प्यारो छोरा स्वाभिमान,
जन्मोत्सवको असीमित शुभकामना एवम् आशीर्वाद। मनमा आएका कैँयन उतारचढाव र संवेगहरूलाई केही क्षण बाँधेर पत्र लेख्दै छु। बाबु स्वाभिमान, तिमी र तिम्री ममी सायदै अहिले सहज अवस्थामा छौ।
जीवनका अनेकन उताराचढाव र आरोह अवरोहलाई पन्छाउँदै जीवनरूपी यात्रामा यात्री बन्दा जब तिमी आयौ, चारैतिरबाट खुसी वर्षिन थाले। २०७५ साल चैत महिनाको १७ गते सामान्य चेकअपको लागि हामी मौलाकालिका अस्पताल भरतपुर गएका थियौँ। त्यहाँ डाक्टरले सर्जरी गर्नुपर्छ भनेपछि तिम्री ममी सगुनलाई अपरेशन थिएटरमा पठाउँदा मेरो मनभित्र ठूलो डर र त्रास भरिएको थियो।
बाबु, पछि थाहा पाउनेछौ त्यो दिन ठूलो हुरी, बतासले कैयौँ क्षतीहरू भएको थियो, देशले ठूलो प्राकृतिक विपदको सामना गर्नुपरेको थियो। मैले मनमनै सोच्दै थिएँ, त्यस्तै विपद परेको बेला भगवान कृष्णको जन्मभएको थियो। अब जन्मिने मेरो सन्तान पनि कृष्णजस्तै हुनेछ र सम्पूर्ण मानव जातिको हितको लागि कुशल कर्म गर्नेछ।
यस्तै-यस्तै कुरा मनमा खेलिरहेको बेला डाक्टर केशवराज भुर्तेल अपरेशन थिएटरबाट मुस्कुराउँदै बाहिर निस्केर भन्नुभयो, 'बाबु जन्मेका छन्, स्वस्थ छन् बरु घरबाट कोही आउनुभएको छैन? छिटो बोलाउनु हजुरलाई गाह्रो पर्ला।'
मनमा खुसीका तरंगहरू तरंगित हुन थाले, आफ्नै अगाडि धेरै नवजात बच्चाहरूलाई एनआइसियू लागेको देख्दा भने मन बेचैन हुथ्यो। केही क्षणमा हुरी बतास रोकियो, रातदिन भगवानासँग पुकार गरिरहनु भएकी मेरी आमा (तिम्री हजुरआमा), तिम्रो अङ्कु एक झोला कपडा बोकेर आउनु भयो।
केही समयपछि अन्य आफन्त, साथीभाइहरू अस्पतालमा आइपुग्नु भयो। सबैतिरबाट तिम्रो सुस्वास्थ्य सहितको बधाई मलाई आउन थाल्यो। म भर्खर शिक्षक सेवा आयोगबाट माध्यमिक तहको स्थाई विज्ञान शिक्षकमा सिफारिस भएको कुरा पनि थाहा पाएको भएर होला अस्पतालमा आउने आफन्तहरूले धेरै तरिकाबाट खुसी र बधाई साट्नु भएको थियो। सायद सबै बुझेजस्तै गरी तिमी दुवै गालामा डिम्पल पारी मुस्कुराउँदा हामी कम्ती खुसी भएका थिएनौँ।
बाबु, तिम्रो न्वारन गर्दाको भोलिपल्टै तिमीलाई मामाघर पठाई म नियुक्ति लिन पर्वत जाँदा तिमीलाई छोड्नुपर्दाको पीडाले पहिलो पल्ट सरकारी जागिरको नियुक्ति लिएर आफ्नै जन्मथलोमा सेवा गर्न जान पाउँदा समेत म खुसी हुन सकेको थिइनँ। बाबु, तिम्री ममीको सुत्केरी बिदा सकिएपछि तिम्रो मामाघर आमाले तिमीलाई लिएर रौतहट जाँदाको सम्पूर्ण कुरा त तिमीलाई ठूलो भएपछि नै थाहा होला।
