सामान्यतया आफूभन्दा ठूलालाई आदर र सम्मानपूर्वक नमस्कार भन्ने हाम्रो संस्कृति छ। दुई हात जोडेर, थोरै शीर झुकाएर मनैबाट नमस्कार भन्दा खुसी मिल्छ। मिठासपूर्ण सुनिन्छ। तर सबै नमस्कार एकैखालका हुँदैनन्।
कतिपय नमस्कार बाध्यताले गरिन्छ। यतिसम्म कि हामीमध्ये धेरैजना 'नमस्कार' गर्नैपर्छ भनेर बाटो छलेर पनि हिँडेको होलाउँ! श्रद्धापूर्वक कसैलाई नमस्कार गर्दा मन प्रफुल्ल हुन्छ भने बाध्यताले टार्न नसकेर नमस्कार गर्दा गर्नेको अनुहारमै अमिलोपन सबै प्रष्ट रुपमा देख्न सकिन्छ।
हाम्रो समाजमा नमस्कार गर्नेभन्दा नमस्कार खोज्नेहरूको भिड बढ्दै गएको छ। त्यो परापूर्वकालदेखि श्रद्धापूर्वक गरिँदै आएको नमस्कार अब विस्तारै नमस्कारवादमा परिणत हुन थालेको छ। छ। 'नमस्कारवाद' आतंकको रुपमा फैलिँदै छ। चाप्लुसी गरेर अगाडि बढ्न खोज्नेहरूलाई नमस्कारवाद निकै फापेको छ भने अन्यको हकमा नमस्कारवाद अभिशाप बन्दै गएको छ।
किन गर्ने नमस्कार? कसलाई गर्ने? कसरी गर्ने? जस्ता विषयहरू एकातिर छन्। म आफ्नै समाजतिर बेलाबेलामा फर्किएर हेर्छु। केही कथित राजनीतिज्ञ, कर्मचारी, व्यापारी, शिक्षकहरू छन् जो जबरजस्ती 'नमस्कार' खोज्छन्। अपवाद बाहेक ती सबै सामाजिक/नैतिक रुपमा पतित र भ्रष्ट छन्। त्यस्ता पतित भ्रष्टहरूलाई नमस्कार गर्न मनले मान्दैन तर बाध्यता यसरी पर्छ कि गर्नैपर्छ। भिख मागे जसरी नमस्कार माग्छन्, नगरेर सुखै नहुने!
अर्कोतिर मेरा आफ्ना आफन्तहरू पनि छन् जो उमेरले मात्र ठूला छन्। हरेक हिसाबले तिनीहरू कपटपूर्ण छन्। म सोच्छु, मनैबाट 'नमस्कार' आउँदैन भने किन गर्नु? नमस्कार खान अयोग्यहरूलाई कसरी नमस्कार गर्नु!
मेलै विगत ५/६ वर्षजति अलिअलि विद्यार्थी राजनीति गरेँ। प्रायः सबै संगठन र तिनका प्रतिनीधिहरूसँग नजिक भएर काम पनि गरेँ। यदि अहिलेको अवस्थामा नेपालमा 'नमस्कारवाद' सबैभन्दा बढी कतै हाबी छ भने राजनीतिमा छ। राजिनीतिकर्मीहरूलाई दिनमा एकपटक मात्र नमस्कार गरेर हुँदैन। एकैदिन फरक-फरक स्थानमा पाँच पटक भेटेमा प्रत्येक पटक नमस्कार गरिरहनुपर्छ।
राजनीतिमा राजनीतिशास्त्रका ठूला-ठूला वादहरू 'नमस्कारवाद' अगाडि एकदमै फिक्का हुने रहेछन्। ठूला दलका नेता वा मन्त्रीहरूको कुरा छोडौँ, क्याम्पसमा राजनीति गर्ने छोटेमोटे विद्यार्थी नेताहरू पनि 'नमस्कार' को ठूला भोका हुन्छन्। यदि कसैलाई राजनीतिमा टिकिरहनु छ वा अवसरहरू लिइरहनु छ भने नमस्कार गर्ने कला जान्नुपर्छ। श्रद्धाको नमस्कार हैन, अपितु चाप्लुसीवादको नमस्कार!
