वैकल्पिक राजनीति- २
सन् १९९२ मा पाकिस्तानले भर्खरै विश्वकप क्रिकेट जितेको थियो र त्यसका नायक थिए कप्तान इमरान खान- बेलायतमा पढेका, स्पष्ट वक्ता र साह्रै लोकप्रिय। त्यही लोकप्रियताको प्रयोग गर्दै राजनीतिमा प्रवेश गरेका खानले परम्परागत राजनीतिक दलहरूलाई हराउन सकिन्छ कि भनेर सन् १९९६ मा तहरिक-ए- इंसाफ भन्ने पार्टीको स्थापना गरे।
लगत्तै भएको आम निर्वाचनमा सहभागी पनि भयो तर त्यो चुनावमा यसले एक सिट पनि जितेन। त्यसपछिको अर्को चुनाव सन् २००२ मा इमरान खान आफूले त जिते, पार्टीले भने नराम्ररी हार्यो। तर खान साहेबले हार मानेनन्। व्याप्त भ्रष्टाचार, कुशासन र पश्चिमा दबदबाको विरुद्ध आवाज बुलन्द गर्दै गए। पार्टी स्थापनाको २१ वर्षपछि, अन्ततः २०१८ मा तहरिक-ए- इंसाफले पाकिस्तानको आमनिर्वाचन जित्यो र इमरान खानले सरकार गठन गर्न सफल भए। उनको नारा थियो- तब्दिली, अर्थात् परिवर्तन।
परिवर्तन त रवीन्द्र मिश्रले पनि ल्याए, पार्टीमा मार्ग परिवर्तन- ‘विचारभन्दा माथि देश’ को माटो सुहाउँदो व्याख्या सहित। त्यो उनको वैचारिक स्खलन थियो या राजनीतिक दाउपेच, भविष्यले नै देखाउला तर एक किसिमको मूल्य-मान्यता बोकेर पार्टीमा प्रत्यक्ष परेक्ष रुपमा लागेकाहरूलाई यो यू टर्नले कता लैजाला?
तथापि, म रवीन्द्र ज्यूसगँ के कुरामा सहमत छु भने संघीयता र धर्म निरपेक्षता जस्तो महत्वपूर्ण सवालहरूमा हामीले एमसिसीको बारेमा गरे जति पनि बहस गरेनौँ। हिन्दु राज्य भएर देश गरिब भएको किमार्थ थिएन, र निरपेक्ष हुँदैमा मुलुक पहिलेभन्दा ज्यादा सहिष्णु र उदार भएको पनि होइन। संघीयताले प्रशासनिक खर्च उत्पात बढाएको छ, र त्यसमा व्यवहारिक संसोधन पक्कै जरुरी छ। तर यी आइसकेका परिवर्तनहरू हुन् र जति नै उल्टो पाइला चाले पनि अब छुटिसकेको स्टेशनमा पुग्न सम्भव छैन।
म मिलन पाण्डेसँग पनि के कुरामा सहमत छु भने अब यी मुद्दाहरूलाई गिजोल्न जरुरी छैन। शिक्षा, स्वास्थ्य, रोजगार, भ्रष्टाचार र सुशासन जनताको सुख दुःखसँग प्रत्यक्ष जोडिएका सवालहरू हुन्- वैकल्पिक राजनीतिले बरु यिनलाई सम्बोधन गर्नुपर्छ। दुवै पक्षले एकअर्काले बोकेको सत्यलाई सम्मान गर्न सके सहकार्यको सम्भावना म त अझै देख्छु, भलै त्यो राजनीतिक स्वार्थले अभिप्रेरित किन नहोस्।
म गलत हुन सक्छु, तर रवीन्द्र मिश्रको मार्ग परिवर्तनलाई मैले यसरी बुझेको छु- अघिल्लो चुनावमा प्रकाशमान सिहंलाई हम्मे हम्मे पारेका उनलाई चुनावमा ‘एन्टी इन्कमबेन्सी’ कति ठूलो फ्याक्टर हो भन्ने राम्ररी थाह छ। कोरोनाको महामारीमा घरमा चुकुल लाएर सुतेको आफ्नो पार्टी पनि यही इन्कमबेन्सीकै हिस्साजस्तो बनेको उनलाई हेक्का थियो।
त्यस्तैमा काठमाडौँमा जातीय असमझदारीको एउटा घटना घट्यो, सदाशय बोकेरै होला पार्टीले हतारमा विज्ञप्ति पनि निकाल्यो- तर यो पहलकदमीले विवेकशील साझा दलको आधार क्षेत्र मानिएको काठमाडौँमा स्थानीय समुदायले चित्त दुखायो। अब पार्टीसगँ न बितेका ५ वर्षमा गरेका कामहरू/प्रयासहरूको फेहरिस्त नै थियो, न त आधार क्षेत्रको अनुराग।
