साँझ पर्न लागिसकेको थियो, पुकार मेरो कोठामा आइपुग्यो। त्यसबेला म घोराहीमा काम गर्थेँ। अस्पतालले दिएको सानो कोठा त्यसमा उसको मोजा डुङ्डुङ्ती गन्ध आयो. मेचीदेखि महाकालीसम्म पैदल यात्रामा ऊ जो निस्केको थियो। घोराहीमा त्यस बखत केही विचार मिल्ने साथीहरू थिए, बोलाएँ।
पुकारले अबेरसम्म आफ्नो पैदल यात्राको उद्देश्य, नेपालमा वैकल्पिक राजनीतिक दलको आवश्यकता इत्यादिको बारेमा सुनायो। ऊ त्यति प्रखर वक्ता त होइन, तर उसको प्रत्यक कुरामा केही संकल्प, केही अनुरोध थियो। भोलिपल्ट हामीहरू लमही बजार गयौं। कसैले स्पिकरको पनि व्यवस्था गरेको थियो।
त्यसमा 'लम्क लम्क लम्क हे नव जवान हो' भन्ने गीत बजाउँदै हामीहरू राष्ट्रिय झण्डा बोकेर केही परसम्म लम्कियौं पनि। छुट्टिने बेलामा पुकारले एउटा कागजमा 'आफूले देख्न चाहेको नेपाल कस्तो हो? त्यो सपना लेख' भन्यो। लुम्बिनीमा लगेर माटोमा गाड्ने रे, अनि वर्षौंपछि खोलेर हेर्ने! विवेकशील नेपाली दलले त्यो बेला लुम्बिनीमा गाडेका केही दर्जन सपनाहरू मध्ये एउटा चिर्कटोमा एक थान सपना मेरो पनि छ।
तर कहानीको सुरुआत यहाँबाट हुँदैन।
पुकारसँग यो मेरो दोस्रो भेट थियो। योभन्दा पहिले मैले उसलाई बालुवाटारको बिरुवा भेन्चर्समा भेटेको थिएँ। सन्दर्भ, 'परिवर्तनको लागि हामी नेपाली एक' भन्ने जमातले गरेको 'अब के गर्ने?' भन्ने एउटा भेला।
त्यसबखत यो एउटा दबाब समूहजस्तो थियो, 'विवेकशील नेपाली दल' अझै बनिसकेको थिएन। प्रसवमा धेरै दिन छटपटाएर संविधान, पहिलो संविधान सभाको गर्भमै तुहियो। नयाँ 'म्यान्डेट' लिएर आएकाहरूले पनि केही गर्ने छाँट देखाएका थिएनन्। त्यसैले प्रत्यक शनिबार स्वर्गीय उज्वल थापा, गोविन्द नारायणलगायत वैकल्पिक राजनीतिका सुत्रधारहरू 'अब के गर्ने' भनेर छलफल गर्थे। पुकारले मिटिङ चलिरहँदा एउटा कागजको कपमा कालो चिया दिएको थियो- हाम्रो पहिलो भेट त्यही थियो। त्यसपछि बल्ल परिचय, र मित्रता।
तर कहानीको सुरुआत यहाँबाट पनि हुदैँन।
०६२/६३ को आन्दोलन उत्कर्षमा पुगेको थियो। कुनै एउटा टेलिभिजनको पर्दामा गायक योगेश्वर अमात्य 'क्यारौं? क्यारौं?' भन्दै आइपुग्छन्। कुनै गल्लीमा गोली चल्यो, कतै मान्छे मर्यो भन्ने खबर आइरहेको थियो। त्यहीबेला गायक अमात्यले युगकवि सिद्धिचरण श्रेष्ठको 'नेपाल' भन्ने कविता गाएको सुन्दा मलाई पनि के गरौँ, के गरौँ भयो। म यो देश निमित्त नाचौँ कि गाऔँ, कि गला मिलाऔँ, सहर्ष काटी शीर नै चढाउँ- के गरौँ देशको निमित्त? आङ नै सिरिंग हुन्थ्यो। अहिलै जाउँ आन्दोलनमा, दिइहालौं बलिदान जस्तो लाग्थ्यो, तर गइनँ।
मेरो लागि यो कहानीको सुरुआत सायद यहीँबाट हुन्छ।