तिमी जन्मिनुभन्दा केही दिनअघि मात्र तिम्रो मामा अमेरिका उडेका थिए। सायद तिमीलाई हुर्काउँदा नै आमाले छोरो विदेश जाँदाको सम्पूर्ण पीडा बिर्सनु भएको थियो। अपरेशन गरेको शरीर, अफिसमा आफू नै प्रमुख भएको हुँदा कामको बोझ, त्यस्तो अवस्थामा म साथमा नहुँदा पनि तिम्रो मुस्कानले सबै कुरा बिर्सिन्थिन् तिम्री ममी।
तिम्री दिदी मेरी भान्जी सन्जिवनी भाइ जन्मेकोमा मक्ख थिइन् भने घरमा बुवा र हजुरबुवा पनि नाति जन्मेकोमा फुरुंग हुनुहुन्थ्यो। घोमसोङ मेरो मावली हजुरआमा, मामा, माइजूहरू पनि खुसीले गद्गद हुनुहुन्थ्यो। तिमीलाई एकपटक पनि काखमा लिन नपाउँदा हजुरआमा दुखी हुनुभएको थियो।
अब त्यो न्यानो काखको अनुभूति गर्न नपाए पनि उहाँको बारेमा पछि बुझ्ने भएपछि धेरै सुन्नेछौ। जसरी मलाई घोमसोङ नयाँघरे माइलाको नाति हुनुमा गर्व छ, पछि तिमीले पनि पनाति हुनुको गौरावानुभूति गर्नेछौ।
०७६ साल माघमा तिम्रो ममीको कावासोती सरुवा भएपछि भने मामाघरको न्यानो सामीप्यातामा तिम्रो ऐतिहासिक बाल्यकाल बितिरहेको थियो। ०७६ सालको पुसमा मेरो पनि गैँडाकोट सरुवा भएपछि भने जीवनले एउटा स्वर्णिम यात्रा सुरु गरेको थियो।
राति थाकेको बेलामा फोनमै भए पनि तिम्रो आवाज सुनेर थकाइ मेटाउनु हुन्थ्यो बाबाआमा पर्वतमा। यसैबीच तिमी नमोटाएपछि प्रत्येक २/२ महिनामा हामी भरतपुरका लगभग सबै बालचिकित्सककोमा पुग्यौँ तर कहिल्यै कुनै रोग देखा नपरेपछि म पनि पातलो जीउडालको भएको हुँदा वंशाणुगत नै होला भनेर हामी हाँस्थ्यौँ मात्र।
तिमीलाई औधी माया गर्ने तिम्रो काकुको बिहेमा पनि तिमी मुस्कुराउँदै गयौ। तिम्रो काकाको बिहेपछि हामी कावासोती फर्कियौँ र एकदिन बसेर म भरतपुर फर्किएँ। तिमी झन्-झन् दुब्लाएपछि र अलि झिँजिएपछि म फेरि कावासोती गएँ र तिमीलाई लिएर हामी भरतपुर आयौँ। डाक्टरकोमा चेक गर्दा केही देखिएन। हल्का पेट पनि फुलेकोले मैले डाक्टर लाई युएसजी गरौँ भन्दा 'पर्दैन, यो-यो खुवाउनु' भनेर खानेकुराको लिस्ट दिनुभयो।
खुवाउन के पो बाँकि थियो र? नेटबाट खोजी-खोजी खानेकुराको परिकार बनाउँथिन् तिम्री ममी। सायदै तिम्रा लागि सबै कुरा छोडेकी थिइन् तिम्री ममीले अनि म पनि सानो-सानो बाल चिकित्सक बनिसकेको थिएँ। भरतपुरबाट आएपछि प्रत्येक दिन तिमी झन्-झन् आत्तिँदै गएपछि मैले गत श्रावण ४ गते प्लेनको टिकट काटेँ र ५ गते काठमाडौँ गयौँ।
