मेरो बाल्यकालको साथी नुन्नुरको बुवा गरिब थिए। नुन्नुरको परिवारको धेरै मुस्किलले बिहान बेलुका छाक टर्थ्यो। बुवा इँटा कारखानामा काम गर्दागर्दै ठूलो छोरा निरहुलाई विदेश पठाए। केही महिनापछि नुन्नुरको दाइले परिवारका सबैका लागि घडी, खजुर, चक्लेट पठाए।
मेरो साथी नुन्नुर घडी हातमा लगाएर मलाई देखाउँदै थियो। मेरो दाइले विदेशबाट घडी पठायो भन्दै बडा खुसी थियो। यसबीच नुन्नुरको परिवारको जिन्दगी बदलियो। घरजग्गा किने, बनाए, मोटरसाइकल किन्नेलगायत प्रगतिको धेरै कामहरू उसको परिवारले गरे।
अब मेरो साथी नुन्नुर लक्का जवान भयो, बुवाले विदेश पठाउने तयारी गरे। एकदिन 'ल साथी, मेरो आज फ्लाइट छ' भन्दै पार्टी गरेर विदेश गयो। सँगै खेल्ने साथी विदेश गयो, म बेरोजगारी भएर दिन काट्दै थिएँ।
एकदिन बुवा रिसाउँदै मलाई नानाभाती कुरा भन्नुभयो। अनि नुन्नुरको उदाहरण दिँदै 'उ हेर्, तँसँगै खेलेको तेरो साथी नुन्नुर विदेश गयो तँ यही घुम्दै छस्।'
बेलाबेलामा बुवाको यस्तै रिसको सामना गर्दै थिएँ। एकदिन विचार गर्न थालेँ, नुन्नुरको बुवा पहिला गरिब थिए आज धनी भए। हिजोसम्म ऋण खोज्दै हिँड्थे, आज दिने भएछन्।
अब म पनि पासपोर्ट बनाउनु पर्छ भन्दै आमासँग आफ्नो कुरा सुनाएँ। आमाबुबा सहमत हुनुभयो। त्यसपछि पासपोर्ट बनाउन जिल्ला गएँ। ३५ दिनपछि पासपोर्ट जिल्लामा पासपोर्ट पाएँ। अब मनमा एक किसिमिको उत्ताउलोपन र खुसी सवार भयो।
बुटवलको एक म्यानपावरमा पासपोर्ट बुझाउन आएँ। रिसेप्सनमा बसेकी एक युवतीले 'केही काम आउँछ?' भनेर सोधिन्।
मैले केही काम जानेको थिइनँ र 'छैन' भनेँ।
युवतीले 'मेसन, कार्पेन्टर, स्टीलफिक्सर, गार्डेनरजस्ता कामको अफर छ, सबै कम्पनी हो कुनमा लगाइदिउँ? भनेर पनि सोधिन्। म अंग्रेजीको 'अ' नजान्ने मान्छे, मेसनलाई मसिन चलाउने, कार्पेन्टरलाई कार पेन्टिङ, स्टीलफिक्सरलाई स्टीलको ढोका-झ्याल लगाउने, गार्डेनरलाई सुरक्षा गार्ड भनेर बुझेँ।
मेसनमा लगाइदिनु भनेर एक लाख १० हजारसम्म दिनसक्ने भनेँ। माग्न त एक लाख ३० हजारसम्म माग्दै थिइन्। पासपोर्ट बुझाएर घर हिँडेँ। केही दिनपछि भिसा खसेछ। पैसा चाहियो अनि बल्ल टिकट र श्रम स्वीकृति पाउनु हुन्छ भन्दै म्यानपावरबाट फोन आयो।
बुवालाई सबैकुरा बताएँ। ५० हजारको व्यवस्था गरेर टिकट र श्रम गरिदिन भन्दै बुवाले दिनुभएको पैसा म्यानपावरलाई बुझाएँ। टिकट र श्रम स्वीकृति भएपछि 'बाँकी पैसासहित भोलि उपस्थित हुने, पर्सी फ्लाइट छ' भन्दै फोन आयो।
थप पैसा लिएर घर-परिवार, साथीभाइ, आफन्तजनबाट बिदा हुँदै भोलिपल्ट बुटवल गएँ। पैसा बुझाएँ र साँझ ५ बजे म र म्यानपावरको संचालक काठमाडौँ हिँड्यौँ। बिहान ४ बजे काठमाडौँ पुग्यौँ। एयरपोर्ट नजिक रहेको म्यानपावरको हेड अफिसमा बुटवलको म्यानपावर संचालकले पुर्यायो। पासपोर्ट, टिकट, डुकुमेन्ट, र १० हजारको पैसा बुझाएको रसिद।
म्यानपावरको एकजनाले एउटा कोठामा एक-एक जना गरी बोलाउँदै थियो। मलाई पनि बोलायो र मोबाइलमा भिडिओ रेकर्ड गर्दै मलाई प्रश्न गर्न थाल्यो-
'नाम'
'कहाँ जाने?'
'कुन काममा जान लागेको?'
'कति पैसा बुझाएको?'
