नेपालका २०/३० लाख मान्छे विदेशमा छन्। चाहेर, नचाहेर उनीहरू विदेशीएका छन्। कतिको त उद्धार नै भएको होला, कतिको बेहाल छ। खैर यसमा मानिसहरू फँसिरहेका छन्।
७ वर्ष पहिले एउटा प्रतिभा पलायन विषयको वादविवाद प्रतियोगीतामा संयोगवश निर्णायक बनेको थिएँ। आफूलाई यो विषयमा गहन अध्ययन थिएन यद्यपि आयोजकको अनुरोधमा बसेँ।
सहभागी भाइबहिनी मध्येको एकजनाले 'एप्पल, गुगलजस्ता कम्पनीमा काम गरेका छन्, पैसा कमाएका छन्, जीवन राम्रो छ। स्वदेशमा अवसर छैन के गर्ने? त्यसैले विदेश जाने प्रतिभा पलायन राम्रो हो, अवसर जहाँ छ त्यहाँ मानिस जान्छ' भन्ने तर्क राखे।
त्यो बेला मैले प्रतिभा पलायनको सर्मथनमा दिएको तर्कलाई नमानेर कम अंक दिएँ। हामी तीन जना थियौँ, सबैको अंक जोडेर विजयी घोषणा भयो।
यहाँनेर यो प्रसंग किन जोडेको भने नेपालका सरकारी र निजी कार्यालयतिर कुनै काम लिएर गयो पटक्कै काम हुँदैन। अनेक बहाना बनाएर कामै गरिदिन्नन्। घर आउँछु, वृतान्त सुनाउँछु। सबै भाइबहिनीको एउटै जवाफ 'नेपालमा काम छैन, तपाईं त विदेश जानुपर्ने।'
विदेशमा त्यस्तो के छ र? त्यहाँ काम गराउन, गर्न सकिने, यहाँ काम गर्न, गराउन नसक्ने किन? मेरो मनमा प्रश्न आइरहन्छ किनकि त्यहाँ कि 'एस' कि 'नो', दायाँबायाँ कुरा छैन। मिलाई दिनुस्, विचार गर्नुस् भन्ने हुँदैन। नियम प्रष्ट छ। नियममा भए पाइन्छ नत्र जे गरे पनि पाइन्न।
मलाई साँच्चै योग्य होला त विदेश? तर यहाँजस्तो सबै चिज त्यहाँ छैन। मनमा द्विविधा हुन्छ। 'नेपाल खराबै हो त?' आफैलाई प्रश्न गर्छु। मैले मात्र काम गराउन नसकेको हो कि भनेर अरुलाई पनि 'यस्तै हो?' सोध्छु। साथीभाइ, सबैले नेपालमा काम गर्न अनि गराउन धेरै गाह्रो छ भन्छन्।
एक पटक थापाथलीको पुलपारि गुरुद्वारानेर एउटा बडेमानको साइनबोर्ड थियो। त्यसमा लेखिएको थियो 'गरी खान देऊ।' त्यो बोर्ड सम्झेँ। मानिसले त्यसै बोर्ड बनाएर राखेका पक्कै होइनन्, यसमा केही न केही रहस्य छ। मनमा कुरा खेलाउँछु।
एक ताका 'नेपालको एयरपोर्टबाट हात्ती पनि छिराउन सकिन्छ' कसै-कसैले भनेको सुनेको थिएँ तर आफू एयरपोर्ट जाँदा पुलिसले त पेटी, टोपी, जुत्ता, चश्मा, घडी समेत खोल्न लगाएको याद छ। त्यसैले म आफू साँच्चै नेपालमा काम नलाग्ने हुँ जस्तो लाग्यो।
फेरि सोच्छु, अरु सबैलाई त ठिकै छ तर मलाई मात्र किन यस्तो लाग्छ? खासमा नेपालमा कस्ता मान्छेको जीवन सहज छ त? म घोरिएर सोच्छु। शास्त्रले के भन्छ? खुसी र सुखी मान्छे त्यो हो जससँग असल श्रीमती, नियमित आम्दानी, आज्ञाकारी सन्तान, राम्रो स्वास्थ्य र विद्या छ।
यी सब कुरा कहाँ लागु होला त? मेरो सरकारी अड्डामा काम नहुनुमा कतै मेरै दोष त होइन? समीक्षा गर्न मन लाग्छ। किन काम भएन त? कागज नपुगेर, समयमा नगएर, घुस नदिएर, नियमले नमिल्ने भएर वा अरु नै कारणले हो? देश, प्रशासन, कर्मचारी, अड्डालाई मात्र दोष लगाउनु अन्यथा हुन्छ कि जस्तो लाग्छ तर पनि यो प्रश्न मनमा आइरहन्छ।
