जातिको परिभाषाको कसीमा परीक्षण गर्दा पुनलाई नेपालको आदिवासीको रूपमा निसन्देह रुपमा लिन सकिन्छ। पुन समाजले संकलन गरेका शब्दहरूको संरचना हेर्दा शब्दगत तहमा भाषा जीवित नै छ।
...
पुन समाज नेपालले म्याग्दीका तुलु पाइजा पुनलाई प्रथम सहिद मानेको छ। विक्रमको तेह्रौं शताब्दीमा उनी पर्वत राज्यका मल्ल राजाको आक्रमणमा मारिएका थिए। त्यस पछि पुनलाई जवरजस्ती पर्वते भाषा बोल्न लगाइएको थियो। लुकीछिपी बोल्दा पनि राज्यले दण्ड गर्दथ्यो।
१.पृष्ठभूमि
नेपाल परापूर्वकालदेखि नै एउटा बहुजातीय र बहुभाषिक मुलुक रहिआएको छ। बाइसे र चौबिसे राज्यहरूमा बहुसंख्यक जनताले बोल्ने भाषालाई शासकीय भाषा (सरकारी कार्यालय, अदालत र शिक्षा र आमसञ्चारमा प्रयोग हुने भाषा) को रूपमा प्रयोग गरिन्थ्यो। पर्वत राज्यमा पर्वते नेपाली (बानियाँ, २०७६) लाई राज्यको भाषाका रूपमा प्रयोग गरिएको थियो।
त्यस्तै काठमाडौं, भादगाउँ र ललितपुरमा नेवार (नेपालभाषा) र गोरखा, कास्की, गल्कोट र पाल्पा जस्ता राज्यहरूमा खस नेपाली भाषालाई शासकीय भाषाको रूपमा प्रयोग गरिएका थिए। त्यतिबेला पनि शासकीय भाषा बाहेक अन्य भाषा बोल्न सरकारी तवरबाट नै निरुत्साहित गरिएको थियो।
पर्वत राज्यमा 'पुन' भाषा बोल्नेलाई ४ पैसा दण्डको व्यवस्था गरिएको थियो भन्ने कुराको जानकारी पुन समुदायका अगुवाले दिएको अवस्था छ। नेपालमा जातिभाषिक गणना नभएकाले कुन जातजातिले कुन भाषा बोल्छन् वा बोल्ने गर्दथे भन्ने कुराको विश्वसनीय तथ्याङ्कको अभाव छ।
नेपालमा भाषाको मात्र सम्मिलीकरण नभएर जातिको पनि सम्मिलीकरण गरिएको वा गर्ने प्रयास भएको छ। नेपालमा राना थारूले केही समय अगाडि मात्र छुट्टै जातिको रूपमा सरकारले मान्यता दिएको छ। घलेले जातिको रूपमा अझसम्म स्वतन्त्र जातिको रूपमा मान्यता पाएको छैन। भाषिक रूपमा वनकरियालाई छुट्टै मानिए पनि जातिको रूपमा चेपाङमा मिलाइएको छ। पुनलाई मगरमा गणना गरिएको छ। यस्तै अवस्था अरू जातिभाषिक समुदायको पनि छ।
संविधानले प्रदत्त गरेको अधिकारलाई उपयोग गरी नेपालका जातिभाषिक समुदायले आफ्नो जातिको पहिचानको मुद्दालाई अगाडि बढाउने प्रयासमा भाषिक पहिचानको मुद्दालाई पनि अगाडि बढाएका छन्। २०६८ सालको जनगणनाले नेपालमा १२५ जातजाति र १२३ मातृभाषा रहेको तथ्याङ्क सार्वजनिक गरेको थियो। यसले नेपालका सबै जातजाति र मातृभाषालाई समेट्न सकेको छैन। पुन जाति र पुन भाषा पनि यो जनगणनामा समेटिएको छैन।
