'तेरा माइती यस्ता-उस्ता, निर्गतिला, हाम्रो सम्पत्तिमा राज गर्न आकी तँ' भनि माइतीको समेत बदनाम गर्दै रञ्जुलाई सासू-ससुरा र नन्दले अनेक लान्छना लगाएर घरमा बस्नै नसकिने अवस्था बनाएपछि ऊ माइतीघर गई।
'छोरीमान्छेले बिहे गरेर अर्काकै घर जाने हो, सहनुपर्छ, रिझाउनुपर्छ। सहेर सानो भइँदैन' भन्दै माइतबाट घरै पठाइयो।
अब कहाँ जाओस् ऊ? माइतीमा ठाउँ छैन, घरमा बसुँ लोग्ने पनि आफूलाई नबुझ्ने साथै परिवारका सदस्यहरूले दिएको मानसिक टर्चर। यी सब सहन नसकेर उसले आत्महत्या गरी।
रमिला (नाम परिवर्तन) लाई म बिहे गर्छु भनेर प्रेमीले मायाजालमा फसायो। पेटमा गर्भ रह्यो। रमिलाले प्रेमीलाई भनी, 'मेरो अवस्था यस्तो भयो, चाँडै बिहे गरेर लैजा।' उसले आफ्नो परिवारका डरले घरमा लान चाहेन।
अर्काकै घर जानुपर्ने बाध्यता, यस्तो अवस्थामा माइतीमा बस्ने अवस्था पनि रहेन। प्रेमीले नमान्दा पनि उसले कर गर्न थाली। रोई, कराई, चिच्याई। अन्त्यमा उसको प्रेमीको हातबाट उसको हत्या हुन पुग्यो।
पवित्राको लभ म्यारिज भएको हो। अजातकी केटी बिहे गरेर ल्याइस् भन्दै आफ्नो भाइ तथा छोरा (पवित्राको श्रीमान्) लाई अनेक कुरा लाएर पवित्राको विरुद्ध भड्काउने गर्दा उसको पतिले पवित्रालाई पिट्न थाल्यो। परिवारका सदस्यहरूले मनलाग्दी हिंसा गर्न थाले।
यी त प्रतिनिधि पात्रमात्र हुन्। यस्ता कैयौँ दिदीबहिनी र छोरीहरू यस्ता समस्याबाट गुज्रेका र गुज्रिरहेका छन्। धेरै छोरीचेलीहरू त आफ्नो पतिबाट भन्दा उसको परिवारबाट हिंसामा परेका छन्।
अहिलेको युग एक्काइसौँ शताब्दीको युग। संसारभरिका महिलाहरूको लामो संघर्षपश्चात विश्वका धेरैजसो मुलुकमा महिला हिंसा घटेका र अमेरिका बेलायतजस्ता विकसित मुलुकमा लगभग शून्यमा आइसक्दा पनि नेपालमा भने महिलाहरू प्रतिको हिंसा बर्बर छ। कुटपिट, बलात्कार, हत्या आगो लगाएर मारिनु, तेजाव खन्याइनुजस्ता शारीरिक र मानसिक घरेलु हिंसाबाट ग्रसित छन् महिलाहरू। जुन पीडा या यातना सुन्दामात्र पनि आङ सिरिङ्ग हुन्छ, यी यस्ता यातनाबाट मुक्ति पाउन नसक्नुमा पूरानो सामाजिक संरचना महिला मुक्ति विरोधी देखिन आउँछ।
देशमा विभिन्न कालखण्डमा ठूल्-ठूला राजनीतिक परिवर्तन नभएका हैनन्। महिला हकहितका कुरालाई लिएर भाषण र नाराहरू नचर्किएका हैनन्। महिला हकअधिकार सम्बन्धी कार्य गर्ने संस्थाहरूले पनि सक्दो गरिरहेकै छन्। तैपनि हिंसामा कमी आउनुको सट्टा बढेर गएको देखिन्छ।
महिला हकहितका धेरै कुराहरू नारा भाषण र प्रतिबद्धता पत्रमा मात्रै सीमित रहन पुगेका त हैनन्?
