'काठमाडौं अचम्मको ठाउँ हो। तरिका जान्नु पर्छ पैसा त हावामा उडेको छ हावामा' एमएको परीक्षा सकेर थेसिस लेख्दै गर्दा कतै काम पाइन्छ कि भनेर हाम्रो गाउँका एक जना अंकललाई भेट्न जादा उहाँले भन्नुभएको झलक्क याद आँउछ।
कसैको सिफारिस र भनसुन बिना जागिर पाउनु भनेको भाग्य नै हुन्छ नेपालामा।
लोक सेवामा नाम निकाले त हो हैन भने कुचो समाउने जागिर होस् कि कलम समाउने जागिर कसैको सिफारिस त चाहिन्छ नै!
मैले निजी स्कुलमा पढाउँदा पनि सिफारिस लिएर नै गएकी थिएँ। अझ त्यति बेला त माओवादी आन्दोलन चलेको थियो।
नचिनेका कसैलाई पनि निजी स्कुलले राख्दैनथे। माओवादी आन्दोलनको उत्कर्ष समय थियो केलाई खतरा मोल्थे उनीहरू।
गाउँका ती काकाले भने जस्तै अचम्मको लाग्छ काठमाडौं मलाई पनि।
जे जस्तो कमाइ छ त्यही अनुरूपको रमाइ छ।सडक पेटीमा सुर्ती र पराग बेच्नेले पनि दिनमा ४-५ सय कमाएकै छन्। साँझ कालिमाटी तरकारी बजार बाहिरको सडक पेटीमा प्लाष्टिकमाथि एक मुठी सिमी, अलि कति खुर्सानी, अदुवा र लसुन बेच्नेले पनि व्यापार गरेकै छन्। किन्नेले पनि किनेकै छन्। सडक पेटीका त्यस्ता पसलमा भिड उत्तिकै हुन्छ, जति भिड भित्रका ठूला तरकारी पसलमा हुन्छ। साँच्चै त्यहाँ पनि पैसा उडेको होला छोप्न जान्नेले छोप्दा हुन् न जान्नेले उडाउँदा हुन्।
रत्नपार्कको रात्रि बजार देखेर पनि म जिल्ल परेकी थिएँ। दाइहरू पि.के पछाडि बागबजारको गल्लीमा एउटा घर डेरा गरी बस्नु हुन्थ्यो। म आफ्नो उपचारको सिलसिलामा महिना दुई महिनामा काठमाडौं आउथे।
कहिल्यै घाम नछिर्ने त्यो कोठामा हावा पनि मुस्किलले छिर्थ्यो होला। त्यही भएर त्यो कोठामा छिर्ने भनेपछि मलाई उल्टी आउला जस्तो हुन्थ्यो। धेरै जसो त पोखराबाट आएर उही दिन काम सकिन्थ्यो र भोलिपल्ट बिहानै फर्किन्थें।
कहिले कसो बस्न पर्यो भने मलाई रिङ्गाटा लागेजस्तो हुन्थ्यो। साना दाइ त्रिचन्द्र क्याम्पस आउँदा म पनि सँगै आउँथें र रत्नपार्कमा बस्थें। त्यतिबेला रत्नपार्क छिरेको पैसा लाग्दैन्थ्यो। अनेक चर्तिकला देख्न पाइथ्यो। समय कटेको पत्तो हुँदैनथ्यो। कोही बदाम बेच्थे, कोही काक्रो र फलफूल बेच्थे, त कोही चुरोट, पान पराग बेच्थे।
घाम ताप्नेको जस्तै माया साट्नेको पनि भिड हुन्थ्यो। पछि भने निना भाउजूले हिमालय पुस्तक पसल देखाइदिनुभयो जहाँ घन्टौं बसेर पढ्दा पनि कसैले केही भन्थेन।चस्मा लगाएका अलिक पाका उमेरका साहुजी बस्नुहुन्थ्यो धेरै जसो।
अहिले पुल भएको ठाउँबाट ४-५ घर अगाडि पिके क्याम्पसतिर त्यतैको साइडमा त्यो पुस्तक पसल थियो। त्यो पसल मलाई लाइब्रेरीजस्तो लाग्थ्यो।
