शिक्षक भएर पढाउन थालेको पनि चार वर्ष भयो। धेरै स्कुलहरू अवलोकन गर्न पनि गएँ। सरकारी र निजी स्कुलको शिक्षकहरूले कसरी पढाउँदा रहेछन् भनेर पनि बुझ्ने मौका पाएँ।
किन कुनै स्कुलले प्रगति गर्छन् र किन कोही स्कुलले राम्रो गर्न सकिरहेका हुँदैनन् भनेर पनि जान्ने मौका पाएँ। स्कुल राम्रो हुनु र कम राम्रो हुनुमा भौतिक कुराभन्दा पनि स्कुलको वातावरण र शिक्षकको कारणले हुने गर्दछन्।
भौतिक कुरा खासै राम्रो नभए पनि, त्यो विस्तारै जुटाउन सकिन्छ तर जब स्कुलको कल्चर, रीतिरिवाजमा दम भएन भने त्यहाँ समस्या आउने रहेछ। र अर्को कुरा भनेको शिक्षकको आचरण, व्यवहार र विद्यार्थीप्रति गरिने क्रियाकलापले पनि फरक पर्ने रहेछ।
स्कुल पढाइरहँदा र धेरै स्कुलहरू अवलोकन गर्दा मैले शिक्षकहरूमा धेरै कमी पाए। विद्यार्थीहरूसँग बोल्ने भाषामा समस्या पाएँ। अझै पनि अधिकांश शिक्षकहरूले विद्यार्थीसँग अभद्र भाषाको प्रयोग गर्छन्। जस्तैः तँ भनेर सम्बोधन गर्छन्। तँ भन्ने शब्द आफैंमा तल्लो स्तरको हो। सकेसम्म कुनै पनि शिक्षकले विद्यार्थीसँग बोल्दा तपाईं वा अलि झर्नु परे तिमीसम्म भन्नुपर्छ।
यदि हामी शिक्षकले राम्रो शब्द प्रयोग गरेर बोलेनौं भने विद्यार्थीको आत्मसम्मानमा ठेस पुग्न सक्छ र आफूलाई शिक्षकले जहिले पनि नराम्रो ठान्छन् भनेर सोच्न थाल्छन्। त्यसले पनि उनीहरूको विकासमा नराम्रो असर परिरहको हुन्छ।
अर्को समस्या शिक्षकमा देखेको के हो भने विद्यार्थीसँग झर्केर बोल्ने। यसो गर्दा विद्यार्थीले कहिले त्यो शिक्षकसँग खुलेर कुरा गर्न सक्दैन र आफ्नो कुरा चाहे त्यो राम्रो होस् अथवा समस्या, त्यो भन्न डराउँछन्।
फेरि कति शिक्षकहरूले अझैसम्म पनि सजायको रूपमा पिट्ने गर्छन्, जुन गर्नु नै हुँदैन। अपशब्द बोलेर गाली गर्ने गर्छन्। तँलाई जति भने नि हुँदैन, तेरो केही काम छैन, तैंले जिन्दगीमा केही गरेर खाँदैनस् लगायतका शब्दहरू अझै पनि कक्षाकोठामा गुञ्जिने गर्दछन्। यदि कसैले छड्के तरिकाले हरेक स्कुलले पढाइरहँदा कक्षाकोठा अवलोकन गर्ने हो भने यी शब्द कुनै न कुनै कक्षाकोठामा प्रयोग भएको पाउनुहुनेछ।
अर्को समस्या भनेको शिक्षक आफैमा म किन पढाउन आउँदैछु भन्ने कुराको हेक्का नहुँदा पनि समस्या आउने गर्दछ। कतिपय शिक्षकले शिक्षालाई पेसाको रूपमा लिन्छन्। १०-४ को ड्युटी मात्र ठान्छन् र महिनामा तलब पाउने आशामा काम गर्छन्। काम गरेका तलब पाउनुपर्छ तर यो शिक्षा पेसा आफैंमा अमूल्य पेसा हो। जसको वर्णन गरेर साध्य छैन।
हरेक कुरा शिक्षासँग जोडिएका छन्। तपाईं हामी शिक्षाकै उपज हौँ। चाहे हामी मध्ये कोही अरुनै पेसामा किन न हौँ तपाइँ हामीले जे काम गरिरहेका छौँ, त्यो कुनै न कुनै प्रकारको शिक्षाले गर्दा हो।
