यो मेरो पत्र भविष्यमा मानव समुदायलाई योगदान दिने आमा, शिक्षिका, डाक्टर, वकिल, परिचारिका, इन्जिनियर, डिजाइनर, सूचिकार, लेखक, टेलर, डकर्मी तथा अन्य तवरमा आफ्नो कर्तव्य पूरा गर्ने अथाह सम्भावना बोकेका सम्पूर्ण छोरीहरूलाई।
यो पत्रको आशय अहिलेका छोरीहरू ती खराब टिप्पणीहरूले हतोत्साहित नहुन् भन्ने हो।
आजको युगमा हामी सबैको नै सामाजिक संजालमा सहज पहुँच छ। कुनै जमाना थियो कसैप्रतिको टिप्पणी यसरी परालको आगो सल्के सरि फैलँदैन थियो। तर आज सबैले कसको बारे के सोच्दो रहेछ, उनीहरूको धारणा, मानसिकता कस्तो रहेछ भनेर उनीहरूले गर्ने टिप्पणीबाट नै बुझ्न सकिन्छ।
मानिसहरूले कुनै एक पक्षमा बसेर अर्को पक्षको इज्जतमा कतिसम्म हिलो छ्याप्न सक्छन् भनेर सहजै देख्न सकिन्छ। मेरो यति बिन्ती छ कि यसरी हिलो छ्याप्नेहरूसँग यो पिँढीका छोरीहरू नडराऊन्। साथै सम्पूर्ण छोरीहरूले यो पनि बुझ्न पर्छ कि यहाँ टिप्पणी नगर्ने अथाह समूह पनि छन् जसले कुनै पक्षको वकालत गर्नअघि सत्यतथ्य बुझ्न खोजिरहेको हुन्छन्।
हाम्रो समाज कालो वा सेतो छैन। यसको सप्तरंगी रंगहरू छ सायद। त्यसैले यो खराब या त असल नै छ भन्न सकिन्न। तर यो सप्तरंगी समाजमा छोरीहरूले छोरी भएर बाँच्न भने धेरै चुनौतीहरूसँग जुझेर आफूलाई अघि बढाउनु पर्नेछ। र म चाहन्छु कि अहिलेका छोरीहरू ती सबै चुनौतीसँग जुझ्न सक्ने जुझारु बनून्।
एउटा चुनौती भनेको पितृसतात्मक सोचले भिराइदिएको छोरीहरूको परिचय पनि हो। हो छोरी, तिमीहरूले पहिलो त आफ्नो परिचयसँग नै लड्नु पर्ने हुन्छ। छोरा वा छोरी जन्मिँदै यस्तो वा उस्तो भनेर आफ्नो स्वभाव, कर्तव्य, विशेषता, क्षमताका सूचि लिएर जन्मिँदै लिएर आएका हुँदैनन् तर मानव समाजले एउटा बच्चा जन्मिसकेपछि एउटा परिचय भिराइसकेको हुनेछ।
छोरी भनेर छोरीको चिनारी र अस्तित्वको सिर्जना गर्दिसकेको हुनेछ। महिला अस्तित्व र स्वतन्त्रताको कुरा गर्दा सन् १९०८ मा फ्रान्समा जन्मिएकी सिमोन दो बुभुवा: लाई सम्झेनौँ भने यो विषय नै अधुरो हुन्छ।
सिमोनको बौद्धिकताबाट प्रभावित भएर उनको प्रेमी सार्टरले 'तिमी त छोरा मान्छे जस्तो छौ, छोरा मान्छे जस्तै सोच्छौ' भन्ने वाक्य सुन्दा सुरुमा खुसी लागे पनि पछि छोरा र छोरीलाई त समाजका पुरुषले पो व्याख्या गरेका रहेछन् भन्ने महसुस भएपछि उनीद्वारा रचित 'द सेकेन्ड सेक्स' भन्ने किताबले महिला अस्तित्व र स्वतन्त्रतामा प्रश्नचिन्ह खडा गर्नुको साथै महिला स्वतन्त्रताको लहर ल्याउन सहयोग गरेको छ।
