गैरआवासीय नेपाली संघ (एनआरएनए) को आसन्न निर्वाचनका सम्बन्धमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) प्रवास समन्वय समितिको तर्फबाट मिति २०७८ फागुन २४ गते (२०२२ मार्च ८ तारिख) जारी गरिएको पत्र पढेपछि म अवाक भएँ। मन व्याकुल भयो। आफैंलाई अनि आफ्ना साथीहरू जो यस संस्थाको लागि अहोरात्र खटेका छन्, उनीहरुको अनुहार झल्झली सम्झिएँ। अनि, केही नलेखी रहन सकिनँ। उक्त पत्रमा अध्यक्ष प्रचण्डले ‘प्रतिगमनका विरूद्ध बनेको गठबन्धन’ का विरूद्ध उभिन आफ्ना कार्यकर्ता तथा शुभचिन्तक समेतलाई निर्देशन दिनुभएको थियो।
एनआरएनएको आसन्न निर्वाचनमा नेपाल सरकारको गठबन्धनमा रहेका राजनीतिक दलले एउटा प्यानल तयार गरेका छन्। त्यस प्यानलविरूद्ध उभिने हामी सबै उम्मेदवारलाई प्रतिगामीको कित्तामा उभ्याइएको छ। अध्यक्ष कमरेडले चित्रण गर्नुभएका ६० जना प्रतिगामी उम्मेदवार मध्येको एक म हुँ।
संघको विधानको प्रस्तावनाका अनुसार नेपालको विकास र प्रवर्द्धनमा टेवा पुर्याउने उद्देश्यका साथ मुलुक बाहिर बस्ने नेपालीले स्थापना गरेको एक स्वतन्त्र, गैरराजनीतिक र गैरसरकारी संस्था हो एनआरएनए। एक विशुद्ध गैरराजनीतिक संस्था भएकोले नेपालको संसदीय निर्वाचनमा जस्तो राजनीति आस्थाको आधारमा एनआरएनएको निर्वाचन हुँदैन।
यो कुरा जति हामी गैरआवासीय नेपालीले बुझेका छौं सायद त्यति नेपालका राजनीतिक दल र तिनका नेताले बुझेनन्। अध्यक्ष प्रचण्ड, जसलाई राष्ट्रिय नेताको रूपमा लिइन्छ। उहाँ जत्तिको नेतृत्वले यस्तो सामान्य कुराको हेक्का राख्नुभएन र हामी उम्मेद्वारलाई प्रतिगामीको रूपमा चित्रण गर्नुभयो भन्दा विश्वास गर्न कठिन अवश्य परेको छ।
आदरणीय, नेकपा माओवादी समर्थक गैरआवासीय नेपाली साथीहरू, सुरूमै, म क्षमाप्रार्थी छु, अध्यक्षप्रति कटाक्ष गर्न बाध्य भएकोमा। मलाई विश्वास छ कि, निहित स्वार्थको लागि केही व्यक्तिद्वारा प्रेषित जानकारीले नै अध्यक्षलाई गुमराहमा राख्नेबाट यो पत्र आएको हुन सक्ने तपाईँले पनि अनुमान गर्नु भएको होला।
आदरणीय अध्यक्ष ज्यू, तपाईँ जस्तै पहाडी जिल्ला (बाग्लुङ) को निम्नवर्गीय परिवारमा जन्मेर संघर्ष गर्दै बेलायत आइपुगेको छु। आज २५ वर्ष बितेछ, देश बाहिर भएको पनि। तर यस अवधिमा भौतिक रूपमा कोशौं टाढा भए पनि भावानात्मक रूपमा म मेरो देशको सीमाबाट बाहिरन सकेको छैन।
पेशाले प्राध्यापक हुँ, बडो मुश्किलले काम र परिवारको समय कटाएर म नेपाल र नेपालीको बारेमा सोच्छु। ममा देशका लागि केही गर्ने हुटहुटी छ, त्यसैले विगत १८ वर्षदेखि म एनआरएनए अभियानमा आबद्ध छु। यस अवधिमा म कुनै पनि दलको सदस्यसम्म छैन। मेरो लागि एनआरएनए एक अभियान हो जसमार्फत म नेपाल र नेपालीसँग जोडिएको अनुभूति गर्न सक्छु र मेरो मातृभूमिप्रति अपनत्व महसुस गर्न सक्छु।
यो संस्थासँग जोडिएको मेरो एक मात्रै स्वार्थ पनि समाजसेवा मात्रै हो। संस्थामा प्रवेश गरेदेखि हाल केन्द्रीय महासचिव हुँदासम्म सम्पूर्ण गैरआवासीय नेपालीले अपनत्व महसुस गर्ने खालको संस्था बनाउने अभियानमा छु। यस गर्विलो अनुभूतिले पनि अहिले उपाध्यक्ष पदमा उम्मेद्वारी दिने प्रयत्न गरेको हुँ। यस बीचमा संस्थाका लागि अहोरात्र खटेको छु म, अब भन्नूस् कमरेड म कसरी प्रतिगामी भएँ?
