फोटो मन परोस् नपरोस् वाउ, सो क्युट भन्नै पर्ने! कुकुर र बिरालोको जस्तो जोडी भए पनि जोडीकै फोटो हालेको भए नाइस कपल भन्नै पर्ने र जानी नजानी इंग्लिश ठोक्नै पर्ने बाध्यता फेसबुकले आम प्रयोगकर्ताहरूलाई पारेको छ।
जति उमेरको भए पनि लुकिङ योङ, ह्यान्डसम र ब्युटिफुल भन्नै पर्ने नत्र इनबक्समा म्यासेज गरेर 'ओए! किन मेरो फोटोमा लाइक र कमेन्ट नगरेको?' भन्ने धम्की सुन्नुपर्ने रे!
अझै चाडबाड या कुनै तिथिमिति पर्यो भने त ती चाडबाड फेसबुकमा यति धुमधामसँग मनाइन्छ कि बयान गरी साध्य छैन। सायद त्यति धुमधाम त गाउँसमाजमा लाइभमै पनि मनाइन्न होला। शुभकामनाका फोटो, म्यासेज, भिडिओ र स्टाटसहरूले केही दिन फेसबुक नै भरिन्छन् र नोटिफिकेसनमा स्क्रोल डाउन गर्दा-गर्दा आफूले खोजेको कुरै पनि भेटिन्न कहिलेकाहीँ त।
नयाँ सालका कार्ड र उपहारहरू त सम्हाली साध्य नै हुन्न, कति हुन् कति। बर्थडेमा आफन्तले पठाएका केक जम्मा गर्ने हो भने वर्षभरिलाई खानेकुराको जोहो नै गर्नु पर्दैन होला। बर्थडे पनि कस्तो हुन्छ भने उमेर आधा शताब्दी काट्न लागेको होला, फेसबुकमा भर्खर २०/२२ उमेरको भन्दै ह्याप्पी बर्थडे 'विश' गर्नुपर्ने।
हाम्रा पालामा त यो बर्थडे मनाउने भन्ने थाहा नै थिएन, बरु कुनै सालमा जन्मेको महिना, गते र बार एउटै पर्यो भने मनाउनु पर्छ भन्ने चलन थियो। फेसबुकमा हेर्ने हो भने करिब पचास प्रतिशतको जन्मदिन जनावरी एक तारिक परेको हुन्छ। प्रायःले नयाँ आइडी खोल्दा स्वतः आउने जन्म मितिलाई सच्याउँदैनन् तर त्यसैमा पनि बर्थडे विश गर्नेको ओइरो हुन्छ।
आफ्ना बाबुआमासँग सालभरि राम्रोसँग कुरा समेत नगर्ने, कहिल्यै वास्ता नगर्नेहरूले समेत बाबुआमाको मुख हेर्ने दिनमा 'ह्याप्पी फादर्स डे' या 'ह्याप्पी मदर्स डे' भन्दै फेसबुकका भित्तामा बाबुआमाको योगदान र महिमाको गुणगान गाउँदै संसारकै सबैभन्दा पितृभक्त सन्तान श्रवणकुमार नै बनेको देख्न पाइन्छ।
सन् २००४ मा मार्क जुकरवर्गले खोलेको फेसबुक अमेरिकाबाट मेरो पहुँचमा आइपुग्न करिब छ वर्ष नै लागेछ। २०१० को सुरुआती ताका हो मैले फेसबुक खोलेको। त्यही पनि अचेल जस्तो सामान्य मोबाइलबाट र नम्बरबाटै समेत नखुल्ने, कम्प्युटर नै चाहिने भएकोले अस्ट्रेलिया बस्ने मेरो भतिज सुरेशले कम्प्युटरबाट आइडी खोलेर पठाइदिएको थियो।
आफैले कयौँ फेसबुक आइडी बनाएर धेरैलाई बाँडेँ पनि, मैले भने अहिलेसम्म त्यही आइडी चलाउँदै छु। त्यसभन्दा पहिले च्याट गर्नको लागि 'याहू च्याट' अनि 'निम्बुज' भन्ने साना एपहरू चलाइन्थ्यो। फेसबुक चलाउन थालेपछि त निकै सजिलो भयो।