एउटा चेतना खुलेको मान्छेमा म त छोरी मान्छे हुँ र मेरो जे स्वभाव हो, त्यो छोरी मान्छेकै हो भन्ने अवश्य पर्नुपर्छ। नेपाली समाजमा पनि यत्रतत्र देख्न सकिन्छ यसको उदाहरण। पुरुष डाक्टरहरूलाई 'डाक्टर साब' भनेर सहजै भन्ने मुखले महिला डाक्टरलाई सहजै भन्न नसक्ने वा भनौ कुनै पनि आधिकारिक नामले बोलाउन नसक्ने चलन।
छोरीहरू कमाउने भयो भने, आमाबाबालाई सहयोग गरे, कुनै टेक्नोलोजी सम्बन्धी काम गरेमा यो त छोरो जस्तो छ या ऊ हाम्रो घरको छोरो हो भन्ने चलन छ। सुरुमा त यो वाक्य सुन्दा साँच्चै खुसी लाग्न सक्छ छोरीहरूलाई म त छोरो भएछु भनेर तर यो काम त छोरीले गरेको छोरी नै हुनु पर्ने हैन र? भनेर आफ्नो परिचयमा प्रश्नचिन्ह खडा हुन्छ र अबको छोरीहरूले यो प्रश्नलाई निमिट्यान्न हुनेगरी छोरीको व्याख्या बदल्नुछ।
छोरीहरूले के-के गर्न सक्छ, आफ्नो सम्भावनालाई खोज गर्नुछ र 'छोरा हो तिमी' भनेर गर्व गर्ने आमा र बाबालाई, समाजलाई म छोरी नै हो भनेर चिनारी दिनु पर्नेछ। अनि जन्मिन नपाई छोरी भएकै कारणले गर्भपतन भएका छोरीहरू बचाउनु छ। हामी छोरीहरू 'मान्छे' जस्तै हुनुछ।
त्यस्तै छोरीहरूले हामीले महिला सम्बन्धी कानुनको रक्षा पनि गर्नुपर्ने भएको छ। महिलाहरू प्रतिको कानुन र व्यवस्था यतिकै आएका छैनन्। कयौँ महिलाहरू लैंगिक हिंसामा परेपछि महिला हिंसा सम्बन्धित कानुन तथा नियमहरू लागु भएका छन्। यो कति नियमन भएको छ त्यो त यहाँ ठ्याक्कै निर्क्यौल गर्न नसकिएला तर भएका कानुनको प्रतिरक्षाको लागि पितृसतात्मक सोचसँग सधैँ नै लडिरहनु पर्ने देखिएको छ।
यतिसम्मको व्यवस्थामा आइपुग्न कयौँ क्रान्तिकारी महिलाहरू र ज्ञानी पुरुषहरूले संघर्ष र बलिदानको कथा हुनु परेको छ। क्रान्तिकारी सोच भएकै कारण कति महिलाहरूको घरपरिवार टुक्रिएको छ, समाजबाट अपहेलित भएका छन्, देशबाट निकालिएका छन्।
जुन अधिकार र स्वतन्त्रता हामीलाई स्वतः प्राप्ति भएको जस्तो लाग्छ त्यो स्वस्फूर्त नभएर हाम्रा अग्रजहरूले घर, परिवार, समाज, संस्कृति, कानुन, धर्म आदिसँग लडेर महिलालाई यो स्थितिमा ल्याइपुर्याएका छन्। समयको बहाब, खुला अर्थतन्त्र तथा विश्वव्यापीकरणको आफ्नै असर होला तर यथास्थिति परिवर्तन गर्न चेतनाले ठूलै लडाइँ गर्नु परेको छ।
वास्तवमै भन्नु पर्दा प्रत्येक पाइला पाइलामा, देश देशमा महिलाहरूले आफ्नो अधिकार सुरक्षित गर्न लड्नु परेको छ। जब हाम्रो देश नेपालमा महिलाहरू सति प्रथाको लागि आगोमा जिउँदै जलेर आत्मदहन गर्दै थिए भने, इंगलैंड तथा अन्य हालका विकसित राष्ट्रमा पुरुषले सरह महिलाले पनि भोट हाल्न पाउनु पर्छ भनेर आन्दोलन हुँदै थियो।
