रहर बोकेर सहर दौडने मानिसको भिडमा एक यात्री म अनि मेरा सपना पनि सहर जस्तै छन्- ठूला अग्ला अनि अनौठा।
आकासै छुने गरी बनेका ठूला गगन चुम्ने भवन तर फिक्का छ यो अनौठो सहर मेरो न्यायो गाउँभन्दा।
धेरै भिन्न छ, धेरै अनौठो छ, धेरै व्यस्त छ। यो अनौठो सहरमा म अपरिचित छु, लाग्छ यो सहर अनि मेरा सपना उस्तै-उस्तै छन्, छनको लागि सबै छन् तर आफ्नो भन्नलाई कोही छैनन्।
काठमाडौं, ‘राजाको सहर’, अनि त्यहीँ राजाको छिमेकी बन्न घर छोडेको म।
तातो रगत शरीर बोकी ठूला सपना बोकेर काठमाडौं छिरेको पनि आज धेरै भैसकेछ।
केही गरेर फर्कन्छु भनि घरबाट रातो अक्षता टाँसेर टाढिदिएको थिएँ। मनमा अनौठो कुरा खेलेका थिए।
आखिर कस्तो होला त ‘राजाको सहर’। केही सपना केही रहर अनि केही बाध्यता लिएर हिँडेको थिएँ। अझ भन्नु पर्दा राम्रो शिक्षाका लागि हिँडेको थिएँ।
मनमा छुट्टै उत्साह थियो। उमंग थियो। जोश थियो। मनमा कल्पना गरेको त्यो सहर आखिर कस्तो होला? प्रश्न धेरै थिए।
नेपालैभरिका मान्छे बस्ने ठाउँ जहाँ धेरैसँग भेट हुन्छ, चिनजान हुन्छ। त्यहीँ गएर नेता भइन्छ, कलाकार, ठूलो मान्छे भइन्छ भन्ने सपनाको सागरमा म डुबेको थिएँ।
अनेकौं सपना बुन्दै थियो मन। काठमाडौं गएर पढे राम्रो हुन्छ। काठमाडौं भनेको सपनाको सहर हो। अवसरका ढोका प्रशस्त हुन्छन्। अनि मेरो सहरको बसाइँ सुरू भयो, निकै भिन्न थियो सहर।
मेरो कल्पनाको सहरभन्दा निकै ठूला अग्ला भवन अनि व्यस्त मानिसको भिड। अनि थाहा भयो सहर र रहर उस्तै रहेछन् पैसा भएमात्र रमाइलो हुने।
निकै कठिन भयो सहरलाई बुझ्नको लागि।
अनौठो लाग्यो सहर, यो त पैसा वालाको सहर रहेछ। हामी जस्तालाई त यहाँ निकै धौधौ हुने रहेछ।
गाउँमा कहिले वल्लो घर कहिले पल्लो घर त कहिले हावा खान खेतबारी कुद्ने मलाई सहर त जेलजस्तो लाग्यो।
तिर्खा लाग्दा धाराको पानी धित मरून्जेल खाने बानी लागेको मलाई बोतलको पानी घाँटीबाट निल्न निकै कष्टकर भयो।
बारीमा फलेको तरकारी आमाको हातले जिरामात्र फुराएर बनाको पनि मीठो हुने मेरो मुखलाई बजारको तरकारी जतिनै मर मसला हालेर बनाए पनि खल्लो लाग्यो।
निकै भिन्न छ यो सहर मेरो गाउँको परिवेशभन्दा। यहाँ सहयोगको भावना अलि कम नै हुन्छ।
गाउँमा जस्तो चामल, तेल सकिँदा पैंचो ल्याउने, सापटी ल्याउने भन्ने जस्तो सजिलो हुन्न। न त मर्दापर्दा सहयोगी भावना भएका छिमेकी नै देखेको छु। न त यो सहरमा मानवता भन्ने चिज नै बाँकी छ।
गाउँ घरमा पशुपन्छीको मोल लगाए जसरी यहाँ मानिसको मोल गरेको पनि देखेको छु। त्यही पापी पेटको लागि सडकका पाटामा लडिरहेका वृद्धवृद्धा बाआमा हात फैलाएर देख्दा अनि सडकका बालबालिका अचेत अवस्थामा कुनै भविष्य नै छैन। त्यस्तो देख्दा लाग्छ साथमा पैसा छ सबै थोक छ, जब पैसा छैन पाइला रोकिन्छ, पैसा छ पाइला आफैं चालिन्छ ।
यही ठाउँमा म पनि संघर्ष गरिरहेको छु जीवनलाई नयाँ मोडमा पुर्याउन मेरा पाइला निरन्तर गतिशील रहनेछ।
सुनौलो त्यो भविष्यलाई खोजीमा यो वर्तमान अवस्थामा यही काठमाडौंमा संघर्षरत जीवन बिताइरहेको छु। निकै संघर्ष गरेर लडाइँ खेल्दै छु ‘राजाको सहर’मा पराजित को हुने हो थाहा छैन, समय र बाध्यतामा कसले आफ्नो ‘राजगद्दी’ बचाउन सक्ने हो थाहा छैन।