अचेल मलाई झोलाभरि किताब-कापी बोकेर स्कुल ड्रेसमा पाठशाला हिँडेका नानीहरूको ताँती देख्दा ईर्ष्या-भाव जागेर आउँछ। सर्ट-प्यान्ट, टाई-बेल्ट, जुत्ता-मोजा र छातीमा रुमाल भिरेर हिँडेका नानीहरूको जुलुशले नजानिँदो विमोहित गर्छ।
भित्रबाटै एक चाह जाग्छ- अहो! मेरो बाल्यकाल र किशोर वय यस्तै भैदिएको भए कस्तो हुनेथियो होला! एकाबिहानै पाठशाला छिरेका नानीहरू बेलुका साँझ परेपछि मात्र घर फिर्छन्। अहिलेका नानीहरूको अहोभाग्य हो, कक्षा अध्यापन बाहेक कोचिङ, ट्युसन अन्य थरीथरीका अतिरिक्त अध्यापन कक्षामा सामेल हुन पाएका छन्। अहिलेका अधिकांश नानीहरूलाई पूर्णकालीन विद्यार्थी भएर पढ्न सुयोग मिलेको छ।
म आफ्नो विद्यार्थी जीवनतिर फर्किन्छु, अहिलेका नानीहरूले जस्तो पूर्णकालीन विद्यार्थी भएर पढ्ने अवसर कहाँ मिल्यो र? अहिलेका नानीहरूलाई देख्ता मभित्र लोभ जाग्ने कारण पनि त्यही हो, म पनि फुलटाइमर विद्यार्थी भएर पढ्न पाएको भए के-के न गर्थेँ होला? कस्तो न हुन्थेँ होला!
मेरो अन्तस्लोकमा फुलटाइमर विद्यार्थी भएर पढ्न नपाएको गहन पीडा छ। जीवन धान्न सम्पन्न गर्नुपर्ने रोजीरोटीका मूल कामहरू गरेर त्यसबाट बँचेखुँचेको अलिअलि समय तानतुन पार्दै पढाइ अगाडि बढाउनु कति कष्टजन्य कुरा थियो। त्यसको सजीव अनुभूति त अहिले गर्दैछु। हालका फुलटाइमर विद्यार्थीहरूसित ऊबेलाको आफूलाई तुलना गरेर मर्म केलाउँदैछु।
फुलटाइमर अर्थात् पूर्णकालीन विद्यार्थी भएर पढ्न नपाएकै कारणले सायद मेरो अध्ययन र ज्ञानको पाटो छिपछिपे भुलभुलैयाहरूबाट माथि उठ्न सकेन। ज्ञानसागरको गहिराइमा जति गोता मार्नु पर्ने थियो, त्यो मार्न सकिनँ। अध्ययनमा जति डुबुल्की लाउनु पर्ने थियो, त्यो लाउन सकिनँ। ज्ञानले जति रुझ्नु भिज्नु पर्थ्यो, भिज्नै सकिएन, रुझ्नै सकिएन।
ज्ञानका केही थोपा औँलाले अचाएर जीवनरुपी शरीरमा थोरै छिटा पार्नमात्र सफल रहेँ। चुपिचल्ल भिज्न सकिनँ। पूर्णकालीन विद्यार्थी बन्न नपाएको पीडाले अहिले पनि कता-कता छातीभित्र दुखाइरहन्छ। रोजीरोटी जुटाउने घनचक्रले पाठशाला जीवनदेखि नै लखेटिरह्यो। अहिले पनि लखेटिरहेको छ।
निस्फिक्री तालमा धित मरुन्जेल किताब पढ्ने मेरो चाहना कहिले पूरा होला? बिन्दास पाराले अक्षरहरूको सागरमा हेलिने दिन कहिले आउला? सायद यी प्रश्नहरू मेरा लागि एक मृगातृष्णा हुन्। मरुभूमिको मृग मिराज देखेर मृत्यु चुम्बन गर्न विवश भए झैँ मनमा तृप्त नहुने आकांक्षा बोकेर अहिले पनि जीवनको डगरमा भट्किरहेको छु।