टियु पढ्दा ताका पाण्डे सर भन्नुहुन्थ्यो 'साझँ ५-६ बजे पछि रत्नपार्कमा बेच्न राखेको सेकुवा र छोइला खाएर त हेर, बौकी काठमाडौंका सेकुवा कर्नर सबै फ्लप।' आजसम्म रत्नपार्कको त्यो रात्रिकालीन परिकार खाने मौका त मिलेन, भनूँ कि खाइएन भनूँ तर सडक किनारामा बेच्न राखेका लुगाफाटा र भाडावर्तन चाहिँ धेरै पटक किनेकी छु। त्यहाँ पनि पैसा टिप्न जान्नेलाई मालामाल नजान्नेलाई रित्तो हात। ढाँटेर होस् कि छलेर, मेहनतले होस् कि आफ्नो कला बेचेर अझै पनि रत्नपार्क पैसा कमाउने र पैसा गुमाउने दुबैलाई उत्तिकै हार्दिकताका साथ स्वागत गरिरहेकै देखिन्छ।
वीर हस्पिटलामा कुरुवा बस्न आएका हुन् कि बाघबजारका गल्लीमा डेरा गरी बस्ने हुन पुस माघको सिरेठोमा घाम ताप्ने थलो रत्नपार्क हो। आजभोलि त भित्र छिरेको पैसा लिन्छ महानगरपालिकाले, त्यही पनि सुटिङ गर्नेदेखि हुटिंग गर्ने सबैको भिड हुन्छ त्यता।
डेराको बसाइँ। बिरालोले बच्चा सारेजस्तो कहिले कता, कहिले कता। कतै घाम पाइन्छ, पानी पाइन्न। कतै पानी पाइन्छ, घाम पाइन्न। कहीँ कहीँ त घाम र पानी दुबै पाइन्न।
कहिले घाम खोज्न, कहिले पानी खोज्न डेरा सरियो। कतै कतै घाम पानी हुँदा हुँदै पनि गोजीले धान्न नसकेर डेरा सरियो।
कहीँ घरबेटीका छोराको बिहे हुँदा घरबेटीलाई कोठा चाहिएकाले डेरा सरियो। कहिले आफ्नो पायक नपरेकाले आफ्नै मर्जीले डेरा सरियो।
काठमाडौंमा घर हुनेभन्दा डेरामा बस्ने धेरै छन् भन्छन्, तथ्यांक घर तथा घरभाडा बापत राजस्व बुझ्ने महानगरसग होला।
हामी चाहिँ विभिन्न बहानामा डेरा सरियो। अब पनि सर्नुपर्ला के थाहा। जति पटक सरियो २-४ हजार कोठा भाडा बढ्यो। ५-१० हजार ढुवानीको खर्च तिरेर नै सरियो।सामान टुट्ने फुट्नेको हिसाबपछि गर्दै गरम्ला भनेर हिम्मत गरेर नै सरियो।
एक पटक घरबेटीले अनायस कोठा छोड भने।
५ वर्षदेखि बसेको, छोरी हुर्केको घर थियो। त्यो घर जाँदा छोरी २ वर्षकी मात्र थिई। उसलाई कसको घर, डेरा भनेको के अत्तोपत्तो थिएन। संयोगले त्यो घर जिम्मा लिई बस्नु भएका दाइ दिदीसँग हाम्रो अति आत्मीय सम्बन्ध भयो। ५ वर्षसँगै एउटै परिवार जस्तो भएर बस्न पाउनु अहोभाग्य हाम्रो। डेरा छोडेर आए पनि दाइ दिदीसँग अझै हाम्रो प्रगाढ सम्बन्ध छ। त्यो घर उहाँहरूकै भएको भए हामीलाई सायद घर छोड्न पर्दैन्थ्यो। उहाँहरू पनि हामीजस्तै डेरावाल। घरबेटीले छोड्न पर्यो भने पछि हामीलाई डेरा खोज्नु नै पर्यो। छोरीको स्कुल थियो नजिकै। मङ्सिरको महिना शैक्षिक सत्र सिध्दिएको पनि थिएन। न यताको न उताको जस्तो बीचमा थियो पढाइ।
बसेको ठाउँ वरपर नै कोठा चाहिन्थ्यो हामीहरूलाई। साथीभाइसँग हारगुहार गरेका थियौं। भने जस्तो कोठा भने जस्तो बजेटमा पाइएन।
'बरू बराउनी (बिहेको लागि जोडी खोज्ने काम) गर्न सजिलो होला बबरमहल, अनामनगरतिर डेरा खोज्न सकिएन' भन्दै ठट्टा गर्थे उनीहरू।
