म सानो छदाँ मेरो हजुरबाले भन्नुहुन्थ्यो 'बाबु पढ है पढ् नत्र हलि होइन्छ।'
अहिले नब्बे वर्ष पुगेका उनै हजुरबा भन्नुहुन्छ, 'उबेला केटालाई भन्दा उसको घरको अग्लो परालको टौवा हेरेर छोरीको बिहे आँट्ने गरिन्थ्यो। कारण गरिखाने जमिन भए, छोरी खानबिना मर्दिन भनेर बाबुआमा ढुक्क हुन्थे।
अहिले खेतीपाती गर्नेलाई दुखिया पेशा भन्छन्। खेतीपाती गर्ने जमिन भए पनि दु:ख गर्न कसैले चाहदैनन्। सबैले सुख खोजेर, खेतीपाती नगर्ने हो भने के खाएर बाँच्छन्, माटो खाँनीरचन र हो कि।'
उबेला पढेसी हलि हुनुपर्दैन भनेर सिकाउने, अनि अहिले खेती किसानी गर्न नचाहने युवामाथि रिस देखाउने उनै हजुरबाका दुईथरी कुरा सुन्दा अचम्म लाग्छ। मतलब हामी आफ्ना सन्तान जति सबै डाक्टर, इन्जिनियर वा उच्च ओहोदामा पुगोस् भन्ने चाहन्छौं। अनि अरू मजदुर किसान भएनन् भनेर दोष थोपार्छौं, कस्तो नमिल्दो कुरा।
'बुवाआमा के काम गर्नुहुन्छ?' स्कुलमा सोधिन्थ्यो।
धेरैको एउटै जवाफ हुन्थ्यो 'किसान'। थोरैमध्ये कसैका बा पुलिस आर्मीमा हुन्थे, कसैका शिक्षक, कसैका सरकारी कर्मचारी, त कोही इन्डियातिर नोकरी गर्थे। जो जुन पेशामा भए पनि गाउँमा सबैजसोको साझा पेसा खेतीपाती नै हुन्थ्यो। घरबाट जागिरको लागि पर पुगेकाहरू पनि बाली लगाउन असार र उब्जनी थन्काउन कात्तिक मंसिरमा घर आइपुग्थे। आफ्नो जमिन नहुनेहरू पनि अरूको खेतबारीमा काम गरेर गुजारा चलाउथे।
तब अर्को प्रश्न पनि गरिन्थ्यो, 'तिमीहरू पढेर ठूलो भएसी के बन्छौ?'
धेरैले डाक्टर भन्थे। थोरैले शिक्षक शिक्षिका भन्थे। त्योबाहेक अरू पेशा थाहा पनि हुँदैनथ्यो, नत्र भन्दा हुन्। तर कसैले बाआमा जस्तै किसान बन्छु भन्दैनथे। झुक्किएर होस् वा हाँसिमजाकमा 'म पढेर हलि बन्छु' कसैले भन्दैनथ्यो। किनकि नपढेको मान्छे मात्र हलि बन्ने हो, पढेको मान्छे सबै डाक्टर, इन्जिनियर, शिक्षक बन्ने हो।
नभए पनि अरू नै केही बन्ने हो। पढेको मान्छे हलि हुने कल्पना कसैले गर्दैनथ्यो। सबैको बुझाइ एउटै थियो, नपढ्नु भनेको बिग्रनु हो, अनि बिग्रेको मान्छे मात्र हलि बन्छन्!
