मानिसको जीवनकाल एउटा किताब हो र हरेक पाना मानिसले जिउने हरेक दिन हो। त्यस किताबको सबैभन्दा ठूलो गुरु जीवनकालको भोगाइ र अनुभव हो। यसले हाम्रो उन्नति, प्रगति र विकासको मार्गतर्फ हामीलाई डोर्याउँछ।
म पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सा शास्त्रमा दोस्रो वर्षमा अध्यनरत छात्रा हुँ। यहाँ हामीलाई आफ्नो समाजप्रति समर्पित हुन र आफ्नो अध्ययनलाई जीवनमा सार्थक रूपमा प्रयोग गर्न विभिन्न सुनौलो अवसर छन्। त्यसअन्तर्गत लियो क्लब अफ काठमाडौंले यहीँ फागुन २१ गतेका दिन आयोजना गरेको मधुमेह, उच्च रक्तचाप र शरीरको वजनको सूचांक (बिएमआई) सम्बन्धी कार्यक्रममा सहभागी भयौँ।
अहिलेको समयमा उच्च रक्तचाप, मधुमेह र मोटोपन हरेक घरको समस्या भएको र जनचेतना चाहिने रोग भएकाले हामीले यस विषयलाई रोजेका थियौं। यो हाम्रो लागि पहिलो स्वास्थ्य कार्यक्रम थियो। जीवनको पहिलो भनेपछि एकदमै खास र सफलताको बढी आशा हुन्छ।
सूक्ष्म कुराले धेरै महत्त्वपूर्ण भूमिका खेल्छ भने झैँ विज्ञान तथा प्रविधिको विकासका कारण अहिले मानिसको जीवन पद्धतिमा परिवर्तन आएको छ। हिँड्डुलमा कमी, चिल्लो र नुनिलो कुराको अत्याधिक सेवन, तनावग्रस्त जीवन, मदिराको सेवन इत्यादि बढिरहेको छ। जसका कारण उच्च रक्तचाप, मधुमेह र मोटोपनजस्ता समस्याहरू आइपर्छन्। यस समस्याले हाम्रो महत्त्वपूर्ण अंगहरू मुटु, मिर्गौला, आँखा र दिमागमा असर हुन्छ।
दोस्रो वर्ष मेडिकल विद्यार्थीको नाताले उपचार गर्न नसके नि हामीले जानेका ज्ञानबाट जनचेतना फैलाउन हिसाबले यो कार्यक्रम गरेका थियौं।
काँचो माटोजस्तै मानवको जीवनमा रुप, रंग र आकार भर्ने काम चुनौतीले गर्छन्। त्यस्तै यो हाम्रो पहिलो स्वास्थ्य कार्यक्रम भएकोले चुनौतीहरू धेरै थिए। पहिलो चुनौती कुन स्थानमा गर्ने भन्ने विषयको थियो। त्यसका लागि हामीले वृद्धाश्रममा पहल गरेका थियौं तर उहाँहरूको केही प्रतिक्रिया नआएकोले हामीले अस्पतालबाट नजिक तथा जनचेतना फैलाउने हिसाबले चौतारीबस्तीमा आयोजना गर्ने निर्णय गर्यौं।
हामीसँग रक्तचाप नाप्ने यन्त्र थियो तर ग्लुकोमिटर थिएन। त्यसका लागि हामीले सिग्मा मेडिकल हलसँग सहायता लियौँ। हामीले सामान्यतः रक्तचाप नाप्ने ज्ञान र सीप हासिल गरेका थियौं, तर हामीलाई रगतमा ग्लुकोज नाप्ने यन्त्र ग्लुकोमिटर सम्बन्धी सीपको अभाव थियो। त्यस विषयमा हामीलाई नर्सिङका शारदा दिदी र अम्बिका दिदीले मद्दत गर्नु भयो।
त्यसपछि हामीले दुई/तीन दिन निरन्तर कोसिस गरेका थियौं। सिक्ने क्रममा कति पटक साथीहरूको रगत आउँदैन थियो। यस्ता अनेकौं गल्तीबाट हामीले पूर्ण रुपले सिक्यौं। यो कार्यक्रम हामीले बिहान ८:३० बजेदेखि ११ बजेसम्म चौतारीबस्ती (महालक्ष्मीस्थान, ललितपुर) मा आयोजना गरेका थियौं।
मलगायत मेरा १५ जना साथीहरू पुरुषोत्तम तथा गीता भण्डारीको आँगनमा ५ वटा ठाउँमा विभाजित भएर बसेका थियौं। नाम दर्ता गराउने ठाउँ, शरीरको वजन, शरीरको उचाइ, रक्तचाप र शरीरमा ग्लुकोज नाप्ने ठाउँमा विभाजित भएका थियौं।
कुनै कुरा आफूले सोचेको भन्दा राम्रो भयो भने त्यो पललाई फेरि जिउन मन लाग्छ। त्यस्तै भयो हाम्रो कार्यक्रम पनि। त्यस दिन काम पछिको आराम निकै मिठो भयो अर्थात् साँच्चै मिठो निन्द्र लाग्यो। त्यो क्षण हाम्रो लागि अविस्मरणीय पलको रूपमा बसेको छ।
हामीले कल्पना गरेको भन्दा धेरै सङ्ख्यामा मानिसहरूको उपस्थितिले हामीमा आत्मबल बढाइरहेको थियो। उहाँहरू पनि हामी जतिकै उत्साहित हुनुन्थ्यो। जो मानिसको उच्च रक्तचाप र रगतमा ग्लुकोजको मात्रा धेरै थियो उहाँहरूलाई अस्पताल जाने सल्लाह दियौं। यस कार्यक्रमले हामीलाई एकताको बल, समाजप्रति शुश्रूषाको भावनामा थप उर्जा, कार्यक्रम संचालन गर्ने क्षमताको विकास तथा नम्र र मिठो बोली बोल्ने शैलीको विकास गरेको छ।