छोरीलाई भने हामी बसेको घर हाम्रै भन्ने रैछ। घरबेटीले घर खाली गर्नु भनेपछि कता जाने कसो गर्ने भनेर बुढाबूढीले सल्लाह गरेको सुन्दा नाइँ म जान्नँ कतै भनेर धेरै पटक झगडा गरी रोई। जे जस्तो भए पनि डेराको बसाइँ अर्काको नासो समालेर बसे जस्तो त रै’छ। ले भने पछि नासो बुझाउनै पर्यो। हामी कलंकी सर्यौं। त्यता भने जस्तो डेरा उत्तिबेला नै पाइएन।
३ महिना कलंकीबाट छोरीलाई स्कुल पुर्याउन र लिन बबरमहल धाएँ। स्कुलको बस थिएन। शैक्षिक सत्रको बीचमा बच्चाको स्कुल परिवर्तन गर्न मुनासिब लागेन।किताब मिल्दैनन्, नयाँ साथी, नयाँ परिवेश घुलमिल हुन गाह्रो हुन्छ छोरीलाई भनेर।
समय चिनेर, पैसा चिनेर त्यसलाई छोप्न जानेकाले कति छोपे, कति जोडे खै। हामीले भने जति कमायौ यतै बुझायौ: घरबेटीलाई, स्कुल र हस्पिटललाई। त्यसबाट बचेको खानपान र लुगाफाटालाई। काठमाडौंको बसाइँ , काठमाडौंको कमाइ।
चाडबाडमा घर जानु पर्यो। काठमाडौंमा घर हुनेहरूले डेरा बस्नेलाई गन्दैनन् भन्छन्। हामीलाई चाहिँ त्यस्तो अनुभव बिरलै गर्नु परेको छ। चाड अझ भनूँ दसैमा घर नगए यसको त घरै रैन छ कि भन्लान भन्ने पीर एउटा। बुढा बा आमालाई एक्लै छोडेर काठमाडौं छिरेको यत्रो वर्ष भो न बा आमालाई भर दिएर हेर्न सकिएको छ, न त ओखती मुलो गर्ने पैसा दिएर नै।
दसैंमा बाटो कुरेर बसेका आमा बाको आत्माले पनि के भन्ला, पितृले के भन्लान् , देख्निसँग त भो भै गो, माथि बसेर हेरेको ईश्वरसँग डर लाग्छ। दसैंमा चाहिँ मौका मिलेसम्म लामो छुट्टी लिएर गैइन्छ।कलंकीको भिड कहिले कसो टिकट लिँदा पनि सिट पाइन्न बस्न। तै आफ्नो घर जाने उत्साहले दु:खलाई ह्वात्त घटाउँछ सुखलाई बढाउँछ।
घर जाँदा आफ्नो पनको न्यानो मनमा पलाउनै लाग्छ फर्कने दिन आइहाल्छ। घरबाट जति जति काठमाडौं नजिक आउँछ फेरि उही दैनिकी। फेरि उही डेरा। साँच्चै नफर्कूं कि जस्तो पनि हुन्छ तर सकिँदो रैनछ। नफर्केर के गर्नु मुखमा माड लाउने जागिर जो काठमाडौंमा छ।
श्रीमानको जागिर कहिल्यै काठमाडौंबाट सरूवा नहुने। मलाई भने काठमाडौं छोडेर जान पाए हुन्थ्यो जस्तो लाग्ने। यिनै दुबिधा र छटपटी काठमाडौंको कमाइ। यहाँ अवसर खोज्न आउनेको कमी छैन। थोरै धेरै अवसर पनि पाएकै छन्। म भने काठमाडौं छोडेर बाहिर जान पाए हुन्थ्यो भन्ने मान्छे।
काठमाडौं बसेर मामको दु:ख नभए पनि कामको दु:ख भएकै छ। कति त काम र माम दुबैको दु:खमा पिल्सिएका छन्। यिनै दु:ख र गुनासो काठमान्डौंको कमाइ। कहिले कसो त किन आइएछ यता जस्तो लाग्छ। यिनै अफसोस र अपूर्णता काठमाडौंको कमाइ। यहाँ केही गरे पनि नगरे पनि, खाए पनि नखाए पनि, रिस गर्ने पनि छैनन्, कठै भन्ने पनि छैनन्।
यहाँ कोही आफ्ना पनि छैनन्, कोही पराइ पनि छैनन्। आफ्नो काम कुराबाहेक अर्काको कसैलाई चासो छैन। अत्यन्त निजीवादी समाज छ। सहरको मुख्य विशेषता नै यही हो। यही निजत्व काठमाडौंको कमाइ।