छोरीको स्कुलमा भर्खरै वार्षिक परीक्षा सकिएर बिदा सुरू भएको छ। घुमाउन लाने कहाँ? केटाकेटीलाई दिनभर कोठामा गुम्साएर राख्नु कति? कोठाभित्र बस्दा मोबाइल, टिभी बिना बस्न मान्दैनन्। पढ्छे कि भनेर मुना किनेर ल्यादिन्छु 'ह्या नेपालीमात्र पढ्न भन्नु हुन्छ?' भन्छे।
नेपाली पढ्न र लेख्न सारै कष्ट मान्छे। अहिलेको पढाइ सबैको यस्तै छ। नेपाली पढ्न/लेख्न मात्र होइन युट्युबमा नेपाली गीत संगीत समेत सुन्न र हेर्न मन पराउँदैनन्। हाम्री १० वर्षकी छोरी जहिले पनि अंग्रेजी कार्यक्रम र गीत सुन्छे, हेर्छे। उतैको लबजमा फरर बोल्छे। नेपाली बोल्दा बरू अड्केली अंग्रेजी बोल्दा धारा प्रवाह बोल्छे।हामी पनि यही कुरा सुनेर, देखेर मख्ख पर्छौं। आफ्नो भाषा संस्कृति नबाँचे हाम्रो पहिचान कसरी रहँला र?
छोरीलाई लिएर टियूको चौरतिर निस्कन्छु। हाम्रो कोठाबाट सबभन्दा नजिक पर्ने खुला ठाउँ यही हो।
काठमाडौंमा खुला ठाउँ हेर्न कि त टुँडिखेल पुग्नुपर्छ कि त रत्नपार्क। धन्न कीर्तिपुरमा टियू छ र!
कहिले कसो बिना शुल्क छोरीलाई दौडने ठाउँ छजस्तो हुन्छ। बबरमहल बस्दा बागमती किनारको युएन पार्क जान्थ्यौं। साह्रै भिड हुन्थ्यौं साँझ बिहान।
काठमाडौंमा खोलाका किनार पनि व्यक्तिका नाममा नापी भएर ठूला-ठूला घर बनेका छन्।
बागमती किनार होस् वा विष्णुमती किनार होस्, हनुमन्ते खोला होस् कि बल्खु खोला कुनै बाँकी छैनन्। बागमती किनार शंखमूलनेर, विष्णुमती किनारका कहीँ कतै अझै बाँकी रहेका घाट देख्दा लाग्छ अहिले चेपुवामा परेर अस्तित्वविहीन जस्तै भएका यी घाटमा आफ्ना आफन्तलाई गहुँको छ्वालीमाथि राखेर अन्तिम संस्कार गरेका बुढापाकाहरू खोजेर हिँड्यो भने पाटनका गल्लीमा अझै ज्युका त्यूँ छन् होला। कठै अहिलेका ती घाट अवशेष मात्र छन्। ती वृद्ध आँखा, ती पुराना खोला किनार र घाट खोज्दै आए भने के सोच्दा हुन मनमा। सुकेका ढुंगे धारा, कुवा र पँधेरा बडो दु:ख लाग्दो होला है उनीहरूलाई।
हिँडेर सीता पम्प हुँदै टियू उक्लँदा १० ठाउँमा घर लगायतका संरचना बन्दै थिए। बाटोभरि रड, गिटी, बालुवा। जोगिएर हिँड्नु पर्ने। पिँजडाबाट फुत्केकी चरीजस्तै छोरी एक खुट्टा उफारेर नाँच्दै हिँड्थी। मलाई कराइरहनु पर्थ्यो 'छोरी बाटोमा हेरेर हिँड न' छोरी ठुस्स पर्थी। के गर्नु बाटोमा फुटपाथ छैन। भएको ठाउँमा पनि गिटी-बालुवा र फुटपाथे पसल। जे गर्न पनि काठमाडौं नआइ नभएपछि बाँच्ने जोहो गर्न फुटपाथमा पसल गर्नु पनि बाध्यता होला। यस्तै, सोच्थ्यो मनले।
हामी त आँखा देख्छौं। हात खुट्टा पनि दुरूस्त छन्। तर फरक क्षमता भएका आँखा नदेख्ने, ह्विलचियरमा हिँड्नु पर्ने मानिस कसरी हिँड्छन् यी काठमाडौंका सडकमा? कहिले हुन्छन् होला सडक मानव मैत्री? टियूको शिव मन्दिरनेर एकैछिन सुस्ताउँदै थियौं आमा-छोरी। कसैले 'नानी' भनेर बोलाउनुभयो पछाडिबाट। यसो पछाडि हेरेको सानो बुवा हुनुहुँदो रैछ।
१० वर्षपछि भेट हुँदै थियो। बानेश्वर बस्दा छोरी जन्मी। कोठा साह्रै चिसो थियो। बच्चालाई चिसो भयो भनेर घामकै लागि ट्याङ्लाफाँट सरेका थियौं। त्यतिबेला संयोगले परिचय भएको थियो सानो बुवासँग।
