मतदानको अधिकार, समान ज्याला र श्रम गर्ने समयको अधिकारको माग गरी सुरु भएको महिला आन्दोलनको एक शताब्दी र एक दशक बितेको छ। आजसम्म आइपुग्दा हाम्रो देशका महिलाहरूको अवस्था कहाँ पुगेको छ? समग्र महिलाहरूको गतिशीलताको आयाम कस्तो छ? अझ देशका श्रमिक महिलाको अवस्था के छ? के साँच्चै परिवर्तन भएकै छ त? हामी सबैले एकपटक सोच्ने बेला आएको छ।
महिलाको स्वास्थ्य, शिक्षा, आय-आर्जन, आर्थिक अवस्था, सामाजिक जीवन, राजनीतिक क्षेत्रमा सरकार, विभिन्न संघ-संस्थाहरू, मानव अधिकार, नागरिक समाज, राजनीति दलहरूले के-कस्तो भूमिका खेलेका छन् र त्यसको परिणाम के-के प्राप्त भएका छन् एकपटक समीक्षा गर्ने बेला आएको छ। आजसम्म जसले जे भोग्यौँ त्यसबाट सकारात्मक पाठ सिक्दै आगामी पुस्तालाई राम्रा अभ्यासहरू हस्तान्तरण गर्नु अपरिहार्य छ।
हाम्रा सन्तानहरूलाई हामीले के-के विषयहरू, अनुभवहरू, आनीबानी व्यवहारहरू कसरी सिकाउँछौँ त्यो नै सामाजिकीकरण हो। छोराछोरीलाई जे-जसरी हामीले सिकाउँछौँ त्यो सीप र त्यो सिकाइले नै उनीहरूको भविष्यलाई निर्देशित गर्दछ। महिलालाई अगाडि बढ्नका लागि यही समाज, संस्कृति, परम्परा नै धेरै बाधकको रुपमा रहेको देखिन्छ।
इतिहासमा कुनै कालखण्डमा मातृसत्तात्मक समाज थियो भने कुनै समय पितृसत्तात्मक समाज। ढुंगे युगबाट, कृषि युग हुँदै आज उत्तर आधुनिक युगमा विश्व अघि बढिरहेको परिवेशमा अझै हाम्रो समाजमा धेरैजसो महिलाहरू चुलो-चौका र मेलापातमा मात्र सीमित हुन परेको तितो यथार्थलाई सबैले स्वीकार गर्नु नै पर्दछ।
महिला देवी हुन्, सृष्टिकर्ता हुन्, धरती हुन्, आमा हुन् भन्दै मिठो बोलेर बाहिरी आवरणमा सम्मान गरे झैँ गर्ने हाम्रो समाजमा बाल-विवाह गर्ने, छोरीलाई हेय दृष्टिकोणले हेर्ने, नारी कमजोर हुन्छन्, कोमल हुन्छन् भनेर भन्न पनि छोडेका छैनन्। हक, अधिकार र अवसरमा वञ्चितिकरण गरेको पत्तो महिलाले चाल पाएर पनि उहाँहरूको आवाज बुलन्द हुन सकेको छैन।
गरिबी, अशिक्षा, संचेतनाको कमीजस्ता तत्वहरूले नै महिलाहरूलाई पछि पारिरहेको छ भने अर्को तर्फ लैङ्गिक विभेद, विभिन्न किसिमका हिंसाहरू, धर्म, संस्कृतिको आडमा गरिने भेदभाव, कुरीति, कुसंस्कार, दाइजो प्रथाले समाज नराम्रोसँग गिजोलिएको छ।
क्षमताको कुनै लिंग हुँदैन। आज यहाँसम्म आइपुग्दा हाम्रो समाज परिवर्तनको संघारमा रहेको देखिन्छ। आर्थिक वर्ष २०७४/२०७५ एक तथ्यांकअनुसार लोक सेवा अयोगमा करिब दुई लाख ३२ हजार महिलाहरू (५२ प्रतिशत) ले आयोगको परीक्षामा सामेल हुन आवदेन दिएको पाइन्छ। यसले महिलाहरूको सरकारी सेवामा प्रवेश गर्न इच्छुक देखिन्छ। यसबाट पनि के थाहा हुन्छ भने अहिलेको पुस्तामा महिला शिक्षाको संख्यामा उल्लेखनीय वृद्धि भने भएको छ।