अहिले आफ्नो अतीत पल्टाउँदा निकै कठोर सत्यहरूसित साक्षात्कार गरेर अगाडि बढेको रहेछु म। मेरो बाल्यकाल निकै कठिन रहेछ। आमाको अभाव, आँटोको अभाव, अस्कोटको अभाव, ओखतिको अभावले चारैतिरबाट घेराबन्दी गरेको रहेछ मेरो बाल्यकाललाई। त्यो बेला थरीथरीका अभावले, परिपरिका अभावले चिमोटेका घाउका डामहरू छाम्न सक्छु अहिले पनि जीवनका भित्ताभरि।
अहिलेको आधारभूत तह अर्थात् त्योबेलाको प्राथमिक, निम्न माध्यमिक तहको विद्यार्थीकाल सम्झिन्छु, कहाँ मनचित्यरुपमा लेखपढ गर्न पाउनु। जुरुक्क उठ्यो, आँखा मिच्तै डोको नाम्लो भिरेर खरबारीतिर या खेतबारीका कान्लातिर कुद्यो। एक डोको घाँस काटेर गोठमा नराख्तै स्कुल जाने बेला हुन्थ्यो। हतार-हतार गाँस चेपेर सास न बास हुँदै स्कुल पुग्यो। कनिकुथी पढेजस्तो गर्यो। छुट्टीको घण्टी बजेपछि घर आइपुग्नुको हतारो।
घर आएर फाँकमुठी खाजाभुजा खाँदै फेरि एक डोको घाँस काट्नुको ड्युटीमा हाजिर भयो। झ्याउँकिरी बासेपछि अहो! रात परेछ भन्ने चेत खुल्थ्यो। झम्के साँझमा गुम्सुङ गुम्सुङ घर आयो। सिँधोपिठो खायो। गलेको शरीर लखतरान पर्थ्यो।
आजभन्दा चालीस वर्ष अघिको विकट पहाडमा बत्तीको ठूलो अभाव थियो। हुँदा दियालो बालेर पढ्नु पर्ने, त्यो पनि नहुँदा ढोड र झिक्रा सल्काएर पढ्नु पर्ने। फेरि निरन्तरको कामको थिचाइले पढ्नुको रसै कहाँ थियो र? अक्षर पढ्नु त के रातको ढिँडो-रोटो पखिर्नु पनि गाह्रो थियो। झप्-झप् उङ्न थालिन्थ्यो। खाएपछि भुक्लुक्कै ओछ्यानमा ढलिन्थ्यो। एकैचोटि बिहान भएपछि ब्युँझ्यो, उही डोको, नाम्लो र कँचियाले पर्खिरहेका हुन्थे।
गाउँमा सात कक्षाभन्दा माथिको स्कुल थिएन। दुई दिन टाढाको सदरमुकामको स्कुलमा मेरो माध्यमिक तहको पढाइ सुरु भयो। त्यहाँ आउँदा देखेँ, फुलटाइमर विद्यार्थीको हगडग। बिहान पनि विषय पिच्छेका सरहरूसित ट्युसन। दिनभरि कक्षाको पठनपाठन। चार बजे छुट्टी भएपछि पनि टयुसनको घोटाइ। पैसा र समय हुने आर्थिक रुपमा सवल अभिभावकहरूका छोराछोरीको पढाइको तरिका थियो यो।
आफू त बिहान-बेलुका भात कमाउनका अर्काको गोठमा घाँस काटेर, गाईबाख्रा चराएर, भैँसी चराएर पढाइअगाडि बढाइरहेको थिएँ। हाइस्कुल तहको पढाइ पूरा गर्न के गरिएन? जंगलको थाकल काटिएन कि भाँडा मोल्ने काम गरिएन कि गोठालो बसिएन कि? थरीथरीका परिपरिका शारीरिक श्रम गरेर रोजीरोटी जुटाउँदै पढाइ पूरा गरियो।
