तपाईंहरूको घरमा खानेपानी संस्थानको पानी आउँछ कि आउन्न? तपाईंहरू हप्तामा कति पटक नुहाउनु हुन्छ? तपाईंहरू कति दिनमा लगाएका लुगा फेर्नुहुन्छ? साना लाग्ने, उट्पट्याङ लाग्ने यस्ता प्रश्नको पनि गहिरो अर्थ हुन्छ जीवनमा।
मेरी सानी छोरीलाई आफ्नो साथीको जस्तै लामो कपाल पाल्ने रहर छ। उसले कसैगरी कपाल काट्न मानिन। स्कुल जाने बेलामा कोर्न झमेला, आफैं नुहाउछु भन्छे राम्रोसँग पखाल्दिन त्यतै झमेला, १ बाल्टी पानी राखिदियो ममी यति त कपाल नुहाउँदा सकिन्छ अर्को बाल्टीमा पनि पानी भन्छे त्यतै झमेला, भएन बा भनेर छोरीलाई कपाल पाल्दा र फाल्दाका फाइदा बेफाइदाबारे सोधें।
पाल्दाका फाइदाभन्दा फाल्दाका फाइदा सरर भनि उसले। जस्तै: पानी, स्याम्पु, समय कम लाग्छ नुहाउँदा। लामो कपाल हुँदा राम्रो देखिन्छ। छोटो कपालमा देखिने हिलारी क्लिन्टन, एन्जेला मार्केल कुन कोणबाट नराम्रा छन्? छोरी कपाल काट्न राजी भई।
बिहे अघि न पछि कुमभन्दा लामो कपाल राख्न मलाई मन लागेन। बिहे गरेको वर्ष, दसैंमा घर जाँदा कपाल काटेर गएकी थिएँ। सासूआमाले सोध्नु भो 'किन कपाल काटेकी?'
मैले नसोची नै उत्तर दिएँ, 'आमा काठमाडौंको पानी, खान त जारको किन्न पर्छ, नुहाउनका लागि कसरी किन्नु?'
मैले ख्याल ठट्टामा भनेकी थिएँ। आमाले साँच्चै त्यसरी बुझ्नु भएछ।
आजभोलि पनि लामो कपालको कुरा चल्यो भने 'पानीको दु:खले यसले त कपाल पालेको देखेकै छैन' भन्नुहुन्छ।
कपाल पाल्न मन भए पानीका दु:खले रोकिन्थे होला र? खाने मुखलाई जुंगाले छेक्थ्यो होला र?
एक दिन ठेलामा तरकारी किन्दै थिएँ। एक जना दिदी झोक्किँदै , रिसाउँदै आउनु भयो। तरकारीको मोलतोल गर्नु भो। म उहाँतिर ध्यान दिइरहेकी थिइनँ। आफैं भन्नुभो 'बुझ्नु भो बहिनी जहाँ अभाव हुन्छ नि त्यहाँ झगडा हुन्छ, हुन्छ। सबै कुरा पुगी सरि भए को आउथ्यो यहाँ दु:ख बिसाउन। केही गरम्ला छोरा-छोरी पढाम्ला भनेर पो आको त। हैन भने को आउथ्यो यो काकाकुल सहरमा। पानीकै कारण कति शत्रू कमाइयो।'
'किन के भो र दिदी?' मैले भनेँ।
'सधैंको टन्टो हो बहिनी। बसेको घरमा खाने पानी हप्तामा एक दिन आउँछ कहिले कसो आउँदैन पनि। इनार त छ तर मनग्य हुन्न। हिउँदमा सुक्छ। ट्याङ्कर किन्नु पर्छ। कता कता मात्र पैसा बुझाउनु। यसो फारु गरे त हुन्छ नि। अह ! धारा खुल्ला हुन्छ। पानी त्यसै बगेको देख्दा मन मान्दैन। धेरै पटक उनीहरू धारा बन्द गरेर हिँड्दैनन्। तर पनि मैले बन्द गरिदिन्थें।
कति भन्नु कति बोल्नु। कोही कोही त सारै हुँदा रै’छन्। म त यस्ताको फेला नपरेकी रै’छु बाबै। बोली पनि कति छुच्चो हो नि! राम्रो बोलेनी पैसा लाग्दैन केरे। ऊभन्दा म अलिक उमेर खाएकै मान्छे हुँ। राम्रैसँग बोले पनि खेर जान्थेन। १ बचन बोल्दा रूखा ४ बचन खानु पर्यो। कान समाए अब त के बोलुँला र?