शिक्षकमा भिजन हुनुपर्छ। म विद्यार्थीहरूको जीवनमा केही न केही राम्रो गर्छु। केही राम्रो कुरा सिकाउँछु। आफूले सक्दो विद्यार्थीहरूलाई अवसर दिलाउँछु। उसको जीवनलाई सजिलो बनाउन म अघि सर्छु। उसलाई दुःख परेको बेला सारथी बन्छु, हौसला बढाउँछु र उसको सफलतामा उसलाई बधाई दिएर साथ दिन्छु भन्ने संकल्प हुनुपर्छ।
ऊ मेरो सन्तान हो, मेरो आफ्नै आफन्त हो, मेरो छिमेकी हो, यो देशको कर्णधार हो र उसलाई राम्ररी शिक्षा दिनुपर्छ भनेर जबसम्म हामी शिक्षकले त्यस्तो सोचेर कक्षाकोठामा पस्दैनौं र भविष्यको ख्याल गर्दैनौं, तबसम्म केही राम्रो हुनेवाला छैन।
शिक्षक भनेको त पुस्तकको कुरा पनि राम्ररी सिकाउनुको साथै विद्यार्थीको जीवनलाई राम्रो वा नराम्रो तरिकाले असर गर्न सक्ने कुराहरू उसलाई अवगत गराउँदै, जीवनलाई सुमधुर बनाउन तल्लीन हुनुपर्ने व्यक्ति जस्तो हुनुपर्छ।
एउटा शिक्षकले आफ्नो सिकाइको क्षितिज फराकिलो बनाउनुपर्छ। आफूले बोल्ने, पढ्ने, हेर्ने चिजको कुरालाई तौलेर कक्षाकोठामा पस्नुपर्छ। आफ्नो कमी कमजोरीलाई सुधार्नुपर्छ। विद्यार्थी, स्कुल र समाजको उत्थानको लागि अग्रसर हुनुपर्छ अनि मात्र शिक्षक पेसामा लागेको केही अर्थ लाग्नेछ।
अर्को कुरा, शिक्षकले विकास गर्नुपर्ने भनेको पढ्ने बानी हो। आफूले पढाउने विषयको ज्ञानको साथै अरु अन्य ज्ञानहरू किनकि हामीले विभिन्न चाहना, इच्छा भएका विद्यार्थीहरू माझ हुन्छौँ। सबैलाई एउटै तरिकाले सम्बोधन गर्न सकिँदैन। कसैलाई खेलकुद मनपर्छ भने, खेलकुद सम्बन्धी कुरा गरेर उसको ध्यानलाई केन्द्रित गर्नुपर्छ। कसैलाई चलचित्रको हिरो-हिरोइनको कुरा गरेर उसको ध्यान तान्नुपर्छ। कसैलाई कार्टुनको कुरा गरेर र त कसैलाई कुनै सफल असफल मानिसको कथा सुनाएर उसलाई मनोरञ्जनको साथै उसको ज्ञानको भोकलाई सम्बोधन गरे मात्र बुझ्ने हुन्छन्।
विद्यार्थी आफैमा कमजोर हुँदैन। यदि कोही कमजोर हो भने हामी शिक्षक हौँ। किनकि हामीले उसलाई उसले बुझ्ने गरी सिकाउन नआएकोले त्यो विद्यार्थी पछि परेको जस्तो लाग्छ।
म कक्षा ६ हुँदा गणित विषयमा फेल भएको थिए। पछि सात कक्षामा अर्को स्कुलमा पढ्न जाँदा सजिलै तरिकाले सिकेँ। पछि म आफै शिक्षक भएपछि थाहा पाएँ कि ममा कमजोरी नभइकन मलाई पढाउने शिक्षकमा रहेछ। किनकि उहाँले मैले बुझ्ने गरी नपढाउँदा म फेल हुन पुगेँ र अर्को स्कुलको शिक्षकले पढाउँदा म पास भएँ किनकि मैले बुझ्ने तरिकाले उहाँले पढाउनु भएको हुनाले।
त्यही भएर हामी शिक्षकले आफ्नो आत्मा मूल्यांकन गरेर अघि बढ्यौँ भने हामी आफै सम्मानित हुनेछौँ र विद्यार्थीको बेस्ट टिचर पनि हुन सक्छौँ।
साँच्ची, हामी बेस्ट टिचर बन्ने कि?