राजनीति क्षेत्रबाट महिलाहरूलाई छुट्याइएको आरक्षण कोटालाई नै सबैभन्दा ठूलो उपलब्धि ठानियो। के यतिले मात्र महिला हिंसामा कमी आएको छ त? अझै पनि महिलाहरू दोश्रो दर्जाको मानव झैँ छन् भन्दा अन्यथा नहोला।
हरेक परिवारमा छोरा र छोरीलाई हेर्ने दृष्टिकोण फरक छ। छोरी जन्मेर हातखुट्टा लाग्नेबित्तिकै सानोतिनो काममा आमालाई सघाउन थाल्छे। उसलाई त्यतैतिर प्रेरित पनि गरिन्छ किनभने उसले बिहेपछि अर्काको घर जानुपर्छ, पतिको परिवारलाई रिझाउनुपर्छ।
तर छोरालाई भने उफ्रिन, डुल्न, खेल्न, कुद्न, पढ्नजस्ता मानव विकासका हरेक क्षेत्रतिर प्रेरित गरिन्छ। उसले लाउने कपडासमेत छोरीलाई धुन लगाउने, खाकै थालमा चुठ्न लाउने गरिन्छ। जताततै छुट पाएपछि मात्तिएर बदमासीतिर लाग्यो भने पनि भन्ने गरिन्छ- 'छोरोमान्छे यस्तै हो नि। उसले त कामधन्दा सिक्नुपर्दैन, लुगा धुन खाना पकाउन, घर सफा गर्न सिक्नु आवश्यक छैन किनभने ती काम गर्नको लागि उसले श्रीमती बिहे गरेर ल्याउँछ।'
छोरा र छोरी बराबर कष्ट सहेर जन्माएको त हो, दसधारा दूध ख्वाउने, हुर्काउने तरिका उही हुन्छ तर छोरीप्रतिको सोच फरक हुन पुगेको कारण छोरी जन्मनासाथ हरेक छोरीका बा-आमालाई नपढ्ली कि, पछि गएर राम्रो काम गर्न सक्ने नहोली कि, साहसी र निडर नहोली कि भन्ने चिन्ता हुनुको सट्टा गतिलो घर पो नभेट्ली कि, अर्काको घरमा सबैलाई रिझाएर खान सक्ने नहोली कि भन्ने कुराको चिन्ताले सताउन थाल्छ।
हुन पनि जति पढाए लेखाए पनि, दाइजो सम्पत्ति प्रशस्त दिए पनि उसले त बिहे गरेर आफ्नो जन्मघर जन्मदाता सबलाई छोडेर अर्काको घर जानुछ। उसले पतिको परिवारमा गएर सासू, ससुरा, नन्द-आमाजू, देवर-जेठाजु जति छन् घरमा, उनीहरूको सेवा गर्नुपर्ने हुन्छ एउटी घरेलु कामदारजस्तै बनेर। चित्तबुझ्दो सेवा गर्न सकिन भने सबैको नजरमा निन्दाको पात्र बन्छे साथै उसलाई अनेक तवरले शारीरिक र मानसिक टर्चर दिने गरिन्छ।