बुझ्नु भो, आज बाथरूमको धारा खुल्ला रै’छ। मेरो छुच्चो मुख कस्ले किन खुल्ला छोडेको के भनेकी थिएँ पल्लो कोठाकीले जवाफ फर्काइन् ,‘हामी त दिनभरि अफिस जान्छौं, पानी चाहिने त घर बस्नेलाई हो हाम्लाई के कराएको?’ यति मात्र हो र भनेको तँ तँ र म म अरू के के? मलाई त भन्न नि आँउदैन बहिनी। घर बस्नेलाई मात्र पानी चाहिन्छ अफिस जाने चाहिँ लुगा नै धुदैनन्, नुहाउँदा नि नुहाउदैनन्। खाना नै खादैनन् कि सबै अफिसमै गर्छन्।
जसले बिहान लाएको लुगा बेलुका धुनुपर्छ, बेलुका लगाएका बिहान। टुटीमा पानी खसेको देखे जसको हात सकसक गर्छ, जस्लाई पानी धारामा खसेको देखे बरू खानै पर्दैन लुगै धुनु पर्छ, उसैको धक्कु ठुलो?' ठेलाको भाइले पनि सुनेर हो मा हो मिलाए।
मैले पनि सुनें।
सारै मन दुखाएछ दिदीको पानीले। हो त पानी भन्ने चिज नै बेइमानी। ‘यो पानी सारै बेइमानी’ त्यसै गीत बनेको हैन।
हामी त झन् गाउँमा पानीकै दु:खले गर्दा बसाइँ सरेका मान्छे। मलाई पनि चसक्क भो। काठमाडौंमा पानीको दु:ख कति खेपियो लेख्यो भने उपन्यास बन्छ।
मास्टर पढ्दा ताका जीवन बिन्दास थियो। टियु होस्टलको बसाइँ। खाना पनि मेसमा पाक्थ्यो। अङ्गेजी साहित्य पढ्ने साथीहरू नाटक हेर्न गुरूकुल पुग्थ्यौं धेरै। भेट्ने जक्सन सुन्धारा। खानेपानी संस्थान,काठमाडौं उपत्यका खानेपानी लिमिटेडको संक्षिप्त नाम के यु के एल। मैले पहिलो पटक पढ्दा काकाकुल भनेर पढेछु जानी जानी होइन संयोग बस नजानेर नै। साथीहरू धेरैपछी पनि गिज्याइरहन्थे।
‘ओइ! भोलि कता भेटेर जानी हो नाटक हेर्न काकाकुल मै भेट्यौ, भिड पनि हुन्न हाहाहा’ त्यसपछि मैले के यु के एल को नामनै काकाकुल राखें। आजभोलि लाग्छ ठिकै राखेछु।
विदेश जाँदा आउँदा कोठामा कहिले कसो आफन्त आउनु हुन्छ। उता दिनकै नुहाउने मान्छे काठमाडौंमा आउँदा चाहिँ शौच बगाउन मैले जम्मा पारेको लुगा धोएको पानी देखेर छक्क पर्नुहुन्छ।
'काठमाडौंमा पानीको दु:ख नसकिने भो है। मेलम्ची पनि आएन।'
