‘साँच्ची तिमी लेख लेखिरहन्छौ नि है ?’ उसले टियुको गेटबाट झर्दै गर्दा मलाई सोध्यो।
‘अम् लेख्छु मलाई मन छोएको र समसामयिक विषयमा।’
‘कति राम्रो।’
‘तिमीले मलाई उडाएको हो?’ मैले टक्क रोकिएर सोधें।
उसको उत्तर थियो, ‘होइन, तिमी मेरो बारेमा पनि लेख्देऊ न त भनेर हो?’
हाँसे म। ऊ मलाई हेरेको हेरेकै भयो।
‘तिम्रो बारेमा के लेख्ने हो नि ?’ ऊ सिरियस भएर भन्यो, ‘मेरो कथा लेख्देऊ न। टियु पढ्दाका कति पो छ ती दु:खका कथा त। तिमीलाई म भन्छु नि।’
‘मजाक नगर न सागर, तिमीलाई के दु:ख छ नि कथा लेख्नैपर्ने?’मैले सोधें।
उसले भन्यो, ‘मेरो पहिला कथा त सुन, अनि लेख्ने न नलेख्ने तिम्रो मर्जी।’
मैले ‘हस्’ भनें।
क्लास सकिसकेको थियो। उसलाई मैले भनें, ‘सागर हामी यहीँ बसेर कथा सुन्नुभन्दा पनि हिँड्दै जाऊँ न। बल्खुसम्म पुग्दा त तिम्रो कथा पनि सकिएला अनि हामी छुट्टिउला नि हुन्न ?’
उसले मौन सहमति जनायो। म पनि खुसी भएँ।
करिब, साँझ साँझ पर्न लागेको थियो। त्यसमा पनि जाडो महिना, छिट्टै अँध्यारो हुने। विस्तारै मानिसको आकृति धुमिल हुन थालेको थियो। तर, टियुको वातावरण शान्त थियो। रूखैरूख मन्दमन्द हावा चलिरहेको थियो। हामी जस्तै थुप्रै विद्यार्थी कलेजबाट निस्किँदै थिए। म पनि उसका कुरा सुन्दै लुखुरलुखुर हिँडिरहेको थिएँ।
उसले लामो सास फेर्यो, टक्क उभिय अनि मेरो अनुहारमा एकटकले हेरेर सोध्यो, ‘तिमीलाई केटा मान्छे रोएको कतिको अनुभव छ, कस्तो लाग्छ?’
उसको सिरियस सोधाइले एकछिन के भनौं, भनौं भयो।
‘खासै देखेको छैन तर, देखें भने नरमाइलो लाग्छ धेरै। किनभने हाम्रो समाजले छोरा मान्छेले रूनु हुन्न, दु:ख देखाउनु हुन्न भनेर सिकाएको छ अनि छोरी मान्छे रूनुपर्छ, दु:ख देखाउनुपर्छ, कमजोर बन्नुपर्छ भनेर। त्यहीँ छाप परेर होला केटी मान्छे रूँदाभन्दा केटा मान्छे रूँदा छिट्टै भावुक हुन्छु म।’
अनि उसले सोध्यो, ‘म तिम्रो अगाडि रोएँ भने नि?’