विजय जुलुसमा गएँ। राजतन्त्र गयो, गणतन्त्र आयो, अब फटाफट देश बन्छ भन्ने लाग्यो।
त्यो वर्ष म अध्ययनको सिलसिलामा बंगलादेशतिर गएँ। आहा! त्यो उमेरको देशप्रेम! आउँदा-जाँदा काठमाडौंदेखि काँकडभित्तासम्मको बस यात्रामा म कसरी देश विकसित होला भनेर परिकल्पना गर्दै उत्साहित हुन्थेँ।
संविधानसभाको चुनाव पनि भयो, ठूलो संख्यामा नयाँ पुराना अनुहारहरू संविधान निर्माणको सपथ खाएर आए तर समयमा संविधान बन्न सकेन। मेरो पुस्ता, जसलाई ०६३ को जनआन्दोलनमा आफ्नो पनि केही योगदान छ भन्ने लाग्छ, जसले परिवर्तनको सपना देखेको थियो त्यो पुस्ताले यो अकर्मण्यतालाई टुलुटुलु हेरेर बस्न सकेन।
त्यसैले छिट्टै संविधान निर्माण गरेर शान्ति प्रक्रियालाई गति दिन विभिन्न नागरिक दबाब समूहहरूको जन्म भयो र यस्तै मध्यमा एउटा समूह थियो 'परिवर्तनको लागि हामी नेपाली एक'। हुन त त्यो बेला मेरो लागि यो एउटा 'फेसबुक पेज' मात्र थियो। म परदेशमा थिएँ, तर देशमा साथीहरूले गायक अमात्यले गाएको गीतको मेरो भागको 'क्यारौँ?' गरेजस्तै लाग्थ्यो।
म ठ्याक्कै त भन्न सक्दिनँ तर मलाई लाग्छ सुरुआती दिनहरूमा उज्वल दाइसँगै अनिल चित्रकार, प्रशान्त सिंह, नील पाण्डे लगायतले यो अनौपचारिक समूहको नेतृत्व गरेका थिए। यस नागरिक समूहले जनप्रतिनिधिहरूलाई दबाब स्वरुप संविधान सभाको भवन घेराउ गर्नेदेखि त्रिपुरेश्वरको कालमोचन मन्दिर सरसफाई गर्नेसम्म काम गर्यो। तीनकुने कोटेश्वर सडकखण्डको छेउको पार्कहरूमा बिरुवा रोप्ने काम पनि गर्यो तर त्योभन्दा पनि ठूलो कुरा भनेको यसले नेपालमा वैकल्पिक राजनीतिको बिउ रोप्यो।
६ वर्षपछि म नेपाल फर्किँदा समेत देश पहिले झैं यथास्थितिमै थियो। दिनहुँ मान्छे मर्ने क्रम रोकिएको थियो, पहिचान र अधिकारका नयाँ मुद्दाहरू सतहमा आएका थिए तर पहिलो संविधानसभा विघटन भइसकेपछि जनतामा तीव्र निराशा पनि थियो। 'परिवर्तनको लागि हामी नेपाली एक' को साप्ताहिक भेटघाटले अब नागरिक आन्दोलन हुँदै राजनीतिक प्रशिक्षणको स्वरुप लिएको थियो।
त्यसका पछिल्ला संस्करणहरूमा एउटा प्रश्न बहसको ठूलो मुद्दा बनेर तेर्सिएको थियो- अब हामी आफैंले पनि पार्टीगत हिसाबमा राजनीति गर्ने हो कि होइन? यस विषयमा धेरै छलफल भयो, केही साथीहरू बिमतीले छुट्टिए पनि, तर अन्ततः राम्रा र सक्षम मान्छेहरूले राजनीतिमा सहभागी भएर देशको नेतृत्व लिनसके मात्र परिवर्तन सम्भव छ, परम्परागत राजनीतिक शक्तिहरूबाट हामीले सोचेको देशको रुपान्तरण सम्भव छैन, त्यसैले वैकल्पिक राजनीतिको तत्काल आवश्यकता छ भन्ने निष्कर्षका साथ विवेकशील नेपाली दल स्थापना भयो।
यो कहानीको दोस्रो अध्यायको सुरुआत हो।