यसै परिप्रेक्षमा यो कार्यपत्रमा पुन भाषाको वर्तमान अवस्थालाई जातिभाषिक तथा समाज भाषा वैज्ञानिक दृष्टिकोणबाट प्रारम्भिक रूपमा चर्चा गर्ने प्रयास गरिएको छ।
यस कार्यपत्रलाई छ खण्डमा विभाजन गरिएको छ। खण्ड १ मा कार्यपत्रको पृष्ठभूमि दिने प्रयास गरियो। खण्ड २ मा विभिन्न कालखण्डमा नेपालमा भाषाका बारेमा लिइएको नीतिको समीक्षा गर्ने प्रयास गरिएको छ। खण्ड ३ पुन जाति र भाषाको बारेमा जातिभाषिक दृष्टिकोणबाट चर्चा गर्ने प्रयास गरिएको छ। खण्ड ४ मा पुन भाषाको जीवन्तताको स्थिति समाज भाषा वैज्ञानिक दृष्टिकोणबाट विश्लेषण गर्ने प्रयास गरिने छ। त्यस्तै खण्ड ५ मा पुन भाषाको दिगो प्रयोगका रणनीतिहरूका बारेमा चर्चा गरिने छ। खण्ड ६ मा केही विशिष्ट सुझावहरूका साथ निष्कर्ष प्रस्तुत गरिने छ।
२. नेपालको भाषानीतिको समीक्षा
एकीकरण पछि देवनागरी लिपिमा लेखिने नेपाली भाषा (गोरखा भाषा)लाई सरकारी कामकाजको भाषाको रूपमा एकक्षत्र रूपमा प्रयोग हुन पाउने मौका दिइयो। राणाशासन कालमा नेपाली भाषा बाहेकका भाषा भाषिकाहरूलाई अपरिष्कृत वा जङ्गली भाषाको संज्ञा दिइएको थियो।
२०१९ साल पछि नेपालले एक भाषिक नीति तय गरी नेपाली भाषालाई मात्र राष्ट्रभाषाको रूपमा मान्यता दियो। नेपालका अरू मातृभाषालाई प्रयोगविहिन गराउने नीति राज्यले लिएको थियो। यसले गर्दा आफ्नो मातृभाषालाई हेयको दृष्टिकोणबाट हेरी नेपाली भाषा प्रति आकर्षित हुने अवस्था सिर्जना भयो। २०४७ साल पछि मात्र नेपाललाई संवैधानिक रूपमा बहुभाषिक मुलुकको रूपमा परिभाषित गरियो। २०६३ सालको अन्तरिम संविधानले नेपालका सबै मातृभाषालाई राष्ट्रभाषाको मान्यता दियो। २०७२सालको संविधानमा नेपाललाई बहुजातीय, बहुधार्मिक, बहुभाषिक, बहुसांस्कृतिक मलुकका रूपमा लिएको छ र समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्प गरेको छ।
नेपालमा बोलिने सबै मातृभाषाहरूलाई राष्ट्रभाषा मानेको छ।स ंविधानको धारा (३२) मा नेपालमा बसोबास गर्ने प्रत्येक नेपाली समुदायलाई आफ्नो भाषा, लिपि, संस्कृति, सांस्कृतिक सभ्यता र संपदाको संवर्धन र संरक्षण गर्ने हक दिएको छ। संविधान भाषिक अधिकारका बारेमा निकै उदार देखिएको छ। तैपनि राष्ट्रिय स्तरको बहुभाषिक नीति तय नभएकाले व्यवहारमा भाषिक अधिकारलाई सुनिश्चित गर्ने कुरामा नेपाल निकै पछाडि परेको देखिन्छ।
३. पुन जाति भाषाः जाति भाषिक दृष्टिकोण
