विश्व स्वास्थ्य संगठनको परिभाषाअनुसार मुख एवं अनुहारको दुखाइ, मुख तथा घाँटीको क्यान्सर, मुखको संक्रमण, जन्मदै तालु तथा ओठ चिरेको, गिँजासम्बन्धी रोग, दाँत किराले खाने तथा झर्ने, दाँतमा प्वाल पर्ने तथा अन्य मुखसम्बन्धी रोगहरूबाट मुक्त हुने अवस्थाको रुपमा मुख स्वास्थ्यलाई व्याख्या गरेको छ।
मुख हाम्रो शरीरको प्रवेशद्वार हो र शरीरको ऐना पनि। हाम्रो शरीर स्वस्थ रहनको लागि मुख स्वस्थ हुनु जरुरी छ। यही मुख स्वास्थ्यसम्बन्धी जनचेतना जगाउन आज (मार्च २०) विश्वभरि 'आफ्नो मुखबारे गर्व गरौँ' भन्ने नाराका साथ मुख स्वाथ्य दिवस मनाइँदैछ।
विश्व स्वास्थ्य संगठनका अनुसार मुखसम्बन्धी रोगहरूको रोकथाम गर्न सकिने भए तापनि विश्वभरि करिब ३.५ अर्ब मानिसहरू प्रभावित छन्। यसको अर्थ हरेक दोस्रो मानिसमा मुखसम्बन्धी समस्या छ भन्ने हो। रोकथामका उपायहरू बारे जनचेतनाको अभाव र उपचारको अभावजस्ता कतिपय कारणले गर्दा मुखसम्बन्धी रोगहरू विशेष गरी अल्पविकसित देशहरूमा जनस्वास्थ्य समस्याको रुपमा स्थापित भइसकेका छन्।
रोकथाम गर्न सकिने हुँदाहुँदै पनि यी रोगहरू धेरै देशमा प्रमुख स्वास्थ्य समस्याको रुपमा रहेका छन् र मानिसहरूमा दुखाइ, असहजता, विकलांगता र मृत्युसम्म गराउँछन्। अरु रोगहरूजस्तो मृत्युदर उच्च नभएको हुनाले निम्न वा निम्न-मध्य आय भएका देशहरूमा मुख स्वास्थ्यसम्बन्धी समस्याहरूको रोकथाम तथा उपचार प्राथमिकतामा पर्न सकेको छैन। साथै मुखका समस्याहरूको उपचार महँगो छ र स्वास्थ्य सेवामा सर्वव्यापी पहुँच (युनिभर्सल हेल्थ कभरेज) भित्र समेट्न सकिएको छैन।
नेपालको संविधान, २०७२ ले स्वास्थ्यलाई मौलिक हकको रुपमा स्थापित गरेको छ। संविधानको धारा ३५ मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ भनी उल्लेख गरिएको छ। यसै संविधानको भाग ५ धारा ५७(४) अनुसार अनुसूची ८ बमोजिमको आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न स्थानीय तहलाई एकल अधिकार प्रदान गरिएको छ।
यो व्यवस्था कार्यान्वयन गर्न उपचारात्मक सेवा महाशाखाले आधारभूत स्वास्थ्य सेवा, २०७५ तयार गरेको छ। यसअन्तर्गत मुखभित्रको संक्रमणको निदान तथा प्रारम्भिक उपचार तथा प्रेषण परामर्श र मुखको घाउ, दाँतको दुखाइको लाक्षणिक उपचार तथा प्रेषण परामर्श समेटिएको छ।
