सबै कर्मचारी सदस्यहरूले मलाई गर्नुभएको सहयोग पनि मेरो अन्तःस्करणमा सधैं रहिरहनेछ।
राष्ट्रिय सभाका यी चार वर्षमा मैले जीवनमा धेरै कुराहरू सिकेकी छु, चाहे त्यो राजनीतिको होस् या हाम्रो समाजको। हाम्रो अर्थनीतिको विषयमा होस् या सामाजिक विषयमा अध्ययन गरेकी छु, त्यसलाई मनन गरेकी छु। जीवन एउटा यात्रा हो, यो यात्रारुपी जीवनमा सिक्ने क्रममा कहिलेकाहीँ गल्तीहरू हुँदा रहेछन्। जानेर वा नजानेर भएका गल्तीहरूका लागि म हृदयदेखि नै माफी चाहन्छु।
राष्ट्रिय सभामा मेरो कार्यकाल चार वर्ष सकिएको छ तर यसले मलाई थप अगाडि बढ्न प्रेरणा दिएको छ, मेरो विश्वासलाई थप दरिलो बनाएको छ – म जनताका लागि सधैँ सधैँ तत्पर रहनेछु, देशका लागि यो राजनीतिक यात्रा निरन्तर अगाडि बढ्नेछ र यस यात्रामा मेरो प्राथमिकता देश र जनता हुने प्रतिबद्धता छ।