उसो त ५ वर्षको ब्याचलर पनि सकिन लाग्यो।
ऊबेला राम्ररी पढ्नु है भनि पचास रुपैयाँ हातमा थमाइदिएका छिमेकी अंकल, आँखाभरि आँसु पारेकी मम्मी दुई झाेला कपडा, भाँडा बोक्नु भएका बुवा, २/३ जना साथी अनि निधारमा रातो टीका र टीकामा रूमलिएको भाग्य लिएर काठमाडाैं आउँदै गर्दा सोचेको पनि थिइनँ कि छैठाै र आठाैं सेमेष्टरमा पुगेर मानव अधिकार कानून र लयरिङ स्किल भन्ने विषय लाग्ला भनेर।
अरे सोच्ने पनि कसरी! स्कुलमा सधैं फर्स्ट हुने वादविवाददेखि दाैड प्रतियोगितामा फेल हुनु भनेको त सर्वस्व सकिनु हो एउटा हरूवा हो भन्ने मानसिकता त थियो।
एकपटक अभिभावक भेलामा जिल्ला शिक्षा अधिकारी सामु स्कुलको पूर्वाधार बनाउन आएको बजेट पिकनिकमा रक्सी खाएर सकेको कुरा स्पिचमार्फत राखिदेको 'नानीलाई ल पढाउन पर्छ' भनेर स्कुलको आँगनमै बुवाले भन्नुभाे 'म त ल हो।
साह्रै बिजोगवाला सरकारी स्कुलको विद्यार्थी म ल भनेको कानून हो भन्ने नै थाहा थिएन।
भर्खर ६००० दिने इन्टर्नसिप पनि ज्वइन भएको 'लु पर्सनल खर्च टर्ने भो' भनेको १ महिनामै कोभिड आयो रे भनि घर गइयो। फेरि फिर्ता नि बोलाएनन्। हुन त शनि ग्रह पनि मध्य मै थियो, असारतिर छैठाै सेमेष्टरको रिजल्ट आयो मानव अधिकार कानूनमा त 0.0 अरे !
'यो टियूको त भर हुन्न कसरी चेक गर्छ गर्छ!', 'टियूको रिजल्ट को क्यै था हुन्न!, रि-टाेटलिङ गर्नुपर्छ!', 'तिमी त त्यस्तो मान्छे हैनौ, हुन त राम्रै पढ्नेलाई नि लागिराहुन्छ!', 'ए रिजल्ट त्यस्तो आएछ दु:ख लाग्यो!' इत्यादि सुनेपछि त कल नै रिसिभ गर्न छाडे। यता आफू प्लस टु मा पनि टपेपछि घर, छिमेकको आश झन बढेको थियो।
लकडाउनको बेला रि-टाेटलिङलाई समयमा निवेदन दिन पनि सकिनँ। विस्तारै खान, लाउन मन नगर्ने र म के गरिरहेछु भन्ने डिप्रेसनवाला विचार, आत्महत्या गर्ने विचार, पढाइ नै क्विट गरूँजस्तो, बरू विदेशतिर जाऊँ कि!, सबै कुराबाट मन उठ्दै गयो। एकछिन पनि घर बस्न मन गरिनँ र असार सकिन नपाउँदै जसोतसो घरमा त पढ्नै पाइएन भन्ने बहाना बनाएर झमझम असारे वर्षामा काठमाडाैं फिरें।
६ महिनाको सेमेष्टर २ महिनामा सकाउने विश्वविद्यालयले तोकेको अनलाइन क्लास पनि सुरू भयो।
काठमाडाैं फिरेको २ दिनमै हतार हतार गरी डिन कार्यालय जाँदा त निवेदन पेस गर्ने हदम्याद कट्यो अरे!