जातिको आफ्नै परिभाषा रहेको हुन्छ। धेरै हदसम्म जैविक रूपमा आत्म–स्थायी, समान मौलिक सांस्कृतिक मूल्यहरू बोकेका, एक आपसमा संचार र अन्तरक्रियाका लागि भाषासहित आफ्नो छुट्टै पहिचान भएको जनसमुहलाई जाति भन्ने गरिएको पाइन्छ। जाति र भाषाको बीचमा गहिरो संबन्ध रहेको हुन्छ। भाषालाई मानवीय र सामाजिक वस्तुका रूपमा लिइएको छ। मानिसले मात्र विचारको आदान–प्रदान भाषाका माध्यमले गर्दछन्।
भाषा जातीय पहिचानको मेरुदण्ड पनि हो। भाषा संस्कृति र सभ्यताको संवाहक पनि मानिन्छ। भाषा शक्तिको स्रोतको रूपमा पनि लिइएको पाइन्छ। आफ्नो जाति भित्र एक आपसमा संचार र अन्तरक्रियाका लागि भाषा अनिवार्य रूपमा रहेको हुन्छ। पुराना अभिलेखमा पुनलाई मगरमा सम्मिलीकरण गर्ने प्रयास गरिएको छ।
पुनलाई थापा, राना, आले, रोका, घर्ती र बुढा जस्तै एक थरमा राखिएको छ। ढुट, खाम र काइके जस्ता भाषाहरू मगरले बोल्छन्। ढुट मगरले ढुट मगर भाषा, खाम मगरले खाम मगर र काइके मगरले काइके मगर भाषा बोल्दछन्। तर पुनले यी भाषाहरू बोलेको जानकारी प्राप्त हुन सकेको छैन।
करबाकेली बाबालाई देवता मान्ने पुन अरू मगरसँग सांस्कृतिक रूपले फरक छन्। मगरले झाँक्री मान्दैनन् तर पुनले मान्छन्। झाँक्रीले जन्मदेखि मृत्यू सम्मका विधि–विधानमा आफ्नै भाषा प्रयोग गर्दछन्। यसलाई उनीहरूले आफ्नो भाषामा खङ् वा पङ् भन्ने गरेको जानकारीमा आएको छ। यसलाई पुनको प्राचीन भाषा पनि भन्न सकिन्छ।
जातिको परिभाषाको कसीमा परीक्षण गर्दा पुनलाई नेपालको आदिवासीको रूपमा निसन्देह रुपमा लिन सकिन्छ। शारीरिक सुगठन मङ्गोलसँग मिल्दछ।
तत्कालिन चार हजार पर्वत क्षेत्र (हालको म्याग्दी जिल्ला, पर्बतको उत्तरी भेक, बाग्लुङको उत्तरी भेक, गुल्मीको उत्तरी भेक, पूर्वी रुकुमको पूर्वी भेक, कास्कीको उत्तर पश्मिमी भेक र मुस्ताङको दक्षिणी भेक) नै पुन जातिको बसोवासको क्षेत्र हो। यसै क्षेत्रलाई प्राचीनकालदेखि पुनहरूले आफ्नो थातथलोका रुपमा प्रयोग गर्दै आएको देखिन्छ।
यो भु भागको क्षेत्रमा झण्डै ३००० देखि ३५०० वर्ष अघि नै पुनहरु प्रवेश गरेको अनुमान लगाउन सकिन्छ।
पुन जातिको पुख्र्यौली व्यवसाय खेती हो। पर्वत राज्यका अन्तिम राजा कीर्तिवमका पालासम्म पनि दरवारमा काम गरेका पुनहरू बेलायती सेनामा पनि प्रशिद्ध रहेका छन्।
करिब ११ जिल्लामा छरिएर रहेका पुनहरू विदेशमा पनि स्थायी रूपमा बसोबास गरेका छन्। यिनीहरूको जनसङ्ख्या चार/पाँच लाख रहेको अनुमान गरिएको छ।
४. पुन भाषाको जीवन्तताको स्थिति
