'नानी, त्यो अस्ति खाएको रोटीमा बेरेको वालाको नाम के अरे? मैले बिर्सेँ। अस्पताल जाँदा यही बाटो परेको छ, खाली पेट जचाउन आएको थिएँ,' साथीको आमाले फोनमा भन्दै हुनुहुन्थ्यो।
'ममी, त्यसलाई काटी रोल भन्छ, चिकेन काटी रोल दिनु भन्नु न,' साथीले जवाफ दिइँ।
'के रे? के रोल?,' आवाज आयो, 'काटी रोल? त्यही त नि कस्तो नाम बिर्सेको। तिमी भएको भए आफै भन्थ्यौ। म त नाम नै सम्झिन्न भन्या।'
साथी र म दुई महिनाको लागि पढाइको सिलसिलामा बिरानो ठाउँ गएका थियौँ। घरमा हुने आमाबुबाको त्यति यादले कहिल्यै सताएन जति यो आजको वार्तालापले निम्त्यायो। साथीको आमाको एउटा निश्चल मनले सोधिएको प्रश्नले आफू बच्चा हुँदाको याद आयो। अनायसै आमाको साथमा हुन मन लाग्यो।
म साथमा हुँदा यो के कसो भनिरहनु हुन्थ्यो, कहिले जवाफ दिन्थेँ त कहिले झर्किन्थेँ। यति पनि आउँदैन भनेर रिसाउँथेँ। झन् नयाँ कुरा देख्दा प्रश्नको ओइरो लाग्थ्यो।
आमाले पहिलो पटक मोबाइल चलाउँदा 'नम्बर सेभ गर्देऊ न, नम्बर हेर्देऊ न' भनेको याद आयो। हरियो बटनमा थिच्दा उठाउने र रातो बटन थिच्दा काट्ने बाहेक केही आउँदैन थियो। अङ्ग्रेजी राम्ररी नपढाइदिएकोमा ठूलो गुनासो गर्नुहुन्थ्यो। भन्नुहुन्थ्यो, 'चार कक्षाबाट मात्र एबिसिडी पढाउँथ्यो हामीलाई नानी। त्यसमाथि त्यत्रा गाईवस्तु, नोकरचाकरलाई पकाइतुल्याई गर्दा कहाँ भ्याउनु? अझ छोरी बिग्रन्छन् भनेर पढ्न पठाउन्न थिए।'
अहिले त म पढेर आउँदासम्म फलानो देशमा यो भयो, फलानो प्रधानमन्त्रीले यो भन्यो, यो नायकको चक्कर यो नायिकासँग जस्ता यावत् कुरा भन्न थाल्नुहुन्छ। सब मोबाइलको कमाल कहिलेकाहीँ त कराउँछु पनि, धेरै रेडियो नेपाल नबन्नु भनेर। तर सम्झन्छु तब जब म पनि मोबाइल, फेसबुक नयाँ-नयाँ हुँदा किशोरवस्थामा अन्धाधुन्ध कत्ति चलाउँथेँ। लाग्छ सायद अब आमाबुबाको केटाकेटी हुने पालो होला।
जब आमाबुबाका उमेरका मान्छेले बनाएको टिकटकमा अनेक सृजनशील भिडिओ देख्छु तब लाग्छ कोही केटाकेटी जसरी भुल्न खोजेजस्तो, पारिवारिक र सामाजिक बोझबाट एकछिनको लागि उन्मुक्ति मागेजस्तो। हुन त कतिपय सामाजिक मूल्यमान्यता विकृति पनि अवश्य छिरेका छन्।
तर मलाई सबैभन्दा के कुराले खुसी लाग्छ भने अहिलेका आमाबुबा पनि एक पलको लागि सबै कुरा बिर्सेर रमाउन चाहनुहुन्छ। कहिलेकाहीँ आफ्नो खुसी रोज्नु स्वार्थ होइन भन्ने उहाँहरूले बुझ्नु भएको छ। विज्ञानका बदलिँदै गएको एकलकाटे समाजमा आफू मात्र पनि रमाउन सकिन्छ भनेर देखाउन खोजेका छन्। उनीहरूलाई थाहा छ कि यो दीर्घकालीन खुसी पक्कै होइन।
तर साथीभाई, नातागोता, यहाँसम्म कि आफ्नै सन्तानसँग समय छैन बोल्न, हाँस्न र रमाउन तब आफ्नो मन भुलाउन आफै बच्चा बनेका छन्। नौला प्रविधि, रहनसहन, सोचविचार, स्वास्थ्य विविध कुराले उहाँहरूलाई उत्साहित र थप चुनौती अवश्य थपेको छ। प्रविधि र नयाँ रहनसहनबाट जुध्न अवश्य सजिलो छैन तर हिम्मत हारेका छैनन् पछिल्ला पुस्ताले। बरु साथी बन्न चाहन्छन्, हामीलाई ठूलो मान्छे बनाएर आफू केटाकेटीजस्तो बर्ताब गर्छन्।
जब मेरी आमा कराउनु हुन्छ मलाई, उहाँकै गल्ती भए पनि मैले नै फकाउनु पर्छ अन्तिममा। जब उहाँ मलाई 'नानी के एप हो यो, मलाई पनि यो सारी लाउन मन छ, हामी पनि घुम्न जाऔँ न, मेरो पनि प्रोफाइल पिक्चरको लागि फोटो खिच्देऊ न' भन्नुहुन्छ तब म खित्का छोडेर हाँस्छु।
