'सरलाई दिनु न सरलाई! त्यहाँ सर हुनुहुन्न?' प्राय: जसो फोनमा हेल्लो भनेपछि सुनिने पहिलो वाक्य।
कसैले त बुझिहाल्नु हुन्थ्यो, 'ए ए हुन्छ' भन्नु हुन्थ्यो।
मैले भन्थें- यो नम्बर मेरो हो। हजुर मसँग कुरा गर्न सक्नु हुन्छ। म पनि यही संस्थामा आबद्ध छु।
तर कतिपय यस्ता हुनुहुन्थ्यो, बुझ्नै नखोजी- हैन त्यहाँ को सर हुनुहुन्छ। उहाँलाई नै कुरा गर्न दिनु भन्नुहुन्थ्यो।
जसलाई कुनै जानकारी थिएन कि त्यो कामको लागि सम्बन्धित सम्पर्क गर्नुपर्ने कर्मचारी को हो भनेर। यस्तो लाग्थ्यो उहाँ निश्चित हुनुहुन्थ्यो कि त्यो पुरूष पात्रभन्दा अरू हुन सक्दैन।
मानिस हुँ, राम्रो नराम्रो व्यवहारले प्रभावित हुनु स्वाभाविक हो, किन यस्तो अबुझ मानसिकता? किन जानी जानी सुन्न बुझ्न नचाहेको? म नै हो सम्बन्धित व्यक्ति भन्दा पनि किन नटेरेको? आखिर पुरूष श्रेष्ठता वाला मान्यताले परिवर्तनशील गतितर्फ भरखर ताते पाइला सार्न खोज़्दै गरेको हाम्रो समाजको रूपरेखालाई धमिलो बनाइरह्यो, फेरि खुट्टा तानी छोड्यो।
झनक्क रिस उठेर आउने, मनमा प्रश्नै प्रश्न। समाजप्रति, अनि कति त आफैंप्रति, के सधैं यसरी लडी रहेर साध्य छ? सधैं आफूलाई प्रमाणीकरण गर्नु पर्ने? यस्तै यस्तै धेरै प्रश्नहरूको बहावले एकछिन फोनमै हुँदा हुँदै मन विचलित बनाउथ्यो।
अनि एक्कासि फेरि- खै त सरलाई दिनु न कि उहाँको नम्बर दिनुस् भन्ने पुरूष आवाज़ले झसंग बनाउथ्यो।
फोनमा कुराकानी त सकियो तर मन अस्थिर थियो, सोच्न थालें- यो कसरी समाधान हुन्छ? वर्षौंदेखि जरा गाडेको यो नजरिया कसरी बदल्ने? बदल्नै नचाहनेलाई कसरी बदल्ने?
एउटा हेभी मेसिनरी अटो पार्टपुर्जाको दोकानमा बसेर यो लेख लेख्दै गर्दा एक जना ग्राहक आउनुभयो, उहाँ पहिलो पटक आउनुभएको थियो।
मैले आश्चर्य मानिनँ - उहाँले आउनासाथ सिधै खै यहाँको सर हुनुहुन्न? भनेर सोध्नुभयो।
मैले 'हजुर भन्नुहोस् न हजुरलाई के सामान वा सुविधा चाहियो' भनेर सोधेँ।
कम्पनीको विस्तृत जानकारी दिँदै हामीले बेच्ने माल सामान र प्रदान गर्ने सेवा सुविधाबारे पनि खुलस्त भनेँ, त्यति गर्दा पनि उहाँले मेरो अगाडि उभिएर 'नानी तिमीसँग यो कारोबार गर्ने क्षमता छैन, कुनै सरलाई नै बोलाऊ' भन्ने भाव बारम्बार व्यक्त गर्नुभयो।
मैले धेरै पटक नरम भई उहाँसँग जिज्ञासा राख्न खोज्दा पनि उहाँले आफूलाई चाहिएको सामानको बारेमा प्रष्ट भन्नु भएन। भन्छन् नि 'मलाई त मान्छे नै गनेन यार', हो ठ्याक्कै यही भनें मनमनै।
