टियूको गेटनिरको ग्लोबल आइएमईको एटिएममा लाइन बस्दै गर्दा मभन्दा पछिल्लो एक जना दाइकोमा फोन आयो।
'हेलो बुवा, हजुरको फोन रिसिभ भएन अघि, म मुस्ताङको लागि साँझ ६ बजे निस्कँदैछु, ममीलाई पनि खबर गर्दिनुहोला'।
कोसँग जाँदैछस् भन्ने प्रश्न आयो होला सायद दाइले न्रम हुँदै 'टेन्सन नलिनुस्, म मेरा राम्रा साथीहरूसँग जाँदैछु, बाइक छ साथीहरूसँग, पैसाको टेन्सन लिनुपर्दैन केटाहरू सहयोग गर्ने छँदैछन। भन्दै थिए।
मेरो पालो आयो, अनि म भित्र पैसा निकाल्नलाई छिरे। दिमागभित्र 'राम्रो साथी' भन्ने शब्दले नराम्रोसँग झड्का दिएछ सायद तीन पटकसम्म पिन कोड हान्दा समेत मिलेन।
म बाहिरकालाई हतार होला भन्दै निस्केँ। साइडमा उभिएर लामो सास फेरेँ। दश मिनेटपछि सबै जना पैसा निकालेर आफ्नो बाटो हिँडिसकेका थिए। अनि म फेरि भित्र छिरेँ, यो पटक चाहिँ त्यही पिन हान्दा काम गर्यो। पैसा निकालेर हिँड्दै कलेजतिरको बाटो लागेँ।
बाटोमा आउँदै गर्दा फेरि दुई जना केटा र केटी कुरा गर्दै म भन्दा अघि अघि हिँडिरहेको भेटेँ। कुरा सुन्दिनँ भन्दाभन्दै पनि कानमा कुराकानीको आवाज गुन्जिन थालिहाल्यो।
'त्यस्तो होइन नि सन्देश, ऊ त मेरो राम्रो साथी मात्र हो, तिमी त्यस्तै जे पनि सोच्दिने!' भन्दै केटीले केटालाई बुझाउँदै थिइन्।
यो पटक फेरि 'राम्रो साथी' भन्ने शब्दले मलाई सोच्न बाध्य बनायो।
म कसैको राम्रो साथी छु या छैन? राम्रो साथी हुँ या होइन? सुन्दामात्रै आनन्द दिने शब्दजस्तो लाग्थ्यो। तर जब आफूले आफैंलाई प्रश्न गर्दा साह्रै तीतो महसुस भयो।
मैले मभित्रैबाट जवाफ पाउन सकिनँ।
ह्या के हावा हावा सोचिरा होला भन्दै आफूसँग बोल्दै अघि बढिराखेँ।
फेरि दिमाग भने त्यही प्रश्नको जवाफ दिने दौडमा थियो।
आफूले आफूलाई झुक्याउन सकिनँ। राम्रो साथी भन्ने बित्तिकै दुई चार जना केटाकेटी साथीहरूलाई चाहिँ सम्झेँ।
फेरि सोचेँ- मेरा लागि त तिनिहरू राम्रा साथी हुन् तर म चाहिँ तिनिहरूको लागि राम्रो साथी हुँ त? के तिनीहरूले मलाई पनि राम्रो साथिीकै रूपमा गन्छन् त? यो प्रश्न म तीनकुने चोकदेखि बालकुमारी खाजाघर नपुगुन्जेलसम्म मनमा उठिराख्यो।
बाइक गाडीको आवाजले ध्यान भंग भो। हत्तेरी छिटो आइएछ, अझै ४५ मिनेट छ क्लास सुरू हुन भन्दै चिया पिउने निधो गरेँ। बालकुमारी छिरेँ।
यताउति चारैतिर हेरेँ, सबैतिर प्याक, सबै जना रमाउँदै साथीहरूसँग चिया पिउँदै थिए। अनि तलको अर्को नास्ता पसलमा झरेँ। त्यहाँ पनि त्यस्तै प्याक। झन् चुरोटको धुँवा!
म एक कुनामा गएर बसेँ।एटिएमदेखि बालकुमारी आउँदासम्म दिमागले सबै कुरा फेरि रिकल गर्न थालिहाल्यो। नगरोस् पनि किन? म आफैंले आफैंलाई के त राम्रो साथी होस्? भनेर प्रश्न गरिराखेको थिएँ।
एटिएमको घटना सम्झेँ। साँच्चै राम्रो साथी हुन बाइक हुनैपर्ने हो? त्यो त मसँग छैन। यदि बाइक पनि त्यो मापदण्डभित्र पर्छ भने म आउट!
अनि साथीले मागेको बेला थोर बहुत त सहयोग गर्न सक्ने सामर्थ्य राख्थेँ तर टन्न पैसा? फेरि पनि आउट!
अनि फेरि ती केटाकेटीको कुरा याद आयो। उता चिया पनि आयो।
'ऊ त मेरो राम्रो साथी मात्र हो। मात्र! भनेपछि राम्रो साथीको महत्व के? राम्रो साथी पाउँदा गौरव गर्नुपर्ने होइन र? यदि राम्रो साथीको महत्व नै छैन भने किन परिवारसामु राम्रो साथीको अस्त्र प्रयोग गरेर मुस्ताङ कुद्दैछन् ती दाइ?
मभित्रै सकारात्मक र नकारात्मक तर्कको भिडन्त सुरू भयो।
त्यतिकैमा साथीको फोन आयो: भोलि फुर्सद छ? भेटुम् न
'नाइँ यार क्लास छ, अनि थुप्रै काम पूरा गर्नु छ। फुर्सद मिलाएर भेटुम्ला हुँदैन?' उसले 'हुन्छ' भन्दै फोन राख्यो।
फोन राखेपछि आफूलाई महसुस भो 'साथीको लागि समय पनि छैन अनि राम्रो साथी नि बन्ने मन फेरि?' हाँसो उठ्यो।
त्यत्रो ४० मिनेट आफूसँगैको गनथनमा बितेछ। म त्यहाँबाट कलेजतिर हिँडें।
त्यो ५ मिनेटको बाटोमा एउटा निष्कर्षमा पुगेँ। सकारात्मक/नकारात्मक जे जस्तो निर्क्योल भए पनि म पुग्नैपर्ने थियो नत्र यस्ता कयौं ४० मिनेट ब्यतित हुने थिए।
'राम्रो साथी बन्नलाई कि त बाइक हुनुपर्दो र’छ
कि त समय, आफूसँग आफैंलाई समय थिएन
अनि राम्रो साथी बन्नलाई टन्न पैसा हुनुपर्दो रैछ!
मसँग साथी किन्ने पैसा भएन, कठै!'