स्कुलको पढाइको अतिरिक्त भैँसी चराउँदा भैँसीकै ढाडमाथि बसेर पुस्तक पढियो। जंगलमा बाख्रा लैजाँदा बाख्रा सँगसँगै गोटागन्ती माने रटियो। जीवनमा जुनजुन परिस्थिति आउँछ, त्यसैसित हातेमालो गर्दै अगाडि बढियो। अध्ययनमा अवरोध बनेर उभिने समस्याका चट्टानहरूलाई सिँढी बनाउँदै, त्यसैलाई एक-एक खुट्किलो बनाउँदै त्यसको छातीमा टेक्दै विद्यार्थी जीवन अगाडि बढ्यो।
हाइस्कुल पार गर्दासम्म पनि पूर्णकालीन विद्यार्थी हुन सकिएन। बिहान-बेलुकाको समय गाँस र बासको जोहोजतनमा लगाउँदै स्कुल-कक्षाको भरमा छिपछिपे ज्ञान र सूचना संगाल्दै अगाडि बढियो। प्रवीणता प्रमाणपत्र तहमा टेकेपछि मसिना भुरा पढाउने काम पाएँ आफू पढेकै स्कुलमा। प्रमाणपत्रदेखि स्नातकसम्मको कलेज शिक्षा पनि त्यही स्कुलमा सञ्चालित थियो।
त्यही स्कुलमा पढाउनु, त्यहीँ पढ्नु र त्यहीँको होस्टेलमा बास पाउनु मेरो लागि एक अपूर्व अवसर थियो। कजेज पढनु त नाम मात्रको काम थियो। अब म विद्यार्थी कम शिक्षक बढी भैसकेको थिएँ। बिहान पनि भेटेसम्म टयुसन कोचिङ पढाउनु, दिनभरि पनि स्कुल अध्यापनमै कैद हुनु, बेलुकाको समय पनि भुराहरूलाई पढाउनमा मेरो समय सीमित हुन थाल्यो।
कलेजमा मेरो उपस्थिति अब पातलो हुन थाल्यो। विषयगत गाइड किताब किनेर स्वअध्ययनमा खुम्चिन थालेँ। आफ्नो रोजीरोटी जुटाउने, घर-परिवारको लागि दुई पैसा आर्जन गरी व्यवहार होलो-खुकुलो पार्नपट्टि प्रवृत्ति बनेँ।
कलेजकालीन समयमा पनि पूर्णकालीन विद्यार्थी हुन सकिनँ। आंशिक विद्यार्थीको भेषमा रहेँ। मेरो शिष्य-जीवन झन् साँघुरो झन् साँघुरो हुँदै थियो। बरु हिजोका दिनमा अलि खुकुलोसित सास फेरिरहेको थिएँ। तर, मास्टरी पेसा वरण गरेपछि म निसास लाग्दो व्यस्ततामा दलिन थालेँ। मलाई गाँसबाँसको सानो आधार जुटाउनु पनि थियो। विल्कुल शून्यबाट उठेको थियो मेरो जीवन। कतै टेक्ने अखेटो, समाउने हाँगो, मुखमा गाँसको भरपर्दो स्रोत र शिरमाथि छतरी केही पनि थिएन। जीवन स्वयम एक कठिन चुनौती बनेर मसामु ठिंग उभिएको थियो।
विद्यार्थीलाई गोटागन्ति अक्षर सिकाउने काम पाएपछि मेरो समय कालोपाटीमा दिनदिनै अक्षर बनेर पोखिन थाल्यो। डस्टर बनेर पुछिन थाल्यो। आफू मनमस्त अध्ययनमा डुबुल्की हान्ने सपना सपना नै रह्यो। परीक्षाको आसपासमा कसरी पैँतीस प्राप्त गर्ने भन्ने धुनमा पढ्यो, जाँच दियो। निम्छरो सर्टिफिकेट हात पार्यो। यसै क्रममा सकियो स्नातकसम्मको विद्यार्थी काल।
