नेपालको संविधानले महिलालाई पुरुषसमान हैसियत प्रदान गर्ने प्रयत्न गरेको छ। नेपालमा राष्ट्रपति, सभामुख तथा प्रधानन्यायाधीश महिला भइसकेका छन्। संसदमा समेत महिलाहरूको बाक्लो उपस्थिति रहँदै आएको छ भने महिला सरकारी कर्मचारीको संख्यामा पछिल्लो समय उल्लेख्य वृद्धि भएको छ।
तर विभिन्न समयमा फरक-फरक प्रकृतिबाट महिला हिंसाका विषय बाहिर आएका हुन्छन्। आज म आफैले विगत तीन वर्षदेखि एक सरकारी कार्यालयमा भोग्दै आएको परिस्थितिको बारेमा केही लेख्ने प्रयास गरेको छु। यस लेखमार्फत आम मान्छेको धारणा समेत बुझ्ने मेरो जमर्को रहेको छ।
म सानैबाट महिला वा पुरुषमा कुनै भिन्नता छैन, त्यसैले महिला वा पुरुषमा मात्र सीमित हुने बहस जरुरी छैन भन्ने विचार भएको व्यक्ति हुँ। सानैदेखि पढाइमा अब्बल भएर पनि होला मलाई विभेद सम्बन्धी कुराको आभास थिएन। इन्जिनियरिङ अध्ययन संस्थान- पुल्चोक क्याम्पसमा इन्जिनियरिङ पढाइ पूरा गरेपछि मलाई सरकारी सेवाप्रति आकर्षण भयो र लोकसेवा परीक्षामार्फत काठमाडौंको एक संस्थानमा कामको सुरुआत गर्न पुगेँ।
आफूले जिन्दगीभर मेहनत गरेर हासिल गरेको ज्ञान सीपको प्रयोग गर्न पाइने र त्यसो गर्दागर्दै देशकै सेवा गर्न पाइने भएकाले म सरकारी सेवामा प्रवेश गर्ने समयमा उत्साहित थिएँ। मलाई लाग्थ्यो मसँग प्राविधिक ज्ञान छ, युवा जोश छ, केही गर्ने चाहना छ। यस्तो परिस्थितिमा स्थायी जागिरमा नियुक्त भएपछि देशमै केही गरौँ भन्ने चाहना पूरा हुनेछ भन्ने मलाई विश्वास थियो।
मसँगै सरकारी छात्रवृत्तिमा पढेका धेरै साथीहरूले विदेशको बाटो रोजिरहँदा, म भने नेपालमा सिभिल इन्जिनियरिङ सम्बन्धी कार्यको आवश्यकता र आफ्नो त्यसमा दक्षताले उत्साहित थिएँ। यसका साथै निकै कलिलो उमेरबाटै घर परिवारबाट टाढा भई आफ्नो सम्पूर्ण शक्ति र समय पढाइमा खर्चेको स्थितिमा त्यसको प्रतिफल स्वरुप अरुमा निर्भर हुन नपर्ने स्थिति आएकाले पनि केही गरौँ भन्ने चाहना हुनु स्वभाविक थियो।
आफ्नो परिवारबाट धेरै टाढा रहेर नियमित कार्यका साथै कार्यालयको काम निपुण हिसाबले गर्न मानसिक रुपमा बलियो हुन जरुरी थियो। तर सरकारी जागिर प्रवेश गरेको तीन वर्षमा नै म भित्रको उर्जामा निकै कमी आएको महसुस भएको छ।
सरकारी कार्यालयमा पुरुष कर्मचारीलाई 'सर' भनि सम्बोधन गरिँदो रहेछ। महिलाका हकमा आदरार्थी शब्दको प्रयोग कम हुने रहेछ। कुनै पनि कार्यालयमा पदीय हैसियतको धेरै मान्यता हुनुपर्ने हो। तर मैले त्यसो कहिल्यै महसुस गरिनँ।