अध्यक्ष प्रचण्डले चित्रण गर्नुभएकामध्येका अर्का प्रतिगामी हुन्, डा बद्री केसी। जसले प्रतिगामी भनिने हाम्रो नेतृत्व गरेका छन्। काठमाडौंको काँठ (थानकोट) मा जन्मेका केसी १९ वर्ष मात्रै थिएँ नेपाल छोड्दा। उच्च शिक्षाका लागि विदेशिएका केसीले पछिल्लो ३ दशकदेखि रसियामा बसेर पनि नेपाल र नेपालीको लागि धेरै काम गरिरहेका छन्। स्थापना कालदेखि एनआरएनए अभियानमा सक्रिय उनका व्यवसाय र लगानी नेपालमा पनि छन्।
एनआरएनए अभियान अन्तर्गत वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि केसी सबैभन्दा नजिकका सहयोगी हुन्।
मध्यपूर्वमा रहेका नेपाली श्रमिकहरूको समस्या समाधानका लागि होस् वा उनीहरुको हक अधिकारका लागि केसीले आफ्नो तर्फबाट अहोरात्र खटेका छन् उनी। कोभिडका काम गुमाएर अलपत्र पर्दा होस् वा गाँस, बास बिहिन भएको अवस्थामा हजारौं नेपालीलाई स्वदेश फर्काउन महत्वपूर्ण भूमिका खेल्ने व्यक्तित्व हुन् यिनी।
महामारीका कारण अक्सिजनको अभावमा छट्पटाइरहेका नेपाली दाजूभाइ दिदीबहिनीको जीवनका लागि अक्सिजनको जोहो गर्न समेत यिनको पहल वास्तवमै महत्वपूर्ण छ।
रूस र युक्रेनको द्वन्द्व प्रभावित नेपालीको सहयोग र उद्धार होस् वा मध्यपूर्व अनि मलेसियामा कामकै शिलशिलामा रातो बाकसमा बन्द भएका नेपालीलाई मृत्युपर्यन्त भए पनि परिवारको जिम्मा लगाइदिन मदत गर्दै आएका केसीलाई सबैले धन्यवादका पात्र मानिरहँदा तपाईँले चाहिँ कसरी उनलाई प्रतिगामी देख्नुभयो कमरेड?
म जस्तै उनी पनि कुनै राजनीति दलसँग आवद्ध भएको मलाई जानकारी छैन। जानेर वा नजानेर अमृत साइन्स क्याम्पसमा पढ्दा अखिलका नेतासँग हिँडे होलान्, रसिया पढ्दा लेनिनका दर्शनबाट प्रभावित भए पनि होलान्। कि त्यसैको आधारमा उनलाई प्रतिगामी मान्ने हो कमरेड?
