स्कुलमा सँगै पढेको साथीले मेसेन्जरमा एउटा म्यासेज पठायो। ऊ फेसबुकमा पहिलेदेखि नै साथी थियो तर खास्सै गफ हुँदैनथ्यो।
'फलानीलाई चिन्छस्, कि भुलिस्? उसले तेरो बारेमा सोध्दै थिई।'
उसले नामै लेखेर मलाई जिस्काउँदै थियो। मैले चाहिँ उसको इज्जत अनि मैले आजसम्म उसलाई गरेको प्रेमको कारण यता ब्लगमा उसको नाम खुलाउन चाहिनँ।
मैले हाँस्दै लेखें, 'उसलाई त म सात जुनि भुल्न सक्दिनँ यार, यो आठ दस वर्षमै कसरी भुल्न सक्छु?'
मैले साथीसँग उसको फेसबुक एकाउन्ट मागेँ, उसले लिंक पठाइदियो।
एकदमै फरक नाम, मान्छे अझै उस्तै। गाउँघरकी निरमाया सहर पसेपछि निरू भएजस्तै उसको पनि नाम फेरिएछ।
खतरा नाम, सर्च गर्दा पनि नभेटिने। त्यसैले त आजसम्म भेटेको थिइनँ।
उसको फेसबुक खोलेर हेर्दै थिएँ, अतीतसम्म पुग्दै गएँ। फ्रेण्ड–रिक्वेस्टको बटन थिचेँ, अनि विगत सम्झन थालेँ।
मेरो घरदेखि अलि परको गाउँमा उसको घर। तर पढ्ने स्कुल एउटै। दुबैमा कुरकुरे बैंश, केटी देख्दा लजाउने म। ऊ इज्जतिलो परिवारकी छोरी।
लगभग दस पटक प्रेम प्रस्ताव गरेको थिएँ मैले। कहिले कोमार्फत् त कहिले कोमार्फत्। तर उसको उत्तर कहिले आएन, न सकारात्मक न त नकारात्मक।
एक पटक उसकै मामा नाता पर्नेसँग पनि लभलेटर पठाइदिएँ। मामाले मेरा बारेमा सकारात्मक गफ चुट्दै भनेछन्, 'दिपकको प्रेम स्वीकार गर भाञ्जी, सुख पाउछ्यौ।'
उसले लजाउँदै मामासँग भनिछ, 'म दिपकसँग आफैं कुरा गर्छु।'
तर भेटेर कुरा गर्ने समय कहिले आएन, उसले मलाई कहिल्यै समय दिइन।
ऊ हरबार पन्छिँदै गएकी थिई। 'नाइँ हुनै सक्दैन' भन्ने खबर पनि आएन, 'लभ यु टु दिपक' भन्ने खबर पनि आएन।
'म पूरै दिवाना स्टाइलमा लागिरहेँ, वर्षौंसम्म।'
दुई चार महिनाको अन्तरमा एउटा लभलेटर लेख्थेँ, पूरै आशिक बनेर। लाग्थ्यो कि यो पत्र पढेर ऊ गल्छे अनि भन्छे।
तर अहँ ! दर्जनौं पत्रका उत्तर आएनन्। बरू म थाक्दै गएँ।
एउटै स्कुलमा पढ्ने हामी छुट्टियौं, प्लस टु सकेर म सहरतिर लागेँ, ऊ दस कक्षा उत्तीर्ण गरेर खै कता गई, हराई।
म उसलाई भुल्ने कोसिस गर्थें, तर गीतमा पनि उसकै नाम बोल्थ्यो। हिरोइन जम्मै ऊजस्तै लाग्थ्यो। म एक प्रकारको प्रेम रोगमा थिएँ।
गाउँघर छाडेको, उसलाई नदेखेको दुई वर्ष पछाडि एकदिन लमही बजारमा उसलाई देखेँ।
देखेंमात्र होइन, झस्किएँ पनि।
हातमा चुरा थिए, सिउँदोमा सिन्दुर थियो अनि छेउमा एक जना ह्यान्डसम युवा। उनको पहिरनबाटै थाहा पाएँ, बिहे भएछ।
ऊ अलि परै थिई, मसँग उहीँ उसको मामा थियो, जसले हामी दुईको प्रेम फक्राउन चाहन्थ्यो।
मैले उसको मामालाई उनीहरूतर्फ इशारा गर्दै सोधें।
मामाले सबै बेलिबिस्तार लगायो, केटो धनाढ्यदेखि लिएर पेशा इन्जिनियरसम्मको।
म बबुरोको के हैसियत यार। अब ऊ मेरो दिमागबाट पूरै डिलेट। म स्वतन्त्र भएँ, किनकि हिजोसम्म पनि मेरो दिमागमा उसकै बास थियो। अब बास दिएर के काम!