साँच्चै यो देश मेरो लागि ठिक होइन? कविहरूले भनेजस्तै 'मलाई देशले के दियो होइन मैले देशलाई के दिए भनेर सोध।' कुरा त हो तैपनि मजस्तो सामान्य मानिसले देशलाई के दिन सक्छु र? न मसँग प्रशस्त पैसा छ न मेरो अन्य क्षमता। त्यसैले कविले भने जस्तो मसँग देशलाई दिने कुनै चिज थिएन। देशलाई मेरो सोझोपना, इमान्दारिता, अनुशासन के काम? न बेच्न मिल्छ न पकाएर खान मिल्छ। न बैँकमा साट्न मिल्छ। त्यसैले म साँच्चै देशको लागि काम नलाग्ने नै हुँ, म पक्का भएँ।
अस्ती काठमाडौँ बाहिर जाँदै थिएँ, बाटोमा एउटा मोटरमा लेखिएको थियो 'बर्मा गए कर्मसँगै, नेपाल गए कपालसँगै।'
यो देखेपछि म आफू नै काम नलाग्ने हो कि अरुलाई ठिकै भैरहेको छ जस्तो लाग्छ। संसारमा खुसी हुने मानिसहरूको देश मध्ये नेपाल पनि परेको छ तर कुन खुसी, कस्तो खुसी, के ले खुसी, कसरी खुसी? त्यो भने हेर्न बाँकी नै छ।
'सन्तोषम् परम् सुखम्' संस्कृत भनाइको हामी नेपालीलाई लागु भएको त होइन? नत्र भने हामी किन खुसी? जहाँ अभाव, पीडा, दुःख, हैरानी र समस्या छ। विडम्बना! सुखीमा नाम दर्जा हुन्छ।
साँच्चीकै सिधा-साधा, नम्र, बोल्न नसक्ने, साधारण मानिसका लागि नेपाल काम छैन त? होकी जस्तो पनि लाग्छ। सडक जाम भएको बेलामा कोही बाइक पेटी-पेटी कुँदाएर अगाडि बढ्छ तर म जाम कुरेर कहिले खुल्ला र जाउँला भनि पर्खेर बस्छु। पेटी-पेटी बाइक कुदाउने स्मार्ट अनि म चाहिँ जाम खुल्ने प्रतीक्षामा बसिरहेको छु।
कुर्नेहरूको पालो नआउने हो कि पालै ढिलो आएको हो? बुझ्न गाह्रो छ, धेरै गहिराइमा गए मोती पाइन्छ भन्थे तर यहाँ त गहिराइमा गयो भने त पागल होइन्छ जस्तो लाग्छ। मेरो साँच्चै नेपालमा काम छैन त? म किंकर्तव्यबिमोढ हुन्छु।
फेरि मन बुझाउँछु, अरुलाई हेर्छु, सोच्छु जीवन के हो? सफलता के हो? कार चढ्नु, सुट पाइन्ट लगाउनु, देश विदेश घुम्नु, खर्चिलो बन्नु। अनि ती मान्छेहरू जो कार चढ्छन्, सुट पाइन्ट लगाउँछन्, देश विदेश घुम्छन् खर्चिला छन् तर ती पनि खुसी छैनन्।
खुसी के त? कहाँ छ, कसरी ल्याउने? त्यो पैसामा हो की रमाउनुमा हो? पुगीसरीमा हो या जीवनशैलीमा हो? त्यसको कुनै परिभाषा छ त? छ भने खुसी भोगाइ, सोचाइ, देखावटी के हो?
लप्पन छप्पन नजान्ने, सिधा व्यवहार गर्ने, सिधा बाटो हिँड्ने, सहने, धैर्यता राख्ने मान्छे साँच्चै नेपालमा काम छैन हो? त्यसो भए नेपाल चोर, फटाहा, धूर्तलाई मात्र सुहाउने देश हो? पक्कै होइन किनकि मेरो देशमा भगवान बुद्ध जन्मनु भयो, जो सदा सहनशील, धैर्य, ज्ञानी हुनुहुन्थ्यो साथै अहिंसा परमोधर्म उहाँको वचन थियो। यो सब कहाँ हरायो त?