फेसबुक त आयो तर डाटाबाट चलाउँदा पैसा खर्लप्पै पार्ने, बल्ल-बल्ल ओपेरा मिनीबाट डाटा जोगाई-जोगाई चलाइन्थ्यो। सुरुमा त कुनै पोस्ट या स्टाटसमा कमेन्ट र शेयर मात्रै थियो। लाइक र अरु रियाक्टहरू थिएनन् र कमेन्टको रिप्लाई पनि नभएकोले कमेन्टको जवाफ पनि कमेन्टमै हुन्थ्यो।
फेसबुक म्यासेन्जरमा भने च्याट मात्र हुन्थ्यो, कल गर्ने सिस्टम थिएन। फेसबुक लाइभ गर्न मिल्दैन थियो। पछि विस्तारै पोस्टमा गरिने लाइकको अप्सन थपियो र अचेल त अरु धेरै रियाक्सन पनि गर्न मिल्ने बनाएको छ। अचेल भने म्यासेन्जरमा भिडिओ कल, ग्रुप कल गर्न मिल्ने, फेसबुक लाइभ गर्न मिल्ने भएको छ। अझै हामीले नसोचेका कति कुराहरू थपिँदै जाने छन्।
भर्खर फेसबुक खोल्ने ताक पूर्वको एकजना भाइ थिए। त्यो भाइ राति एक बजेसम्म पनि फेसबुकको म्यासेन्जरमै च्याट गरेर न खाना बनाउनु न खानु, उनलाई फेसबुक भएपछि केही चाहिँदैन थियो। अहिलेजस्तो वाइफाई नहुँदा पनि उनी चौबिसै घण्टा च्याट गरी नै रहन्थे। रातभरि फेसबुक चलाउने त्यो भाइलाई देखेर हामी छक्क पर्थ्यौं।
खाना बनाउन छाडेर त्यो भाइ कहिले चाउचाउ त कहिले के खान्थे। कहिले दस मिनेटमा भुक्लुक्क मसुरोको दाल उमालेर राइसकुकरमा भात बसाल्थे। त्यो समयमा अहिले जस्तो स्मार्ट फोन थिएन, नोकियाको किप्याड वाला फोनमा औँलाले दबाएर टाइप गर्नु पर्थ्यो। ती मोबाइलहरूमा वाइफाई त झन् हुने कुरै भएन।
विस्तारै वाइफाई समेत चल्ने नोकियाका 'एन सिरिज' हरू आउन थाले तर ती निकै महंगा थिए। सुरुका दिनहरूमा मोबाइलमा गीतहरू बजेको देख्दा, सुन्दा अचम्म लाग्थ्यो। अनि भिडिओ हेर्न मिल्ने समेत आउन थाले। हुँदाहुँदै ब्याक क्यामेरा भएका मोबाइल देखिन थाले। अनि त फोटोको लागि छुट्टै क्यामेरा समेत नचाहिने भयो। त्यसैमा फोटो या भिडिओ खिच्न मिल्ने र वाइफाई समेत चल्ने भएपछि त संसार नै मोबाइल हुन थाल्यो।
पहिला मेमोरी कार्ड किनेर अलिक राम्रा मोबाइलहरूले फोटो खिचेर फोटो स्टुडियोमा धुलाउन दिएर फोटो प्रिन्ट समेत गरिन्थ्यो। तर आजकल त्यो जमाना पूरै हराएको छ। अहिले गूगल या फेसबुक या यस्तै कुनै एप्लिकेसनको स्टोरमा राखेपछि आफूलाई चाहिँदा हेर्न मिल्ने भयो। मोबाइल कारणबस बिग्रिहाले पनि ती स्टोरमा भएका फोटोहरू सुरक्षित हुने भए।