त्यस पछाडिका लगभग छ वर्ष पछाडि आज उसको फेसबुक प्रोफाइल हेर्दैछु। उसका ऊ बेलाका फोटोहरू हेर्दैछु अनि उसका आजका फोटोहरू हेर्दैछु। धमाधम लाइक ठोक्दैछु।
मन चञ्चल भैरह्यो। उसको प्रोफाइल धेरै पटक हेरेँ, सबै फोटोहरू हेरें तर उसको श्रीमानको फोटो मैले भेटिनँ।
बिहे भएको लगभग आठ वर्षसम्म पनि बच्चाबच्ची नभएको जस्तै लाग्यो मलाई। फेसबुकमा अपलोड भएको बच्चाको फोटो भेटाइनँ मैले। न श्रीमानको फोटो, न त बच्चाबच्ची को।
फ्रेण्ड रिक्वेस्ट पठाएको लगभग दुई घण्टामा हामी साथी भयौं। उसले एसेप्ट गरेको नोटिफिकेसन मेरो फेसबुकमा आइपुग्यो।
ऊ अनलाइनमै थिई, हरियो बत्ती उसको मेसेन्जरमा टल्किँदै थियो। मैले हाई गर्दिएँ।
तुरून्तै रिप्लाई आयो, सञ्चो बिसन्चो सोधपुछ कार्यक्रम सकिएपछि मैले सोधें, 'ज्वाइँ सापको के छ खबर? भाञ्जा भाञ्जी कति भए?'
मुटु गाँठो पारेर नाता जोडेको थिएँ मैले यतिबेला। किनकि मसँग अरू नाता थिएन। विवाहित नारीलाई अप्ठ्यारोमा पार्ने खालका म्यासेज गरेर पापी बन्नु थिएन मलाई।
मैले ज्वाइँ र भाञ्जा भाञ्जीको खबर सोधेपछि उसले हाँसेको इमोजी पठाई। अनि तुरून्तै लेखी 'कस्ले बिहे गरेको छ र?'
एकछिन हाँसी मजाक भए। भेट्ने कुरा पनि भए। समय र स्थान तय भएपछि म्यासेन्जरबाट बिदा भयौं।
लगभग सात वर्षपछिको भेट, मनमा उत्सुकता। अलिकति डर, अलिअलि लाज उस्तै। उकुस मुकुसले रातभर निदाउन सकिनँ। कोल्टे फेर्दैमा रात कट्यो।
उस्तै थिई ऊ, म हल्का मोटाएको थिएँ। उसले मलाई नमस्कार गर्दै लज्जित बनाई।
'के खाने?' मैले रेष्टुराँको मेनु पल्टाउँदै सोधें।
देउखुरीको उखरमाउलो गर्मी। उसमाथि भूपू प्रेमिकासँगको भेट। म असिन पसिन थिएँ।
उसले रेष्टुरेन्टको काउन्टरतिर हेर्दै भनी, 'कोक खाम, हुँदैन?'
