वर्ग संघर्षको मध्यतिर हुनुपर्छ, हेडक्वाटरबाट फर्माइस सर्कुलर भयो रे। बुर्जुवा शिक्षा विरुद्ध धावा बोल्ने भनेर। तत्कालीन शिक्षाविरुद्ध प्रहार गर्ने र स्कुलबाट निस्कँदै गरेका विद्यार्थीलाई क्रान्ती यात्रामा लामबद्ध गराउने।
म कक्षा १० मा पढ्दै थिएँ। एक हुल कमरेडहरू स्कुलभित्र पसे। सबै विद्यार्थीलाई जम्मा गराइयो। कमरेडहरूको पहिलो निशानामा पर्यो महेन्द्र माला। सामन्तीहरूको भजन नपढ्ने भन्दै कमरेड क्षितिजले विद्यार्थीहरू माझ आगो ओकल्नु भयो। हामीले परररर ताली बजायौँ। त्यो उर्दी पनि थियो-
'विद्यार्थी साथीहरू हामी यो व्यवस्थाविरुद्ध मिसायल बनेर सामन्तीविरुद्ध पड्किन तयार हुनुपर्छ। किताब राखेर यी हातले बन्दुक समाउनु पर्छ र सामन्तका विरुद्ध तेर्स्याउनु पर्छ। हामीले समान शिक्षा र समान हैसियत सहितको व्यवस्था बनाउने यात्रामा समाहित हुनुपर्छ। जब हाम्रो व्यवस्था आउँछ तब हामी क्रान्तिकारी/वैज्ञानिक शिक्षाद्वारा उत्कृष्ट शिक्षाको व्यवस्था गर्नेछौँ। प्रत्येक लडाइँका वर्षहरू तपाईंको शैक्षिक योग्यताको प्रमाणपत्र बन्छन्। उत्कृष्ट प्रदर्शन ग्रेड झैँ जोडिन्छ। अहिलेको शिक्षा, शिक्षा हैन यो राजा महाराजाको स्तुती हो, बुर्जुवा शिक्षा हो, काम नलाग्ने शिक्षा हो।'
फेरि हामीले ताली बजायौँ।
त्यो दिन शिक्षकभन्दा हामी शक्तिशालीजस्ता भएका थियौँ। हामीसँग कमरेड क्षितिजजस्तै धेरै कमरेडहरू थिए तर शिक्षकहरू माथि धेरै आरोप थिए।
फेरि कमरेड क्षितिजले शिक्षक तिर निशाना लगाउँदै भन्नुभयो- 'सर, तपाईंहरू अहिले हामी क्रन्तिकारीको विरुद्ध लागिरहनु भएको छ भन्ने सुनेको छौँ। तपाईंहरू सामन्तीहरूका मतियार हुँदै हुनुहुन्छ भन्ने सुनेका छौँ। यदि यो सत्य हो भने यो तपाईंहरूमाथि भारी पर्नेछ। कोही रक्सी खानुहुन्छ। कोही जुवा-तास खेल्नुहुन्छ भन्ने नि सुनिएको छ। खबरदार! यो हाम्रो अन्तिम चेतावनी हो। कोही यस्तो गर्दै हुनुहुन्छ भने छोडिहाल्नुस् नत्र जनअदालतको निर्णय स्वीकार्नुबाहेक अर्को केही उपाय हुने छैन। '
बिसि सर छेउमा हात बाँधेर निन्याउरो अनुहारमा उभिरहनु भएको थियो। अरु सरहरू त्यतै छेउछाउ दर्शकदीर्घामा निन्याउरा अनुहारमा खडा थिए। अन्तिमतिर कमरेड क्षितिजले अर्को घोषण गरे- प्रत्येक महिनाको दस दिनको तलब क्रन्तीलाई सहयोग गर्ने। त्यो बेला कमरेड क्षितिजको जे निर्णय हुन्थ्यो त्यो कानुन सरह लागु हुन्थ्यो।
कमरेड क्षितिज छुस्स दारी पालेका खिनाउरो शरीर तर तेजिलो आवाज भएका क्रान्तिकारी थिए। हामीलाई नि लाग्यो साँच्चै अब परिवर्तन गर्छ भने कमरेड क्षितिजकै पार्टीले गर्नेछ। क्रान्तिकारीहरूले नै गर्नेछन्। र हामीले पनि यो यात्रामा साथ दिनुपर्छ र सामन्ती शासनविरुद्ध धावा बोल्नु पर्छ।