ममीको मामाघरतिरको नाता थियो। हामीसँग चिनजान हुँदा सानिमा बितेको १ वर्ष जति भो भन्नुहुन्थ्यो। एक्लै बस्नु हुन्थ्यो चाँदनी चोकको डेरामा। तीन छोरा एक छोरी छन् भन्नुहुन्थ्यो।
'छोरा सबै विदेशमा, छोरी बिहे गरेर उतै बाग्लुङतिर छिन्। छोरासँग विदेश पनि गएँ। यतै बस्नु बुवा भनेर हत्ते पनि गर्थे। केही कुराको दु:ख पनि थिएन। खान लाउन के खाम के लाम भन्न नपर्नी। चिल्ला बाटा। खुरूरूरू दौडले रेल। कसैलाई कसैको मतलब नभएजस्तो। दौडेका छन् दौडेका छन्। कमिलाजस्ता मान्छे। निकै परिश्रम गर्ने। ओहो त्यसै त त्यो देश बनेको हैन। मान्छे एकछिन खाली बस्दैन। कति बेला सुत्दा हुन्, कति बेला उठ्दा हुन्, दिन रात दौडेका दौड्यै। हाम्रा छोरा बुहारी पनि त्यसै गर्थे। दिन रात काम। बिरलै फुर्सद हुन्थ्यो।
फुर्सद हुँदा मलाई गाडीमा हालेर कता कता हुइँकाउँथे घुमाउन। तिनीहरूको दु:ख देख्दा ओहो! एकै छान खान र एक सरो लाउन त केलाई दु:ख थियो र विदेश भासियौं नि जस्तो लाग्थ्यो। बुवाको मन त परो। उनीहरूलाई दु:ख छ है भन्ने सम्झना राख्ने फुर्सद कहाँ? म पो काम नगरी बस्थेँ र दिनरात मनमा कुरा खेल्थें। कसैगरी म त्यहाँ बस्न सकिनँ। न भाषा मिल्छ, न संस्कार मिल्छ। जे भए पनि बुढौलीमा आफ्नु माटो बाटो खोज्दो रै’च नानी। नभा म त १८ वर्षको अल्लारे उमेरमा गोर्खा राइफलको लाहुरेको पिन्सिन पकाएर पनि फेरि लाहुरतिर नै नोकरी गरिबसेको हुँ।
तिम्री सानी आमालाई पनि एकाध वर्ष लाहुर लगेर राखेँ। धेरै बस्न मानिन। छोरा छोरी जन्मे तर कसरी हुर्के मलाई पत्तो भएन। उसैले एक्लै हुर्काइ, पढाइ। म आक्कल झुक्कल घर आउँथें दसैंताका।
छोरा छोरीले पनि कसरी चिन्छन् जस्तो लाग्थ्यो। दुइटा पेन्सन पकाएर बल्ल घर फिरेको हुँ। एक्लै बस्ने भाग्य रै’च। तिम्री सानिमाका कुरा मैले खाइनँ। छोरा छोरी हुर्कंदै छन्। कत्ति पैसाको पछि लाग्ने हो। एक मानो खान पुगेको छ। केलाई लाहुर बस्न परो भन्थी। म कुरो कत्ति खान्थिनँ। रिसाएर हो कि बेलैमा मलाई एक्लै पारेर गई। बल्ल ६२ वर्षकी थिई। मलाई एक्लै पारेरे गई।
छोरा छोरीको सन्तोक थियो। कसैलाई हाम्ले अर्ती लाउन पर्थेन। बुढी भएको भए कहिले कता, कहिले कता घुमी घुमी बस्न हुन्तो। मनका कुरा अर्न अत्यास लाउच।
पकाउन र खान त १८ वर्षको उमेरमा भागेर गएर भर्ती भएपछि म परिवारसँग भन्दा एक्लै धेरै बसेँ। एक्लै बस्ने बानी नै भयो कि खै! लाहुर छोडेर आएपछि १० वर्ष पनि सँगै बस्न दिएन कालले। दैवको खेल हाम्ले कति नै गर्यौं, बचाउन सकेनौं। मेरो पेन्सन छ। छोरा छोरीसँग हात थाप्न पर्दैन। दाइ, भाइ परदेशी भए पनि म त छु नि बा भन्छे छोरी। छोरीका गएर उकालो मानो के खानी हो भनेर मनले मान्दैन।
मधेसमा चितवनतिर पनि सानो घर किनेको छु। बुढीले त्यता बस्न नमानेर बिमारी भएपछि बल्ल बल्ल यता लिई आए।
यही कोठामा नै उसको प्राण गयो। कान्छो छोरासँगै थियो। यही टियूमा पढ्थ्यो। आमा बितेपछि उसको यताको पढाइ पनि सकियो। म पनि दाजुहरूसँगै जान पाए हुन्थ्यो जस्तो गर्यो। मैले रोकिनँ उसलाई।