एनआरएनएको नेतृत्व लिने महत्वाकांक्षा राखेकी रविना थापा पनि अध्यक्ष प्रचण्डको नजरमा प्रतिगामी साबित भइन्। म्याग्दीकी जन्मजात कांग्रेसी थापा विदेशमा बस्दा पनि कांग्रेसबाट अलग रहन सकिनन्। नेपाली कांग्रेससँग आवद्ध जनसम्पर्क समिति जापानको स्थापनामा यिनले सक्रिय भूमिका खेलिन्।
अमेरिकामा गएपछि पनि लोकतान्त्रिक आन्दोलनमा सक्रिय रहिन्। निडर र हक्की स्वभावकी थापाले एनआरएनको पहिलो महिला अध्यक्ष भएर ईतिहास रच्ने आँट गरेकी गरेकी छिन्। कमरेड हामीलाई बताइदिनुस् न कांग्रेस सभापति शेरबहादुर देउवालाई अग्रगामी देखेर काँध जोडेर हिँडेका तपाईँले रविनालाई चाहिँ कसरी प्रतिगामी देख्नुभयो?
तत्कालिन राजतन्त्रविरुद्ध टोकियोका सडकमा राजा ज्ञानेन्द्रको कदमविरुद्ध विद्रोहको आवाज बुलुन्द बनाउने आँट गर्ने युवा अर्थात पर्वतका महेश कुमार श्रेष्ठ। जसले तत्कालिन समयमा शान्ति तथा लोकतान्त्रिक फोरम नामक संस्थामार्फत त्यहाँस्थित नेपालीहरुलाई गोलबन्द गरी राजा ज्ञानेन्द्रको कदमका विरोधमा जापान सरकारलाई बोल्न बाध्य बनाएका थिए। त्यही जापानमा छेडेको आन्दोलनलाई दबाउन तत्कालिन राजदूतको साँठगाँठमा उभिएका पात्रहरूलाई अग्रगामी देख्ने तपाईले त्यही आन्दोलनका अगुवामध्येकै श्रेष्ठलाई कसरी प्रतिगामी देख्नुभयो?
अध्यक्ष, ज्यू अरू त अरू सन्तानको स्वर्णिम भविष्यका लागि ओमानमा संघ्रर्षशील डिबी क्षेत्रीसमेतलाई तपाईँले प्रतिगामी उम्मेदवार ठान्नुभयो।
स्वदेशी स्वादलाई नेपाली मःम मार्फत यिनले पनि ओमानमा नेपालीपन मात्रै बाँडेका हुन्। आफ्नो परिवार र व्यवसायकोभन्दा श्रमिकको हकहितको चिन्तामा बढी समय खर्च गर्छन् यिनी। कोभिडको दोस्रो लहरमा नेपालमा अक्सिजन सिलिण्डरको हाहाकार हुँदा ओमानबाट सिलिण्डर नेपाल पठाउने काममा होस् वा विदेशमा काम गर्ने श्रमिकको पेन्सन (हजारे अभियान) मा होस् यिनको नेतृत्व अब्बल छ।
नेकपा माओवादी र एनआरएनलाई जोड्ने काम पनि क्षेत्रीले नै सुरू गरेका हुन्। तपाईँकै पार्टीका असल शुभचिन्तक अनि श्रमिकका नेता कसरी प्रतिगामी हुन सक्लान अध्यक्षज्यू?
पञ्चायती व्यवस्था विरूद्धको २०४६ सालको आन्दोलनमा प्रहरीको गोली खाने अष्ट्रेलियाबासी धर्म राज अधिकारी, साउदी अरब जस्तो कठोर कानून भएको देशमा महिला सशक्तीकरणको आवाज उठाउने, रगतको कण कणमा नेपाली कांग्रेसको आस्था बोकेकी सिमान्तकृत वर्गकी प्रेरणा यास्मिन बेगम, अफ्रिकाको जाम्बिया गएर ३५ वर्ष नपुग्दै करोडपति ब्यवसायी बन्ने नेविसंघको पूर्व जुझारू कार्यकर्ता रोशन थापा कसरी प्रतिगामी भए कमरेड?