त्यो त्यस बेलाको तस्बिर थियो। समय बदलिँदै गयो। क्रान्तिकै मोर्चामा ट्याम्के डाँडातिर हुँदा हाम्रो गणतान्त्रिक रेडियोले राज्य र विद्रोहीबीच शान्ती सम्झौता भएको समाचार फुक्यो। हामी क्रान्तीले नै सत्ता कब्जा गरेर हाम्रो शासन स्थापित गर्ने भन्दै थियौँ। उता नेतृत्वले सहमती गरेर क्रान्ती बीचमै छोडेको पो हो कि भन्ने धेरै कमरेडहरूलाई नलागेको हैन तर बध्यता, नेतृत्वको निर्देश पालना गर्ने कसम खाएर युद्धमा छिरेका हामी साना कमरेडहरू नेतृत्वको निर्णयसँग समाहित भयौँ।
समय बदलियो, बन्दुक बिसाइयो। दिन बित्दै गयो, समय बित्दै गयो। हाम्रो पार्टी सरकारमा नि गयो। तर हिजो सँगै एउटै क्रान्तिमा हिँडेका कमरेडहरूमा फेरि वर्ग विभाजन भयो। हामीलाई नेतृत्व गर्ने कमरेड क्षितिज सहर पस्नु भयो, हामी गाउँतिरै।
आज क्रान्ती सकिएको पनि लगभग १५/१६ वर्ष भैसक्यो। थुप्रै आशा र आकांक्षाले युद्धलाई शीरोपर गरेको समाज जहाँ थियो त्यही छ। शिक्षा त्यस्तै छ, स्वास्थ्य त्यस्तै छ। गाउँका दुःख तिनै छन्। नियमित रुपले आउने विकासबाहेक फड्किएर कुनै उधुम भएकै छैन। जनताले ओहो! भन्ने केही काम भएकै छैन। तिनै देशलाई कायापलट गर्छु भन्ने क्रान्तिकारिहरूले कयौँ पटक राज्य सञ्चालन गर्दा पनि अवस्था नबदलिँदा निराशाका स्वरहरू यत्रतत्र सुनिन्छन् अचेल।
देश परिवर्तन गर्ने आधारभूत आधार भनेको शिक्षा नै हो। गुणस्तरीय शिक्षा र त्यसबाट उत्पादित जनशक्ति परिचालन गरेर अहिलेका विकसित देशहरूले विकास गरेको सत्य इतिहासमा तथ्य छ। तर हाम्रो देश र परिवर्तन गर्ने आशा बोकेर क्रान्ती गरेका क्रन्तिकारीबाट पनि केही परिवर्तनको गुन्जायस जनताले पाउन सकेका छैनन्।
आज तिनै जनयुद्धका कामरेड शिक्षा मन्त्री हुनुहुन्छ। कयौँ वर्ष क्रान्तिकारी कमरेडहरूले शिक्षा मन्त्रालय चलाउनु भयो। खै त खासै शिक्षामा परिवर्तन भएको देखिँदैन?
हिजो कमरेडले किताब फ्याँकेर बन्दुक बोक्न लगाउँदाको भन्दा खराब शिक्षा प्रणाली चल्दै गर्दा पनि तपाईंहरू चुप हुँदा तपाईंहरूको स्वार्थको नारामा हामी मोहरा बनेको रहेछौँ किन नभन्ने? हामीलाई जवाफ कहिले दिने?
हिजो बन्दुक बोक्नेहरूको हालत नाजुक छ कमरेड। हिजो हाम्रा नारा आफ्नै देश बनाउने क्रान्तिकारी शिक्षा, वैज्ञानिक शिक्षाले समाज रुपान्तण गर्ने भन्ने कहाँ गयो आज? आज सहरका ठूला-ठूला व्यापारीका स्कुल क्याम्पस उद्घाटन गर्दै तिनै शिक्षाका व्यापारीलाई नायक भन्दै भाषण गर्दैगर्दा गरिबको स्कुलको अवस्थाले सराप्दैन कमरेडहरूलाई?