कान्ति बाल अस्पतालको आकस्मिक कक्षमा लगेपछि डाक्टरले भनेबमोजिम सबै टेस्ट गर्यौँ। सायद डाक्टरले हाम्रो कुराबाट नै तिम्रो बिमार पत्ता लगाइसकेको हुनुपर्छ। युएसजी गर्ने बेला डाक्टरले दुवै किड्नीमा ट्युमर पलाएको, कलेजो र फोक्सोमा पनि देखिएको छ भनेर भनेपछि हामी छाँगाबाट खसेजस्तै भयौँ। कोठाभित्र त जेनतेन खप्यौँ, बाहिर आएपछि केही गर्ने उपाय नलागेपछि मेरो प्रत्येक दुःखको सहयात्री, अनन्य मित्र, तिम्रो पूजनिय काकु विष्णु ढकाललाई कल गरेँ।
विष्णु तुरुन्तै अस्पताल आइपुगे र अन्य साथीभाइ र आफन्तहरू पनि अस्पताल आइपुग्नु भो। सिटी-स्क्यानको रिपोर्टले लगभग 'बाइलेटरल विल्म्स ट्युमर' भन्ने कन्फर्म गरेपछि हामी डाक्टरको सल्लाहमा थप उपचार भरतपुर गर्ने मनास्थितिमा पुग्यौँ। तिम्रो काका पनि भरतपुरबाट काठमाडौँ आए।
मैले भरतपुरमा डाक्टर केशबराज भुर्तेललाई फोन गरेँ र सबै कुरा बताएँ। उहाँले भरतपुर नै ल्याउने र आवश्यक समन्वय तथा सम्पूर्ण सहयोग आफूले गर्ने कुरा गरेपछि हामी भरतपुर क्यान्सर अस्पताल आयौँ। डाक्टर भुर्तेलले आफैले हामीलाई लिएर भरतपुर क्यान्सर अस्पतालका उपनिर्देशक डाक्टर कृष्णसागर शर्माकोमा जानुभयो।
त्यहाँ सम्पूर्ण सल्लाह गरेपछि तिम्रो किमो सुरु भयो। पहिलो किमो दिनुअगाडि तिमीलाई रगत आवश्यक पर्यो। त्यो थाहा पाउने बित्तिकै तिम्रो हिमांक काका अस्पताल आए र रगत दिए। त्यसपछिका किमोहरूमा रगत आवश्यक परेन।
१२ वटा किमो सकेर सिटी-स्क्यान गर्दा ट्युमर सबै तिर सकिएको र दुवै किड्नीमा बाँकी रहेको रिपोर्ट आयो। रिपोर्ट आएपछि भरतपुरमा कुनै पनि सर्जनले सर्जरी गर्ने साहस गर्नु भएन। डाक्टर भुर्तेलले मौलाकालिकामा समेत सम्पूर्ण डाक्टरहरूसँग कुरा गर्नुभयो।
भरतपुरका लगभग सबै युरोलोजिस्टसँग कुरा भएपछि डाक्टर कृष्ण सागरको सल्लाहमा म कान्ति अस्पताल पुगेँ। त्यहाँ डाक्टर बिजय थापालाई सबै रिपोर्ट देखाएँ। डाक्टर थापाले प्राइभेट अस्पतालमा महङ्गो पर्छ, सर्जरी यहि गरौँ तर सबै कुरा मनले सिध्याएर आउनु भनेपछि म तनावको सीमा बाहिर पुगेछु।
आफ्नो सन्तानलाई कसरी सबै कुरा सिध्याएर डाक्टरको हातमा सुम्पौँ। तैपनि थामिनी प्रयास गरेँ र केही उपाय लाग्छ कि भनेर मन्त्रालय तिर लागेँ। केही समय पहिला तिम्रो हिमांक काका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको मन्त्री माननीय उमा रेग्मीको स्वकीय सचिव बनेको हुँदा पनि मन्त्रालयमा कुरा गर्न सहज भयो।