संविधानमै उल्लेख गरेर विभिन्न निर्वाचनहरूमार्फत आज धेरै महिलाहरूले जनप्रतिनिधिको हैसियतमा कार्य गरेर आफूलाई हामी सक्षम छौँ भन्ने तथ्यलाई प्रमाणित गर्नु भएको छ। पहिलो कार्याकालमै धेरै सफलता त्यो पनि पुरुषको नेतृत्व रहेको अवस्थामा हासिल गर्नुलाई ठूलो उपलब्धीको रुपमा लिनु पर्दछ।
महिलालाई सशक्तिकरण गर्नका लागि सिलाई-बुनाई तालिम, ब्युटीपार्लर तालिम, गुडिया बनाउने तालिमजस्ता विषयमा मात्र सीमित भएको प्रायः देखिन्छ र आजभोलि यो व्यापक हुँदैछ। यस्ता विषयहरू आवश्यक नभएका भने होइनन् तर सबैले यसै क्षेत्र अंगालेर परिवर्तन आउन र ल्याउन भने कठिन छ।
व्यवसायिक ज्ञान र सीप आवश्यक छ तर महिलाले कुनै उद्यम गर्छु भन्दा लगानी कसले गरिदिने? घर-परिवारको सहयोग बिना कुनै महिला खुलेर कुनै क्षेत्रमा प्रवेश गरेर स्थापति हुन धेरै चुनौतीहरूको सामना गर्नुपर्ने अवस्था छ। प्रायः के सुनिन्छ भने, महिलाको विरोध महिलाले नै गर्ने गर्दछन् भनेर मूल विषय विषयान्तर भएको धेरै उदाहरणहरू छन्।
प्रायः यस्तो सामाजिकीकरणको कारणले गर्दा हुने गर्दछ। पछिल्लो पुस्ताले गरको कृयाकलापहरू अघिल्लो पिँढीलाई मन नपर्नु स्वभाविक नै हो तर यसै विषयलाई विवादमा लगेर पारिवारिक सम्बन्धलाई धमिलो बनाउनु कदापि हुँदैन। बढ्दो सहरीकरण, बजारीकरण र पुँजीवादको प्रभाव, अहिलेको बढ्दो सामाजिक सञ्जालको प्रयोगबाट ज्ञानभन्दा धेरै सूचना लिने प्रचलन आदि जस्ता विषयहरूले घर घरमा प्रवेश पाएको छ।
परम्परागत अभ्यासहरू सबैलाई नकारात्मक रुपमा लिएर एउटै डालोमा रोखेर पहिले र अहिलेको तुलना गर्नु त्यति सान्दर्भिक भने हुँदैन। परम्परा, धर्म संस्कृतिको नाउँमा विभेद गर्नु हुँदैन। कतिपय विज्ञानले, तथ्यले प्रमाणित गरेका विषयहरूलाई तर्क र विवाद गरेर समस्याको समाधान हुँदैन।
समय-समयमा भएका र गरिएका राजनैतिक आन्दोलन, अभियान, बहस पैरवीले महिलाहरूलाई वर्तमान अवस्थासम्म आइपुग्दा धेरै हक, अधिकार, न्याय दिन सफल भएको छ तर नीति नियम, ऐन कानुन निमार्ण भएर मात्र पूर्ण हुँदैनन्। त्यसको पूर्ण रुपमा कार्यान्वयन हुनु नै अहिलेको महत्वपूर्ण विषय र क्षेत्र नै हो र मूल क्रियाकलापहरू, गतिविधिहरू, योजनाहरू पूर्ण रुपमा हालसम्म निमार्ण भएका ऐन कानुनहरू बारेमा संचेतना गराउनु जरुरी छ भने अर्कोतर्फ महिलाहरूलाई क्षमता विकास, आर्थिक उपार्जन र सशक्तिकरण सम्बन्धी विभिन्न गतिविधिहरू संचालन गर्नु अपरिहार्य छ।
