त्यो दिन म दिपायलबाट धनगढीको यात्रामा थिएँ। अलि असहज महसुस भैरहेको थियो। गाडीको यात्रा मलाई कति मन नपर्ने त्यही पनि बाध्यताले गर्नैपर्ने हुन्थ्यो। म गाडीको झ्यालतिरको सिटमा बसें।
झ्यालबाट आँखा बाहिरतिर डुलाएँ। मान्छेहरूको आवतजावत धेरै थियो। बिहान ८ बजेको थियो। अब गाडीले पनि हिँड्ने तयारी गरिरहेको थियो, यसैबेला एउटा केटीको प्रवेश भयो। उसले आफ्नो खल्तीबाट टिकेट निकालेर हेर्दै म भएको सिटमा आँखा डुलाई।
‘मेरो छेउमा आएर भनी झ्यालतिर बस्न पाए हुन्थ्यो, सकिन्छ भने यता सरिदिनुस न’ मैले प्रतिप्रश्न गरें ‘हजुरलाई भमिट आउँछ?’
उसले आउँछ भन्ने प्रतिक्रिया दिई।
मनमनै सोचें आजको यात्रा राम्रो हुँदैन जस्तो छ। सिट छोड्न मन त थिएन नाइँ भन्न नसकेर यतातिर सरें, लुसुक्क गएर बसी, धन्यवाद पनि भनिन।
समय ८:३० भैसकेको थियो गाडी राजपुरबाट हिँड्यो।
अलि असहज भए पनि आफूलाई कन्ट्रोल गरिरहेकी थिएँ। गाडीको गति पहिलाभन्दा अहिले बढी थियो।
साइडमा बसेकी केटीले बोल्ने कुनै छाँटकाँट देखाइरहेकी थिइन, बरू निकै पीडामा देखिरहेकी थिई।
समय समयमा केही बोलौं सोचिरहन्थें तर उसको अनुहारको अवस्था हेर्दा मलाई बोल्ने आँट नै आइरहेको थिएन।
गाडी केही समयमै डडेल्धुरा पुग्यो र एकछिन रोकियो।
म भने दिपायलबाट बसेर सिधै धनगढी पुग्ने मान्छे, बाहिर ओर्लिनँ। मेरो साइडमा बसेकी केटी पनि झ्यालबाट बाहिर हेर्दै थिई तर बाहिर भने निस्किन। दुश्मनजस्तै उसले एकपटक पनि मतिर हेरिन।
मैले उसलाई आजभन्दा अगाडि कहिल्यै देखेको पनि थिइनँ। अहँ ऊसँग दुश्मनी हुने त कुरै भएन। अब त मलाई आफूदेखि रिस उठिरहेको थियो। मैले आफ्नो सिट किन दिए हुँला भनेर।
मलाई उकुसमुकुस भैसकेको थियो, बडो हिम्मत गरेर ऊतिर हेरेर बोल्ने साहस गरेर भनें, ‘तपाईंको घर कता हो?’
बोलौं कि नबोलौं झैं गरेर उसले उत्तर दिई- सिलगढी।
त्यसपछि अवस्था फेरि पुरानै। उसले प्रतिउत्तरमा मेरो घर पनि सोधिन। मलाई न्यास्रो लाग्यो ठिकै छ भन्ने सोचें।
गाडी डडेल्धुराबाट अगाडि बढ्यो म कतिबेला निदाएछु पत्तै भएन।
आँखा खोलेर हेर्दा त गाडी सहजपुर पुगिसकेको रहेछ। झ्यालतिर हेरे त्यो केटी भमिट गरिरहेकी थिई।
आँखा पछाडितिर डुलाएँ। सबै जना निदाएका थिए। चर्चित देउडा गायक ध्वज महराको गैजा डोटी गै जा गीत लागाएको थियो। गीत सुन्दै आनन्द लिएँ।
केही समयपछि भासु, बुडर ,गैरा ,भातकाँडा हुँदै गाडी गोदावरीको ओरालोमा पुग्यो।
गाडी जब गोदावरीको ओरोलोमा लाग्यो तब साइडबाट एउटा आवाज निस्कियो- तपाईं धनगढीसम्म कि अत्तरिया?
मैले ऊतर्फ हेर्दै भनें- धनगढी र कन्जुस्याइँ नगरी प्रश्न गरें- अनि तपाईं?
उसले अलि घुमाउरो पारामा भनी ‘जिन्दगीले जता लैजान्छ उतै।’
म ट्वाल्ल परें फेरि सोधें- केही अप्ठ्यारो परेको छ?
‘केही चिज गुमेको छ, सपनाहरू खरानी भएका छन् र बाँच्ने आश हराएको छ।’ यति भनिसकेपछि लामो सास लिँदै मतिर हेरी।
मलाई प्रश्न सोधेकोमा पछुतो भयो र अर्को प्रश्न गर्ने हिम्मत गर्न सकिनँ।
मनमनै सोचे कसैको पीडाको घाउलाई कोट्याएर दुखाएछु।
उसले आफैं सोधी- तपाईंको नाम के हो?
