फागुन महिनाको शुक्ल अष्टमीदेखि फागु सुरु हुन्छ अर्थात् फागु खुल्छ। काठमाडौँ उपत्यकामा फागु शुक्ल अष्टमीको दिन रंगिन कपडाले बेरेर राखेको चिर गाडेपछि फागु सुरु भएको मानिन्छ। पूर्णिमाको दिन धुमधामले बाजागाजासहित नाचगान गरेर टोल/सहर परिक्रमा गरेपछि होली उत्कर्षमा पुग्छ र समाप्त हुन्छ।
दोलखामा भने पूर्णिमाको अघिल्लो रात मात्र कुसलेहरू (सनै फुक्ने)ले तलेजु मन्दिरअगाडि चिरको रुपमा राखेको बास आगो बालेर पड्काउने गर्छन्। पौराणिक सहर दोलखामा पनि धुमधामका साथ होली पर्व मनाइन्छ। तर यो प्राचीन सहरमा, उपत्यकामा जस्तै नेवारी संस्कृति भए पनि आफ्नै किसिमले मनाउने गरिन्छ।
अन्यत्रजस्तै दोलखामा पनि अष्टमीदेखि रङ खेल्न सुरु हुन्छ। तर पूर्णिमाको अघिल्लो दिनसम्म पनि केवल केटाकेटी मात्र होली आएको संकेत गर्ने गरी अलिअलि रङ हानेर फागु खेल्छन्। हामी पनि बाल्यकालमा आफ्ना केटी साथीसँग खुलेर र अरुसँग लुकेर फागु खेल्ने गर्थ्यौं।
फागुन महिना विवाह धेरै हुने महिना हो। दोलखा सहर भएर बाजागाजा सहित उत्तरका गाउँतिर दुलही लिन जाने र दुलही ल्याउने खुब हुन्छ। दुलही ताम्दानमा हुन्छिन् र दुलहा छाता ओढेर, चस्मा लगाएर दौरा-सुरुवाल वा शूटमा सजिएको हुन्छ। हामी दुलहा वा नयाँ लुगामा सजिएका जन्ती छानेर रंग भरेको बेलुन हानेर भाग्ने गर्थ्यौं।
फागु पूर्णिमाको अघिल्लो दिन पहिला दलित समुदायमा राखिएको कुसलेहरूले फागु पर्व मान्ने गर्छन् जसलाई 'जोगी फागु' भनिन्छ। तर उनीहरूले फागु पर्व दिनमा नभएर रातमा मनाउँछन्। सो रात उनीहरू आफ्नै खाले धुनको बाजा बजाएर दोलखा सहर परिक्रमा गर्छन्। आफ्नो जातअनुसार नै उनीहरूले गीत पनि गाउँछन् भन्ने गरिन्छ। गीत अश्लील हुने भएकाले होला उनीहरूको फागु नेवारहरूले अवलोकन गर्दैनन् र सहभागी हुँदैनन।
तर उनीहरूले भन्दा पनि उच्छृंखल नेवार युवाहरूले जोगी फागुको आवरणमा अश्लील गीत गाएर फागुको बिक्रित रुप देखाउने गर्छन। २०२४/२५ सालमा म र हाल न्यूयोर्क निवासी साथी मोहन श्रेष्ठ सम्मिलित जोगी फागुको रात मनाइएको भद्र फागुमा माथिल्लो टोलका युवाहरूको १०/१५ जनाको परिचित समूह अनामन्त्रितहरूको घुसपैठबाट ५०/६० जना पुगेको थियो।
मलाई अहिलेसम्म पनि पछुतो लाग्ने गरी भद्र होली अभद्र र अश्लील हुन पुगेको थियो। नेवार युवाहरूले जोगी फागुनको आवरणमा अश्लील गीत गाएर उधुम मच्चाएका थिए। पछि मसहित साथीहरू डरले लुकी-लुकी घर जानुपरेको थियो। यसको कारणले भोलिपल्ट एक पाका व्यक्तिसँग अलिअलि झगडा पनि परेको थियो।
दोलखा सहर परम्परागत रुपमा माथिल्लो टोल र तल्लो टोल गरी दुई भागमा बाँडिएको छ। जात्रामात्रा, चाडपर्व उहीँ भए पनि केही जात्राहरू प्रतिस्पर्धात्मक रुपमा दुई टोलबाट बेग्लाबेग्लै निकाल्ने चलन छ। दोलखाका तीन मुख्य जात्रा- हिले जात्राको अवसरमा निकालिने भैरव कुमारी जात्रा, बडा दसैँमा निकालिने खड्ग जात्रा अनि बैँसाख महिनामा मनाइने मच्छिन्द्रनाथ जात्रा एउटा मात्र हुन्छ।
तर लाखे निकाल्ने (ठुलो लाखे बाहेक), फागु मनाउने, गाईजात्रा निकाल्ने, कालिञ्चोक जाने आदि भने बेग्लाबेग्लै हुन्छ। त्यसैले फागु पूर्णिमाको दिन तल्लो टोल र माथिल्लो टोलको समूह बेग्लाबेग्लै मुख्य-मुख्य टोल नछुट्ने गरेर सहर परिक्रमा गर्छन्। परिक्रमा गर्ने मार्ग परापूर्व कालदेखि नै निर्धारित देखिन्छ जसअनुसार कुनै पनि देवी देवताका मन्दिर छुट्दैन।
होली खेल्ने टोली दोलखाको परम्परागत बाजा बजाएर होलीको गीत गाएर नाच्दै पिचकारी हान्दै अगाडि बढ्छन्। होलीको गीत उपत्यकामा गाएजस्तै लयमा तर नेपालीमा यस्तो गाउने गरिन्छ-
'मजाको होली जाइजान लाग्यो
फाटन लाग्यो छाती हो
जय जय भिमेश्वर, हर हर शम्भु
छेत्रपति महाराजा हो...'
