बाले नपढेर दुःख पाए
मैले पढेर दुःख पाए
गाउँमा बाले हलो जोतिराछन्
सहरमा म टाउको जोतिराछु
गरेर खानलाई बा सँग सिङ्गो संसार छ
भोकभोकै मर्न तयार म सँग अहंकार छ
बाले नपढेर दुःख पाए
मैले पढेर दुःख पाएँ..
उपेन्द्र सुब्बाको यो कविताको हरफ म र मजस्तै हविगत बिताएकाहरूको वास्तविकताभन्दा धेरै नजिक छ।
मानौं कि हर बिहान जागिर खोज्न सर्टिफिकेट बोकेर निस्किएको म जब साँझ पर्दा रित्तो भएर फर्किन्छु।
यो कविताले ड्याम्मै हान्छ। निदाउन खोज्छु तर अहँ! यो कविताका भावहरू नदीजस्तै सपनाहरूमा बग्छन् र आशाहरूलाई लपक्कै भिजाएर जान्छन्।
ननिदाइकन देख्ने सपनाहरू चाहिँ साँच्चै सपना हो भन्छन् तर मेरा ननिदाएको रातहरूको यदि हिसाबकिताब गर्ने हो भने क्यालकुलेटरलाई पनि भारी पर्छ होला।
म त्यहीँ परिवारको मान्छे हुँ जहाँ जन्मिनेबित्तिकै छोरा छोरीलाई डाक्टर, इन्जिनियर बनाउने सपना बुन्न तम्तयार बस्छन् बा आमा।
त्यतिबेलाको त्यो महानतम सोचलाई म अहिले यो भोगाइसँग तुलना गर्दै मूर्खता हो भनेर भन्न सक्दिनँ। तर पिएचडी गरेरै वा डाक्टर इन्जिनियर पढेरै चमत्कार हुन सक्थ्यो भने मेरा बा-आमा अहिले महलमा बसाइँ सरी सक्थे होलान्।
बाले सानोमा नपढ्नेहरूले हलो जोत्न पर्ने र गिट्टी बालुवा खेलाउन पर्ने कहानी र उदाहरण दिँदै पढ्न लगाए।
पढ्ने लेख्नेको हातमा संसार घुम्ने र कलम चलाएर नै जीविका चलाउन सकिने उपाय सुझाए। तिनै चित्रहरू बुन्दै खुब पढियो। म मात्र होइन दिदीहरू पनि खुब पढे। किन पढिँदैछ र पढेर ठ्याक्कै के हुन्छ? थाहा पत्तो थिएन तर पनि पढियो।
चिकित्सा विधामा नै छिरियो। तर उही अहिले आएर चालिस पचास हजारको सरकारी नोकरी खोज्न पनि दिनभर गाउँ सहर डुल्नुपर्छ।
कहिलेकाहीँ सोची ल्याउँदा सेतो चामलभन्दा ढिडोमा नै अर्कै ताकत हुन्छ भन्थे! हो जस्तो लाग्छ।
यो देख्दामात्र राम्रो लाग्ने सेतो एप्रोनधारी डाक्टरी पेशामा भन्दा अरू देख्दा अलि नराम्रा लाग्ने पेशामा नै ताकत बढी हुँदो रैछ। नत्र कोरिया जाने ठिटोले कसरी एक वर्षमा नै जग्गा किन्छ त? तपाईं भन्नुहोला- इज्जत पनि त हेर्नुस् न डाक्टरसाब पैसा मात्र कहाँ सबथोक हो र! भनेर। तर छोराछोरी डाक्टर छन् भन्दैमा घरका बाआमाको आङ छोपिने हो र?
बाआमाले सुखसयल जीवन पाउने हो र? अनि एउटा जीवनको आनन्द नै राम्रोसँग आफूले र घरपरिवारले भोग्न नपाएपछि बीस वर्ष पढेको के काम लाग्यो त? मनमा कतै आउँदो हो तपाईंहरूको,डलरकै खेती गर्न विदेश किन नजाने त तपाईं डाक्टरसाब्? भनेर! आखिर विदेश नै जान थियो त यो सेवा जनित विधामा किन हात हाल्नु थियो र? डाक्टर नभएर पनि मनग्य कमाउने कति छन् कति विदेशमा।
देशले नै उमार्यो,गोडमेल गर्यो अब यो लक्का जवानको विद्यालाई फलाएर उपार्जन पनि देशले नै खाओस् भनेर सोच्नु जस्तो देशभक्ति कहाँ होला र?