यसको प्रमुख कारण यही नै हुनसक्छ कि एउटी छोरीमान्छे विवाहपछि अर्काको घर जानु भनेकै महिलालाई हिंसातिर धकेल्नु हो। महिला शोषणको खुल्ला प्रमाण यहीँबाट छर्लंग हुन्छ। किनभने जब एउटी छोरीमान्छे बिहेपछि अर्काको घर प्रवेश गर्छे, त्यहाँ गइसकेपछि उसका सम्पूर्ण इच्छा चाहना र रहरको अन्त्यष्टि हुनपुग्छ भन्दा फरक पर्दैन। यो गर त्यो नगर, परम्परालाई जीवित राख। यसरी अरुको इसारामा चल्नुपर्ने हुन्छ।
आफ्नो लोग्ने र लोग्नेका परिवारलाई खुसी पार्ने, रिझाउने सन्तानलाई कसरी हुर्काबढाइ गर्ने, यसरी जहिलेतहिले घरभित्रको धन्दामा जोतिइरहनुपर्ने, परिश्रम र दिमाग पनि त्यसैमा लडाउनुपर्ने हुन्छ। त्यति गर्दा पनि अपजसकै भारीमात्र बोक्नुपर्ने हुन्छ। अन्यत्र सोचविचार गर्नेतिर मन जाँदैन। जसले गर्दा बिहेअघि चल्दै गरेको आफ्नो पढाइ पूरा गर्ने अधिकांशले पाउँदैनन् नै, यदि कसैले यो सुविधा पाए पनि सबै काम भ्याएर पढ्नुपर्ने भएकोले जाँगरसमेत मर्न जान्छ धेरै महिलाको।
चरित्रको कुरालाई लिएर पनि निकै साँघुरो घेराभित्र कैद हुनुपर्दछ महिलाले। छोराले अर्थात् लोग्नेले जतै गएर जोसँग हाँसखेल गरे पनि मौका पर्दा कसैसँग अन्यत्रै रात काटेर आए पनि समाजले उसलाई छुट दिन्छ। उखानै बनाइन्छ मर्दका दस वटी भन्ने। तर छोरीको या स्वास्नीको त्यही व्यवहार समाजले थाहा पायो भने सहन सक्दैन, त्यसैको जिम्मा लाएर पठाउनुपर्छ भन्दै औँला उठाउँदै कस्सिन्छ समाज।
हुन त हरेक कालखण्डले थुप्रै राजनीतिक परिवर्तन ल्यायो महिला सम्बन्धी मुद्धा हेर्ने महिला तथा समाजकल्याण मन्त्रालयको स्थापना भएको छ। महिला उत्थान र विकासका लागि विभिन्न कार्य नभएका पनि होइनन्। छोरासरह छोरीले पनि पैत्रिक सम्पत्ति हकदार हुन पाउने कुरा, राजनीतिक तथा प्रशासनिक क्षेत्रलगायत हरेक क्षेत्रमा आरक्षण कोटा पाउनुपर्ने कुरा ऐनमा उल्लेख गरिएको छ। महिलाहरू शिक्षक डाक्टर, ईन्जिनियर, प्रशासक, न्यायकर्मी आदि नबनेका हैनन्। पुरुषको तुलनामा औँलामा गन्न सकिने (थोरै सङ्ख्यामा) त बनेका पनि छन् तर पनि महिला हिंसामा कमी आएको भने देखिन्न।
राजनीतिक क्षेत्रमा महिला अधिकारको कुरालाई लिएर मुद्धा उठाएझैँ सामाजिक परिवर्तनपट्टि अर्थात् समाजको प्राचिन संरचनामा परिवर्तन ल्याउने कुरामा सोचिएन। यो परिवर्तन गर्नुपर्ने आवश्यक किन ठानिएन होला?
