महिला दिवस आएसँगै प्रत्येक वर्ष झैँ फेरि एकचोटि महिला सशक्तीकरण, स्वतन्त्रता, भेदभावका कुराहरूले सामाजिक सञ्जालका भित्ता, पत्रपत्रिकाका पन्नाहरू भरिए। मानौँ कि यो हाम्रो परम्परा हो।
हिजोसम्म महिला भएकै कारणले योग्य अवसर दिन नसक्ने व्यक्तिले नारी दिवसका दिन महिलाको बलिदानको गुनगान गाउँछ र भोलिपल्टै बिर्सन्छ! यसरी नै चलिरहेछ विभेदले व्याप्त समाज वर्षौंबाट। स्मरण रहोस् महिलालाई हृदयबाटै सम्मान गर्नेहरू पनि नभएका होइनन्। साँचो अर्थमा महिलाका सशक्तीकरणको लागि बुलन्द आवाज निकाल्ने महिलामात्र नभई पुरुषहरू पनि छन्। हो, ती व्यक्तिहरूप्रति मेरो हृदयबाट नै नमन छ।
लैंगिक, धार्मिक र राजनीतिक विषयमा बोल्न हुँदैन भन्ने समयमा कैयौँ चेतनशील व्यक्तित्वले पनि यस विषयमा नबोल्नु नै बेस ठानेर मौन बसिदिन्छन् जबकि मौनता भनेको एक प्रकारको स्वीकारोक्ति नै हो। हामी विभेद देख्छौँ तर मुक रहन्छौँ भने त्यो विभेद स्विकार्नु हो। मेरो व्यक्तिगत विचारमा कसैलाई विभेद गर्नु र त्यो विभेद देखेर स्वीकार गर्नु दुवै पक्ष विभेदको उत्तिकै भागीदार हुन्छन्। हुन त अहिले मलाई मौन रहनेप्रति गुनासो पोख्नेभन्दा पनि यो लैंगिक असमानता कसरी हटाउन सकिएला भन्ने हुटहुटी चलिरहेको छ।
केही समयअघि भाषा वैज्ञानिक लेरा बोरोडित्सकीको 'टेड टक शो'मा भाषाले कसरी हाम्रो सोच्ने तरिकालाई र फलस्वरूप हाम्रो क्रियाकलापलाई कसरी असर गरिरहेको हुन्छ भन्ने कुराको उजागर गरिरहँदा मैले हामीले दैनिक प्रयोग गर्ने भाषालाई नियाल्न थालेँ।
लेरा बोरोडित्सकीको एउटा उदाहरण- अस्ट्रेलियाको एक आदिवासी समूहले दाहिने र देब्रे, वा यता र उता भन्नु भन्दा पनि उनीहरूको भाषामा पूर्व, पश्चिम, उत्तर र दक्षिण भन्ने प्रचलित हुने हुनाले उनीहरू दिशाप्रति जहिले पनि हरपल उन्मुख र सचेत रहेको बताइन्। जब कि हामीलाई पूर्व र पश्चिम तत्काल छुट्टाउन केही समय लाग्छ। हाम्रो दिमागले दिशा छुट्याउन केही समय लिन्छ नै। हामीले प्रयोग गर्ने भाषाहरूले हाम्रो दिमागले जन्माउने मानसिक तस्वीरलाई निर्धारण गरिरहेको हुन्छ।
जस्तो कि नेपाली समाजमा केटा र केटीको बिहे हुँदै गर्दा लेनदेनको भाषा प्रयोग गरिन्छ। केटाको परिवारले 'बुहारी ल्याउने' जिकिर गर्छन् भने केटीको परिवारले 'छोरी दिने' कुरा गर्छन्, हाम्रो दैनिक भाषामा। मात्र दुइटा वाक्यको उदाहरण लिन चाहन्छु। दैनिक कुराकानीको भाषाबाट 'राम्रो केटा पायो भने छोरी दिन तयार छौँ', 'छोरोले बुढेसकालमा हेर्छ।'
हेर्नुस्, विभेद यहाँबाट सुरु हुन्छ। यही वाक्य सुनी-सुनी एउटा बच्चा जन्मिनेबित्तिकै हाम्रो दिमागले मानसिक तस्वीर बनाउँछ। छोरी देख्ने बित्तिक्कै छोरीले उमेर पुगेपछि अर्को परिवारमा गएको अनि आफूले कन्यादान दिएको। तर बुढेसकालमा हेर्ने छोरोको मानसिक तस्वीर फेरि फरक हुन्छ। सायद छोरोले कुनै पेसागत युनिफर्म लाएको, विश्वविद्यालयबाट डिग्री पाएको, बुहारी ल्याएको।
छोराको जन्मसँगै समृद्ध भविष्यको काल्पनिक तस्वीर बन्न थाल्छ बने छोरीको जन्मसँगै ऊप्रतिको कर्तव्य। यस्तै कारणले जन्मअघि लिंग पहिचानसँगै भ्रुण हत्या र जन्मपछि शिक्षा र अवसरमा विभेद आदि समाजमा देखा पर्न थाल्छ।
हामी कस्तो अवस्थाबाट गुज्रँदै आएका छौँ भनि खोतल्ने हो भने कार्ल मार्क्सले उन्नाइसौँ शताब्दीमा नै पुँजीवाद समाजले विवाहलाई परिवारको शक्ति विस्तार र बुहारी वा श्रीमतीलाई मात्र आर्थिक र सन्तान उत्पादनको एउटा साधनको संज्ञा दिन्छन् भनेर उनका दर्शनमा उल्लेख गरेका छन्। ती कल्पनामा आधारितभन्दा पनि समाजको सूक्ष्म अध्ययनबाट तय भएका दर्शनहरू हुन्। आज एक्काइसौँ शताब्दीमा आइपुग्दा समूहगत असमानताको खाडल अझै बाँकी नै छ। त्यो असमानताको खाडललाई पुर्ने अब हाम्रो र भविष्यको अर्को पिँढीको काँधमा आइपरेको छ।
त्यही खाडल पुर्न पनि हामीले बोल्ने भाषा, तरिका र दृष्टिकोण परिवर्तन गर्नुपर्ने आवश्यकता रहिआएको छ। यो भाषाले फेरि केटीलाई मात्र असर परेको छ भन्न खोजेको पनि हैन। जस्तो कि मेरी साथीले लगातार छोराहरू जन्माएपछि 'छोरीले जस्तो माया छोराले गर्दैन' भन्ने वाक्यहरू सुन्न नपरेको पनि हैन र यसले मानसिक तनाव नदिएको पनि हैन। त्यसैले हाम्रो भाषामा सकारात्मक परिवर्तनलाई समेट्नु पर्ने भएको छ।
छोरी कसैको घरमा दिने वा जाने भन्नुभन्दा बिहे गर्ने मात्र भन्दा पनि छोरीहरूको जीवन कसैको सम्पत्ति नभएको जनाउँछ। साँच्ची भन्नुपर्दा बिहे गर्नु भनेको एउटा नयाँ परिवारको सुरुआत हो न कि केटाको परिवारको विस्तार। विस्तार नै सोच्ने हो भने केटा र केटी दुवै पक्षको परिवारको विस्तार हो।
यस भाषा र रीतिसँग यहाँ थुप्रै सामाजिक र आर्थिक पक्षका जटिल कुराहरू जोडिन आउँछन् तर नेपाली समाजमा व्याप्त लैंगिक असमानतालाई कम गर्दै लान हाम्रो चालचलनको भाषा परिवर्तन आजैबाट गर्ने जमर्को गरौँ।