संविधानले राज्यका नीतिहरू अन्तर्गत धारा ५१ को (ज)मा नागरिकहरूलाई स्वस्थ बनाउन जनस्वास्थ्यको क्षेत्रमा लगानी अभिवृद्धि गर्ने, गुणस्तरीय स्वास्थ्य सेवामा सबैको सहज, सुलभ र समान पहुँच सुनिश्चित गर्ने, राज्यको लगानी बढाउनुका साथै निजी लगानीलाई नियमन तथा व्यवस्थापन गर्दै सेवामूलक बनाउने, स्वास्थ्य अनुसन्धानमा जोड दिने, स्वास्थ्यकर्मीर्को संख्या वृद्धि गर्दै जाने नीति लिएको देखिन्छ।
नेपाल सरकारले स्वास्थ्य नीति र नसर्ने रोग सम्बन्धी कार्यनीतिसँग समन्वय गरेर कार्य गर्ने गरी नेपाल मुख स्वास्थ्य नीति २०७१ पनि तर्जुमा गरेको छ। मुख स्वास्थ्यको प्रवर्द्धन तथा रोगहरुको नियन्त्रण गर्ने, मुख स्वास्थ्यसम्बन्धी सेवामा सबैको पहुँच सुनिश्चित गर्ने, निरन्तर निगरानी, अनुगमन तथा मूल्यांकन र अनुसन्धानलाई प्राथमिकता दिने, स्वास्थ्य नीति तथा प्रणालीमा मुख स्वास्थ्यमा प्राथमिकीकरण गर्ने, मुख स्वास्थ्यको विकासको लागि अन्य क्षेत्रहरूसँग साझेदारी गर्ने र स्वाथ्य प्रणालीको सुदृढीकरण गर्ने लगायतका यस नीतिका महत्वाकांक्षी उद्देश्यहरु छन्।
सन् २०२४ सम्म केन्द्रमा विशिष्ट सेवा रहेको रिफरल अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्रदेखि सबै अस्पतालहरुमा उपचार गर्ने जनशक्तिको दरबन्दी सिर्जना गर्ने लगायतका लक्ष्य राखेको राष्ट्रिय मुख स्वास्थ्य नीतिको कार्यन्वयन भने निकै नै फितलो भएको प्रष्ट देख्न सकिन्छ। सन् २०२४ सम्म गरिसक्ने भनिएको राष्ट्रिय सर्वेक्षणको काम अहिलेसम्म हुन सकेको छैन। मुखसम्बन्धी रोगहरूको तथ्यांक नहुँदा रोकथाम तथा उपचारसम्बन्धी कार्य योजना तयार गर्न स्वयम् सरकारलाई नै अप्ठ्यारो भएको कुरा बुझ्न गाह्रो छैन।
दस वर्षमा लक्ष्य पूरा गर्ने गरी तर्जुमा गरिएको यस मुख स्वास्थ्य नीतिको मुख्य समस्या भनेको नीति बनाउँदा देशको मुख स्वास्थ्यको अवस्था बारे तथ्यांक उपलब्ध थिएन। नीतिले फलाना प्रतिशतले घटाउने भनेर लक्ष्य लिँदै गर्दा अहिले कति प्रतिशतमा यो समस्या छ भन्ने पत्तै थिएन। पहिला केन्द्रमा स्थापना गर्ने भनिएको विशिष्ट सेवा रहेको रिफरल अस्पताल अब हरेक प्रदेशमा स्थापना गर्नु वान्छनीय देखिन्छ। दरबन्दी सिर्जना गर्ने त टाढाको कुरा भयो, भएका दरबन्दीमा पदपूर्ति गर्न नसकिएको तितो यथार्थ हाम्रोसामु छ।
देश संघीयतामा गइसकेको सन्दर्भमा प्रदेश सरकार अन्तर्गत रहेका स्वास्थ्य हेर्ने मन्त्रालय (सामाजिक विकास/स्वास्थ्य मन्त्रालय) हरूले पनि मुख स्वास्थ्यलाई समेटेर जानुपर्ने आवश्यकता देखिन्छ। स्वास्थ्यका सूचकहरूलाई उकास्ने उद्देश्य राख्नु राम्रो हो तर २१औं शताब्दीमा आएर मृत्युदर घटाउनु र औसत आयु बढ्नुलाई मात्रै सफलताको कसी मान्न सकिँदैन। जीवनको सम्पूर्ण गुणस्तरलाई माथि उठाउने गरी काम गरिनुपर्छ।