म काठमाडौंमै रहको एक संस्थानको मुख्य कार्यालयमा काम गर्ने इन्जिनियर भएकाले मभन्दा माथिल्लो तहमा अरु कर्मचारी हुनु र मेरो साथमा विशेष जिम्मेवारी नहुनु स्वभाविक नै होला। तर यस्तो स्थितिमा अन्य व्यक्तिबाट आफूले पाउनुपर्ने न्यून मात्राको सम्मान पनि नपाइने रहेछ। तसर्थ कार्यालयको काम पूर्ति गर्नका लागि आवश्यक हुने न्यून सामग्रीहरू व्यवस्था गर्न, काम गर्ने सहज वातावरण उपलब्ध हुन असहज हुने रहेछ।
मेरो बुझाइ थियो, कार्यालयमा सबैलाई समान व्यवहार हुन्छ होला। तर त्यसको ठिक विपरीत ओहोदाभन्दा कसको शक्ति कति छ भन्ने कुराले महत्व राख्ने रहेछ। यस्तो स्थितिमा समेत आफूले काम गर्ने संस्थाप्रति र आफ्नो जिम्मेवारीप्रति कहिल्यै विचलित नभई कार्य गर्ने प्रयत्न गरेको थिएँ र गरिरहेको छु।
तर विडम्बना! हामीले सुन्ने गरेको सरकारी काम कहिले जाला घाम भन्ने उक्तिजस्तै एक सरकारी कार्यालयमा कामभन्दा अन्य विषयले महत्व राख्दो रहेछ। कसको राजनीतिक पहुँच कति, को मान्छे कुन पार्टीको, कसलाई काखा गर्दा आर्थिक मुनाफा हुन्छ, कोबाट के गरी फाइदा लिन सकिन्छ भन्ने विषयले महत्व राख्ने रहेछन्।
यसैगरी कुनै काममा आफ्नो स्वविवेक प्रयोग गर्दा वा आफूलाई ठिक लागेको विषय प्रष्फुटन गर्दा धेरैलाई आफ्नो काममा तगारो बनेको महसुस हुने रहेछ।
कुनै पनि कार्यमा आफ्नो राय प्रस्तुत गर्दा वा कुनै निर्णय लिँदा भविष्यमा कुनै भवितव्य आएमा आफू जिम्मेवार हुने भएकाले एउटा अधिकृतले आफ्नो स्वविवेक प्रयोग गर्न पाउनुपर्ने हो। यस्तो स्थितिमा उचित काम गर्न खोज्दा सबैले प्रोत्साहन गर्नुपर्ने हो। कसैको दबाब वा कसैको भनसुनमा कुनै अनुचित कार्य गर्नका लागि प्रोत्साहन हुनु नपर्ने हो।
तर कुनै काम गर्ने वा नगर्ने भन्ने विषयमा कसैले डर, धम्की दिएमा वा कसैको अन्तरनिहित स्वार्थपूर्ति सम्बन्धी काम नगरेमा र त्यसो गर्दैगर्दा आफूभन्दा माथिको व्यक्तिबाट असुरक्षित महसुस भएमा के गर्ने? यस्तो स्थितिमा महिलाले अपनाउन सक्ने वा अपनाउनु पर्ने बाटो निकै साँघुरो हुने रहेछ। यसलाई मैले महिला हिंसाको एउटा पाटोको रुपमा लिएको छु।
आफ्नो घरपरिवारको हेरचाह गर्ने महिला, कुनै घरको छोरी हो, कुनै घरको बुहारी हो, कसैको आमा हो र कसैको श्रीमती हो। महिलाको काँधमा धेरै जिम्मेवारी हुन्छन्। यस्तो स्थितिमा आफ्नो महत्वपूर्ण समय कार्यालयमा व्यतित गर्ने महिलाले आफूभन्दा तल्लो ओहोदाबाट पाउनुपर्ने सम्मान र उपल्लो ओहोदामा बस्नेबाट पाउनुपर्ने सद्भाव नपाएमा के गर्न सकिएला?