आवश्यक प्राविधिक तथा आर्थिक सहयोगका लागि भनेर मन्त्रालयमा एउटा पत्र लेखेँ। उक्त मन्त्रालयले आफ्नो मन्त्रालयमा त्यस्तो कुनै व्यवस्था नभएको हुँदा आवश्यक सहयोगका लागि स्वास्थ्य मन्त्रालयमा मन्त्री स्तरको निर्णय गराई पत्र लेख्यो। उक्त पत्र स्वास्थ्य मन्त्रालयको सचिवको सचिवालयमा पेस गरी म कीर्तिपुर आएर बसेँ।
बाबु, सोही दिन मैले तिम्रो मामालाई अमेरिकाको सेन्ट ज्युड चिल्ड्रेन्स रिसर्च हस्पिटल, टिएन, मेमफिसका सर्जरी प्रमुख डाक्टर एन्ड्रिउ डेभिडोफलाई इमेल गर्न भनेँ। योभन्दा अगाडि पनि बाहिर लान कैँयन प्रयास गर्यौं तर सफलता प्राप्त भएको थिएन। भगवानको आशीर्वाद, भोलिपल्टै डाक्टरको रेस्पोन्स आयो।
बाबु, मैले नेपालको मन्त्रालयमा पेस गरेको फाइल कहाँ कुन अवस्थामा छ अहिलेसम्म अत्तोपत्तो छैन तर अमेरिकामा पठाएको एउटा इमेलको आधारमा तिम्रो अहिले उपचार भैराखेको छ। आवश्यक प्रकृया सकेर तिम्री ममी तिमीलाई लिएर गत मंसिर १२ मा अमेरिका प्रस्थान गरिन्। त्यहाँ पुगेपछि मंसिर २३ मा तिम्रो सर्जरी भयो। भाग्य भन्नुपर्छ, नेपालमा दुवै किड्नी जोगाउन गाह्रो पर्ने कुरा भएको थियो तर त्यहाँ तिम्रो दुवै किड्नी जोगाउन डाक्टरको टोली सफल भयो।
बाबु, तिमीले पछि थाहा पाउनेछौ गीता दिदी, दिपक भिनाजु, तिम्रो नारायण ढकाल अंकल, विष्णु ढकाल अंकल, घोमसोङ यामु अंकलले कान्ति बसुन्जेल गर्नुभएको सहयोगले हामीलाई मिलेको ढाडस कत्ति बलियो थियो। कागजी प्रक्रियामा वडा सचिव पाराश्वर सापकोटाले गर्नुभएको अतुलनीय सहयोगले तिमीलाई बाहिर पठाउँदा भएको त्यो सहजता अत्यन्तै मूल्यावान छ।
बाबु, अमेरिकामा बसोबास गर्नुहुने गणेश भण्डारी, पाल्पाका विष्णु पोख्रेल, मिनराज सुनार लगायतको सहयोगले नै हामी यहाँसम्मको यात्रा तय गर्न सकेका हौँ। तिम्री ममीको दृढ सङ्कल्प, सम्भावनाको अन्तिम बिन्दुसम्म पनि हार नखाई निरन्तर मेहनत गर्ने साहस, उच्च प्राज्ञिकता, धैर्यता र साहसिक कदमले नै तिम्रो उपचारलाई यहाँसम्म ल्याएको छ।
कान्ति अस्पतालका बाल क्यान्सर प्रमुख डा. विष्णुरथ गिरि, नेपाल क्यान्सर अस्पताल काठमाडौँका डाक्टर हरि ढकाल, अमेरिकामा बस्नुहुने डाक्टर करण कार्की, डाक्टर प्रेम सिग्देलहरूको आत्मीय सहयोग तिम्रो जीवन बचाउन हामीले गरेको यात्राका अविस्मरणीय उर्जाहरू हुनुहुन्छ।