बबरमहलतिर हप्ताको एक दिन खाने पानी आउने। आउने खानेपानी पनि, जति बेला पनि आउने: बिहान, दिउँसो, राति, मध्यराति। कामकाजी जागिरेलाई गाह्रो हुन्थ्यो पानी छोप्न। पानी आउने दिन त्यसलाई कुरेर बस्नुपर्ने, कुनै निश्चित समय हुन्थेन आउने। कहिले कसो त कुरेर नै मन बुझाउनु पर्ने। पुराना घर पानी संकलन गर्ने ट्यांकी नहुँदा अझै सास्ती। पानी बेच्ने पसलमा बिहान रित्तो जार लिएर गयो घरको काममा प्रयोग हुने पानी १ जारको रु २० मा किनेर ल्यायो। धन्न त्यति सुविधा दिएका छन् पानी पसलेले।
धाराको पानीले पुगे त हो। हैन भने ट्याङ्कर झार्न पर्यो। यो चैत र वैशाखमा त भनेको बेला टयाङ्कर पनि आउँदैनन्। माग बढी हुँदा पानी पुर्याउन धौधौ पर्छ उनीहरूलाई।
किनेको पानी अलिकति मितव्ययी हुनसके अलिक दिन हुन्छ। नत्र त उही हो। चाहिएको त खर्च गर्नुपर्यो। धारा खुला छोडेर बगेको देख्दा मन कटक्क भएको होला ती दिदीको।
पानी खर्च गर्ने कसै कसैको स्वभाव अचम्मको हुन्छ धारामा पानी नसकेसम्म खेलिरहनुपर्ने। सानी हुँदा छोरी त्यस्तै थिइन्। आफू खाना पकाउन व्यस्त, छोरीको चाइचुइ केही सुनिएन भने सिधै बाथरूमतिर खोजे हुन्थ्यो। गुडियालाई नुहाइदिने काममा दत्तचित्त भएकी हुन्थिन् धारा खोलेर।
हामी पनि हाम्रा बालापनमा आमाले बल्लबल्ल टाढाबाट ल्याएको पानी पोखेर गोबर माटो मुछेर घर बनाउँथ्यौं।
‘फेरी कहाँ आउँछ र घुमेर यो बालापनको उमेर’
पानीको पैसा तिर्ने ठाँउ थापाथली राष्ट्र बैङ्कको अपोजिट साइडमा थियो। पछिल्लो पटक जाँदा त्यही सुन्धाराको काकाकुल मै सरेछ। मलाई एक चक्कर लगाउनु पर्यो।अहिले त खल्ती वालेटबाट पनि तिर्न मिल्दो रै’छ।
पानीको बिल ह्वात बढेछ। किन बढेको भनेर बुझ्दा मिटर नचलेर रै’छ। बिचरा मिटर हप्तामा १ बार आउने पानीको लागि कति चलोस्। नेवारी लवजमा एक बुढी आमा गुनासो पोख्दै हुनुहुन्थ्यो ‘बाबु टेरो टिर ट १ दिन आँउदो रै छ म कहाँ ट ३ वता धारा छन् पानी आउँदैन पैसा टिर्नु पर्छ।
‘हजुर कुन ठाउँबाट मैले सोधें ‘यही पछाडि भोटेबहालबाट’ आमाले भन्नुभो।
पानी दैनिक आवश्यकता हो। पानी बिना जीवन सम्भव छ? पानीको अभाव भएका ठाउँमा महिलाको जीवन अझै कष्टकर भएको अनुभव म स्वयंसँग छ। त्यसैले पानीलाई मितव्ययी भएर खर्च गर्ने बानी बसालौं। महानगरको पानी हप्तामा एक दिन त भाग्यमानीले मात्र पाउँछन्। त्यही नपाउने पनि धेरै छन्। तै बिल भने तिरिरहन्छन् के गरून् कुनै दिन फ्याट्ट पानी आइहाल्यो भने!