कम्पनीमा सर पात्रहरू भनेका मेरा बुवा, मेकानिक दाजुभाइहरू र अकाउन्टका भाइ त्यसबखत त्यहाँ उपस्थित हुनु हुन्थेन। कुनै अरू काममा व्यस्त हुनुहुन्थ्यो, बुवालाई आउन पनि अलि बेरै लाग्ने वाला थियो। अन्तत: उहाँ मेरो बुवा आउन्जेलसम्म प्रतीक्षा गर्ने हुनुभयो।
हुन त उहाँको बुवासँगको त्यो भेट पहिलो भेट नै हुनेवाला थियो र पहिला कहिले पनि उहाँसँग कारोबार नभएको बताउनु भएको थियो।
केही समयपछि बुवा आइपुग्नुभयो। मैले तुरून्तै भेट गराइदिएँ। त्यसपछि थाहा भयो उहाँ 'हाइड्रोलिक रक ब्रेकर' नामको सामान खरिद गर्न आउनु भएको रहेछ।कम्पनीका कामकाजहरूमा बुवाले मलाई विद्यार्थी जीवनदेखि नै जोड्नु भएको थियो। यो हेभी मेसिनको क्षेत्र महिलाका लागि चुनौतीपूर्ण भए पनि नसकिने के छ र! तिमीले सक्छौ भन्दै निरन्तर प्रेरणा र उत्साह दिनुभएको थियो।
बुवाले मलाई कम्पनीको सम्पूर्ण व्यवस्थापनको लागि आंशिक कार्यभार बिसाउँदै 'पार्टनर' बनाउनुभएको थियो।
हाइड्रोलिक रक ब्रेकर भन्ने सामानको बिक्री वितरणमा झनै विशेष ध्यान दिन्थें मैले। आखिर विद्यार्थी जीवनदेखि सम्हाल्दै आएको हाम्रो पारिवारिक व्यापारिक यात्राको एउटा पाटो थियो यो।
अन्तत: इन्क्वायरी लिएर छोटो गफपछि बुवाले त्यस ग्राहकलाई मतिर नै इशारा गर्दै भन्नुभयो- 'उनी मेरी छोरी हुन्, मेकानिकल इन्जिनियर हुन्, २०१९ मा आफ्नो मास्टर्स इन मेकानिकल इन्जिनियरिङ सकाएर ७ वर्ष चीनमा बिताएर फर्किइन्, चीनबाट आयात हुने हाम्रा सामानको इन्चार्ज पनि उनै हुन्, उनीसँग नै 'डिल' गर्नुहोला, मोल तौलको कुरा पनि उनीसँगै गर्नुहोला, लेनदेनको मामिला पनि उनकै जिम्मा भयो।'
बारम्बार सरलाई दिनुहोस्, सरसँग कुरा गराउनुहोस् भन्ने खालका फोनबाट वाक्क दिक्क भएर मैले आफ्नो रिस काबु गर्नबाट असफल नभएको पनि होइन। धेरैचोटि 'मै हुँ सर, सर म्याडम जे भने पनि मै हुँ, भन्नुहोस् अब के काम छ?' भनेर कटु बचन नफर्काएको पनि होइन।
एक प्राविधिक शिक्षालयको प्रिन्सिपल भएर सम्पूर्ण व्यवस्थापनको भार उठाइरहेकी मलाई शिक्षालयमा तालिम लिन इच्छुक प्रशिक्षार्थीहरूले भेट्दा प्रायजसो यहाँ सरहरू को हुनुहुन्छ, हामी तालिम लिन आएको भनेर सोध्छन् जुन जानकारी उनीहरूले मबाट पनि सजिलै लिन सक्ने थिए, तर विडम्बना - ठूला ठूला डोजर मेसिनको तालिम गराउने क्षेत्रमा महिला कर्मचारी पनि पुरूष सरह नै इन्जिनियर, अपरेटर अनि लेखापालको रूपमा कार्यरत हुन सक्छन् भन्ने तथ्यलाई उनीहरूको मानसिकताले सोच्नै भ्याएन।
एकदिन म एउटा प्रतिष्ठित कम्पनीमा हेवी मेसिनरीसम्बन्धी कारोबारको लागि गएँ। कागजातसम्बन्धी तथा अन्य सहयोगको लागि मैले आफूसँग मेरा अफिसका पुरूष स्टाफ- लजिस्टिक स्टाफलाई साथी लगेकी थिएँ।