भाषा पनि सजीव वस्तु हो। यसको पनि आफ्नै पारिस्थितिक प्रणाली हुन्छ। भाषाको जन्म हुन्छ, उपयुक्त वातावरणमा हुर्कन्छ र बलियो हुन्छ। प्रतिकूल अवस्थामा कमजोर हुन्छ र मर्दछ पनि। मर्ने वा कमजोर हुने क्रममा पहिले वाक्य र त्यसपछि क्रमशः वाक्यांश, शब्द र ध्वनि लोप हुँदै जान्छ। शब्द रहेका भाषालाई पुनरूद्धार गर्न सकिन्छ। नेपालमा बसाइ–सराइ, अन्तर्जातिय विवाह, भाषिक सम्पर्क र जातिभाषिक सम्मिलीकरण नीतिका कारणले थुप्रै भाषाहरू मरणसन्न अवस्थामा पुगेका छन्। केही भाषाहरूमा शब्दहरू मात्र बाँकी रहेको अवस्था छ।
नेपालमा बोलिने केही भाषा मात्र सुरक्षित छन्। नेपालका १२३ भाषाहरूको जीवन्तताको स्थितिलाई विश्लेषण गर्दा करिब ५३ ओटा प्रवल/सुरक्षित, ५१ ओटा सङ्कटापन्न, ११ ओटा अपसरणशील, ६(४.८७%) ओटा मृतप्राय, १(०.८%) ओटा सुषुप्त र १(०.८%) ओटा भाषा लोप भइसकेका अवस्थामा पुगेको देखिएको छ।
प्रयोग नै भाषाको स्वास्थ्य वा जीवन हो। अर्को शब्दमा प्रयोग नै भाषाको जीवनरस हो। प्रयोग गरिएन वा गर्न दिइएन भने भाषा कमजोर वा मर्दछ। भाषालाई जीवन्तता वा स्वास्थ्यका आधारमा विभिन्न वर्गमा विभाजन गर्न सकिन्छ। मौखिक रूपमा सबै पुस्ताले प्रयोग गर्ने र बालबालिकाहरूले पनि उनीहरूको पहिलो भाषाको रूपमा सिकिरहेका भाषालाई सुरक्षित वा प्रबल भाषा भनिन्छ। मौखिक रूपमा सबै पुस्ताले प्रयोग गरे पनि केही मात्र बच्चा जन्माउन सक्ने पुस्ताले उनीहरूका बालबालिकालाई सिकाएका भाषालाई सङ्कटापन्न भाषा भनिन्छ।
बच्चा पैदा गर्ने पुस्ताले आफूहरूको बीचमा प्रयोग गर्न राम्ररी जाने पनि ती भाषाहरूलाई उनीहरूका बच्चाहरूमा नसिकाएका भाषालाई अपसरणशिल भाषा भनिन्छ। हजुरबुबा वा हजुरआमाको पुस्ताले मात्र सक्रिय वक्ताको रूपमा बोल्ने भाषालाई अति सङ्कटापन्न वा मृतप्राय र हजुरबुबा वा हजुरआमाको पुस्ताले पनि कमैमात्रमा बोल्ने वा बोल्ने अवसर पाउने भाषालाई मरणासन्न अवस्थाको भाषा भनिन्छ।
जातीय समुदायका लागि सम्पदा पहिचान अनुस्मारकको रूपमा काम गर्ने भाषालाई लुप्त भाषा भन्ने गरिन्छ। यस्ता भाषामा प्रतीकात्मक प्रवीणता भन्दा बढी कसैसँग पनि हुँदैन। त्यस्तै पचास जना भन्दा पनि कम वक्ता भएका वा जातीय जनसङ्ख्याको ज्यादै सानो सङ्ख्याले बोल्ने भाषा लुप्तप्राय र पहिलो भाषाको रूपमा प्रयोग गर्ने वक्ता नभएका तर जातीय समुदायले जातीय पहिचानलाई भाषासँग जोडेको भाषालाई सुशुप्त भाषा भन्ने गरिन्छ।
म्याग्दीमा बसोबास गर्ने छन्त्याल, थकाली, मगर र नेवारले पनि नेपाली भाषा प्रमुखरूपमा बोल्ने गरेको अवस्था छ। विभिन्न कारणले गर्दा पुनले आफ्नो मातृभाषा बोल्ने छाडेर नेपाली भाषा बोल्ने गरको पाइन्छ। पुन समुदायले १८३६ शब्दहरू सङ्कलन गरेका छन्।