बाबु, डाक्टर केशवराज भुर्तेलले जीवनका प्रत्येक क्षणमा पुर्याउनु भएको अतुलनीय सहयोगलाई जीवनका प्रत्यक पाइलामा स्मरण गर्नेछौँ। तिमीलाई अमेरिका पठाँउदा अमेरिकामै भएका सुदिप पोख्रेल, राधिका, पुष्पा, सरोज लगायतका तिम्रा अङ्कल अन्टीहरूले तिम्रा लागि गरेका चिन्तन र मलाई धैर्य बनाउन गरेका अनेकन प्रयासको कुनै मूल्य हुन सक्दैन।
तिमीलाई निकै माया गर्नुहुने लक्ष्मी थापा दिदी, कला सिलवाल, भेषराज शर्मा, काशिराज भट्टराईलगायत सम्पूर्णलाई मेरो बाबाले धेरै सम्झनु भएको छ भन्नु है। तिमीलाई उपचारको प्रकृयामा सम्पूर्ण सहयोग गर्नुहुने अस्पतालको रेफेरल म्यानेजर बिक्की म्याननेस हाम्रो भगवान, तिम्रो पुनर्जन्म गराइदिने एन्ड्रिउ डेभिडोफ लगायत सदा तिमीलाई माया गर्नुहुने रेखदेख गर्नुहुने अस्पतालका सम्पूर्ण डाक्टरहरूसँग फोटो खिच्नू किनकि अब हाम्रो मन्दिरमा भगवानको फोटोसँगै उहाँहरूको फोटो पनि राख्नेछौँ।
बाबु, तिम्रो जन्म कुनै संयोग नभएर आवश्यकता हो, त्यो पनि यो देशलाई अनि विषेशगरी दुखी, पीडित र बेसहारालाई। अहिलेको सरस्वती पूजाको दिन म कम्ती भावुक भइनँ। किनकि तिम्रै उमेरका तिम्रा साथीहरू अक्षराम्भका लागि विद्यालय जाँदा तिमी विदेशी अस्पतालको बेडमा क्यान्सरजस्तो प्राणघातक रोगसँग लडिरहेका थियौ।
तिम्री ममीले त पीडा सामाजिक संजालमा समेत व्यक्त गरेकी थिइन्। बाबु, तिमी छिट्टो सन्चो हुनेछौ र जीवनमा बाल क्यान्सरको क्षेत्रमा नै काम गर्नेछौ। कयौँ बाल क्यान्सरसँग लडिरहेकाहरूले पुनर्जन्म पाउने खालको तिम्रो कर्म हुनेछ। बाबु, जीवनमा असहजताको पहाडसँग जुधेका हामीलाई तिम्रा कर्महरूले जीवनभर गौरवान्वित तुल्याउने छन्।
बाबु, तिम्रो जन्मदिनमा मैले आज ब्लड क्यान्सरसँग लडिरहेकी ओखलढुंगाकी युनिसा दर्जीलाई सानो सहयोग गर्नेछु र देवघाट पुगेर तिम्रो शीघ्र स्वास्थ्य लाभको कामना गरेर भगवानसँग प्रार्थना गर्नेछु। तिमी ढुक्क भएर बस्नु, तिमीले यो क्यान्सरलाई छिट्टै परास्त गर्नेछौ र विश्वभरिलाई नयाँ सन्देश प्रवाह गर्दै मानव रक्षाका लागि प्राकृतिक सन्तुलन राख्दै ऐतिहासिक कर्मका लागि तयार हुनेछौ।
मेरो छोरा, मामुलाई सधैँ हँसाउनू। मेरो छोरा सम्पूर्ण मानव जातिको छोरा बन्ने प्रेरणा मिलोस्। जन्मोत्सवको अशेष शुभकामना। शतायुको कामना।
तिमीलाई सदा माया गर्ने तिम्रो बुवा,
मोहन भण्डारी,
पैयु- ६, पर्वत।
(लेखक हाल जनक नमुना मावि गैंडाकोट, नवलपुरमा कार्यरत छन्।)