पार्टीको कार्यालय धेरैपछिसम्म पनि उज्जवल दाइको आफ्नै घर बुढानिलकण्ठमा थियो। बन्दको विरोध, चिकित्सक गोविन्द केसीका अनसनका श्रृङ्खलाहरूमा सक्रिय सहभागितादेखि महिला हिंसा विरुद्धको आन्दोलनमा प्रत्यक्ष परेक्ष नेतृत्व गर्दै संविधानसभाको दोस्रो चुनावमा कुकुर चुनाव चिन्ह लिएर यो दल सहभागी पनि भयो र वैकल्पिक राजनीतिको औपचारिक सुरुआत गर्यो। त्यही बेला बनेको सम्बन्धको आधारमा पुकार बास माग्दै घोराहीसम्म आइपुग्यो।
०७२ सालमा भुइँचालो गयो। सहरमा ठूला-ठूला गगनचुम्बी भवनहरू भएका मान्छेहरू पनि सडक छेउको चउरमा छिमेकका भुइँमान्छेहरूसँग एउटै त्रिपालमुनि ओत लागेर बसेको समय थियो त्यो। यतिबेला सबैलाई एक किसिमको जिन्दगीको यथार्थ बोध भयो जस्तो लाग्छ। कति नाजुक रहेछ जीवन, निमेष भरमै सबै कुरा सकिन पनि सक्दोरहेछ जस्तो। एकैछिनलाई सही, हामीलाई आफ्नो आडम्बर, रिसराग गौण लाग्यो होला। सायद हामीले थाँती राखेका सबै कुराहरू गरिहाल्ने समय छैन कि भन्ने हेक्का पनि गरायो होला।
दोस्रो संविधानसभाले समयमा संविधान निर्माण गर्न सक्नुको पछाडि मिहीन राजनीतिक कारणहरू होलान् तर भूकम्प पछिको तत्कालीन समयमा हाम्रो राजनीतिज्ञहरूको मनोदशा पनि प्रमुख कारण थियो भन्ने मलाई लाग्छ।
संविधान बन्यो, तर देश अझै बनेन।
लगभग पाँच वर्षअघि स्थानीय निकायको चुनाव हुनुभन्दा अगाडि जनता परम्परागत राजनीतिबाट विरक्त भइसकेका थिए। यथास्थितिबाट मुक्ति पाउन परिवर्तन चाहन्थे। त्यो भावना 'क्याश' गर्न नयाँ राजनीतिक शक्तिहरूको उदय हुन थाल्यो। बाबुराम भट्टराईले कैयौं वर्ष हिंसात्मक राजनीतिमा प्रत्यक्ष संलग्न भएर पनि आफूलाई 'नयाँ शक्ति'को आवरणमा प्रस्तुत गरे, रबिन्द्र मिश्र पनि भ्रष्टचारीलाई किरा परोस् भनेर सुरु गरेको अभियानलाई राजनीतिक स्वरुप दिएर अग्रसर भए।
नयाँ मध्यमा अलि पुरानो विवेकशील मैदानमै थियो। स्थानीय निकायको चुनावमा कुनै सिट जीत्न नसके पनि, मन जित्यो। लगत्तै साझा पार्टीसगँ एकता पनि भयो। त्यसपछि भएको आम निर्वाचनमा यो विवेकशील साझा पार्टीले राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमोर्चा, नेपाल मजदुर किसान पार्टीजस्ता इतिहास बोकेका पार्टीहरूभन्दा पनि धेरै मत (कुल मतदानको २.२२%) ल्याएर छैठौँ ठूलो दल बन्न सफल भयो। रबिन्द्र मिश्र कांग्रेसका दिग्गज नेता प्रकाशमान सिंहसँगमात्र ८१८ मतको अन्तरले पराजित भएका थिए। तर समग्रमा त्यो नेपालमा वैकल्पिक राजनीतिको लागि भने एउटा सानो जित थियो।
त्यसपछि धोबिखोलामा धेरै पानी बगिसक्यो, तर वैकल्पिक राजनीतिको ठेक्का बोकेका नेताहरूले पार्टीको सङ्गठन विस्तारमा, प्रचार-प्रसारमा कत्तिको पसिना बगाए?