मुख स्वास्थ्य दिवस मनाउने सन्दर्भमा 'अरु महत्वपूर्ण काम छ, यो गर्न सकिँदैन' भनिने अवस्था आउनु दुर्भाग्यपूर्ण छ। यो पनि महत्वपूर्ण काम हो भन्ने भावना नेतृत्वकर्ताहरूमा भएन भने हामी कतै पुग्न सक्दैनौँ। केन्द्र सरकार अन्तर्गत बनेको राष्ट्रिय मुख स्वास्थ्य नीतिलाई प्रदेश सरकारहरूले पनि स्वामित्व लिएर आफ्नो अवस्थाअनुसार कार्यान्वयनमा लैजान सक्नुपर्छ।
उपचारात्मक सेवा महाशाखा अन्तर्गत रहेको आँखा, नाक, कान ,घाँटी तथा मुख स्वास्थ्यसम्बन्धी शाखाले मुख स्वास्थ्य सबैको पहुँचमा पुग्ने गरी कार्य गर्दैछ। शाखा प्रमुख तथा प्रमुख कन्सल्टेन्ट डेन्टल सर्जन डाक्ट प्रकाश बुढाथोकीका अनुसार अर्को वर्षसम्म केन्द्रीय तथा प्रादेशिक रिफरल अस्पतालहरुको डिपीआर तयार गर्ने योजना रहेको छ। सबै तहहरूमा भौतिक पूर्वाधार, उपकरणहरूको आपूर्तिलाई विस्तार गर्न बजेट रकम वृद्धि गर्न जरुरी छ।
मुख स्वास्थ्य सेवालाई आमा, बच्चा, वृद्ध र जोखिममा रहेका समूह र पहुँचविहीन समुदायमा पुऱ्याउन सकेमा मात्र समग्र स्वास्थ्य राम्रो बनाउन मद्दत पुग्छ। यस सन्दर्भमा बझाङमा जेष्ठ नागरिक लक्षित कृत्रिम दाँत शिविर आयोजना गरिएको छ। अर्को शिविर छिट्टै पूर्वी नेपालमा पनि गर्ने योजना उपचारात्मक सेवा महाशाखाको रहेको छ। यसरी सेवा पुऱ्याउँदा दक्ष जनशक्ति परिचालन गर्नुपर्छ भन्ने कुरामा दुई मत छैन।
नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको दन्तचिकित्सकको नेतृत्वमा मुख स्वास्थ्य सेवा प्रदान गर्ने टिम सबै तहमा पुऱ्याउने तर्फ हामीले ध्यान पुऱ्याउनु पर्छ। देशमा भइरहेको कच्चा वैद्यगिरीको नियन्त्रण नभएसम्म गुणस्तरीय सेवाको सुनिश्चितता गर्न सकिँदैन।
नेपाल सरकारले दक्ष जनशक्ति उत्पादन गर्न हरेक वर्ष छात्रवृत्ति प्रदान गर्छ। चिकित्सक तथा विशेषज्ञ चिकित्सक उत्पादन गरे पनि सो जनशक्तिको कसरी प्रयोग गर्न सकिन्छ भन्ने बारेमा ठोस कार्य योजनाको अभाव देखिन्छ। ओरल सर्जरी, पिडोडोन्टिक्स, पब्लिक हेल्थ डेन्टिस्ट्री लगायतका विभिन्न विषयमा छात्रवृति प्रदान गरिन्छ, जुन सकारात्मक छ। अब यसरी उत्पादन भएका जनशक्तिको सदुपयोग गर्ने बारेमा योजना बनाउन ढिलो गर्नु हुँदैन।
मुख स्वास्थ्यका बारेमा जनचेतना फैलाउने काममा पनि केही प्रगति भएको छ। देशमा सबै पालिकाहरूसम्म महिला स्वास्थ्य स्वयमसेविकाहरूलाई मुख स्वास्थ्यसम्बन्धी अभिमुखीकरण गर्ने कार्यक्रम अहिले भइरहेको छ। त्यसैगरी शिक्षक शिक्षिकाहरूलाई पनि मुख स्वास्थ्य प्रवर्द्धनमा सहभागी गराउने गरी कार्य हुनु सुखद् पक्ष हो।