यस विषयमा सबैको आ-आफ्नो धारणा होला तर मेरो लागि गौरवको विषय हो। किनकि अक्सर आमाले श्रीमानसँग, सन्तानसँग, कतिपय समय आफैसँग आफ्ना चाहना खुला रुपले व्यक्त गर्न सक्दिनन्। समाजले नारीलाई 'सहनशील' भन्दै फुर्काएर मन दबाउन सिकाएको छ, त्यो मेरो विचारमा सबै ठाउँमा लागु हुन जरुरी छैन।
हुर्कंदै गर्दा बुबालाई सधैँ दृढ र कठोर देखेँ। तर आजकल बुबा आफ्ना विगतका दिन, आफ्नो संघर्षका कुरा अनायसै सुनाउन थाल्नुहुन्छ। तब मनमनै लाग्छ कि आमाबुबा कमजोर हुँदै गएका छन्। अफिसमा यस्तो भयो, मलाई यस्तो महसुस भइरहेको छ जस्ता कुरा जब सुनाउन थाल्नुहुन्छ लाग्छ जसरी एक केटाकेटी कोही आफ्नो कुरा सुनाउन आँतुर हुन्छ, त्यही रुप देख्छु बुबामा।
अब उहाँले धेरै दशक 'बुबा पात्र' बनिसकेर थाकेँ जस्तो लाग्छ। खस्कँदै गएको शारीरिक तागत र उमेरसँगै व्यवहार र मानसिक तनावले निमोठ्दै गरेको परिवर्तनले हुर्कंदै गर्दा थमाएको पर्दा खोलेको जस्तो लाग्छ। अफिसमा अनलाइन प्रेजेन्टेसन बनाउन पर्यो भने ज्वरो आउँछ उहाँलाई।
कम्प्युटर क्लास सिकेपछि 'नानी मैले आज यो सिकेँ, त्यो सिकेँ' भन्दै मैले ६/७ कक्षामा सिकेका कुरा वृतान्त गर्न थाल्नुहुन्छ। यस्ता यावत् कुरा जब म सोच्छु तब लाग्छ कि मानिस बढ्दो उमेरसँगै केटाकेटी हुने हो।
विस्तारै समाजका प्रावधान, खोक्रो नियम, बदलिँदो विज्ञान र प्रविधिको दबदबा र प्राकृतिक कमजोरीले सहारा खोज्दो रहेछ। त्योभन्दा पनि बढी आमाबुबा र छोराछोरीको इच्छाआकांक्षा भन्दै कतिपय सपनाहरू त पछाडि छोड्दै अगाडि बढेका छन्। पहिला उनीहरू आफ्नो खुट्टामा उभिऊन् अनि आफ्ना रहर पूरा गरौँला भन्दाभन्दै कहिले समय र स्वास्थ्यले साथ छोड्यो पत्तै भएन।
जति पनि हामीलाई उहाँहरूको बचपना लागेको छ नि आखिरमा यो त उहाँहरूको धेरै वर्षसम्म प्रस्फुटन हुन नसकेका सपनाहरू त हुन्। केटाकेटी हुन नपाउँदै अभिभावक बनेका उपज त हुन्। सबैलाई आफ्नो सपना प्यारो हुन्छ। कसैलाई पनि आफ्नो सपनाको बीचमा आएको मन पर्दैन। तर त्यही आफ्नो प्रिय सपना त्यागेर सन्तानको सपना अँगाल्ने भएर नै आमाबुबा महान् भएका होलान्।
एउटा उमेरपछि बाआमा बच्चा हुन थाल्दा रहेछन् र त्यस बच्चाको जिम्मा लिनु सन्तानको कर्तव्य हुँदो रहेछ। कहिलेकाहीँ उहाँहरूको सट्टा आफै आमाबुबा जस्तो बनेर धर्ती पनि बन्नुपर्छ। कहिलेकाहीँ सम्झाउनु पनि पर्छ। सायद उमेरले उहाँहरूलाई जिद्दी गरेको नसुहाउँला, त्यसलाई 'बुढो भएपछि निहुँ खोज्छन्' भन्छौँ।
सायद एक बालकजस्तै बुढो पनि शारीरिक रुपले पूर्णतया सक्षम नभएर होला वा माया दिँदा-दिँदा खोक्रो भएको मनमा हामीले जस्तै मलाई पनि पुल्पुल्याएर राखुन्, अब उनीहरूको पालो जस्तो लागेको होला। खयर चाहे जेसुकै होस् तर एक सानो बालक र त्यस वृद्धबीच उमेरबाहेक केही फरक हुँदैन। फरक त सिर्फ हाम्रो नजरिया हुन्छ।
कति समय हामी झर्किन्छौँ, रिसाउँछौँ किनकि सायद हामीलाई आफू घुर्की लगाउने बानी परेकाले होला अनि उहाँहरूले फकाउने बानी हामीलाई बसिसकेको छ। भनेजस्तो सजिलो छैन। आमाबुबामा लुकेको बचपनलाई अनेक परिस्थितिमा जुध्दा, व्यवहारमा बाँधिँदा-बाँधिँदा, र माया दिँदा-दिँदा भोका भएका हुन्छन्।
उहाँहरूमा निहित त्यो बच्चालाई जिउँदो राख्न जरुरी छ किनकि बस् त्यति नै सन्तानसँगको चाहना हो र उहाँहरूको दिन अल्मलिँदै जिउने बाटो।