निधारको पसिना पुच्दै भनें- छत्रा रावल।
फेरि सोधी- धनगढीमा के गर्नु हुन्छ?
‘पढाइ हो अनि सानो जागिर पनि गर्छु।’
‘अनि तपाईं के गर्नु हुन्छ?’ मैले उसलाई प्रश्न गरें।
‘म एनजिओमा काम गर्छु।ब्याचलर सकियो। त्यसपछि पढ्न मनै लागेन। जीवन यस्तै हो कति खुसी थिएँ, अहिले सबै खुसीहरू छताछुल्ल भएका छन्।’
कुरा गर्दागर्दै ऊ निकै भावुक भई।
उसको हरेक कुरामा रहस्य लुकेको हुन्थ्यो।
गाडी गोदावरी हुँदै तेघरीको सडकमा गुडिरहेको थियो। एकैछिनमा हामी अत्तरिया पुगिसकेका थियौं। उसको यात्रा अत्तरियासम्म मात्र रहेछ। धेरै कुरा गर्न मन थियो तर ऊसँगको यात्रा टुंगिसकेको थियो।
मेरो मनमा धेरै प्रश्नहरू सोध्न बाँकी नै थिए।
निस्किने बेला ‘ल बाई है मौका मिले भेटौंला’ भनी।
मैले मुस्कुराउँदै भने- नाम त भनेर जानुस्।
उसले पनि मुस्कान दिँदै भनी- अनुस्का।
यति भनिसकेपछि ऊ त्यताबाट हिँडि र म पनि धनगढीतिर लागेँ।
रूम पुगिसकेपछि फ्रेस भएँ। कोठा मिलाएँ। नास्ता खाएँ र एकछिन फेसबुक खोलें। फ्रेन्ड रिक्वेस्ट आएको थियो, हेरेँ अनुस्काको रहेछ।
उसको प्रोफाइल खोलेर हेरें म्यासेज पनि गरेकी रहेछ- ह्याप्पी टु सी यु भनेर।
मैले नि- मि टू भनेर पठाएँ।
अनलाइनमै रहिछ मुस्कुराएको स्टिकर पठाई।
फेरि टाइप गरें-पुग्नु भो घर?
‘अघि नै पुगिसकें’ भनेर रिप्लाई गरी।
मैले ‘ए ए’ भनेर पठाएँ।
एकछिन पछि उसले मेरो फोन नम्बर मागी र फोनमै कुरा गरौंला भनी।
मैले नि आफ्नो नम्बर पठाएर ‘हवस्’ भनें।
अर्को दिन एउटा नयाँ नम्बरबाट कल आयो। मैले सिधै गेस गरिहालें र मिल्यो पनि कल अनुस्काको नै रहेछ।
सामान्य गफगाफपछि उसले सोधी- हजुर साहित्यकार हो?
मैले हाँस्दै भनें- हैन नि।
फेरि उसले सोधी- लेखहरू त प्रशस्तै छन् नि मिडियामा आएका?
मैले मुस्कुराउँदै भनें, ‘साहित्यकार त हैन साहित्यलाई मन पराउने मान्छे हुँ।’
‘उसो भए मेरो कथा लेखीदिनुस् न त। महिलाले महिलाको पीडा उठाउँदा राम्रै होला।’ उसको यो कुरा सुनेर म झसंग भएँ।
मैले हतपत्त ‘हुन्छ’ भन्न सकिनँ।
मेरो बोली बन्द भएको सुनेर उसले फेरि भनी- म हजुरलाई सबै घटना सुनाउँछु। मेरो यथार्थतालाई हजुरले साहित्यका पानाहरूमा कोरिदिनु पर्यो।
मलाई के बोलूँ, बोलूँ भैरहेको थियो। हुन त मेरा योभन्दा अगाडि थुप्रै काल्पनिक लेखहरू मिडियामा आइसकेका थिए।
मैले ‘हुन्छ, प्रयास गरौंला’ भनें।
‘धन्यवाद!हजुरलाई फुर्सद भयो भने सम्झिनु होला म भेट्न आउँछु’,उसले भनी।
‘हवस्’ भन्दै मैले फोन राखें।
आजसम्म मैले लेखेका लेखहरू केवल काल्पनिक मात्र थिए। अब मैले कसैको वास्तविक जीवनमा घटेको घटनालाई लेख्नुपर्ने थियो। यदाकदा मलाई डर,उत्सुकता र खुल्दुली भइरहेको थियो।
आज शनिबार, विद्यालयको छुट्टी। अरू दिनभन्दा बिहानै उठें र अनुस्कालाई सम्झिएँ। हुन त अनुस्कालाई नसम्झिएको कुनै दिन नै थिएन, मलाई यो विषयले अलि सोचमग्न बनाएको थियो। उसको कथा सुन्न आतुर नै थिएँ।
बिहान ८ बजेको थियो। मैले अनुस्कालाई फोन लगाएँ-तुरून्तै रिसिभ भैहाल्यो।
आज भेट्ने कुरा भयो-उसले म धनगढी आउँछु पुगेपछि कल गर्छु भनी।