हलि अर्थात् हलोले खेतबारी जोत्ने मान्छे। हाम्रो घरको खेतबारी जोत्ने गोरे दाइ हुनुन्थ्यो।
हाम्रोजस्तै अन्य घरमा उहाँ हलि हुनुहुन्थ्यो। अनि उहाँजस्तै अरू हलि भएर काम गर्नेहरू हुनुहुन्थ्यो। उहाँहरू आफ्नो पारिश्रमिक बाली उठाएर अर्थात् अन्न भित्राउने बेला धान, मकै, कोदो लगायत अन्न प्रत्येक वर्ष पूर्वसहमति अनुसार माना, पाथी, मुरीको हिसाबले लिनुहुन्थ्यो।
आजकल ठ्याक्कै हलिमात्र पेशाको रूपमा काम गर्ने चलन कम हुँदै गयो।
पहिलाजस्तो बाहुनले हलो जोत्न हुँदैन भन्ने मान्यता लगभग हटिसकेको छ। अर्को तराईदेखि पहाडसम्म जोत्नको लागि ट्याक्टर, हाते ट्याक्टर प्रयोग हुन थाल्यो। त्यसैले मैले यस लेखभित्र हलि भन्नाले खेतबारी जोत्नेमात्र नभएर समग्र किसान अर्थात् कृषि कर्म अपनाएका मान्छे भनेर बुझेको छु।
डाक्टर, इन्जिनियर, पाइलट हुन चाहने बालबालिका प्रत्येक घरमा भेटिन्छन्। वर्षौदेखि सबैजसो बालबालिकाको बोली डाक्टर, इन्जिनियरमै अडिएको छ। आजकल अन्य पेशाप्रति पनि अभिभावक अलि खुलेर छोराछोरीको रूचिमा समर्थन गर्न थालेका छन्। तर किसान बन्न, न बाआमाले प्रेरित गर्छन् न कोही युवाको पहिलो रोजाइ कृषि कर्म हुन्छ। अन्य पेशामा असफल भएर कृषिमा लाग्ने थुप्रै छन्। सुरूमै कृषक हुने चाहना राख्ने सायदै भेटिएलान्।
उच्च ओहोदामा पुगेका राजनीतिज्ञदेखी कर्मचारी, सुरक्षाकर्मी, व्यवसायी कुनै बेला किसानकै छोराछोरी भएको जिकिर गर्छन्।
'म किसानको छोरा हुँ, छोरी हुँ'। उनीहरू यति गर्वसाथ भन्छन् कि किसानको सन्तान हुनु आफैंमा एउटा ठूलो वरदान हो। सबैको कुरा सुन्दा लाग्छ, किसानजस्तो सम्मानित पेसा अर्को छैन। तर व्यवहारमा किसान बन्न कोही चाहँदैनन्।
बाँच्नको लागि पहिला चाहिने गाँस, जुन कृषि कर्मबाट उत्पादित हुन्छ। हामी त्यही काम गर्न हिच्किचाएका छौं। बरू अन्य पेशा नभए दुनियाँ चल्छ, किसानबिना चल्दैन। तसर्थ, मान्छेहरू किसान हुन हानथाप गर्नुपर्ने हो। जसरि डाक्टर हुने सपना धेरैले देख्छन्, त्यसरी किसान हुने सपना देख्नुपर्ने हो। पहिलो रोजाइ किसान त्यसपछि अरू हुनुपर्ने हो। तर त्यही किसान बन्न कोही चाहँदैन।
जुनसुकै अभिभावकले आफ्ना सन्तान उच्च ओहोदामा पुगुन् भनेर चाहनु पक्कै गलत होइन, तर पेशागत रूपमा सम्मान र अपमान गर्न अभिभावकले नै सन्तानलाई सिकारहेका छौं।
सानालाई माया, ठूलालाई आदर गर्नु, असल हुनु, अनुशासित हुनु, मीठो बोल्नु, इमान्दार हुनु आदि इत्यादि हुनु भनेर मुखले बोलेर आदेशमात्र दिएका छौं। व्यवहारमा हामी आफैं उदाहरण बन्न चुकेका छौं।
छोराछोरीले अभिभावकबाटै संस्कार अनुशरण गर्ने हुन्।
सार्वजनिक यातायतमा हिँड्दा खलासी, कन्डक्टरसँग, ठेलामा तरकारी बेच्ने साना व्यापारीसँग, सडकमा काम गर्ने मजदुरसँग, कार्यालयमा काम गर्ने तल्लो तहको सहयोगीसँग, खेतमा काम गर्ने किसानसँग हामी आफैं मिठो बोल्दैनौं। होच्याएर, अनादर गरेर बोल्छौं। अनि डाक्टर, इन्जिनियर,वकिल, प्रोफेसर, ठूला व्यापारीसँग उच्च सम्मान, आदरका साथ बोल्छौं।