त्यसैले नेपाल निश्चय नै खराब मान्छेको देश होइन, एकाध फटाहा भए भनेर सबैलाई एउटै ठाँउमा कहाँ राख्न मिल्छ र? सिधा मान्छे विदेशमा किन काम लाग्छन् त? उत्तर प्रष्ट छ- श्रम गर्यो, राम्रो ज्याला छ। श्रम शोषण छैन र धेरै घन्टा खट्यो भने राम्रो पैसा आउँछ।
विदेशको तुलनामा नेपालमा खास गरी ज्याला कम, अस्वस्थ प्रतिस्पर्धा, राम्रो काममा मूल्याङ्कनको अभाव, खुट्टा तान्ने प्रक्रिया आदिले प्रसय पाइरहेको अवस्था छ। त्यसो भए विदेश गएकाहरू सबै खुसी छन् त? धेरै नेपालीहरू त साउदी, कतार, दुबई, गल्फमा छन् के तिनीहरूमा आनन्द र खुसीयाली छाएको छ त? कि पश्चिमा देश, युरोप आदि गएकाहरू खुसी छन् त?
यो सब भ्रम हो या वास्तविकता खासमा सुख भन्ने वस्तु अनुभूतिमा छ। किनकि कोही मानिस ३० डिग्री तापक्रममा सडक पेटीमा दिउँसो १ बजेको चर्को घाममा मस्त निदाइरहेको छ तर अर्को नेपालको धनाढ्य मध्यरातमा पनि बिस्तरामा पल्टेर निदाउन सकिरहेको छैन किनकि उसमा पीडाको अनुभूति छ।
विदेश किन हाम्रो रोजाइमा पर्छ? अज्ञानताले, महानताले, ज्ञानले या भ्रमले जे-जस्तो भए पनि भौतिक सुबिधाको हिसाबले विदेशको तुलना नेपालसँग पक्कै हुन्न तर धर्म, संस्कार, परम्परा, रीतिरिवाज आदिको हिसाबले नेपाल बसाइलाई कम आकलन गर्न मिल्दैन।
व्यवस्था बदलियो तर अवस्था उही छ, फेरबदल भएन। केवल मान्छे बदलिए तर सोच व्यवहार, कार्यशैली बदलिएन। सायद यो दोष भूगोललाई, मानचित्रलाई दिएर आफू ओभानो बन्न मिल्दैन किनकि काम नहुने अवस्थामा हामी किन विद्रोह गर्देनौँ, चुप बस्छौँ, आफ्नो लागि किन बोल्दैनौँ?
स्वदेशीलाई सकस, विदेशीलाई बकस भने जस्तै नेपालीहरू साँच्चै यहाँ बसिखप्न नभएर विदेशीने स्थिति हो या हाम्रो भ्रम हो? यो देश प्रतिको हाम्रो दायित्व पनि छ जहाँ हामी सुधारका लागि सकारात्मक पहल प्रयास गर्न सक्छौँ। एकथरी ३० वर्ष सरकारी सेवा गरेर एउटा घर समेत छैन, अर्को तर्फ १० वर्षमै घर जग्गा जोड्न सफल भएका छन्।
भनिन्छ कुनै विषयमा विमती रहे त्यो विमतीका लागि असहमती जाहेर गर्नुपर्छ, अन्यथा असहमती मात्र राखेर मनन गर्नुको कुनै अर्थ रहँदैन। विदेशमा रहेर नेपाल सम्झनु, नेपालका घटना परिघटनामा अभिमत जाहेर गर्नु, विपत्तीमा चन्दा संकलन होस्, यो राष्ट्रप्रेम हो।
चाहे मतदानका लागि होस् या एनआरएनको अधिकारका लागि होस् विदेशमा रहने नेपालीहरूले देखाएको सदासयतालाई अवमूल्यन गर्नु हुँदैन। नेपालमा रहनु, बस्नु, नेपाली हुनु यहाँको धुलो, धुवाँ, प्रदुषण खानु, यहाँको अव्यवस्था भोग्नुमा हामी नेपाली स्वयम् जिम्मेवार छौँ।