काप् (निगालको चिम्टा), काबल् (टाउको), किर्लिङ् ( रुद्रघण्टी), कोथालो (थैली), कोले (गिलो), कैलामी ( कम्मर), कल्ला ( केरउ), कोर्चे ( बाङ्गो), खोरो ( कडा), थुङ्ची ( मासिनु), थलबले ( ठेगाना नभएको), ताँके ( त्यहाँ), तुन ( तरकारी) जस्ता शब्दहरूलाई केलाएर हेर्दा पुनको आफ्नो भाषा थियो भन्ने कुरामा कुनै शङ्का गर्नु पर्दैन। यी शब्दको संरचनालाई हेर्दा छन्त्याल र खाम मगर जस्तै पुन पनि भोट–बर्मेली भाषा हो भन्ने प्रमाणित हुन जान्छ। झाँक्रीले प्रयोग गर्दै आएका शब्दहरू पनि सङ्कलित भएका छन्। यसले पनि पुन भाषाको अवस्थितिको प्रमाण पेश गर्दछ।
पुन बसोबास गरेको स्थान र म्याग्दीका विभिन्न स्थानका नामहरू पनि पुन भाषाका रहेको जानकारी भाषाविज्ञ तथा इतिहासकार चन्द्रप्रकाश बानियाँले दिनु भएको छ। अहिले पुनले सामान्य बोलीचालीमा आफ्नो भाषा सक्रियरूपमा प्रयोग गरेको पाइन्न। तर पुन समुदायमा नेपाली भाषा प्रयोग भए पनि आधारभूत शब्दहरू भने पुनका प्रयोग गरिन्छ। शब्द भाषाको मुख्य आधार हो। शब्दले नै अवधारणा बोकेका हुन्छन्। यस्ता अवधारणामा भौतिक तथा अभौतिक जीवन जगतका सबै कुराहरू पर्दछन्। व्याकरणका नियम भित्र राखेर जोडेमा वाक्य बनाउन सकिन्छ। अर्थात् शब्द भण्डार यथेष्ट भएमा वाक्यगत तहमा पनि यसभाषालाई माथि उचाल्न सकिन्छ।
गोरखामा पुनको जस्तै अवस्थामा पुगेको बराम भाषाको पुनरुद्धार गरिएको छ। शब्दकोश र व्याकरणको मात्र निर्माण गरिएको छैन, पाठ्यपुस्तक नै तयार गरी विषयका रूपमा पढाउने प्रयास गरिएको छ।
५. पुन भाषाको दिगोप्रयोगका रणनीति
दिगो पहिचानको लागि भाषाको महत्वपूर्ण स्थान रहेको हुन्छ। पुन समाजले आफ्नो जातीय पहिचानसँगै भाषिक पहिचान खोजिरहेको छ। भाषाको खोजीमा लागि परेको छ। मूल थातथलोमा यसको खोजी भइरहेको छ। पुन समाजको पहिलो प्रयासस्वरूप झाँक्रीले प्रयोग गर्ने र पुनले प्रयोग गर्ने आधारभूत शब्दहरू सङ्कलन भएका छन्। यतिले मात्र भाषा संरक्षण हुन सक्दैन। केही विशिष्ट रणनीतिहरू कार्यान्वयन गरेर पुन जस्ता भाषालाई पुनःजीवित वा सक्रियरूपमा प्रयोगमा ल्याउनु गर्नुपर्दछ। केही विशिष्ट रणनीतिहरू निम्न लिखित छन्।
५.१ ऐतिहासिक श्रृङ्खलाको पहिचान र पुनर्निर्माण
पुन निकै कम अध्ययन भएको भाषा हो। सङ्कलन गरिएका शब्दहरू र मौखिक ढाँचामा परम्परागत कथाहरू बाहेक यो भाषामा अन्य कुराहरू केही पाइँदैन। तै पनि भाषिक समुदायले चाहेमा फेरि भाषा प्रयोगको आफ्नो इतिहासको पुनर्निर्माण गर्न सकिन्छ। यसै क्रममा पुन समाज नेपालले म्याग्दीको पाखापानीका तुलु पाइजा पुनलाई प्रथम सहिद मानेका छन्। तुलु पाइजा राजा थिए। विक्रमको तेह्रौं शताब्दीमा उनी पर्वत राज्यका मल्ल राजाको आक्रमणमा मारिएका थिए। त्यस पछि पुनलाई जवरजस्ती पर्बते भाषा बोल्न लगाइएको थियो। लुकीछिपी बोल्दा पनि राज्यले दण्ड गर्दथ्यो।