स्वदेशको राजनीतिभन्दा पर रहेका चितवनका गौरी जोशी जो आज अमेरिकामा आईटीको अन्तर्राष्ट्रिय स्तरको कम्पनी स्थापना गर्न सफल छन्। जसले, नेपालका आइटीलगायत थुप्रै क्षेत्रमा लगानी मात्रै गरेनन् आफूले सिकेको सीपले एनआरएनएमा स्मार्ट एनआरएनएलाई स्मार्ट एनआरएनए बनाउन पहलकदमी लिए उनी कसरी प्रतिगामी भए?
तत्कालिन माओवादी द्वन्दकालमा बेल्जियम सरकारले माओवादी आन्दोलन दबाउन ५ हजार हतियार तयार गरेको थाहा पाउने बित्तिकै बेल्जियमकै संसदमा त्यसविरूद्ध धर्ना कसेर त्यस कदमलाई विफल तुल्याउने लोक दाहालको नेतृत्व आज कसरी प्रतिगामी बन्यो?
भारतले नाकाबन्दी गर्दा होस वा नेपालको सीमा मिच्दा लण्डनको सडकमा नरेन्द्र मोदीलाई कालो झण्डा देखाउन अग्रणी भूमिका खेल्ने राम शरण सिंखडा, संगीता मरहट्ठा, विनय अधिकारी, ललित न्यौपाने, कृष्ण तिमिल्सिना कसरी प्रतिगामी भए? भारत विरूद्ध युरोपियन युनियनमा खडा हुने सन्तोष भट्टराई कसरी प्रतिगामी भए?
गैरआवासीय नेपाली राष्ट्रिय समन्वय परिषदका अध्यक्ष भएर गैरआवासीय नेपालीको हकहितका लागि अग्रणी भूमिका खेलेका हङकङकी टिका गुरुङ, जापानका ओम गुरुङ र पारसमणी पोखरेल, आएरल्याण्डका मिलन छन्त्याल, क्यानाडाका चिरञ्जिवी घिमिरे, बेल्जियमका गंगाधर गौतम, र चित्र सुवेदी, अमेरिकाका सुनिल साह, अष्ट्रेलियाका गणेश केसी, जर्मनीका डा नवराज रोसियारा, दक्षिण कोरियाका यज्ञराज सुवेदी कुन कोणबाट प्रतिगामी भए?
प्रचण्डको अग्रगामी प्यानलमा नअटाएका नेविसंघ र जनसम्पर्क समितिका पूर्व नेताहरू अष्ट्रेलियाका नारायण काफ्ले र दिनेश जोशी, जापानका नारायण सुवेदी, अमेरिकाका राजन त्रिपाठी, शंकर खड्का, प्रकाश सापकोटा, अष्ट्रियाका सागर सुवेदी कसरी भए प्रतिगामी भए?
झापाको सामान्य परिवारमा जन्मेर अमेरिकामा आफ्नो व्यवसायमा सफल यमुना भट्टराई, आफ्नो ज्यानको बाजी राखेर कोभिड पीडितलाई साउदीको सडक सडकमा नेपालीलाई खाना खुवाउने, विर्तामोडका प्रकाश गुरुङ, साउदीको जेलबाट ह्विलचियरबाट निकालेर नेपाल पुर्याउन सक्रिय राजेन्द्र अर्याल कसरी प्रतिगामी भए प्रचण्ड कमरेड?
राष्ट्रिय समन्वय परिषद् न्युजिल्याण्डको अध्यक्ष हुँदा एभरेष्ट मेलामार्फत नेपालको पर्यटन विकासमा टेवा पुर्याउने म्याग्दीका लाल केसी, ओम्नी काण्डमा नेपाल सरकारलाई खबरदारी गर्ने चाइनाका नवीन विके, विदेशमा बसेर नेपालको कला संस्कृतिमा योगदान पुर्याएकी नेदरल्याण्डकी वर्षा खड्का कसरी प्रतिगामी भए?
