एक बिहान धनगढीको डोकेबजारस्थित एउटा फलफूल पसल छेउमा उभिरहेको थिएँ। एकजना तरकारी व्यापारी ठेला गुडाउँदै आए।
उनको ठेलामा टमाटर लगभग एक केजी जति थियो। त्यही पनि टाढैबाट विषादीयुक्त हो भनेर चिनिने र साह्रै बिग्रिएको, साना-साना दाना भएको किन्न नि मन नलाग्ने थियो।
ती व्यापारी जोर-जोरले कराउँदै 'आयो हजुर पहाडी टमाटर आयो' भन्दै हिँडिरहेका थिए।
टमाटर र ती व्यापारीले भनेको कुराको एकआपसमा तालेमल मिलिरहेको थिएन। उनले तरकारी बेच्नकै लागि भनिरहेको सजिलै अनुमान लगाउन सकिन्थ्यो।
केही दिनअघि म डडेल्धुरा गएको थिएँ। त्यही बेला मेरो महेन्द्रनगर बस्ने साथीले फोन गर्नुभयो। उहाँले पनि फर्किने बेला 'पहाडी खानेकुराहरू के-के पाइन्छ ल्याएर आउनु है मेरो लागि, बरु पैसा नभए म पठाइदिन्छु' रे। मैले हुन्छ भनिदिएँ, फर्किने बेला खानीडाँडाबाट फोन गरेँ र चुक ल्याइदिएँ।
महेन्द्रनगर बजारमा तरकारी किन्न जाने बेलामा पनि अक्सर सबैले पहाडी मुला, पहाडी काक्रो, पहाडी काउली, कन्दा, पहाडी टमाटर, पहाडी खुर्सानी, पहाडी करेला भन्दै खोजिरहेका देख्छु।
साथीहरू कहिलेकाहीँ भन्ने गर्छन्, 'लौ केटा हो, आज काँक्रो खाउँ।' अनि किन्न एक जनालाई पठाउँछन् र जाने बेलामा प्रायः कसैले पनि भन्न छुटाउँदैनन् कि 'पहाडी हो कि हैन राम्रोसँग विचार गरेर ल्याउनू है।'
मान्छेहरू पहाडी भनेपछि त्यसै अर्गानिक हुन्छ भनेर किन्न दगुरिहाल्छन्। त्यो शब्द सुनेको बेला त यस्तो महसुस हुन्छ कि मानौँ, पहाडी उत्पादन त ओखती नै हो।
हुन पनि किन नहुनु, तराई क्षेत्र तथा सहरी क्षेत्रमा उत्पादन गर्ने तरकारीलगायत फलफूलमा धेरैजसो विषादी प्रयोग गरेर उत्पादन गरिन्छ। विषादीयुक्त मल, विषादीयुक्त बिउ, किटनाशक औषधी, भण्डारण गर्दा विषादी राखेर अन्न तथा तरकारीलाई उत्पादन गरिएको हुन्छ। पहाडमा विषादी प्रयोग नै नगर्ने होइन तर तुलनात्मक हिसाब पहाडमा स्वच्छ वातावरण, कम विषादी, विशुद्ध प्राङ्गारिक मलको प्रयोग गरी उत्पादन गरिएको हुन्छ। जैविक तत्वको प्रयोग गरिएको हुन्छ। यसर्थ पनि पहाडी उत्पादन गुणस्तरीय र स्वस्थ्यवर्द्धक मानिन्छ।
पछिल्लो समय भारतबाट विषादी केरा आयात भयो। यसले स्वास्थ्यमा ठूलो असर गर्छ, यसलाई रोक्नु पर्छ भन्दै विद्यार्थी नेताहरूले नै गड्डाचौकी क्वारेन्टीनबाटै केरा तथा तरकारी भित्रिन लागेका ट्रकहरू नै रोकेको र फिर्ता पठाएको समाचार पनि सुन्न पाइएको थियो।
सहरी क्षेत्रमा खाद्यान्नको माग अत्याधिक रहन्छ, फेरि सहरमा उत्पादन पनि धेरै हुँदैन। यसर्थ माग पूर्ति गर्नका लागि विचौलिया तथा व्यापारी र किसानहरूले विषादीहरू प्रयोग गरेर छोटो समयमै ठूलो परिणाममा उत्पादन गर्ने र टन्नै कमाउने धन्दा गरिरहेको पनि भेटिने गरेको छ।