तर देश त हाम्रो दिमाग पनि कौडीको भाउमा निर्यात गर्न तम्तयार बस्छ र पो दुःख लाग्छ।
अमेरिका, अष्ट्रेलिया जानेहरू सुरूआती दिनमा ऋणमै डुब्छन्। तर हामी नेपालमा बस्नेहरू ऋणमुक्त छौं तर पनि ऋणमा नडुब्नु मात्र पनि त जीवन होइन रहेछ साहेब, हरेक दिन जागिरकै पीरमा डुब्न परेपछि। झूटा बाङ्गा चालहरूसँग संगत गर्दागर्दा आफ्नो किस्मत पनि माकुराको जालोभन्दा कम हुने रहेनछ नेपालमा। घरिघरि आफैं अल्झिने। दिक्क लाग्दो यो थिति खै! कहिले सुध्रिने?
सायद अब बाले सानोमा सुनाउने गरेका कहानीहरू रिभर्स हुँदैछन्।
धेरै पढेकाले होइन हातमा सानो सीप भएकाले कमाउने दिन आइसक्यो। किनकि यत्रो मेहनत गरेर डाक्टरी पढेपछि सानातिना काममा जान हाम्लाई मन लाग्दैन!अर्थात् अहमले छेक्छ। अनि बसी बसी पैसावाला काम पाउन गाह्रो छ। सरकारले जागिरको ग्यारेन्टी देला सोच्नु त उखान जस्तो भइसक्यो।
सानो कोठाको चारखुट्टे खाटमा बसेर देखेको एउटा डाक्टर हुने सुनौलो सपना त पूरा भयो तर सानो कोठा फराकिलो भएन अनि खाटको उचाइ बढेन।
तिनै सर्टिफिकेट भिरेर फेरि सफलताका कथा रटान गर्दै आफैंलाई सान्त्वना दिने मन छैन आजकाल। किनकि मनले नि विश्वास गर्ने हद गुमाइसक्यो।
यो दोष सबै सरकारको हो भनेर मनभित्र उब्जिएका रिसका झिल्काहरू उतै फाल्न पनि मन लाग्छ। तर पनि के अर्थ आखिर! सरकार शिक्षित वर्गको क्षमतामाथि जुवा खेलिबस्छ। रमितेजस्तै हेरिबस्छ।
आफूले पढेको विद्यामाथि अपशोचका कुञ्जहरू छन्। यी कहाँ लगेर विसर्जन गरूँ? अरू त अरू हप्तौ ननुहाएको मैलो शरीर अझै पनि 'पढ्नुपर्छ है! नमरिन्जेल पढ्नुपर्छ' भन्ने वान्कीमा नाचिरहेछ। यसलाई कहाँ लगेर पखालौं?
'पढेर हात्ती ठूलो भएको त होइन' यो ठट्टा नै सही तर पढेर माउते हुन चाहिँ सकिएन। हरेस नखाने र आस गर्ने हिम्मतवालाहरू नै अघि बढ्छन् भनिन्छ तर अपवादहरू मात्र सफल हुने दृष्टान्त भुलिन्छ।
कर्मले भरिपूर्ण भएपछि पनि भाग्यको भर पर्नुपर्ने भए त कर्म गरेको त मतलबै भएन नि। त्यसैले पढेर कर्म गरेपछि जीवन संगीतमय भयो भने मात्र गुनगुनाउन मन लाग्छ, सरकारको पनि गुणगान गाउन मन लाग्छ।
हामी धेरैका बाहरू अझै पनि गाईभैंसी हेर्न गोठालो जान्छन् होला।
छोरा लाहुर गएर आएको छ महिनामा ठडिएको माइला दाइको तीन तले घरको छायामा बसी 'मेरो छोरा पनि पिएचडी गर्दैछ' भन्दै धाक् लाउँछन् होला।
अरू त अरू गुच्चा खेल्न हाम्रा आँगनमा थुप्रिएका भुराभुरीहरूलाई 'मेरो छोराजस्तै धेरै पढ्न पर्छ भनी जाओ पढ्न' भन्दै हकार्छन् होला।
बाकै बखानका कारण हामी दसैंमा गाउँघर जाँदा पनि 'यत्रो पढेको रैछ केटोले त' भन्दै मुखिन्जेल नै तारिफ पनि त सुन्न पाइन्छ नि। बाकै दुःख पाउने बिडो थामे पनि बाले नै गर्व गर्ने लायक पनि त भएछौं नि।
यो थाहा पाउँदा त केही सन्तुष्टि त पक्कै मिलेकै छ। तर पढेर नै दुःख पाउने नियतिको अन्त्य खै!
कहिले हुन्छ हाम्रो देशमा अनि यी कविताका हरफहरूले त्यही दिन घोच्न छोड्छन् होला हाम्रा मुटु कलेजामा।