स्वस्थ जीवनयापनका लागि असल बानी बसाल्ने काम सानै उमेरका बालबालिकाहरूदेखि नै सुरु गर्न सकियो भने प्रभावकारी हुन्छ। मुख स्वास्थ्य, कान, र आँखा सम्बन्धी जाँच कार्यक्रम पनि अहिले विद्यालयमा भैरहेका छन्। राम्रो बानी अवलम्बन गर्न सजिलो हुने अवस्था निर्माण गर्न समाजका सबैले सहभागी हुनुपर्छ।
व्यक्तिगत सरसफाइमा ध्यान दिने, सुर्तिजन्य पदार्थ जस्तै: चुरोट, बिँडी, खैनी, गुट्खा आदि सेवन र मद्यपान नगर्ने, पौष्टिक खानेकुरा सेवन गर्ने हो भने धेरै स्वास्थ्य समस्याहरूबाट बच्न सकिन्छ। यस सन्दर्भमा स्याङ्जाको वालिङ नगरपालिकाको सुर्तीजन्य पदार्थको नियन्त्रण तथा नियमनको लागि सम्पूर्ण जनप्रतिनिधि तथा कर्मचारीहरुले आफू सेवन नगर्ने र अरुलाई पनि नगर्न प्रेरित गर्ने निर्णय उदाहारणीय छ। यस्ता कदमहरु स्वतस्फूर्त रुपमा सबै स्थानीय निकायहरूले गर्न सक्ने हो भने देशको स्वास्थ्य स्थिति सुधार गर्न ठूलो योगदान हुन्छ।
सन् २०२१ को जनवरी महिनामा विश्व स्वास्थ्य संगठनको ७४ औं महासभाले मुख स्वास्थ्यसम्बन्धी ऐतिहासिक संकल्प पारित गरेको थियो। सो संकल्पले आफ्ना सदस्य राष्ट्रहरूलाई मुखका रोग र अन्य नसर्ने रोगहरूका कारक तत्वहरू जस्तै: चिनीको उच्च प्रयोग, सुर्तीजन्य पदार्थको उपयोग, मद्यपानलाई कम गर्नतिर लाग्न अनुरोध गरेको छ। स्वास्थ्यकर्मीहरूको क्षमता अभिवृद्धिमा पनि ध्यान दिनुपर्ने सो संकल्पको राय छ।
त्यस्तै, परम्परागत उपचारात्मक पद्धतिभन्दा रोकथामका उपायहरू अवलम्बन गर्नु उपयुक्त हुने उक्त संकल्पले पैरवी गेरको छ। परिवार, काम गर्ने ठाउँ, विद्यालयजस्ता ठाउँहरूमा मुख स्वास्थ्य प्रवर्द्धनलाई जोड दिनुपर्ने आवश्यकता पनि औँल्याइएको छ। प्राथमिक स्वास्थ्य उपचार केन्द्रहरूसम्म मुख स्वास्थको उपचार समयमै सम्पूर्ण रुपमा गर्नको लागि समतामूलक रुपमा व्यवस्था गर्न पनि अनुरोध गरेको छ।
समग्रमा आज पर्न गएको विश्व मुख स्वास्थ्य दिवसले मुख स्वास्थ्य सुदृढीकरणका बारेमा छलफल गर्ने मौका प्रदान गरेको छ। यस बारेमा सम्बन्धित निकायहरूबीच घनीभूत अन्तरक्रिया भएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव र नीतिहरूलाई हृदयंगम गर्दै बृहत्तर कार्ययोजना निर्माण गरी अगाडि बढ्नु पर्ने आजको टड्कारो आवश्यकता हो।
(डाक्टर जोशी सुदूरपश्चिम सामाजिक विकास मन्त्रालयमा कार्यरत छन्।)