आज तिनै क्रान्तिकारीहरू सत्तामा रहिरहँदा परिवर्तनको आभास पटक्कै भेटिँदैन। सीमित केही नेतृत्वमा बस्नेहरू नै सत्ताको चास्नीमा डुबिरहेका छन्। तिनले आज हिजोका सहयोद्धा कमरेडहरू भुलिसके। आज उनीहरू सुकिला मुकिला र चिल्ला गाडीमा हिँड्छन्। हिजो सँगै भएकाहरू आज उनीहरूलाई गनाउँछन्। उनीहरू असभ्य लग्छन्, फोहोरी लग्छन्।
वर्गीय भावनाले छुँदैन अचेल उनीहरूलाई। सिमान्तकृत र निम्न वर्गको आत्मसम्मन सुरक्षा र ग्रामीण शिक्षामा कतै गोष्ठीमा भाषण दिएर आएको कमरेड सडक पेटीमा साग बेच्दै गरेकी आमालाई हिलो छ्याप्दै गाडीमा हुँइकिन्छ तर ओर्लिएर हलखबर सोध्दैन। पाँचतारे होटलतिर विदेशी रक्सीका प्याला तान्दै पेरिसको अत्तर छर्किएर गरिबका भाषण दिएर तिनैलाई भजाएर नवधनाड्य बन्दैछन् कमरेडहरू।
राज्यले शिक्षाबाटै वर्ग विभाजन गरिरहेको छ। शिक्षा अब व्यापारीको हातमा गैसक्यो। पैसा हुने र सम्पन्न वर्गले मात्र बिकाउ शिक्षा पढ्न पाउँछ अचेल यहाँ। गरिब किसान र मजदुरको छोराछोरी पढ्ने स्कुलको हालत कस्तो छ? कस्तो शिक्षा पाइरहेका छन् र त्यहाँबाट निस्किएको जनशक्तिले कस्ता अवसर पाएका छन्? त्यो शिक्षाले कति सहज जीवन बनाएको छ? कसले हिसाबकिताब गरेको छ र गर्नेछ? बडो अन्यौल छ यहाँ।
गरिब किसानका छोराछोरी पढ्ने विद्यालय अचेल राजनीतिक दलका परेड खेल्ने ठाउँ भएका छन्। व्यवस्थापन समितिको गठन गर्ने नाममा महिनौँ बहस र विवाद हुन्छ। को अध्यक्ष, को सदस्य बन्ने कुरामा धेर बहस हुन्छ। कसले कुन पार्टी समर्थित मास्टर ल्याउने भन्ने होडबाजी हुन्छ।
कुन पार्टी समर्थित हेडमास्टर बनाउने भन्ने लुछाचुँडीले कयौँ दिन पढाइमा अवरोध हुन्छ। तर त्यहाँ कस्तो शिक्षा दिने आउने पिँढीलाई कस्तो बनाउने भन्ने बारेमा कसैको ध्यान छैन, कसले आफ्नो मान्छे भर्ना गर्ने कसको सरुवा गर्ने, को रहने को जाने, त्यस्तैका मिटिङ हुन्छन् स्कुलमा अचेल। खै कसको ध्यान जाने त्यता?
शिक्षामा प्राविधिक कुरा के हुन्? कसले बहस गर्दैन। न त राज्य न त स्थानीय? आज हरेकलाई राजनीतिक नशा मात्र छ, स्कुलमा शिक्षा सुधारका विषयमा कुनै बहस छलफल कदापि हुँदैनन्। विद्यार्थीको गुणस्तरको नियमन पनि त्यस्तै हो। दिन सकाएर लिइने परीक्षा र प्रकृया गत रिजल्ट त्यति नै हुन्छ स्कुलमा अचेल।
सबैलाई ठूलो बन्नु मात्र छ
क्रान्तिकारी शिक्षा भनेको त्यही शिक्षा हो कमरेड जहाँ तिनै महेन्द्र मालाका जस्तै कसैका गुनगान पढ्नु पर्छ? कसैका कथा, कविता पढ्नु पर्छ? पढे पनि हुन्छ, नपढे पनि हुन्छ। तपाईंको सरकारले तोकेको पासपोर्ट बनाउने उमेरको मापदण्ड नपुगुन्जेल दस-चार बजाउनु पर्छ। विद्यार्थीलाई जीवन जिउने शिक्षा कहिले दिने कमरेड? उसलाई कसैको गुलामी नगरी बाच्न सक्ने कसरी बनाउने? शिक्षा त्यस्तो हुनु पर्ने हैन र?
हिजो युद्धमा हुँदा त यस्तै-यस्तै बहस हुन्थ्यो तर आज केले छेकेको छ कमरेड? यही हो तपाईंहरूले भनेको क्रन्तिकारी शिक्षा जहाँ परीक्षामा गाइड, गेसपेपर सारेर अझ मिलेसम्म सेटिङमा मास्टरले नै उत्तर लेखिदिन्छ्न्? यही हो क्रन्तिकारी वैज्ञानिक शिक्षा? त्यस्तोबाट आएको जनशक्तिले कहाँको परिवर्तन होला त? त्यही विदेशीको नोकर बन्न जनु शिवाय के होला सोच्नुस् त? तपाईंहरूले दिँदै गरेको शिक्षाले कसले के उपलब्धी गर्दैछन्? तपाईंहरूले दिएको शिक्षाले समाजलाई के योगदान गर्यो? उसको व्यक्तिगत जीवन कति समृद्धि भयो? खै त लेखाजोखा? तपाईंले दिएको शिक्षा र सर्टिफिकेट दराजमा थन्क्याएर अरबको मरुभूमिमा पसिना बेच्न विवश हुने के शिक्षा हो त्यस्तो? पटक्कै चित्त बुझेको छैन।
एउटा मास्टरले कसरी पढाइरहेको छ भनेर कुनै निकाय सोध्न आउँदैन। कति दिन हाजिर भयो भन्दा पनि कति गुणस्तरीय पढायो भन्ने हुन्छ मास्टरको काम। तर कसले हेर्छ त्यो विषय? एउटा स्कुलका विद्यार्थी कति सक्षम, कति असक्षम भनेर कति हेडमास्टरले नसियत र पुरस्कार पाएका छन्? कति स्कुल नतिजामा नील (शून्य) हुँदा कति हेडमास्टरको जागिर गयो? कति विषयगत मास्टरको जागिर गयो?