कुनै पनि व्यक्ति विशेष, जाती, वर्ग, क्षेत्र, लिंगलाई समावेशीकरण गर्न मूल ४ वटा विषयहरूको मुख्य भूमिका रहेको हुन्छ। महिलाहरूलाई केन्द्रित गरेर कार्यक्रमहरू, योजनाहरू तय गर्ने हो भने समावेशीताका यी आयामहरूलाई हामीले अपरिहार्य रुपमा समेटनु पर्ने हुन्छ।
क. मर्यादा
ख. पहुँच
ग. सहभागिता
घ. सुरक्षा
जुनसुकै परिवेश अवस्थामा मान्छेले मान्छेलाई मर्यादा गर्नु, सम्मान गर्नु पर्दछ। सम्मानजनक उपस्थिति सबैलाई मान्य हुन्छ। व्यवहारमा दोश्रो दर्जाको रुपमा राखेर मुखले चिप्लो बोल्नुलाई सम्मानजनक उपस्थिति मानिँदैन। अर्को मूल विषय भनेको पहुँच रहेको छ, योजना निर्माणदेखि कार्यान्वयन तहसम्म सबैको समान पहुँच हुनु जरुरी छ। शिक्षा, स्वास्थ्य, जीविकोपार्जन, आर्थिक, राजनैतिक क्षेत्रहरूमा दूर-दराजमा रहेका, पीछडिएको क्षेत्र, दलित, जनजाति, अपांगता भएका, हिंसामा परेका महिलाहरूको पहुँच सबै क्षेत्रमा सरल र सहज रुपमा हुनु जरुरी छ।
लक्षित वर्गमा सूचनाको पहुँच नहुनुको कारणले गर्दा र सुरक्षाको प्रत्याभूति दिलाउन नसक्ने कारणले गर्दा उनीहरूको सहभागितामा पनि कमी हुने गरेको छ। वञ्चितीकरणमा परेको, पिछडिएको समुदायका महिलाहरू, श्रमिक महिलाहरूको सहभागिता गराउनु नै आजको मुख्य चुनौती रहेको छ।
स्थानीय स्तरमा संचालन हुने गतिविधिहरूमा त्यस किसिमको सहभागिता गराउनका लागि तोकेरै उहाँहरूलाई बोलाउने र हौसला तथा उत्प्रेरणा दिनु पर्दछ नत्र भने लक्षित वर्ग पछि पर्न जाने र पहुँच हुने, टाठा बाठाहरूको मात्रै सहभागिता दोहोरिने भएका कारण गतिविधिहरू संचालन भएको देखिएता पनि मूल रुपमा लक्षित महिलाहरूले पाउनु पर्ने लाभ तथा सुविधाहरू, सूचनाहरू, अवसरहरू नपाएको अवस्था छ भने जिल्ला, क्षेत्र, प्रदेश र केन्द्र स्तरमा ती महिलाहरूको सहभागिता हुने सम्भावना न्यून रहेको छ जसको कारण पछि पर्ने महिलाहरूको संख्या धेरै देखिन्छ।
हाल सरकारी तथा सबै गैर-सरकारी निकायहरूले संचालन गर्ने माहिला लक्षित गतिविधिहरूको प्रभावकारिता नहुनुमा, समावेश गर्न नसक्नुमा यिनै आयमहरूले महत्वपूर्ण भूमिका खेल्दछन। यस वर्षको ११२औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको नारा सामाजिक न्याय र लैङ्गिक समानता, दिगो विकासको सुनिश्चिता रहेको छ। यो नारालाई मूर्त रुप दिन समाजिक न्यायलाई जोड दिँदै लैङ्गिक रुपमा महिला र पुरुषबीचको भेदभावलाई हटाई समान सम्मान दिने र समाजको हरेका विकासका गतिविधिहरूलाई दिगो रुपमा लैजान महिलाको अहम भूमिका रहेको स्पष्ट हुन्छ।
यो सबै कार्यान्वयन गर्ने जिम्मा हामी सबैको हो भने यसको प्रतिफल हाम्रा भावी पुस्ताले अवश्य प्राप्त गर्नेछन् र त्यो पुस्ताले आजको हाम्रो नेतृत्वलाई, समाजलाई, हाम्रो पुस्तालाई सदैव स्मरण गर्ने छन्।