होली ख्यालठट्टा गरेर मनाइने पर्व भयेर होला उपत्यकामा जस्तै दोलखामा पनि ठट्यौली गीत गाउने प्रचलन छ।
पितृसत्तात्मक समाज भएकोले महिलाहरू उक्त फागु खेल्ने टोलीमा समावेश हुँदैनन्। महिलाहरू घर-घर र टोल-टोलमै आपसमा अबिर दलेर रमाइलो गर्छन्। तर खासगरी युवतीहरू आ-आफ्नो घरको बार्दली, झ्यालमा लुकेर फागु खेल्ने टोलीको प्रतिक्षामा बसिरहेका हुन्छन्। फागु टोली बाजा बजाएर आएपछि युवतीहरूले बाटा, बाल्टिन आदिले रंग खन्याउछन्। केटाहरू पिचकारी र बेलुन हानेर युवतीहरूलाई प्रत्युतर दिन्छन्। त्यो दृश्य हेर्दा एक किसिमको युद्ध भइरहेको भान हुन्छ।
सहर परिक्रमा सकिएपछि मुख्य जात्रा सकिन्छ। त्यसपछि दुवै टोली दोलखाको प्रख्यात 'राइती' भनिने तीन धारा गएर नुहाएर रंग पखाल्छन्। ऐतिहासिक ढुंगे धारा 'राइती' २०१९ सालमा कलधारा निर्माण नभएसम्म अधिकांश दोलखाबासीको खानेपानीको मूल श्रोत थियो। अबिर र रंगको मैलो पखालेर शुद्ध भएपछि 'घाटो' भनिने अर्कै गीत गाएर भिमेश्वर थान जान्छन्।
घाटो गीत गाउने प्रचलन पाटनमा पनि छ। नेवारी संस्कृतिका लेखिका रुकमणि श्रेष्ठका अनुसार पाटनमा अष्टमीको दिन राखिएको चिरलाई पूर्णिमाको रात खोलामा लगेर जलाउने गर्छन र फर्कने बेलामा 'घाटु' गीत गाएर फर्कने गर्छन्।
दोलखामा घाटो पनि ठट्यौली किसिमले नै गाउने गरिन्छ-
'मा बोबुन ठेकि जोन्जु, मिच लाडिन बेला यन्जु,
हथि यिथि सोर्ङ शोर्ङ जुलु डाडा थेन्जु'
(अर्थात्, आमाबुवाले ठेकी लियो, छोरी मोरीले धोका दियो, यताउता हेर्दाहेर्दै जुलु डाँडा पुगियो।)
घाटो गाएर हिँड्ने समयमा रंग हान्ने र अबिर दल्ने कार्य बिल्कुलै बन्द हुन्छ। भिमेश्वर थान पुगेपछि फागु विधिवत समाप्त हुन्छ।
'नेवार बिग्रियो भोजले' भन्ने भनाइ भए पनि भोज नहुने पर्व अपवाद स्वरुप सायद फागु पर्व नै होला। फागु धुमधामले मनाए पनि चाड नभई पर्व मात्र भएर होला भोज खाने र खुवाउने चलन छैन। तर फागु पनि उमंगको पर्व नै भएकोले उसबेला पनि हुनेखानेहरूको घरमा मासु र रक्सी त चल्थ्यो नै।
अहिले रुपैयाँ पैसा धेरथोर सबैको पहुँचमा भएकोले मासु-रक्सी चल्छ। अरु जात्रामा जस्तै फागुमा पनि नेवारी बस्तीमा धेरथोर रक्सी चल्ने गर्छ नै। त्यसैले कहिलेकाहीँ तल्लो टोल र माथिल्लो टोलको समूह झम्काभेट हुँदा एकअर्कोलाई जिस्काउने गर्दा झडप पनि हुनेगर्छ। यसलाई चाहिँ होलीको विकृति मान्नु पर्ला।
खुसीको कुरा, अहिले आफ्नो संस्कृति संरक्षण गर्नुपर्छ भन्ने भावना भएका शिक्षित युवाहरूको जमाना भएकोले यस्तो झडप सुन्नमा आउँदैन।