‘कस्तो नचाहिने कुरा गरेको सागर? किन रूने नि तिमी ? के भयो र? ठीक छैनौ र ?’ उसले आँखा रसिलो पार्दै भन्यो, ‘तिमी बुझ्दैनौ कोठामा बसेर बिना जागिर टियु पढ्नुको पीडा।’
‘म बुझ्छु तर तिमीले भनेको कुरा बुझिनँ सागर। भन न राम्रोसँग।’ उसले यसरी सुनायो आफ्नो कथा।
‘मानिसहरू भन्ने गर्छन् नि है, हातका मैला सुनका थैला के गर्नु धनले....... यस्तै के के। मलाई तिनीहरूलाई कहिलेकाहीँ बिना जागिर टियु विद्यार्थी बन्न जाऊँ भन्न मन लाग्छ। साँच्चै गाह्रो है विद्यार्थी जीवन। न भनेको खान लगाउन पाउने न भनेको ठाउँमा जान पाउने जे गर्दा पनि डर मात्रै। ओहो पैसा छैन, यसो गर्न पनि पैसा छैन उसो गर्न पनि पैसा छैन। धनी बावुका छोराछोरीलाई त ठीकै होला, तर हामी जस्तो गाउँबाट आउने मध्यम वर्गीय परिवारका छोराछोरीलाई त असाध्यै कठिन।’
उसका कुराले मात्रै होइन, मलाई चिसो बतासले पनि ढुक्क मुटु फुलाएको थियो।
‘अहो कति जाडो है, आज त घाम पनि लागेन।’ उसले मैले जाडो अनुभव गरेको थाहा पाएछ क्यारे बीचमै प्रसंग बदल्यो। मैले भनें, ‘हैन भनन तिम्रो कथा सुन्न मलाई खुब मन छ। म सुनिरहेको छु, आज घाम लागेन चिसो हुनु स्वाभाविक पनि हो नि।’
फेरि लामो स्वास फेरेर उसले आफ्ना कुरा सुनाउन सुरू गर्यो।
रात परिसकेको थियो, गाडीको आवतजावत भने बाक्लै थियो। ऊ र स्टेसन नपुग्दासम्म उसका कहामी सुन्ने सर्तमा हिँडिरहेका थियौं।
म सल्यानको दुर्गम भेगबाट काठमाडौं आएको उच्च शिक्षा पढ्ने सपना बोकेर। गाउँको सदरमुकामबाट १२ सम्म पढेँ अनि माथिको अध्ययनका लागि काठमाडौं आएँ। मानिसलाई विदेश सपना भएजस्तै मेरा लागि पनि काठमाडौं सपनाको सहर नै थियो। यस्तो हुन्छ, उस्तो हुन्छ, सुविधाका कुरा सुनेको तर, अनुभव भने केही वर्ष यता बसेर गरेँ।
आमाले हिँड्ने बेलामा टीका लगाएर भन्नुभयो, कान्छा जाने मन त गरिस् कसरी गरेर खालास्, सोचेजस्तो छैन है सहर। गाह्रो हुँदा आमा घर सम्झेर नरूनु कान्छा, जति दु:ख भए पनि संघर्ष गर्न सिक्नु। हामी गरिबले गर्ने नै संघर्ष त हो। आमाको कुराले त्यतिबेला मेरो आँखा रसिला भएका थिए।
उसको आँखा भन्दा पनि रसाए, म पनि निकै भावुक भएँ ।
‘त्यसपछि म काठमाडौं आए १० हजार पैसा बोकेर। कहाँ जाने कलेज कता के कसो खासै जानकारी थिएन। पल्लाघरका श्याम दाइ कलंकी बस्छन् भन्ने आडमा आएको थिएँ। अनि दाइलाई फोन गरेर आफू आएको जानकारी दिएँ, दाइ मलाई बस स्टेसनसम्म लिन आए, म उनको कोठामा गएँ।
उनको पनि हालत त राम्रो थिएन, बच्चाबच्ची समेत भइसकेका कमाइ राम्रो नभएकालाई सहर त कहर नै बन्ने रहेछ। अनि दाइलाई सहयोग गर्न भनें। उनले आफूले गर्ने गरेको काममा लगाइदिने प्रतिबद्धतासहित मलाई प्रदर्शनी मार्गमा रहेको आरआर कलेजमा जान सहयोग गरिदिए।
मसँग पैसा नै पो कति थियो र जम्मा १० हजार। कति दिनलाई पुग्नु कलेज आउजाउ गर्न पनि। तर उनकै आडमा मैले बिए अध्ययनका लागि भर्ना गरेँ। कलंकीको बसाइ प्रदर्शनी मार्गको पढाइ, बिनाजागिर साह्रै गाह्रो भयो र केहीदनमै पैसा सकियो। अब, दाइकोमा पनि उसै कति दिन बस्ने ? उनको पनि त गाह्रो त्यही थियो।