यो नगरेर प्राचिन संरचनालाई जीवित राखी एउटी छोरीमान्छेलाई बिहेपछि लोग्नेको घर (अर्काको घर) पठाएर हिंसामा धकेल्ने काम भैरहेको छ। स्त्री अर्कार्को घर जान्छे वा पतिको परिवारमा समर्पित हुन्छे। चाहे जतिसुकै ठूलो या खान्दानी परिवारकै किन नहोस् पढालेखा किन नहोस् मन परे दयाकी पात्र बन्छे, नपरे ल्याइएकी झुत्री भन्दै मनलाग्दी हिंसा गरिन्छ ऊमाथि।
सकेसम्म गाली बेइज्जती गर्ने, कुटपिट गर्ने, मानसिक यातना दिने, घर निकाला गर्ने। कति छोरीलाई रुपैयाँ/पैसामा तौलेर डढाउने, रेट्ने, मार्नेजस्ता जघन्य अपराध हुँदै आएका छन्। समाज नै उसको पक्षामा नभएपछि कसले सुन्ने उसको चिच्याहट र बिलौना? कतिपय मुद्दा त दर्तासमेत गर्न नदिई ढाकछोप गर्नेतिर लागेको पनि देखिन्छ।
राजनैतिक परिवर्तनसँगै समाजको संरचनामा पनि फेरबदल भएर महिलालाई बिहेपछि अर्काको घर जाने प्रचलन बन्द गरेर यदि छुट्टै घरको व्यवस्था हुन्थ्यो भने छोरीले बिहेपछि लोग्नेको घर हैन म आफ्नो घर जाँदैछु भन्ने आत्मबल दह्रो पार्न सक्थी, हिंसाजन्य अवस्थामा अवश्य केही कमी हुन्थ्यो होला कि।
भनिएको छ अहिलेको नयाँ संविधान महिलामैत्री छ, हरेक क्षेत्रमा आरक्षणको व्यवस्था गरिएको छ। महिलाको पक्षमा मुद्धा पनि फैसला हुन्छ। तर छोरा र छोरीलाई बराबर अंश दिने कुरा र यही पुरानै सामाजिक संरचनाबीच कुरा बाझिएको छ। किनभने अंश लिएपछि त छोरीले छोराझैँ निर्धक्क अंश लिएर आफ्नो तरिकाले जीवनयापन गर्न पाउनु पर्थ्यो। त्यो अवस्था खोई?
अंश त कोसेलीजस्तो पोको पारेर अर्काको घर लगिएपछि आफ्नो खुसी होला त त्यहाँ? बरु आफूले माइतीमा पाएको अंश अर्कालाई बुझाएर, अर्काकै अधिनमा चल्नुपर्ने अवस्थाको सृजना सहजै अनुमान लाउन सकिन्छ। कति छोरीहरू मागेजति दाइजो माइतीले दिन नसकेका कारण डढाइएका छन्, मारिएका छन्।
मागेजति दाइजो दिएर पनि डाक्टर निलम शाह पाँच वर्षदेखि घरेलु हिंसा खप्न बाध्य छिन्। यतिमात्र नभएर कुनै पनि बेला जे पनि हुन सक्ने भएकोले त्रासमय जीवन काटिरहेकी छिन्। डाक्टरजस्तो व्यक्ति परिवारका सदस्यबाट हिंसित हुनु कस्तो विडम्बना र लाजमर्दो कुरा होला!
पाँच वर्षअघि लगभग ५० लाख बराबरको पैसा पतिको परिवारलाई बुझाउनु, पचासौँ लाख खर्चिएर डाक्टर पढाइनु, के यो उनले छोरासरह पाएको अंश बराबर होइन र? यति पढेलेखेका, आफ्नो खुट्टामा उभिएकी महिलाको त यो हविगत छ भने सर्वसाधारण महिला दिदीबहिनीको के होला अवस्था? निलम शाह त एउटी प्रतिनिधि पात्र मात्र हुन्, यस्ता कैयौँ छोरीचेलीको अवस्था योभन्दा दयनीय छ।
यस्ता घटाहरू हुनुमा विवाहपछि पतिको घर जानैपर्ने सामाजिक परिपाटी पनि एक हो भन्दा फरक पर्दैन। समाजका हरेक बुद्धिजीवी वर्ग तथा जिम्मेवार पक्षबाट यो कुरा सोचिएर महिलाहरूले पशुतुल्य जीवनयापन गर्नुपर्ने कुराको चाँडै अन्त्य भई मानव अधिकारको रक्षा भएको देख्न पाए कस्तो हुँदो हो हाम्रो समाज?