नेपालमा कानुनको पालना निकै फितलो हुनु, राजनीतिक पहुँचले महत्व राख्नु र कानुनका ढोका पनि कुनै निहित स्वार्थमा चल्नुले मजस्ता युवाले देशको सेवा गर्ने सम्बन्धी कुरा सोच्नका लागि अलि दह्रो मुटु र साहस लिएर अगाडि बढ्नुपर्ने रहेछ। आफूभन्दा माथिल्लो ओहोदाका धेरै व्यक्तिले आफ्नो मातहतमा काम गर्नका लागि आफ्नो विवेक प्रयोग गर्नेभन्दा अलि मुटु दह्रो भएका र लगाएको जस्तोसुकै काम पूर्ति गर्न सक्ने व्यक्ति मनपराउने रहेछन्।
यस्तो स्थितिमा कार्यालयको कामका साथै पारिवारिक दायित्व हुने महिलाबाट त्यस्ता कार्य पूर्ति नहुने स्थिति प्रवल हुने भएकाले पुरुषको खोजी हुने रहेछ। यस्तो स्थितिमा आफूलाई नियम संगत नलागेको काम गर्न प्रोत्साहन भएमा र यदि सो नगरेमा सामान्यभन्दा सामान्य विषयमा दुःख दिन मिल्ने रहेछ।
यस्ता दुःख भनेको नियमित कार्य गर्न असहज बनाउने, सेवा सुविधाबाट बन्चित गर्ने, चरित्रहत्या गर्ने, सरुवा वा कारबाहीको धम्की पाउनुपर्ने सम्मका कार्य हुने रहेछन्। यस्ता कार्य हुँदा नेपाली समाजमा पुरुषभन्दा महिलालाई असहज हुनु स्वभाविक हो भने महिलालाई हेप्न सकिन्छ भन्ने खालको सोचाइ हावी रहेकाले एक महिला उपाय विहीन हुने स्थिति आउने रहेछ।
यस्तो स्थितिमा मैले आफूसँगै पढेका साथीहरूले विदेश वा अन्य ठाउँमा गरिरहेको प्रगति देख्दा सरकारी जागिर खाने निर्णय गलत थियो कि भन्ने निचोडमा पुगेको छु। अझ फितलो नियममा चल्ने संस्थानमा काम गर्नु भनेको आफूलाई समस्याको भूमरीमा फसाउनु हो भन्ने भान हुँदै गएको छ।
एउटा कार्यालयमा काम गर्ने हरेक कर्मचारीले काँधमा काँध मिलाएमा मात्र एउटा कार्यालय सफल हुने हो। एउटा सरकारी कार्यालय सफल हुनु भनेको हजारौं व्यक्तिले प्रत्यक्ष, अप्रत्यक्ष रुपमा लाभ पाउने भन्ने हो। यसरी हरेक तह तप्काबाट थोरै-थोरै मात्रामा काम भएमा सम्पूर्ण देशले नै लाभ लिन सक्ने स्थिति आउने हो। तर सरकारी कार्यालयहरू सेवाभन्दा कुनै निश्चित लाभमुखी भएमा राज्यको लगानीको उपहास हुने स्थिति पैदा हुनु हो।
यसका साथै कर्मचारीतन्त्रको ठूलो हिस्सा ओगटेका महिलाहरूलाई लैंगिक विभेद तथा मानसिक हिंसा हुने स्थिति भएमा हाम्रो कर्मचारीतन्त्र निकै फितलो हुँदै जाने देखिन्छ। यसका साथै कार्यालयमा विभेद गर्ने, अनुचित कार्य गर्न प्रोत्साहन गर्ने र सो नगरेमा अनेक किसिमका मानसिक यातना दिन तयार हुने माथिल्लो ओहोदामा हुने व्यक्तिलाई मजस्ता युवाले अरुजस्तै सहेर अगाडि बढ्दा उचित होला वा त्यसका विरुद्ध आवाज उठाउँदा ठिक होला? उत्तर तपाईंको।
(लेखक काठमाडौंको एक सरकारी संस्थानको इन्जिनियर हुन्।)