तब बालबालिकाले हाम्रो व्यवहारबाट सजिलै सिक्छन्। पेशागत हिसाबले कुन मान्छेलाई इज्जत दिने कसलाई नदिने।
सबै पेशा एकअर्कोमा निर्भर छन्। सबैसँग सबै वस्तुको उपलब्धता हुँदैन। एकलाई अर्को चिजको खाँचो पर्दछ। न सबै डक्टर हुन्छन्। न सबै किसान। न सबै इन्जिनियर हुन्छन्। न सबै मजदुर। कोही डाक्टर हुँदैमा भोकै रहन सक्दैन, त्यसैले किसान चाहिन्छ। इन्जिनियर हुँदैमा निर्माण सम्पन्न हुँदैन उसलाई मजदुर चाहिन्छ। त्यस्तै मजदुर, किसानलाई पनि औषधि उपचार चाहिन्छ। जबकि हामी एक बिना अर्को पेशा अधुरो छौं। अझ भनूँ जीवन असम्भव छ भने, किन पेशागत रूपमा सम्मान र अपमानको नजरले हेर्छौं।
यो यथार्थलाई बुझेर प्रत्येक पेशालाई उत्तिकै इज्जत र सम्मानको नजरले हेर्ने हो भने, भोलिको दिनमा 'म पढेर किसान वा हलि हुन्छु, मजदुर हुन्छु' भन्दा कसैले छिः भनेर होच्याउन पक्कै छाड्नेछन्।
यहाँनेर पढाइ सबैको लागि महत्वपूर्ण छ। जुनसुकै पेशामा लाग्न न्यूनतम एउटा तहसम्मको पढाइले सकारात्मक प्रभाव पार्दछ। नपढे पनि सजिलै प्रवेश गर्न मिल्ने मजदुर, किसान जस्ता पेशामा यदि पढेलेखेको मान्छे जाने हो भने अरूले हेर्ने नजरमा पक्कै फरक पर्दो हो। त्यसको लागि माथिल्लो तहसम्म पढ्न आवश्यक छैन। बरू अध्ययनशील हुनु जरूरी छ।
पढ्नु भनेको खाली विश्वविद्यालय पढेर सर्टिफिकेट लिनुमात्र भनेर बुझिनु गलत हो। एम.ए, एम.फिल, पि.एच.डि. गरेका मात्र विद्वान हुन् भनेर बुझिनु अर्को भ्रम हो। त्यो भन्दा बढी प्लस टू पढेर आन्तरिक रूपमा विविध विषय अध्ययन गरेको व्यक्ति व्यवहारिक रूपमा बढी विद्वान हुन सक्दछ।
म किसान हुनु छ भने अन्य विषयको डिग्रीभन्दा महत्वपूर्ण बिउ, मल, माटो, उब्जनी, बजारीकरण आदिको बारेमा जान्नु उचित हुन्छ। त्यसको लागि तालिम तथा अध्ययनको लागि थुप्रै पुस्तक उपयोगी हुनसक्छन्।
मलाई अभिनय गर्नुछ भने अभिनयमा पोख्त हुनु जरूरी छ। अभिनयमा डिग्री हासिल गर्नु आवश्यक छैन।
डिग्रीले ज्ञान प्राप्त होला, तर मैले अभिनय गर्दा मेरो शैक्षिक योग्यताको भन्दा मेरो अभिनय कलाको महत्व बढी हुन्छ।
यो साँचो हो कि, डाक्टर इन्जिनियर, वकिल, शिक्षकजस्ता पेशामा प्रवेश गर्न पढ्नै पर्छ। उनीहरू किसान, मजदुरझैं काम गर्दै सिक्दै जान्छु भन्न पाउँदैनन्। सम्बधित पेशामा प्रवेश गर्न सोही अनुसारको विषय छनोट गरिन्छ। उच्च शिक्षा हासिल गरिन्छ।
आखिर पढ्नुको अर्थ सम्बन्धित पेसाको बारेमा ज्ञान, सीप, दक्षता हासिल गर्नु नै हो।
डाक्टरले रोगसम्बन्धी, इन्जिनियरले निमार्णसम्बन्धी, वकिलले वकालत कानुनसम्बन्धी, अर्थशास्त्रीले अर्थतन्त्र सम्बन्धी.....।