हिजो बुर्जुवा शिक्षा भनेर किताब फालेर बन्दुक बोकाउने कमरेड शिक्षा मन्त्री हुँदै गर्दा के-कस्ता अपेक्षा राख्ने? शिक्षा सुधारमा के-के गर्ने? क्षणिक प्रचारबाजीमा काठमाडौँका केही सरकारी स्कुल कलेज भ्रमण गरेर दूरदराजका स्कुलको मापन गर्न सकिँदैन कमरेड मन्त्री ज्यु। खोटाङ, ओखलढुङ्गा, सोलु, कर्णाली, सर्लाही, सिराहा सप्तरीका सरकारी विद्यालय घुम्नु पर्छ अनि थाहा हुन्छ दयानक शिक्षा। अहिलेको समयमा १२ कक्षासम्म पढ्दा कम्प्युटर के हो थाहा छैन विद्यार्थीलाई। पानी कसरी बन्छ, एउटा प्रविधि ल्याब छैन।
कमरेडहरूको सरकारले शिक्षालाई व्यापारीको जिम्मा लागाएको छ। हुनेखानेहरूले पैसा तिरेर गुणस्तरीय शिक्षा लिँदा हुँदा खानेहरूले त्यही पुरातन प्रणालीको शिक्षामा भर पर्नु परेको छ। हिजो समान शिक्षाको वकालत गर्ने कमरेड मन्त्रीको कुर्सीमा बसिरहँदा, वर्गीय शिक्षा प्रणाली हुँदै गर्दा त्यसलाई हेर्ने आँखामा पट्टी कसले लगाइदियो? शिक्षालाई वर्गीय बनाउँदै गर्दा अवसर नि वर्गीय रुपमै जाँदो रहेछ। सहरका निजी स्कुलका उत्पादनले गाउँका सामुदायिक स्कुलका विद्यार्थीलाई अवसरमा छेउ पर्न दिँदैनन्। यस्तोमा कसले ध्यान दिने?
सरकारी शिक्षाले खाडी र कोरिया जाने जनशक्ति मात्र उत्पादन गर्ने? त्यसो हो भने किन आवश्यक छ यो नबिक्ने शिक्षा? किन बेकारको दुःख! उमेर पुगेपछि पासपोर्ट बनाइदिने र खाडी पठाउने। खाडीलाई मलिलो पार्न चाहिँदैन सर्टिफिकेट त्यहाँ। चाहिन्छ केवल तन्दुरुस्त र बलियो शरीर।
सुन्दै छु कमरेडहरूका छोराछोरी कोही अमेरिका, अस्ट्रेलिया तिर पढ्दै छन् रे। कोहीका युलियन्स, रातो बङ्गला तिर। तर सँगै बन्दुक बोक्ने वीरे दाइको छोरो दस फेल भएर अरब गएछ। नाति 'क' माने कछुवा, 'ख' खरायो पढ्दै छ। युलियन्स पढ्ने कमरेडको छोराहरू पाँचतारे मापदण्डको स्कुलमा 'ए' फर एप्पल, 'बि' फर बल पढ्दै छन्। भोलि त्यही 'ए फर एप्पल' वालाहरूले सबै प्रतिस्पर्धामा 'क माने कछुवा'लाई जित्ने छ।
अनि वीरे दाइको नाति अरब लाग्नै पर्नेछ। यस्तैबाट वर्गीय समाजको जन्म हुन्छ। वर्गीय द्वन्द्व हुनेछ।
शिक्षा राज्यको दायित्व हो भनेर संविधानमा लेख्ने बित्तिकै नहुँदो रहेछ। त्यसलाई व्यवहारमै उतार्ने सपूतहरूको खाँचो यो देशलाई चाहिरहेको छ। तर देशले सपूत जन्माउन नसकेको हो कि सपूतहरू नै अवसर पाएपछि बिग्रिने हुन्, यो प्रश्न खड्किँदो छ।
कमरेड, तपाईं सपूत कहिले हुने? कैले वीरे दाइहरूको परिवारले नि तपाईंको परिवारको जस्तै शिक्षा पाउने? कहिले जीवन सहज हुने? प्रश्न प्रश्नमै सीमित नहोस्। उत्तरको आशा जीवित नै छ कमरेड।