महिला सशक्तिकरणमा अग्रणी भूमिका खेलेकी चीनकी कञ्चन थापा, मकाउकी पूर्व राष्ट्रिय खेलाडी शान्ति अधिकारी, अमेरिकाकी तृष्णा शर्मा, इन्दिरा त्रिपाठीलाई कसरी प्रतिगामी भन्न सकिँएला?
कोरियामा अनुसन्धानमा सिकेको ज्ञान सीपलाई नेपालमा भित्र्याउन अनवरतरूपमा लागेका डा.देवी बस्नेत र डा इन्दिरा तिवारी अग्रगामी हुन अब के गर्नुपर्छ कमरेड?
आदरणीय अध्यक्ष प्रचण्ड, कोभिड पीडित २ लाख ३० हजार गैरआवासीय नेपालीहरू राहत पुर्याउँदा, अक्सिजन नपाएर देशबासीलाई छट्पटिँदा, युक्रेनका युद्वको चपेटामा नेपाली पर्दा, दसौं अर्बको परियोजनामा लगानी जुटाउँदा, नेपालको चार प्रदेशमा अक्सिजन प्लाण्ट स्थापना गर्न, चितवन र धनगढीमा मोबाईल ब्लड बसको लागि अर्थ संकलन गर्न हामी प्रतिगामी उम्मेदवारहरु विदेशमा व्यस्त भयौं। तपाईँका अग्रगामी उम्मेदवार र उनका आसेपासे नेपालमा तपाईँलाई घेरेर मिसलिड गर्न सफल भए सायद हामी त्यही चुक्यौं। त्यसैको परिणामको रूपमा यो पत्र आएको मैले ठानेको छु।
अध्यक्ष ज्यू, हामीले तपाईँहरूले नेपालमा लोकतन्त्र स्थापना गर्न खेलेको भूमिकालाई नजरअन्दाज गरेका पक्कै छैनौं। हिजोको त्यो परिवर्तनको विगुलले नेपाल र नेपालीले गर्विलो इतिहास रचेको सत्य हो।
तर कमरेड, हिजो जनतालाई स्वतन्त्रताको अनुभूति दिलाउन लडेका तपाईँ आज कसरी स्वतन्त्र संस्थामाथि अंकुश लगाउन लागि पर्नुभयो? आफैं अस्तित्व र पहिचानको कुरा गर्ने तपाईँ आज एनआरएनएको अस्तित्व धुमिलिने प्रपञ्चको साझेदार बन्न सक्नुहुन्छ? तपाईँ जत्तिको नेताले व्यक्ति केन्द्रीत होइन देश केन्द्रीत निर्णय लिनु जरूरी छ।
कमरेड, अग्रगमन र प्रतिगमन आफैंमा साध्य होइनन्, साधन मात्र हो। जुन जसले जता पनि आफ्नो अनुकूलताका लागि प्रयोगमा ल्याउन सक्छन्। यसर्थ, कृपया दलीय राजनीतिभन्दा माथि उठेर सबै गैरआवासीय नेपालीलाई समान व्यवहार गर्नुस, गैरआवासीय नेपाली संघलाई सबैको साझा संस्थाकै रूपमा रहिरहन दिनुहोस्।
अन्त्यमा, सविनय आग्रह छ- तपाईँहरूको दलीय गठबन्धन पक्कै पनि अस्थायी हो। तर हामी बाहिर बस्ने नेपालीको एकता हाम्रा लागि स्थायी हुनैपर्छ तब मात्रै हामी एकैसूत्रमा बाँधिएर मुलुकका लागि केही गर्न सक्छौं। त्यसैले हामीलाई दलगतरूपमा विभाजन नगरिदिनुस्।
आसन्न निर्वाचनमा स्वतन्त्र रूपमा उम्मेदरवार बन्न र एनआरएन अभियानमा सहभागी हुन कसैलाई अंकुश नलगाउनुस्। कमरेड, हामीलाई विभक्त होइन देशभक्त हुन दिनुस्।
लेखक एनआरएनका महासचिव हुन्।