अनि उनैलाई अनुरोध गरेर एउटा काम खोज्न भनेँ। उनले खोजिदिए आफ्नो जस्तै काम। न्युरोड, असन लगायतका भित्री सडकमा सामान ओसारपसार गर्ने अर्थात् भरियाको काम।
मलाई काम चाहिएको थियो, पैसा चाहिएको थियो, खोक्रो आदर्शले मेरो पेट मान्ने वाला थिएन, घरबेटीले भाडा छुट दिने र कलेजले पनि छुट दिने वाला थिएन। मैले मलाई काम चाहियो जे पनि गर्छु भनेँ। उनले भोलिपल्टदेखि मलाई पनि काममा लिएर गए। म बिहान आरआर कलेजमा पढ्न जान्थेँ, अनि दिउँसो असनका भित्री सडकमा भरियाको काममा। आरआरमा पढेर सक्दा निकै भोक लागिसकेको हुन्थ्यो। केही साथीहरूबीचमा पनि खाजा खान जान्थेँ तर मलाई कलेज सकेपछि कसरी भोक मेटौं भन्ने चिन्ता हुन्थ्यो।
असनसम्म त हिँडेर जान्थेँ, तर बेलुका घर जाँदाको गाडी भाडा कसरी पुर्याउनु अनि मसँग विकल्प केही हुँदैनथ्यो। न कसैलाई भन्न सक्थेँ न त कोही नै थियो अरू। अनि चिया पसलमा गएर एउटा बिस्कुट किन्थेँ २० रुपैयाँको अनि त्यहीँ पानी मागेर तातोपानी र बिस्कुट खाएर काममा जान्थेँ। मलाई त्यति खानाले के पुग्थ्यो! काम गर्दागर्दै भनभन रिंगटा लागेको अनुभव हुन्थ्यो। दिउँसो खाजा खाने सम्भावना थिएन। कोही व्यापारीले भने खाजा दिन्थे अनि कसैले २०/३० रुपैयाँ। त्यसले भने ठूलो राहत मिल्थ्यो।
मनमनै तिनीहरूलाई धन्यवाद दिन्थेँ। यसरी काम गर्दा निकै थाकिन्थ्यो। अनि बेलुका कोठामा पुगेर खुब रून मन लाग्थ्यो। रून्थेँ पनि। आमाले भनेका कुरा सम्झिँदै। भोको पेटले काम गर्दा, मन लागेका खाने कुरा खान, लगाउन नपाउँदा खुब चित्त पनि दुख्थ्यो, अनि आमालाई सम्झिँदै रून्थेँ ।
काम सुरू गरेपछि अलिअलि पैसा कमाउन थालेँ। तर काठमाडौंको महँगीको अगाडि त धेरै कम थियो। तर, नहुनुभन्दा अल्झिने बाटो भएको थियो। अनि यसरी नै दुखजिलो गरेर तीन वर्षे ब्याचलरसम्मको पढाइ पूरा गरेँ।
छिमेकी दाइसँग बस्न थालेको पनि ३ वर्ष बढी भइसकेको थियो। कति दु:ख दिनु भन्ने पनि लागिरहेको थियो तर कमाएको पैसा भने केही आफूलाई राखेर दाइलाई दिन्थेँ।
विस्तारै सोच आयो अनि दाइलाई प्रस्ताव राखेँ, दाइ तपाईंहरूलाई कति दु:ख दिने, अब म पनि अलिअलि कमाउछु त्यसैले अब छुट्टै बस्छु। दाइले यतै बस्दा हुन्छ, हाम्रो यस्तै त हो नि भाइ गरिखानेको पुग्न त कहिले पो पुग्छ र जसोतसो जेनतेन बाँच्ने हो नि। मैले दाइको हात समाउँदै रसिलो आँखा बनाएर भनेँ- दाइ तपाईं नभएको भए म यो सहरमा बाँच्न सक्दैनथें। तपाईंको पूर्ण साथले मैले ३ वर्षे पढाइ सकें, केही पैसा कमाएँ। जेनतेन गुजारा गरेँ। अब, म मार्स्टस पढ्छु अर्को जागिर खोज्छु, कीर्तिपुर बस्छु। दाइ अब म दु:ख दिन्नँ, दाइले पनि आँखा रसिलो बनाए।
अनि पछि सहमतिमा ल्याएर अर्को हप्ता सर्नेगरी कोठाको खोजीमा लागेँ। मसँग कोठाबाट निस्कँदै गर्दा घरबाट ल्याएको कालो झोलामा ३ जोर कपडा बाहेक केही पनि थिएन। अनि कीर्तिपुरमा महिनाको ४ हजार भाडा तिर्ने गरी एउटा कोठा लिएँ। पैसा थिएन। पहिला बचेको अलिअलि पैसाले सिरक डसना, सामान्य भाडाकुँडा र एउटा ग्यास किनेँ। तर, फेरि खाने कुरा थिएन।