मैले एक लाख दस हजार बुझाएको भन्दिएँ। भिडिओ रोकेर अर्को पटक १० हजार भन्न लगायो। अनि बल्ल काम बाहिरको हो भनेर जानकारी दिँदै तीन महिनासम्म म्यानपावरको जिम्मेवारी हुन्छ, त्यसपछि केही समस्या परे आफै जिम्मेवार हुनुपर्ने भनेर भन्यो।
त्यही रातको फ्लाइटबाट दोहा एयरपोर्टमा आएँ। कम्पनीको मान्छेलाई दिएको सिमकार्ड मोबाइलमा हालेँ र कम्पनीको मुदिर (म्यानेजर)लाई फोन लगाएँ। तीन घण्टापछि मुदिर भाडाको ट्याक्सी लिएर आयो। क्याम्पमा पुर्यायो।
गाडीबाट झर्दा भोक र प्यासले तड्पिएको जीउमा एक किसिमको सन्नाटा छायो। नेपालको नरम घामले सेकेको ज्यान मानौँ इँटा कारखानाको चिम्नी नजिकै उभिएको झैँ लाग्यो। केही नबोली मुदिरको पछि-पछि लागेँ।
एक कोठामा ब्याग राख्न भन्यो। कोठामा ८ जना थिए तर बेड ५ वटा थियो। एक बेडमाथि अर्को बेड जोडिएको थियो माथिको दुई बेड खाली थिए। मैले अलिग राम्रो देखेर एउटामा सामान राखेँ अनि क्यामबोसको कोठामा मुदिरले लिएर गयो। क्याम्पबोसले एउटा कागजमा सहीछाप गराई एकजोर बर्दी कपडा, जुत्ता, पानी खाने तुमलेट दियो।
बेसिक तलब नौ सय भनी आएको यहाँ सात सयमा सही लगाए। जिकिर गर्दा यति नै हो भनियो। 'गर्ने भए गर्ने नभए तीन महिना काम गर्ने, आफ्नो टिकटले घर जाने' मुदिरले भन्यो। घरमा फर्किएर बाबुको टनटन सुन्नुभन्दा बस्छु भन्दै सही लगाइदिएँ।
हरेक कोठा फोहोर, गल्ली फोहोर, ट्वाइलेट डुङ्डुङ्ती गन्हाउने बडा उकुसमुकुस भैरहेको थियो। तर बुबाको कचकच सम्झिँदा एक किसिमको उर्जा थपिए झैँ लाथ्यो। कोही-कोही भन्थे, बुवाआमाको गालीमा पनि आशीर्वाद हुन्छ। मलाई त्यही कचकछ गालीले यहाँ रोकिरहेको थियो।
मेरो साथी नुन्नुरलाई पनि सम्झिएँ। उसको बुवाले किनेको पल्सर मोटरसाइकल सम्झिएँ। उसको नयाँ बनाएको घर पनि सम्झिएँ। अनि जे परे पनि म यहाँबाट जान्न भन्ने अठोट गरेँ। कोठामा बस्ने साथीहरू अर्कै कम्पनीका थिए। म आएको कम्पनीमा उनीहरूको कम्पनीले सप्लाईमा हालेको थियो।
मेरो कम्पनी पनि सप्लाई नै गर्ने हो। कतारको सप्लाई कम्पनीमध्ये नाम चलेको लाइसेन्स हुने कम्पनी हो। पैसा, तलब अहिलेसम्म समयमा दिएको छ। बाँकी अन्य साधन, सुबिधा खत्तम छ। म कतारको कुनै कुना बाँकी छैन कि जहाँ काम गरेको छैन। मेरो कम्पनीले ठूलो कम्पनीलाई कामदार प्रतिघण्टा १८ देखि २२ रियलको दरले दिन्छ।
नौ सय जना कम्पनी र अन्य सप्लाईको गरेर १६ सयभन्दा बढी मान्छे छन्। मलाई एक हप्ताको बसाइपछि एउटा साइटमा ड्युटी हाल्यो, कुनै साइटमा ४ महिनाभन्दा बढी टिक्न दिएन, भगाएको भागाइ गर्यो। मलाई मात्र होइन, कम्पनीको सबै मान्छेलाई यस्तै गर्छ। एक ठाउँबाट अर्को ठाउँ सारिरहन्छ।
कमाएर केही पैसा घर पठाएँ। केही प्रगती काम भए। यता म चर्को घाम, अशुद्ध पानी, कम्पनीको खान अयोग्य खानाबाट घट्दै गइरहेको छु। अलि टाठो पिरो कहिलै खान पाइएन। तलब आएको बेला होटलमा गएर कहिलेकाहीँ खाइन्छ, चित्त बुझाइन्छ।
देखेको धेरै सपनाहरू थिए तर यति कष्टकर जीवन छ, सबै सपना चकनाचुर भए। कम्पनी सप्लाई धेरै वर्ष बस्नमा आफ्नै घाटा छ, बोनस दिँदैन। बिहानको ३ बजे उठ्नुपर्छ, साँझ ६/७ बजे कोठामा आइन्छ। साइट जति टाढा, समय त्यति खर्च हुन्छ। सुत्न पाइँदैन, १४ घण्टामा चार घण्टा मात्र सुत्न पाइन्छ। दुई घण्टा जानमा, १० घण्टा ड्युटी, फेरि दुई घण्टा आउनमा अनि नुहाईधुवाई र खाना खाँदा तीन घण्टा र बिस्तरामा मोबाइल २ घण्टा र बाँकी सुत्ने समय।
जिन्दगी बेहाल छ। अबको केही महिनापछि स्वदेश फर्किँदै छु र अर्को कम्पनीमा कोसिस गर्नेछु। त्यसैले तपाईंको कोही वा तपाईं आउँदै हुनुहुन्छ भने कम्पनी बुझेर आउनुहोला आग्रह गर्दछु।