घडीको अलार्मले बिहानको चार बजेको संकेत दियो। देख्दै गरेको अधुरो सपनालाई बीचैमा छोडेर जुरुक्क उठ्यो जीवन, दुई तले बिस्तराबाट। आँखा मिच्दै हिजो सुपरमार्केट (मदिना) बाट किनेर ल्याएको आलु र लौका लिएर सामूहिक भान्सामा गएर तिउन पकाउँछ। साथसाथै भात।
खाना पाक्नेबित्तिकै हतार-हतार नुहाउन कुद्छ। नुहाउनको लागि हिजो बेलुकी नै ठूलो बाल्टिनमा पानी भरिएको हुन्छ। चिसो हुनको लागि त्यही पानीले नुहाउँछ। नुहाई-धुवाई गरेर प्लास्टिकको थैलोमा खाना पोको पार्छ, अलिकति खाजा स्वरुप खान्छ। हजारौंको संख्यामा बस्ने ठूलो क्याम्पको कम्पाउन्डमा पार्क गरी राखेको बसको हर्न बज्छ।
जीवन पाइन्ट-सर्ट जोडेको पोसाक (डाङरे) लगाएर कुद्छ हतार/हतार बस चढ्न। क्याम्प ऊ बस्ने ठाउँबाट निकै टाढा छ। बिहानै जाने बेलुकी फर्कने। जीवनको दैनिकी यस्तै छ। ड्युटी अलग-अलग ठाउँमा हुन्छ।
उता नेपालबाट आउँदा मान्छे सप्लाई गर्ने कम्पनीले 'राम्रो छ काम, राम्रै सुविधा छ' भनेर पठाएको थियो तर यता आइपुगेपछि थाहा हुन्छ जीवनलाई ऊ सप्लाई कम्पनीमा परेको कुरा।
जीवन एउटा ठूलो प्रोजेक्टले निर्माण गर्दै गरेको निकै ठूलो कन्स्ट्रक्सनको काममा दत्तचित्त भएर लागिरहन्छ। अपवादमा परेको केही प्रतिशतको लागि राम्रो होला काम तर अधिकांश हामी नेपालीले परदेशमा पाउने काम भनेको थ्रीडी अर्थात् डिफिकल्ट, डेन्जरस र डर्टी नै हो। जीवनजस्तै उमेर भएका हट्टाकट्टा थुप्रै युवाहरू यसरी नै आफ्नैहरूदेखि ठगिँदै-ठगिँदै पराई भूमिमा नमज्जाले सस्तो श्रमबजारमा लिलाम भइहेको छन्।
प्लास्टिकमा पोका पारेर ल्याएको खाना गर्मी महिनामा त खाने बेलासम्ममा बिग्रिसकेको हुन्छ। तर बाध्यताको अगाडि निरीह बन्नुको विकल्प के हुँदा रहेछ र? जिन्दगीले जीवनलाई घिसार्दै-घिसार्दै आफ्नोदेखि टाढा पुर्यायो। अनिदो रातहरूमा देखेको अधुरो सपना बालुवाघारी रमल्लामा ५०-५५ डिग्रीको गर्मीको मारमा मूलको पानी झैँ बगेको पसिनाले बताउँदै छ, सिकाउँदै छ परिभाषा जिन्दगीको। रगत-पसिनालाई लिलाम गरी-गरी आजको पीडा खेपिरहेछ, फगत भोलिको अनिश्चित खुसीका लागि।
भन्ने गर्छन् सबैले, रहरले होइन बाध्यताले गर्दा पलायन भएको हो परदेश। परदेश गएर गर्न हुने त्यही काम आफ्नै देशमा गर्दा लाज हुने कस्तो खालको बाध्यता? बुझ्न नसकेको कुरा! ताप्लेजुङको ओलङचुङगोलामा पक्की पुल बनाउन भारतको मोतिहारी छप्राबाट कनैंया लाल मण्डल आएर अरबबाट भित्रेको रेमिटेन्स टप्काउँछ। नेपालको नेपालथोकबाट गएको जीवन नेपालीहरू अरब गएर डोरीमा झुण्डेर संसारकै अग्लो टावर बुर्जखलिफाको सिसा टल्काउँदै छ।
जीवनलाई जिन्दगी गन्तव्य नभएर यात्रा हो भन्ने कुराको जानकार भएर होला सायद विकराल बिरानो बस्तीमा बनेको गोरेटोमा निर्धक्क भएर यात्रा गर्दैछन् यात्री बनेर। सप्लाई कम्पनीको अस्थिर काम नेपालदेखि दले काकाले तोकेर पठाको भन्दा आउने आधा पाउने तलब। दक्षिण भारती मूलका मद्रासी र केरलावाला सुपरभ्वाइजरको हेपाई। बडो टिठलाग्दो छ प्रवासी दैनिकी।
आफ्नाहरूको यादले भिजेको सिरानी सुक्न नपाउँदै नयनबाँध फुटिरहन्छ पलपल। सम्झनाको सिरेटोले मनलाई निमोनिया बनाइसकेको होला कठै! प्रवासी, साह्रो मन भएका मान्छेहरू। छुट्टी बिनाको हप्ताहरू, ओभर टाइम गरेर पनि पूरा पैसा नपाएको महिनाहरू।
समस्या लिएर जाँदै गर्दा सुनवाइ नै नगरी झारा टार्न काम गर्ने दूतावासको कर्मचारीको अमानवीय व्यवहार खेप्न विवश, हिम्मत हुँदाहुँदै लाचार बनी सहेर बस्ने जिउँदा मान्छेहरू। सावाँले भन्दा ब्याजले खन्दै गरेको अदृश्य मन भित्रको घाउ बोकेर डाँडापारि पुगेको घामजस्तै आमा-बा भेट्न आँतुर छन् सुनौलो जिन्दगी खोज्न अरब छिरेका जीवनहरू।
जीवनजस्तै जोवन बोकेका लाखौं युवा-युवतीले दैनिक ढाइहजारदेखि दुई हजारसम्म त्रिभुवन हवाई आड्डाको बाटो हुँदै अरुको देशमा आधुनिक दास बन्न जाँदै गर्दा गर्वले छाती फुलाउने शासक हो, बधाई छ तिमीहरूको कार्यप्रणालीलाई।