इतिहासको यो श्रृङ्खलाको पहिचानलाई अझ तथ्यपूर्ण रूपमा खोजी गरेमा भाषा कायम गर्ने वा पुनर्जीवित गर्ने भाषिक समुदायका सदस्यहरूको इच्छालाई थप प्रेरणा दिन सकिन्छ। सकारात्मक अभिवृत्तिको विकास गर्न सकिन्छ। २०७८ को जनगणनामा पुन समुदायले पुर्खाको भाषाको रूपमा र मातृभाषाको रूपमा पनि पुन भाषा लेखाएको जानकारी गराएका छन्। दोस्रो भाषाको रूपमा भने नेपाली भाषा लेखाएका छन्।
५.२ माथि देखि तल र तल देखि माथिको संयोजन
भाषा आयोग, भाषाविज्ञान केन्द्रीय विभाग र नेपालमा भाषा संरक्षणका लागि काम गर्ने अन्य गैर–सरकारी संस्थाहरू जस्ता बाहिरी एजेन्सी र पुन समुदायले त्यस्ता भाषाको पुनरुद्धार जस्ता कामहरूमा एकसाथ संलग्न हुन सक्छन्। यो रणनीतिलाई माथि देखि तल र तल देखि माथि प्रक्रियाको संयोजनका रूपमा लिन सकिन्छ। यो रणनीतिलाई पुनले निरन्तररूपमा नै अगाडि बढाउनु पर्दछ।
५.३ दोभाषे गृह र अभिभावक बैठकहरू
पुन समुदायले पुन भाषा आफ्नो घरमा प्रयोग गर्ने निर्णय गर्न सक्दछ। यो रणनीति अनुसार, पहिले, बालबालिकाहरूलाई तिनीहरूका धरोहर संस्कृतिको विश्व दृश्यका बारे सोच्न सिकाइन्छ। दोस्रो, बालबालिकाहरूलाई कृत्रिम वातावरणमा भाषा पाठको माध्यमबाट अभ्यास गर्न प्रोत्साहित गरिन्छ। तेस्रो, बालबालिकाहरूलाई प्राकृतिक वातावरणमा आफ्नो सम्पदाको भाषा प्रयोग गर्न प्रोत्साहन गरिन्छ। स्थानीय भाषाको प्रबर्धनमा लागेका विद्यालयले अभिभावकहरूलाई उनीहरूको घरमा मातृभाषा प्रयोग गर्न प्रोत्साहित गर्न अभिभावक बैठकहरू गर्न सक्दछन्। प्रयोगलाई प्रोत्साहन नगरेमा भाषा बचाउन सकिन्न।
५.४ भाषाको पुनरुद्धार
पुन जस्ता भाषाका लागि भाषा पुनरुद्धार धेरै प्रभावकारी रणनीति हो। यस्तो रणनीतिमा चार समूह संलग्न हुन्छन् ः जागरूकता समूह, अभिलेख समूह, भाषा समूह र कोष समूह। युवा पुस्तालाई भाषा सिक्न र यसको महत्वको बारेमा समुदायमा चेतना जगाउने समूहलाई जागरूकता समूह भनिन्छ।