त्यस कम्पनीको अफिसमा पुगेर त्यहाँका सम्बन्धित कर्मचारीसँग एउटै टेबल वरिपरि म र मेरो स्टाफ बस्यौं, हामी यस्तो ठाउँबाट यो कामको लागि आएको भनेर परिचय दियौं।
ती कर्मचारीले विषय वस्तुमा प्रवेश गर्दै हामीलाई कारोबारको प्रक्रिया बुझाउन थाल्नु भयो। बुझाउँदै गर्दा ती कर्मचारीले मेरा स्टाफतिर सम्पूर्ण ध्यान केन्द्रित गरी अन्तत: उहाँसँग मात्र कुरा गर्न थाल्नु भयो, मानौं त्यस कोठामा म उपस्थित नै थिइनँ। मेरो स्टाफ मेरो साथीमात्र जानु भएको थियो।
उहाँलाई यो कारोबारसम्बन्धी ज्ञान थिएन। निर्णय लिने/दिने अधिकार पनि थिएन। त्यसैले बारम्बार उहाँ त्यहाँको कर्मचारीलाई मतर्फ इशारा गर्दै 'म्याडमलाई बुझाउनु होस्' भन्नु हुन्थ्यो।
केही समयमै ती कर्मचारी फेरि मेरो स्टाफतर्फ फर्किएर कुरा गर्न थाल्नु हुन्थ्यो। कम्प्युटरमा डाटा देखाउनु हुन्थ्यो, त्यसो गर्दा मेरो स्टाफ झट्टपट्ट फेरि मतिर हात देखाउँदै 'उता म्याडमलाई थाहा छ, उहाँलाई नै भन्नु होस् मलाई हैन' भन्नुहुन्थ्यो।
यस्तो लाग्थ्यो कि उहाँलाई यो मान्न कठिन भइरहेको थियो कुनै 'म्याडम' जातले मेसिनरीसम्बन्धी छलफल र निर्णय लिन सक्छन्, उहाँले सायद 'सर' नै खोजिरहनु भएको थियो।
यो दिनदिनैको कथा हो, बितेका तीन वर्षको नेपाल बसाइँको अन्तरालमा यस किसिमका व्यवहारको भोगाइ कहिले रोकिएन। अब त बानी भइसक्यो।
'अब त बानी भइसक्यो' भन्दा खेरी मन च्वास्स हुन्छ, भित्रभित्रै हुटहुटी हुन्छ। समस्या त अब सुरू भयो। यो त झन् ठूलो समस्या हो।
कतै म पुरूष प्रधान समाजमा महिलाको लागि निश्चित रूपमा निर्धारण गरिएका समाजले सामान्य मानेका घरायसी चुलो चौकावाला जिम्मेवारीबाहेक माथि उठेर महिलाले आफूले रोजेका विभिन्न क्षेत्रका भूमिका र चुनौतीलाई पुरूषले हाँसो ठट्टा गर्दै यो त दुई दिनको चर्तिकला हो, सेलाउँछ भन्ने हेपाह प्रवृत्तिलाई बढाउ त दिइरहेकी छैन?
यस पुरूष प्रधान समाजमा पुरूष हावी भएका क्षेत्रमा महिलाले हात लगाउन सक्दैनन् भन्ने 'मेल सुपररिटी' मान्यतालाई चुपचाप सहिरहेकी त छैन? मजस्तै कति दिदी बहिनीहरूलाई यस्तै रहेछ यहाँको चलन भन्दै चुपचाप सहने सन्देश त दिरहेकी छैन? अंग्रेजीमा भनिन्छ 'एक्सन स्पिक लाउडर देन वर्ड्स' यसै भनाइबाट सिक्दै अब गरेर देखाउनु भन्दा अरू केही विकल्प छैन।
मेराजस्तै तीता मीठा अनुभव अंगाल्दै, कहिले हतोत्साहित त फेरि जुरूक्क उठ्दै आफ्नो लक्ष्यतिर बढ्न सबै दिदीबहिनीलाई सुझाव दिन चाहन्छु। समाज परिवर्तन हाम्रै पालोमा सम्भव छ।