पछिल्लो समयमा मान्छेहरू गाउँ छोडेर सहर तथा पहाड छोडेर सहरमा बसाइ सर्ने क्रम दिनप्रतिदिन बढिरहेको छ। तर सहरमा गाउँको जस्तो ताजा र स्वच्छ उत्पादन मुस्किलले पाइन्छ। पहाड तथा गाउँमा पाइने अर्गानिक स्वादयुक्त तरकारी, फलफूलहरू पनि सहरमा सजिलै पाइँदैनन्। यसर्थ बजारमा पहाडबाट आएको उत्पादन देखेपछि उपभोग गरिहाल्न मन लागिहाल्दो रहेछ।
सहरमा उत्पादन हुने सामग्री सफा चिटिक्क परेको देखिए पनि त्यो विषादीको प्रभाव हो भन्ने धेरैले बुझेका छन्। यतिसम्म कि बजारमा बिक्री गर्नको लागि राखिएको उत्पादन चुम्रिसक्ने बेला भैसकेको हुन्छ तर फ्रेस राख्ने औषधि प्रयोग गरेर स्वच्छ, सफा र ताजाजस्तै देखिएको हुन्छ। तर त्यसभित्रको सबै स्वाद तथा त्यसमा पाइने पौष्टिक तत्व र रसायनहरू समाप्त भइसकेको हुन्छ।
पहाडमा उत्पादन भएको उत्पादनमा भने बरु स-साना चोट दाग लागेकै भए पनि काटेपछि गइहाल्छ भन्दै किनिहाल्छन्। पहाडको उत्पादनमा अक्सर स्वच्छ र ताजापन रहेसम्म अर्गानिक भएकाले अन्तिम अवस्थासम्म पनि त्यसमा पोष्टिक तत्व रहेको हुन्छ।
अचेल गाउँमा उत्पादन घट्दै गइरहेको छ। युवाहरू सहरमा छन्, विदेशमा छन्, गाउँ तथा पहाडमा खेतीयोग्य जमिन बाँझो बन्दै गइरहेको छ। एकातिर उत्पादन घट्दै गइरहेको छ भने अर्कातिर खाने मुखहरू थपिँदै गएका छन्। भएका खेतबारीहरू अनि पाटाहरू बाँझिँदै गएका छन्। मान्छेहरू कृषि पेसाबाट विमुख हुँदैछन्। कृषिलाई हेलाको पेसाका रुपमा लिन थालिएको छ।
तर हामी भने सहरमै बस्ने अनि पहाडको उत्पादन खोजिरहेका छौँ। केही काम नपाएपछि अन्तिम पेसाको विकल्पका रुपमा कृषिलाई बनाइरहेका छौँ। काम गर्नुपर्ने, पाखुरा चलाउनु पर्ने युवाहरू विदेशको खाडी अनि सहरमा बसेपछि, बसाइ सर्न थालेपछि उत्पादन र पहाडमो मौलिकता कता हराउँछ होला? एकपटक सोच्नै पर्ने अवस्था आइसकेको देखिन्छ।
अझै पनि अधिकांश तराई, सहर बासीहरूको मूल थलोको रुपमा पहाडै रहेको छ। अक्सर हामी नयाँ मित्र परिचय हुँदा पहिलो प्रश्न हुने गर्छ कि तपाईंको पहाड घर कता हो? सहरमा बस्ने मान्छेलाई पहाडकै डायस्पोराले सताउने नै रहेछ। बिर्सिन नसकिने रहेछ। तर पनि खै किन हो सबै कुरा पहाडमै छोडेर हामी सहरीया बन्न त नसक्ने रहेछौँ। सहरीया बने पनि गाउँको कुनै कुरा भुलाउन त नसक्ने रहेछौँ नि।
स्वस्थ तथा स्वादिलो फलफूल, तरकारी उपभोग गर्न चाहने तर उत्पादन नगर्ने हो भने आयातीत विषादीयुक्त खाद्यान्न उपयोग गर्नु बाहेकको विकल्प हामीसँग रहन्न। त्यसैले पहाडी वातावरणमा हुर्केको/फलेको खानेकुरा उत्पादन गर्न गाउँलाई सम्झिने मात्र होइन, त्यहाँ गएर माटो, हावापानी सुहाँउदो उत्पादन गर्न जरुरी छ।
साथै, उत्पादन बढाउन गाउँघरमा पनि सुरु भएको विषादी प्रयोगमा रोक लगाई जैविक तथा प्रांगारिक मलको प्रयोग गर्न प्रोत्साहन गर्नु अत्यावश्यक भएको छ। नत्र पहाड तथा गाउँमा उत्पादन भएका र सहरमा पाइने खाद्यान्नमा केही फरकपन आउने छैन।