जब नेपाली महिलाहरू गर्भपतनको मामलामा सजाय भोगिरहेका थिए भने उता विकसित राष्ट्रमा श्रम मूल्यमा लैंगिक समानताको लागि लडाइँ भइरहेको थियो। यसरी पाइला पाइलामा संघर्ष गरेर स्थापना गरेको कानुन व्यवस्था नै महिलाहरूको वास्तविक धर्म र संस्कृति हो र यसको जगेर्ना नगर्ने हो भने पितृसतात्मक सोचको हावी नहोला भन्न सकिन्न।
अहिलेको जल्दोबल्दो उदाहरण नै लिउँ, पारपाचुके भइसकेपछि पनि महिलामा लगाम लाउन सकियोस् भन्ने हेतुले संसदमा प्रस्तावित महिलाले पारपाचुकेसँगै पाएको आफ्नो सम्पत्तिको हिस्सा दोस्रो विवाह गरेमा फिर्ता दिनु पर्ने प्रस्तावले जनाउँछ। अहिलेको समयमा श्रीमती श्रीमान दुवैको कमाई हुने त छँदै छ, साथै श्रीमतीले विवाहको दौरानमा आफूले गरेको परिश्रमको पारिश्रमिक र समयको कुरा बेग्लै छ।
यी सबै तार्किक विश्लेषण छोडेर, पित्रिसतात्माले चिच्याइरहन्छ, 'नारीहरूलाई सकेसम्म अङ्कुश लाइराख।' तर यदि श्रीमतीले सम्पत्ति फर्काउनु पर्ने हो भने सगोलमा कमाएको सम्पत्ति श्रीमानले अर्को बिहे गरे फेरि पूर्व पत्नीलाई हिसाब बुझाएर विवाह गर्नुपर्ने हो कि हैन? त्यो थाहा पाउन भने प्रस्तावको विस्तारित विश्लेषण नै गर्नु पर्ने हुन्छ।
आज पनि राष्ट्रियताको नाममा नेपाली महिलाले अन्य देशको नागरिकसँग विवाह गरेमा, उसबाट जन्मिने बच्चाले वंशजबाट नागरिकता पाउन सक्दैन। यहाँ बाबुको नागरिकता वा बाबुको ठेगान नभएको खण्डमा बेइज्जतीपूर्ण ढंगले नागरिकताको अधिकारबाट बन्चित हुनुपरेको उदाहरण पनि हजारौँ छ।
देश भनेको प्रकाश सपुतको गीतमा भने जस्तै चार किल्लाको माटो हो, एउटा अस्थायी चित्र। यदि देश स्थायी थियो भने देशको चित्र परिवर्तन हुन्न थियो, चोक्टा चोक्टा धर्तीको लागि लडाइँ हुँदैन थियो। मानिसको बनावट त स्थायी हो तर त्यही स्थायी बनावट मध्ये एउटा मान्छे जन्मिन बितिक्कै यौनांग हेरेर राष्ट्रिय, धार्मिक, सांस्कृतिक प्रणालीले अझै पनि महिलालाई दोस्रो दर्जाको व्यवहार गरिनु के उचित होला त?
अब छोरीहरूले यी सबै राष्ट्र ग्रन्थ, धर्मग्रन्थ, संस्कृतिको चालचलन अध्ययन गर्नु छ र समयसापेक्षित परिवर्तन ल्याउने चुनौतीसँग जुझ्नु छ। मानव समुदायको सुरक्षा र विकासको लागि पुरुष र नारी दुवैले बराबरीको हैसियतमा हातेमालो गरेर अघि बढ्नु छ। तर यी सबै चुनौतीसँग जुझ्न हरेक छोरीहरू सूर्यको किरण पछ्याउने सूर्यमुखी फूल हुनुभन्दा पनि सूर्य भएर किरण दिनु पर्नेछ।
क्षणिक रमझमलाई जितेर आफ्नो बाहिरी आवरणभन्दा पनि आफू भित्रको सम्भावनाका सागरको गहिराइमा डुबुल्की लाउनु छ। अनि मात्र हाम्रो समाजले वर्षौपछि भन्नेछ, 'छोरीजस्तै छौ तिमी, छोरी नै हौ तिमी, आफ्नो जिन्दगी आफ्नै सर्तमा जिउन सक्ने'।