कुनै पनि तह र कुनै पनि कक्षामा पूर्णकालीन विद्यार्थी भएर धित मरुन्जेल पढ्न नपाएको पीडाले म भित्रभित्रै रन्थनिएको थिएँ। अध्ययनको भोक मार्न नपाएकोमा अन्तरभित्र अति विक्षुब्ध थिएँ। अथवा यसो भनूँ मनचिन्त्य पढ्न नपाएकोमा कुण्ठित मनोदशामा थिएँ र मेरो मनमा एक संकल्पको विज टुँसाइरहेको थियो, स्नातकोत्तर पढ्न बरु मास्टरी जागिरलाई त्यागपत्र दिएर भए पनि जान्छु।
दुई वर्ष यसरी पढ्छु, विद्यार्थी जीवनका सारा अध्ययनका अतृप्ति र अपूर्णताहरू पूर्ण बनाउँछु र एक सीमातित परितोष हासिल गरेरै छोड्छु। ज्ञानको त्यो सुदूर क्षितिज छोएर फर्किन्छु।
मेरो संकल्पले फेरि पनि हावा खायो। अध्ययनको जुन क्षितिज छुने चाह राखेको थिएँ त्यो आजसम्म छुन पाएको छैन। अक्षरको अनन्त सागरमा डुबेर तिर्खा मेट्ने र त्यो ज्ञानको क्षुधा मेट्ने काममा कसैले बाधा हाल्न सक्दैनन् र मलाई कतैबाट पनि विचलित पार्न सक्तैनन् भनेको थिएँ। तर, यो संकल्प पनि धेरै लामो समय टिक्न सकेन।
मेरा आकांक्षाहरूले पुनः हावा खाए। कारण म उभिएको आर्थिक धरातल अत्यन्त कमजोर थियो। मास्टरी त्यागेरै हिँड्दा पनि फेरि रोजीरोटी जुटाउन अर्को काम नगरी मुख थिएन। मसित संचितीको कन्चो बाँकी थिएन। तर पनि एक अठोटले मनमा घर गरिरहेको थियो, मास्टर तह जसरी हुन्छ गहिरो अध्ययन गर्छु। पूर्णकालीन विद्यार्थी नै बन्छु। यो अठोटले हाँगाविँगा नहाल्दै आकस्मिक तवरले वैवाहिक संसारमा प्रवेश गरेँ।
विवाहको बन्धनमा बाँधिएपछि बालबच्चा काढ्नतिर लागियो। तिनलाई हुर्काउन, बढाउन, पढाउन र रोजीरोटीको प्रबन्ध गर्नतिर लागियो। आफू मनचिन्त्य ज्ञानसागरमा पौडिने कुरा त झन ओझेल परेर गयो। पारिवारिक दायित्वका अनेकन नयाँ-नयाँ जुइँनाहरूले जीवलाई बेर्न थाल्यो।
सबैचिज त्यागेर पूर्णाकालीन विद्यार्थी बन्छु भन्ने सोचले यसरी सधैँको लागि बिराम लियो। संकल्पका धुनहरू पुनः उठ्नै नसक्नेगरी थला परे। मास्टर तह त वर्षको एघार महिना रोजीरोटीको लुते धन्दामा धसिएर, जाँचको एक महिना भूमिगत पसेर, सतही पढेर, प्राइभेट परीक्षामा सामेल भएर पासको सर्टिफिकेट निकाल्नु सम्ममा सीमित रह्यो।
जीवनले नित्य नवीन मोड लिँदै गएपछि पूर्णकालीन विद्यार्थी बन्ने सपनाले त्यतिखेर बिराम लियो जतिखेर आफ्ना नानीहरू पूर्णकालीन विद्यार्थी बनेर पाठशालामा प्रवेश गरे। आत्मालाई अझ पनि ज्ञानको एक अतिरेक अतृप्तिले डसिरहेको छ। तथापि त्यो पीडालाई सन्तानहरूले पूर्णकालीन विद्यार्थी भएर मेटाइदिएको अनुभूति छ। अर्थात् आफू पूर्णकालीन विद्यार्थी बन्न नसकेको प्यास नानीहरूको पूर्णकालीन विश्वविद्यालयीय जीवनको झलकबाट तृप्त बनिरहेको छु।