मैले दुइटा कोक मगाएँ, अनि अनुहारमा हेर्दै भनें, 'तिमी त उस्तै, दस कक्षा पढ्दा कै जस्ती।'
'तपाईं फेरिनु भएछ, पैलाभन्दा मोटो देखेँ!' उसले हाँस्दै भनी।
मैले घर व्यवहारबारे सोधें । श्रीमान, घर, सासूससुरा।
ऊ भावुक हुँदै भनी 'डिभोर्सको लागि मुद्दा चलिराको छ, अबको दुई महिनामा फाइनल हुँदैछ।'
म छक्क परेँ। ऊ मलिन थिई, आँखा रसाएका थिए उसका।
'किन त्यस्तो?' मैले धेरै लामो प्रश्न गरिनँ।
उसले टेबुलमा भएको टिस्यू पेपरले आँखा पुछ्दै भन्न थाली, 'ऊ समलिंगी रहेछ।'
म हेरेको हेर्यै भएँ, उसले फेरि भन्न थाली 'घरको, बा-आमाको इज्जतका निम्ति मात्र मलाई बिहे गरेको रहेछ।'
'त्यसैले यतिका वर्ष बच्चाबच्ची नभएको?' मैले प्रश्न गरेँ।
उसले वर्ष गन्दै भन्न थाली, 'बिहे भएको वर्ष मात्र म उसको घरमा बसेँ, अर्को वर्षदेखि अलग भएर डेरामा बस्न थालेँ।'
'किन नि ?' मैले बीचमै रोकेर प्रश्न गरेँ।
'घरमा मेरो कुनै इज्जत थिएन। सासूलाई सबै कुरा थाहा थियो। तर घरको इज्जत बचाइदिन आग्रह गर्दै सहेर बस्न दबाब दिन्थिन।'
उसले सासूको कुरा सकी।
'अनि बुढाले माया गर्दैनथ्यो?' मैले बुढाको बारेमा सोधेँ।
'ऊ आफ्ना साथीहरू ल्याएर मसँग जिस्कन प्रेरित गर्दथ्यो, उसका साथीहरूले मलाई सेक्सुअल ह्यारेसमेन्ट गर्थे। मैले नाइँ नास्ती गर्दा उल्टै ऊ मसँग रिसाउथ्यो।' उसले आँखाबाट आँसु चुहाउँदै विगत बताउन थाली।
'घरको इज्जतको निम्ति म एउटा 'कुमारी' बुहारी बनेर बस्न पर्थ्यो कि त उनीहरूले भनेकै व्यक्तिसँग सुतेर मेरा शारीरिक इच्छा पूरा गर्नु पर्दथ्यो। त्यस्तो गर्न सकिनँ अनि घरबाट निस्किएँ।' उसले घरबाट निस्केर डेरामा बस्नुको अर्थ बताई।
मसँग कुनै प्रश्न थिएनन्।
उसले उल्टै प्रश्न गरी, 'मेरो पीडामा खुसी भयौ होला है, बल्ल खाइस भन्यौ होला है?'
उसको निम्ति तड्पिएका रातहरू सम्झिएँ, मैले कसम खाँदै लेखेका पत्रहरू सम्झिएँ। तर उसको वेदनामाथि हाँस्ने अधिकार थिएन मलाई। मौन बस्दै पीडाले कालो भएको अनुहार देखाइदिएँ।
डिभोर्सको मुद्दा फिर्ता लिएर घरमै बस्न दबाब छ रे, ऊ चाहिँ डिभोर्स लिएर स्वतन्त्र बाँच्न चाहन्थी। शुभकामना दिनुबाहेक अरू शब्द थिएन।
'चिन्ता नलेऊ, जीवनले आफ्नै तरिकाले जिउन सिकाउँछ। जे हुन्छ, राम्रैका निम्ति हुन्छ।' भनेर ढाडस दिएँ अनि बिदा भए।
ऊ के चाहन्थी थाहा छैन मलाई। तर ऊभित्र आत्मग्लानी थियो। मेरो प्रेम प्रस्तावलाई लत्याएको 'पापको सजाय' महसुस गर्दै थिई ऊ।
म फेरिएको थिएँ, ऊप्रति प्रेम उस्तै थियो तर बिहे गर्ने लक्ष्य थिएन अब।