पखेँटा लागेका छोरा छोरीलाई रोक्न पनि भएन।यही माटोमा पसिना पोख्न नपाएर म नजानेर नै लाहुरे भएँ। छोराहरू पनि लाहुरे हुने नियति भो। के गर्नु हामीहरूको लाहुरे हुने नियतिले मजस्ता कति बा-आमा एक्लै काललाई कुरेर बसेका छन्।
म लाहुरे भएनि मेरी श्रीमती, मेरा बा, आमा, छोरा-छोरी सिहारेरे (स्याहार गरेर) बसिन् तर पहिला जस्तो अहिले छैन। आफूले भोगेको परिवारसँग बिछोडिनुको पीडा उनीहरूले भोग्न नपरोस् भनेर बुहारीहरूलाई पनि साथै जाओ भनें। मेरा लागि रोकिनु पर्दैन भनेँ। यही साल उतै गएर कान्छा छोराको पनि बिहे गरेर आए। तीन भाइ छोराले घर नै किनेर राम्रोसँग बसेका छन्। नाति नातिनी छन्। सन्तोक छ। जीवन सन्तोक माने सुखी, नमाने दु:खी हुँदो रैछ। म त खुसी नै छु।
आजभोलि उमेर ढल्केर हो कि पकाउन जाँगर चल्दैन। पुरानो कोठा अझै छोडेको छैन। मेरै लागि भनेर ठूला छोराले वनस्थलीमा घर किनिदियो।मलाई त्यता बस्न मन लागेन। सालाको छोरा बस्छ एउटा कोठामा।
उसैले भाडा बुझेर दाजुलाई पठाइदिन्छ। म बिमार हुँदा अर्दा उसैले हेर्छ। कहिले कसो वनस्थलीतिर पनि जान्छु। बुढीमाउ यही कोठामा बिती। ऊ नभए पनि उसको सम्झना छ यहाँ। त्यही सम्झनाले मलाई बचाएको छ आजसम्म। घरबेटी पनि सजिला छन्। पानीको दु:ख छ यता उदि। मलाई भने पुर्याइ दिएका छन्। म बुढालाई धेरै पानी पनि चाहिन्न।
वरपरका म जस्ता बुढाहरूसँग दोस्ती भएको छ। मेरो कोठामा बसेर काटपत्ति, सत्र्, फरास खेल्छौं। खुट्टा तन्काउन मन हुँदा यही मन्दिरसम्म आउँछौं। यसो खुला ठाउँ देख्न पाइएको छ। उता वनस्थलीमा त कोही साथी संगी छैनन्। खुट्टा तन्काउन जाने ठाउँ पनि छैन। मेरो त श्वास थामिएला जस्तो हुन्छ। त्यसैले ज्यादा यतै बस्छु। नजिकैको होटलमा महिनावारी खाना खान्छु। उतै तिरकाको होटल हो। बिहान चिया खाजा पनि कोठामै ल्याइदिन्छ। छोराजस्तै छ। आजभोलि छोरी मधेस झरेकी छन्।
मैले किनेको घर छोरीलाई लेखेर दिएँ। छोराहरूले नाइँनास्ती गरेनन्। चितवनबाट छोरी महिना १० दिनमा आउँछिन्। लुगासुगा धोइधाइ गरिदिन्छिन्। उतै जाऊँ न बा भन्छिन्। किन हो कुन्नी यता बस्नी बानी लागेछ कि कसो उता गए पनि १५ दिन टिकेर बस्न सक्दिनँ। बाग्लुङतिरको जग्गा जमिन यसै छ।
अब छोरा आएपछि गएर गायत्री मन्दिरका नाममा लेखाइ दिने मन छ। गायत्री मन्दिरले गरिब दीन दुखीका छोरा छोरी पढाउन संस्कृत स्कुल र वृद्धाश्रम पनि चलाएको छ। हाम्रो खेर गएको जग्गा दिँदा धर्मै होला भनेर नाइँ। अब धेरै धोको केही छैन।
चारै छोरा-छोरीलाई भेला पारेर बुढीका नाममा एउटा कार्जे (धार्मिक काम) गरेर हिँड्दा हिँड्दै श्री हरिकाधाममा जान पाए धन्य हुन्थ्यो। जीवन हाम्रो हातमा छैन, कालको इच्छा के छ! पखर्नी र हेर्नी त हो हाम्ले!
जीवन नदी हो। बग्नु नै जीवन हो। जसरी नदीले आफ्नो धर्म निभाउँछ बगेर हामी पनि जीवनको यात्रामा निरन्तर बहनु पर्छ। यात्रा नै जीवन हो। कहिले भिरमा, कहिले खोंचमा, कहिले हाँसोमा, कहिले चोटमा हिँडिरहनु पर्छ निरन्तर निरन्तर।
काठमाडौंमा भेटिने कथाका पात्रहरू साँच्चै मज्जाका छन्। यिनीहरूले जीवन सिकाउँछन्। जिउन सिकाउँछन्।