अचेल त मोबाइल नै साथी, मोबाइल नै आफन्त, मोबाइलमै बिजनेस। मोबाइलमार्फत नै प्रेम बिहे अनि घरजम समेत हुने गरेको छ। यस बाहेकका अन्य प्रशस्त उदाहरण हाम्रा छेउछाउ देख्न सकिन्छ। कुरा यत्तिमै सीमित भएको भए त ठिकै थियो तर योभन्दा एक कदम अगाडि बढेर यसको दुरुपयोग गरेर भैरहेको घरबार उजाड भएको, हत्या, हिंसा, लुटपाट गरिएका उदहारण प्रशस्त देख्न पाइन्छ।
त्यति मात्रै कहाँ हो र, कोही मान्छेलाई रातारात चर्चाको शिखरमा चढाउने र उच्च ओहदाको मान्छेहरूको क्षणभर मै भविष्य र जिन्दगी नै तहसनहस र ध्वस्त समेत पारिएका उदहारण पनि छन्। उदाहरणको लागि केही वर्ष पहिले कृषि मन्त्री हरि पराजुली यही सोसल मिडियाको मध्यमबाटै पदच्युत भएका थिए भने गोरखाकी कुसुम श्रेष्ठ तरकारीवालीको नाम रातारात हिट भएर सेलिब्रेटी नै भइन्।
यो सब सोसल मिडियाको कमाल नै थियो। कतै भेटघाट भएर मन साटासाट गर्नको लागि एकान्त ठाउँ नचाहिने भएपछि एकअर्काको श्रीमान-श्रीमती समेत यसको भरपुर फाइदा उठाउँदै फेसबुकको दुरुपयोग गरिरहेका हुन्छन् र अन्त्यमा सुन्दर परिवार ध्वस्त पारेर नयाँ संसार बनाउन पुग्छन्।
नेपालमा सोसल मिडियाको चरम दुरुपयोग बालविवाह नरोकिनुको एउटा कारण पनि हो।
फेसबुक चलाउनेहरूको चर्तिकला त हेरिनसक्नुको छ। फ्रन्ट क्यामेराले फोटो खिच्यो अनि प्लेस्टोरमा भएका ब्युटिफुल फोटो इडिटरमा हाल्यो, संसारकै सबैभन्दा राम्रो र सुन्दर भएजस्तै बनायो र सेल्फी भन्दै फेसबुकको भित्तामा टाँस्यो। दिनभरि लाइक र कमेन्ट गन्दै बस्यो। कतिपय त फेसबुकमा फोटो हालेर भाइरल हुनको लागि जोखिमपूर्ण ठाउँमा फोटो खिच्दा ज्यान समेत गएका घटना सुनिन्छ।
भिर पहरोमा, नदी किनारमा, गाडीको बाटोमा, घरको छतमा यसरी फोटो खिच्नेहरूले ज्यान गुमाएका छन्। त्यो सब फेसबुक फोटो अपलोड गर्ने माहोले भएको हो। पश्चिमाहरू फोटो अपलोड गर्न फेसबुकभन्दा इन्स्टाग्राम बढी रोज्छन् र कुरा गर्नको लागि पनि फेसबुकभन्दा स्न्यापच्याट नै उनीहरूको रोजाइमा परेको छ।
दिनभरि कुनै काम नभएर फेसबुकमै झुन्डिएर बसेको भए पनि निकै व्यस्त अनि बेफुर्सदी भएजस्तो फेसबुकमा यति छोटा शब्द लेख्छन् कि त्यसको अर्थ के हो पहिल्याउन पनि हम्मे-हम्मे पर्छ। 'थ्यांक यू' भन्नुपर्यो भने 'टिक्यू' रे, 'टेक केयर' लेख्नको गाह्रोले 'टिसी' अनि 'ओएमजी' लगायत यसै वर्गका शब्द हुन् जुन अल्छीहरूले लेख्ने गर्छन्।
बर्थडे लेख्नुपर्नेमा 'बिडी' मात्रै लेख्ने। बर्थडे पनि लेख्न नसक्नेले किन बर्थडे विश गर्नु परेको? अझै कोही मान्छे मरेको छ भने 'रिप' भन्दै समवेदनाको ओइरो लाग्छ। जाबो 'रेस्ट इन पिस' पनि लेख्न नसक्नेले रिप लेखेर सहानुभूति देखाउनु फगत ढर्रा र मर्नेको खिल्ली उडाएजस्तो मात्रै लाग्छ।