त्यसैले उनले यो मार्ग परिवर्तनको निन्जा टेक्निक ल्याए- नजिकै भारतमा हिन्दुत्वले राम्रै खेती जो गरेको छ। तर जुन कटोरी थापेर उनी भोट माग्ने मनसुबा गर्दैछन्। त्यसमा धेरै अघिदेखि अरु कसैको लालमोहर छ, र जुन वर्गलाई लक्षित गरेर यो ‘प्याकेज’ ल्याइएको छ उसका लागि मिश्रजी भन्दा राजेन्द्र लिंगदेनको अनुहार बढी विश्वासनीय छ।
तर मलाई फेरि पनि के विश्वास छ भने, उनले यो सब गरेको त देशकै लागि हो। उनी सयौंको संख्यामा बुढानीलकण्ठजस्ता स्कुल, राम्रा-राम्रा अस्पताल र भ्रष्टाचारी नेताहरूलाई कोच्ने कारागार बनाउन चाहन्छन्। चाँडो-चाँडो गर्नुछ यो सब, छिटो-छिटो देश बनाउनुछ। त्यसका लागि नेतृत्वमा त पुग्नु पर्यो। त्यसैले सायद यो ‘सर्टकट’, हिन्दु राज्य र राजसंस्थप्रति उनको कुनै विषेश आकर्षण भएजस्तो मलाई लाग्दैन।
केही दिनअघि विवेकशील साझा पार्टी (मूलबाटो) ले एउटा सूचना निकाल्यो, स्थानीय निकायको चुनावमा उम्मेद्वारी दिन आवेदन माग्दै। २०१३ मै दर्ता भएको दल, २०२२ मा आएर उम्मेद्वारीको लागि आवेदक खोज्दैछ भने त्यसका नेताहरूले देश बनाउनुभन्दा पहिला आफ्नो पार्टी बनाउनु पर्ने हो।
गायक बालेन काठमाडौँमा मेयरको पदमा उठ्दैछन्, धनगढीमा पार्टीका पुराना नेता गोपाल हमालले स्वतन्त्र उम्मेद्वारी दिए, पोखरा लगायतका सहरमा युवाहरू अटेर गर्दैछन्। यी उम्मेद्वार र यिनका भोटरहरू वैकल्पिक राजनीतिका मूल प्रवाह हुन्। एक त देश भनेर राजनीतिमा लाग्ने युवाहरू भेट्न गाह्रो छ, लागेकाले पनि पत्याउन छाडे भने एक राउण्ड निर्मम आत्म आलोचनाको समय आएको छ भन्ने बुझ्नु पर्छ।
अक्सर अवसरहरू चुनौती बनेर आउँछन्। स्वर्गीय उज्वल थापाकालीन विवेकशील नेपाली दलले भूकम्पपछि राहतका लागि केही कामहरू गरेको थियो, कमसेकम प्रयास गरेको थियो। त्यही हार्दिकताले अहिलेसम्म पार्टीको साख राखेको छ। कोरोना महामारीमा सरकारी अकर्मण्यताले गर्दा जनताले दुःख पाए तर, त्यसलाई सहज बनाउन विवेकशील साझाको खासै क्रियाशीलता देखिएन।
राजनीतिक सफलताको एउटा साधारण सूत्र छ- उपस्थिति। जनताको लागि भनेर खोलिएको पार्टी आपत विपदमा जनतासँगै हुनुपर्छ।
छिमेकी भारतमा कांग्रेस अहिले निकै कमजोर छ, तर त्यसका युवा नेता बिभी श्रीनिवासले महामारीको दोस्रो लहरमा हजारौंको संख्यामा अस्पतालको शय्या र अक्सिजन सिलिन्डरको जोहो गरे। औषधिमा मात्र हैन, अन्तिम संस्कारमा समेत सहयोग गरे। त्यो सत्कर्म आउने चुनावको नतिजामा देखिएला/नदेखिएला, तर जनतालाई केही त सजिलो भयो। राजनीतिको तात्पर्य पनि आखिर यही नै हो।
उता दिल्लीमा पनि आम आद्मी पार्टीले महामारीमा देखाएको संवेदनशीलतालाई जनताले अनुमोदन गरे, फलस्वरूप उसले भर्खरै पन्जाबको विधानसभा निर्वाचन बहुमतले जितेको छ। नेपालका वैकल्पिक शक्तिहरूका लागि यो हौसला पनि हो, मार्गदर्शन पनि हो।
विवेकशील साझाले गाउँको बाटो देखेको छैन। अधिकांश ठूला दलहरूले भर्खरै महाअधिवेशन गरेका छन्, नेताहरू गाउँ-गाउँ गए, मतदान भयो- यो आउने चुनावको पूर्वअभ्यास पनि हो। एमाले, कांग्रेस, अझ राप्रपाका निकै हौसिएका कार्यकर्ताहरू छन्, यता भने कार्यकर्ता नै छैनन्। स्थानीय निकायको चुनाव आउँदैछ, त्यसको नतिजाले हामीमा भएका धेरै भ्रम र द्विविधाको अवश्य निवारण गर्नेछ।
यो पनि
डाक्टरको वैकल्पिक राजनीतिमा अनुभव