'चाप्लुसीवादी नमस्कार' को शैली थोरै फेरिएको छ अहिले। भेट्दा मात्र नमस्कार गरेर हुँदैन। कोही नेताले फेसबुकमा केही लेखेमा वा फोटो राखेमा त्यसमा गुणगान गाएर कमेन्ट गर्ने, सेयर गर्ने गर्नैपर्छ। यसलाई मैले नमस्कारवादको परिस्कृत रुपमा बुझेको छु। वडाका प्रतिनिधिदेखि केन्द्रका मन्त्रीसम्म प्रायः कोही पनि अछुतो छैनन्।
तपाईंमा जति क्षमता होस्, तपाईं जति वैचारिक, संघर्षशील भए पनि यदि तपाईं नमस्कारवादमा विश्वास गर्नुहुन्न भने ढिलोचाँडो तपाईंको यात्रामा पूर्णविराम लाग्ने सम्भावना रहन्छ। अझै ढाड निकै निहुँराएर पाऊ नै छोएर नमस्कार भन्न सकेमा तपाईंको यात्रा निकै सुखद् बन्ने सम्भावना रहला! नमस्कारवाद मुर्दावाद भन्ने पुस्ता राजनीतिमा नआएसम्म यो प्रणालीमा कुनै फेरबदल हुँदैन, देश यस्तै रहिरहन्छ।
म कानुनको विद्यार्थी भएकोले कानुनी क्षेत्रमा पनि नमस्कारवादको प्रभाव देखेको छु। वरिष्ठ अधिवक्ता, अधिवक्ता, प्राध्यापक सबैमा नमस्कारको ठूलो भोक देखिन्छ। उनीहरूको नाम सुनेरै सबैले नमस्कार गरुन् भन्ने चाहना व्यक्त गर्छन्। कामको र आचरणको मतलब छैन तर नमस्कार खोजिरहन्छन्।
कानुनी क्षेत्रमा भविष्य बनाउन चाहनेहरूको पहिलो पाइला 'बोकाहा'बाट सुरु हुन्छ। अर्थात् वरिष्ठहरूको कालो झोला बोकेर पेसाको काम सिक्ने। सिकाइको चरणमा यो ठिकै हो तर कालो कोट भिरेकै आधारमा अरुलाई मानिस नै नदेख्ने, सबै आफैले बुझेको जस्तो मात्र गर्ने, नम्रता भन्ने कुरा अलिकति पनि नभएका, अनुहारमा देखावटी मुखुण्डो लगाएकाहरू थुप्रै छन्।
उहाँहरूको अगाडि चाप्लुसीवाद टिक्छ अर्थात् चर्को नमस्कारवादले स्थान पाउँछ। एकजना कानुनका प्राध्यापकले आफ्नै विद्यार्थीलाई यौन शोषन गर्न खोजेको आरोपमा मुछिए। अब बाध्यता कस्तो छ भने भेट हुँदा नमस्कार गर्नैपर्छ। आफ्नै स्वाभिमान बन्धकी राखेर 'नमस्कार' भन्नुको पीडा गहिरो छ।
लगनशीलता, क्षमता, आचरणजस्ता सबै कुराहरूलाई 'नमस्कारवाद'ले हरेक क्षेत्रमा गाँजेको छ। कुनै पनि क्षेत्र यसबाट अछुतो छैन। झुक्दैमा, नमस्कार गर्दैमा के नै बिग्रिन्छ र भन्ने सवाल पनि उठ्ला! तर कुरा त्यस्तो छैन। नमस्कार गरिने व्यक्ति सम्मानयोग्य हुनुपर्छ। मनैबाट श्रद्धापूर्वक 'नमस्कार' बोल्न सकिने हुनुपर्छ। भ्रस्टाचारी, बलात्कारी, गुण्डा वा जुनसुकै निकायमा काम गर्ने भए पनि पतितहरूलाई, स्खलितहरूलाई नमस्कार गर्नुको अर्थ के नै छ र? उनीहरूलाई झनै हौसला दिएको रुपमा बुझ्ने? कि नमस्कार नगरेपछि आफैलाई अप्ठ्यारो पर्छ भनेर गर्ने?
मेरो पुस्ता जो आफ्नो क्षेत्रमा केही गर्न निरन्तर मेहनत गरिरहेको छ, यो पुस्तालाई 'नमस्कारवादको' बोझले थिचेको छ। ऊ चाहेर पनि यसबाट बाहिर निस्कन सक्दैन। सत्ता र शक्तिको अगाडि नमस्कार नगरी हाम्रो नेपालमा केही हुन्न। नमस्कार गरेमा नहुने काम पनि हुन्छ, नमस्कार नगरेमा हुने काम पनि हुँदैन।
नमस्कारवादमा आधारित समाज बनेपछि राष्ट्र पनि त्यस्तै बन्छ। स्वाभिमान बन्धकीमा पर्छ। केही समय पछाडि परिएला, अझै बढी मेहनत गर्नुपर्ला तर भ्रष्ट-पतितहरूलाई चाप्लुसी स्वरुप नमस्कार गर्न छोडियो भने परिवर्तनका केही आशाहरू पक्कै आउनेछन्। जसको अगाडि श्रद्धापूर्वक शीर निहुँरिन्छ उसलाई जीवनभर सम्मानको साथ 'नमस्कार' भन्न पाइयोस्। नत्र त अन्यको हकमा- नमस्कारवाद, मुर्दावाद!