कतिपय त अरुले लेखेको देखेरै त्यसको अर्थ नबुझी नबुझी प्रयोग गरेको पाइन्छ। अंग्रेजी प्रयोग गर्ने नाममा कुन कुरा कहाँ लेख्ने भन्ने थाहै नभै नजानी नजानी यसरी लेख्नेहरूको लेखाइले कहिलेकाहीँ कुनै कुराको गलत अर्थ पनि लाग्ने हुन्छ।
पाल्पामा बुबाआमा भेट्न घर गएको बेला एकदिन मेरो ७५ उमेर नाघ्नु भएको बुबाले समेत 'कस्तो हुँदो रहेछ दुनियाँले फेसबुकको चर्चा गर्छन्, मेरो समेत फेसबुक आइडी बनाइदे न, म पनि तिमीहरू टाढा हुनेहरूसँग कुरा गर्छु, फोटो हाल्छु। सबैले भनेको सुन्दा मलाई पनि रहर लाग्यो' भन्नुभयो।
मैले यसको लागि कम्प्युटर चाहिने कुरा गर्दैगर्दा ठूल्दाइ बुबाको कुरा लिएर हाँस्दै 'बुढोमान्छे अब हरेराम हरे कृष्ण भनेर भजन गाएर भगवानमा चित्त लगाउनु पर्ने बेलामा किन फेसबुक चाहियो?' भन्नुभयो।
उमेरले नयाँ प्रविधिको प्रायोगलाई छेक्दैन। भजन गाएर पनि फेसबुक चलाउन सकिन्थ्यो तर बुबालाई सिकाउन अलिक समय चाहिन्थ्यो। अलिअलि फाट्टफुट्ट अंग्रेजी शब्दहरू जान्ने भए पनि फेसबुक चलाउनको लागि बुबालाई अलिक समय दिएर दुई/तीन दिन सिकाउनु पर्थ्यो। त्यसमाथि बुबा आँखा पनि राम्रोसँग नदेख्ने। यता मलाई समय पनि नभएकोले त्यतिबेला बुबाको त्यो धोको त्यत्तिकै रह्यो।
अचेल भने बुबाको आफ्नै फेसबुक आइडी छ। बुबालाई आफन्तजनहरूसँग कुरा गर्न निकै सजिलो भएको छ। नेपालमा हुने आफन्त, इष्टमित्र, आफूले सक्रिय राजनीति गर्दाखेरीका नेता तथा साथीभाइहरूसँग घरमै बसी-बसी कुरा गर्न पाउनुभएको छ। धेरै टाढा हिँडडुल गर्न नसक्ने हुनाले बुबालाई समय बिताउने गतिलो माध्यम भएको छ।
फेसबुकमै संसारभरिका खबरहरू हेर्नुहुन्छ, अमेरिका, क्यानडा, अष्ट्रेलिया लगायतका देशमा रहने छोराछोरी नातिनातिना, भान्जाभान्जीहरूसँग भिडिओमा कुरा गर्नुहुन्छ। यसरी फेसबुकको सही सदुपयोग गर्नेहरूलाई राम्रै फाइदा समेत भएको छ। व्यापार बिजनेस गर्न प्रचार-प्रसार गर्न फेसबुकले सजिलो बनाएको छ र यसैको माध्यमबाट कतिपय नेपालीले वार्षिक लाखौँ आम्दानी गरिरहेका छन्।
फेसबुककै माध्यमबाट हराएका, बेपत्ता भएका आफन्त खोज्न र भेटाउन सजिलो भएको छ भने यसैको माध्यमबाट अनाथ, गरिब, असहाय, दीर्घरोगी, विदेशमा अलपत्र परेकाहरूलाई चन्दा उठाएर उनीहरूको जीवनमा परिवर्तन ल्याउन निकै सहज भएको छ।
यसको सबै नकारात्मक पाटो मात्रै छैन, जान्नेलाई श्रीखण्ड नजान्नेलाई खुर्पाको बिँड भनेझैँ सही ढंगले चलाउनेलाई श्रीखण्ड हो, दुरुपयोग गर्नेलाई खुर्पाको बिँड हो फेसबुक।