'लकडाउनको बेला कसरी समयमा आऊँ म' भन्दा त 'सबै कुरा तपाईंले भने जस्तो हुन्छ? हाम्रो कार्यालयमा भने जति कर्मचारी छैनन्, फेरि रि-टाेटलिङ समिति बस्न पर्यो!, रि-टाेटलिङदेखि रि-चेकिङसम्म यसको स्तर हुन्छ ५ देखि १० हजार खर्च गर्नुहुन्छ? आजसम्म गरिएको १०० रि-टाेटलिङमा १ जनाको मात्र बिग्रिएर मिलाका हाैं! नम्बर हाल्नेले पनि गल्ती त गरेन होला बरू यता समय खर्च गर्न भन्दा पढ्नुस्। अर्को पटक दिनुहोला' भनेर उता फर्की आफ्नो काम गर्न थाले।लेखेको निवेदन समेत लिएनन्।
त्यसो त पहिलो पटक फेल भएको अनुभव लिँदै थिएँ। धेरै नै आन्तरिक रूपमा कमजोर भएपछि एक थान मोटिभेसनल भिडिओ हेरें।
अब आउने सेमको लागि त मेहनत गरी पढ्छु भनें फेरि योभन्दा अघि पनि त मेहनत नगर्या हैन! ७ औं सेममा त पास भइयो। सकिनसकी बलियो मुटु पारेर सकेसम्म जुनियरले नदेखून् भन्ने पारेर लागेको विषय दिइयो। अरूले परीक्षा कस्तो भो भनि सोध्दा खै रिजल्टले बताउँला भन्ने समेत बनाइदियो।
फेरि राम्रो परीक्षा दिए भनेको के हो? सबै प्रश्न अटेम्पट गरेको? कि सबै उत्तर रटेर लेखेकको? म बुझ्थिनँ। म त बुझेको कुुरा लेख्ने मान्छे फेरि प्रश्न पत्रको टपमा पनि त Candidates are required to give their answer in their own words as far as practiciable लेखेकै हुन्छ ।
अतः अस्ति भर्खर ८ औं सेमको रिजल्ट आयो। सबै विषयमा A- आएछ तर लयरिङ स्किलमा भने 0.0 अरे! यसपालि समयमै ५०० रुपैयाँको भाैचरका साथ रि टोटलिङको निवेदन पेस गरियो। डिन प्रशासनको सबै कुरा उस्तै थियो तर यसपालि निवेदन भने रिसिभ भयो।
मानवीय तथा प्राविधिक त्रुटि भएको हुनुपर्छ नत्र ६० मा ३० नआउने गरी हरिबिजोग हुनेगरी पनि परीक्षा त दिएको हैन भन्ने पनि नभएको हैन।
अस्ति भर्खर मात्र पटक पटक टपेको साथीले स्थानिय सरकार भनेको के हो?, युट्युबमा बीच बीचमा एड किन आउँछ? नागरिक समाज भनेको के हो? जस्ता प्रश्न सोध्दा आधा घण्टा लाएर बुझाइदिएँ। अर्को टपर साथी भन्दै थिए- म त सकेसम्म धेरै पेपर थप्छु टियूले धेरै पेपर थप्दा धेरै नम्बर दिन्छ।
यता अर्कोतिर रि एक्जाम दिँदा, रि टोटलिङले गर्दा पैसा पनि खर्च भएको छ त्योभन्दा पनि मानसिक अवस्था कमजोर बनाएको छ।
फेरि टप गर्दा उत्सव मनाएजस्तै फेल हुँदा सर्वस्व गुमे जसरी रेस्पोन्स दिने घरमा पनि त यो सब कुरा नभनि बसेको छु।
फेरि यो विद्यार्थी राजनीतिक संघले पनि खै कहाँनिर सहयोग गर्ने रहेछन्? विद्यार्थीको १ वर्ष खेर फालिदिनुभन्दा १ महिना टाइम दिेएर त्यही समयमा रि एक्जाम दिएर रिजल्ट किन निकाल्न सक्दैन टियू? किन डिन प्रशासनमा कर्मचारी बढाउन सक्दैन?
यी सबै कुरा कैंयन् टियूका विद्यार्थीमा हुँदा किन डिनलाई प्रत्यक्ष भेटेर कुरा राख्न दिँदैन डिन प्रशासन? डिन प्रशासनको बजेट के भयो र मैले मेरै नतिजा हेर्दा ५ देखि १० हजार खर्चिनु पर्ने?
म त प्रतिनिधि पात्र मात्र हो फेरि फेल गराइनेहरूमा सबै असक्षम हुन्छन् भन्ने नि हुँदैन।
हुन त असक्षमता मानव निर्मित कुरा हो त्यसैले मेरो मनोबल कमजोर गराउने अधिकार कसैलाई नहोस्!
अब म पनि रटेर एक्जाम दिऊँ कि? यी र यस्तै कारणले गर्दा म टियू पीडित हुँ। हैन भने मेरो पीडक पत्ता लगाइयोस्।