पहिला काम गरेको मालिकसित अनुनय विनय गरेर अलिकति पैसा लिएर कोठा म्यानेज गरेँ।
एकदिन एकजना साथीले मलाई भन्यो, ‘मेरो पैसा हरायो कोटबाट’, मैले पनि आफ्नो च्यातिएको गोजी छामेर भने मेरो दुखहरू यहीँ छन् अझै हराएका छैनन् र म संघर्षबाट थोकेको पनि छैन। आफूलाई खुब बलियो भएको दाबी गर्दै अघि बढिरहेँ।
विस्तारै केही चिनजान भएपछि सरहरूलाई भनेर स्कुल पढाउन थालेँ।
अहिले म बानेश्वरको एउटा स्कुलमा पढाउँछु, ट्युसन समेत गर्दा अहिले ३०/४० हजार कमाउन गाह्रो छैन।
अहिले त घरमा पनि पैसा पठाउँछु। तर एक्लै बस्दाका ती दु:ख, भोकै सुतेका कैंयन रात, जागिर नपाएर तड्पिएका ती दिन, खाना खान नसकेर काम गर्दागर्दै लागेको रिंगटा सम्झेर भने मन सिरिङ्ग हुन्छ।
कहिलेकाहीँ एकान्तमा बसेर सम्झन्छु संघर्षका दिन, विरानो लाग्ने यो सहर, मानवीयता नभएका मानिसहरू सबै एकाएक सम्झन्छु। रून्छु, चिच्याउँछु, फेरि आफैं सम्हालिन्छु। किनभने सहरका मानिसलाई न त अरूका कुरा सुनिदिने समय छ, समय भए पनि उनीहरूसँग मानवीयता छैन। मानवीयता हुने हामीजस्ता श्रमजीवीसँग सहयोग गरिदिने सामार्थ्य छैन। उनीहरू पनि अभाव, पीडा र छट्पटीमा बाँचिरहेका हुन्छन्।
म सहरमा आएपछि एकपटक लडेँ, फेरि उठेँ, फेरि अभाव, केही अपूरा सपना र रहरहरूले लडाए। तिनलाई जितेर फेरि हिँड्न सुरू गरेको छु।
मानिसको सपना त क्षितिजमा देखिएको बादलजस्तै हो जति टाढा गए पनि भेटिँदैन, तर मानिस भेटिने आशामा दगुरिरहन्छ।
हो अहिले अलिकति सामान्य अवस्थामा आएको छु। कोठा व्यवस्थित भएको छ, घरबेटीलाई समयमै पैसा दिनसक्छु, आमालाई पनि बेलाबेलामा पैसा पठाइदिन्छु, अहिले खुसी नै छु। तर, विद्यार्थी अवस्थामा आरआरदेखि टियुको पढाइ पूरा गर्दासम्मको समय भने सम्झिन चाहन्नँ। साह्रै अभाव, पीडा, छटपटी र कोलाहालपूर्ण अवस्थाबाट गुज्रिएको थिएँ।
उसको कुराले मेरो आँखा टिलपिल भएको थियो। ऊ त भोगेकै मान्छे नरूने कुरै भएन।
उसैले झस्काउँदै बोलायो, ‘ओ म्याडम घर जान ढिला भएन, बस स्टेसन अघि नै आइपुगेको हो हामी।’
म साँच्चै झस्किएँ।
‘ओहो लौ म त बल्खुमा छु भन्ने पनि पत्तो पाइन छु, साँच्चै तिम्रो कुरामा भुलेछु सागर। म त कस्तो भावुक भएँ, तिमी यति दु:खबाट गुज्रेको हौ भन्ने मलाई अनुमान पनि थिएन। आजबाट तिमीप्रतिको सम्मान झनै बढ्यो। साथी होस् त तिमीजस्तो भनेर गर्व लाग्यो मलाई। तिमी महान छौ, थप उन्नति प्रगति गर्दै जानु, संघर्ष बुझेको तिमी एकदिन अवश्य सफल हुनेछौ। अब छुट्टियौं है त भनेर मैले गह्रुंगो मनले हात हल्लाएँ।
ऊ पनि निकै भावुक थियो।
त्यसपछि पढाइ सकियो, ऊ पनि छुट्यो ऊ आफ्नै यात्रामा लाग्यो म मेरै यात्रामा।
तर, वर्षौपछि पुरानो डायरी पल्टाउँदा ऊसँगको फोटो देखेपछि भने उसलाई सम्झिएर कथा नै लेख्न मन लाग्यो।
ऊ त प्रतिनिधि पात्र मात्रै हो गाउँबाट ठूलो सपनासहित सहर पसेका कैंयन् विद्यार्थीहरू अहिले पनि यही जटिलता भोगिरहेका छन्।
यो कथाले विगतको एउटा पल सम्झाएको मात्रै छैन, समाजको वास्तविकता समेत उजागर गरेको छ भन्ने लेखकको धारणा छ।