अभिलेख समूहले भाषालाई फेरी प्रयोगमा ल्याउनका लागि सामग्रीको निर्माण र जानकारी प्रदान गर्दछ। भाषा समुहले भाषाको बारेमा जानकारी दिनाले स्थानीय समुदायहरूलाई घरमा स्थानीय भाषा प्रयोग गर्न प्रोत्साहित हुन मद्दत गर्दछ। कोष समूहले भाषाहरूको पुनरुद्धारका लागि कोष निर्माण गर्दछ। यति भएपछि पुनरुद्धारको काम सुरू गर्न सकिन्छ। यसमा मुख्य गरेर अभिलेखीकरण र व्याकरणको निर्माण, वर्णमाला निर्धारण र लेखन प्रणालीको विकास, शब्दकोशको निर्माण, पाठ्यक्रम विकास र सामुदायिक भाषा सिकाइ केन्द्रको स्थापना जस्ता कुराहरू अगाडि बढाउनु पर्दछ।
प्रायःशब्दगत तहमा रहेको पुन भाषालाई जोगाउनका लागि सकेसम्म भाषामा अन्तर्निहित जीवनपयोगी ज्ञानको ऐतिहासिक अभिलेखलाई जोगाउनु पर्दछ।
५.५ रेडियो कार्यक्रम र आमा/बालबालिका भाषा कार्यक्रम
त्यस्ता भाषाहरूमा रेडियो कार्यक्रमहरूले मानिसहरूलाई उनीहरूको विरासतको भाषालाई आमनेसामने कुराकानीका लागि प्रयोग गर्न र युवा पुस्तामा उनीहरूको ज्ञान प्रसारित गर्न प्रोत्साहित गर्न सकिन्छ। नवयुवती आमाहरूलाई बालबालिका हुर्काइसकेका वयस्क महिलाबाट शब्दावलीका साथसाथै परम्परागत कुराहरू सिक्न प्रोत्साहित गर्नुपर्दछ। बालबालिकाको हेरचाह गर्दा तिनीहरूलाई स्थानीय भाषा प्रयोग गर्न प्रोत्साहित गर्नुपर्छ।
५.६ भाषा सिकाइ केन्द्रको स्थापना
अहिले सङ्कलन गरिएका शब्दहरू सबल प्रयोगका लागि भाषा सिकाइ केन्द्रको स्थापना गरी भाषा सिक्न प्रोत्साहन गर्नु पर्दछ। शिक्षकलाई प्रशिक्षण दिएर पुन समुदायका आधारभूत तहका बालबालिकालाई सिकाउन लगाउनु पर्दछ।
६. उपसंहार
पुन भाषा पनि आदिबासी भाषा हो। प्रत्येक आदिवासी भाषा भित्र जीवन उपयोगी ज्ञान रहेको हुन्छ। भाषा अद्वितीय सांस्कृतिक अभिव्यक्तिको साधन हो। प्रत्येक भाषाले समुदायको शासन प्रणाली र भूमिसँगको सम्बन्ध बोक्छ। भाषाहरूले अनगिन्ती पुस्ताहरू संचित परम्परागत ज्ञान र ती ज्ञानका बारे जान्ने तरिकाहरूलाई प्रतिनिधित्व गर्दछन्। त्यसैले पुन जस्तो भाषाको समयमा नै संरक्षण गर्नु पर्दछ। भाषामा अन्तर्निहित जीवनपयोगी ज्ञानलाई निरन्तरता दिनु पर्दछ। भाषा बचाउने मूल मन्त्र भनेको भाषिक समुदायलाई बोल्न प्रोत्साहन गर्नु हो। भाषा बोलिएन भने मर्छ।
पुन भाषा अहिले शब्दगत तहमा रहेको छ। यसलाई समुदाय, स्थानीय निकाय, भाषाविज्ञ र भाषिक अभियन्ताको सहयोगबाट समुदायमा आधारित विभिन्न कार्यक्रमहरू तय गरेर जानु पर्दछ। जाति र भाषाको पहिचान भएमा मात्र संविधानले दिएको जाति र भाषाको हक सुनिश्चित हुन सक्छ र समावेशी र समतामूलक समाजको सृजना हुन सक्छ।
(भाषाविज्ञान केन्द्रीय विभाग, त्रि.विका सल्लाहकार रेग्मीले पुन समाज नेपालले फागुन २७ गते पोखरामा आयोजना गरेको कार्यक्रममा प्रस्तुत गरेको कार्यपत्र।)