जसरी विश्व विद्यालयमा गएर पढेर शिक्षा हासिल गरिन्छ, हलिले खेतबारीमा काम गरेर सीप सिक्छ। दुई चार वटा हरिश भाँचिन्छन्। हलो भाचिन्छ। गोरुले टेर्दैनन्। पाखुरा दुख्छन्। खुट्टा मर्किन सक्छ। तब उस्ले बिस्तारै हलो समाएर जोत्न सिक्छ। हलो मात्र जोत्न अब उसलाई पढ्नु जरूरी देखिँदैन, तर उसले जीवनमा पढेर हलि अर्थात् किसान हुनु र नपढी हलि हुनुको फरक भने पक्कै महसुस गर्दछ।
मेरो आशय पनि पढेर हलि अर्थात् कृषक बन्नुपर्छ भन्ने हो। पछिल्लो समय पढेलेखेको युवाहरू कृषिमा लाग्दै नलागेका भने होइनन्, लागेका छन् तर त्यो उनीहरूको पहिलो रोजाइ सायद थिएन। यो गर्दा पनि भएन, त्यो पनि भएन। अब के त? तब कृषि अन्तिम विकल्पको रूपमा आउनुले किसानप्रति सामाजिक दृष्टिकोण स्पष्ट हुन्छ।
यसै सन्दर्भमा मेरो एक जना छिमेकी दाइले आफूले भोगेको अनुभव मलाई सुनाएको प्रसङ्ग यहाँ राख्नु उचित लाग्यो।
दाइ लामो समय पढाइको लागि काठमाडौं बस्नुभयो। जब डिग्री सकेर हातमा सर्टिफिकेट आयो। पढ्दापढ्दै उमेर ढल्कियो। बिहे गर्नुपर्ने कमाइ केही छैन। काम खोज्दा पाइँदैन। अनि एकदिन घरमा भन्नुभएछ, 'यहाँ केही भएन, गाउँमै आएर बाख्रा पालन गर्छु।' तब घरबाट बा रिसले कराउन थाल्नु भयो ।
'यत्रो वर्ष काठमाडौंमा पढाउन खर्च गरेको गाउँमा आएर बाख्राको गोठालो बस्नलाई हो? पहिल्यै नपढी बाख्रा पालेको भए हुन्थेन। बिहे गर्ने उमेरको छोरो, तँ गोठालो भएसी कसले दिन्छ तँलाई छोरी। बरू दुईचार महिना नोकरी नपाए केही नगरी बस्, म खर्च धाँनुला। बिहेपछि जेसुकै गरेस् बिहे अगाडि बाख्रासाख्रा पाल्नुपर्दैन।'
यो विचार राख्ने उहाँ एक्लो अभिभावक होइन। सिङ्गो नेपाली समाजको प्रतिनिधित्व पात्र हो उहाँ। छोरो आफ्नै गाउँ ठाउँमा खेती किसानी, पशुपालन लगायत इलम गर्दा बुहारी पाइँदैन भन्ने सोच राख्नेदेखि त्यस्तालाई छोरी चेली दिन नचाहने अभिभावक मतलब हामी सबैको सोच उस्तै छ।
पढ्नु केबल जागिर खानको निम्ति हो। व्यवसाय भनेको ठूलो लगानीको मात्र हुन्छ भन्ने सोचले हामी सबैलाई निलेको छ।
सबै पेशामा उत्तिकै दु:ख छ। कतै शारीरिक, कतै मानसिक। पेशा ठूलो सानो होइन, हाम्रो नजरिया फराकिलो हुन नसकेको मात्र हो। एकपटक सोचौं त। मान्छेको जीवन र मृत्युसँग जोडिएकोले डाक्टरलाई भगवान मान्ने गरिन्छ। गलत औषधि, गलत अपरेसनले बिरामीको ज्यान जान्छ। इन्जिनियरको गलत डिजाइनले संरचना कमजोर भएर भौतिकसँगै मानवीय क्षति हुन्छ। वकिलको गलत व्याख्याले निर्दोषलाई दोषी सजाय मिल्न सक्छ।
त्यस्तै सयौं मान्छे लिएर हिँडेको बसको ड्राइभर जत्तिको संवेदनशील पेशा अर्को हुँदैन, तर उस्लाई इज्जत दिइँदैन। किसानकै कुरा उसले खेतबारीमा काम गर्न छोड्दिने हो भने दुनियाँ भोकै मर्नेछ। त्यसैले सबै पेशा मानिसको आवश्यकता र जीवनसँग प्रत्यक्ष जोडिएको हुन्छ। तसर्थ कमाइ र सुविधाको हिसाबले पेशालाई उचो र निचो व्यवहार गरिने सोच फेरिनु पर्दछ। त्यसको लागि सबैले पढ्नै पर्दछ। सबैले पढेपछि जुनसुकै पेशामा पढेलेखेका मान्छेमात्र भेटिनेछन्।
तब पेशागत रूपमा गरिने व्यवहार र सामाजिक सोचमा सकारात्मक प्रभाव अवश्य देखिएला।