को बुद्धिजीवी हो, को होइन? प्रश्न सरल लागे पनि उत्तर दिन सजिलो छैन। पहिलेझैँ जसको विचार पत्रपत्रिकामा छापिन्थ्यो, जसलाई समाज आफ्नो आवाज मान्थ्यो वा जसको विचारले समाजमा केही प्रभाव पार्थ्यो ती मात्र बुद्धिजीवी हुन् भन्ने अवस्था अब रहेन र रहनु पनि हुँदैन।
प्रविधिको विकाससँगै बुद्धिजीवीको दायरा पनि फराकिलो भएको छ। अब अधिकांश पढ्लेख्न सक्ने वा आफ्नो विचार प्रस्तुत गर्न सक्ने सबै आफ्नै हिसाबका बुद्धिजीवी हुन् भन्दा फरक नपर्ला। तथापि विचार निर्माण र त्यसको छलफलमा को र कस्तोलाई बुद्धिजीवी भन्ने कुराले अवश्य महत्व राख्छ।
वैचारिक विविधता वेगरको उदारवादी समाजको कल्पना हामी बिरलै गर्न सक्छौँ। विचारमा विविधता बारे छलफल भएन भने समाज हामीले सोचेझैँ उदार बन्न कठिन छ। तर विविधताको कुरा गर्दा ज्ञानको वर्चस्व कसको हातमा छ भन्ने कुराले महत्व राख्छ।
ज्ञान र त्यसको निर्माणमा हाम्रा विचार निर्माणका संस्थाहरू विश्वविद्यालय, पत्रपत्रिका, नागरिक समाज र आमसञ्चारका माध्यमको महत्वपूर्ण भूमिका रहँदै आएको छ। यदि यी संस्थाहरू नै विविध वर्ग, धर्म, लिङ्ग तथा विविध तप्काको विचारको (समावेशीतामा चुकेँ भने वैचारिक विविधतामा समाज र समग्र राष्ट्र सधैँ पछाडि पर्न पुग्छ।
अब कुरा गरौँ, बुद्विजीवी जगतको र वैचारिक विविधतालाई विरलै सम्बोधन गर्न सक्षम हाम्रो सञ्चार जगत र विश्वविद्यालयको। सुरुआत सञ्चार माध्यमबाटै गरौँ। किन हाम्रा नाम चलेका पत्रपत्रिकामा एकै नामका र एकै खाले मानिसहरू बारम्बार दोहोरिन्छन्? किन तिनै मानिसहरूसँग मात्र ज्ञानको स्रोत छ भन्ने मान्छ मिडिया?
किन उनीहरूको विचार मात्र सबैले सुन्नुपर्छ भन्ने हामीलाई लागिरहन्छ? किन कुनै अमूक व्यक्ति चाहेर पनि मूलधारको पत्रिकाको विचार पृष्ठमा विरलै छाउँछ? किन नामचलेका टेलिभिजन सम्वादमा उहीँ व्यक्तिहरू सबै कार्यक्रमको अतिथि बन्न पुग्छन्?
के ती बाहेका अरुका विचारहरूले मान्यता राख्दैन वा हामी बारम्बार केही व्यक्तिको सीमिततालाई ज्ञानको समग्रता मान्छौँ। सुन्दा र लेख्दा अप्रिय लाग्ने यी प्रश्नहरूले अहिले समग्र नेपाली समाजको विचार निर्माण प्रक्रियालाई जनाउँछ।
करिब एक महिनामा हाम्रा नाम चलेका संवाद कार्यक्रमलाई हेर्यौ भने उहीँ मान्छे प्रत्येक कार्यक्रममा दोहोरिएको भेट्छौँ। दोहोरिनु एउटा कुरा तर उहाँहरूको संवादको विषय र उहाँहरूको प्रस्तुतीमा पनि खासै भिन्नता देखिँदैन।
फलतः विचार र विचार निर्माण प्रक्रियामा केही सीमित व्यक्ति र तप्काको मात्र वर्चस्व रहन्छ। जसको अन्त्य साँघुरो र केही व्यक्ति सीमित वैचारिक दृष्टिकोणमा मात्र विचार र ज्ञान निर्माणको प्रक्रिया निर्भर रहन पुग्छ।
विचार निर्माण र छलफलको प्रक्रियामा जब सबै खाले मानिसको सहभागिता रहन्न तब केही सीमित व्यक्तिमा मात्र बुद्धिजीवी र विज्ञको ताज अड्कन पुग्छ र समग्रमा विचारको भिन्नता र त्यसको सम्मानमा समाज र समग्र राष्ट्र नै चुक्न पुग्छ। उदाहरणको लागि भर्खरै प्रकाश सपुतको गीतको विरोधमा जसरी सिंगो पार्टी नै उत्रियो, त्यसले जनाउँछ कि अझै पनि हामी वैचारिक विविधता र त्यसमाथिको छलफललाई पचाउन सक्दैनौँ।
किन सक्दैनौँ? उत्तर सजिलो छ। अझै पनि विचार र ज्ञानको सम्प्रेषणमा केही सीमित व्यक्तिको मात्र बाहुल्यता छ फलतः हामी आत्मालोचना कमजोर बन्न पुगेका छौँ।
अब कुरा गरौँ हाम्रा विश्वविद्यालयको, बिना विश्वविद्यालय विचार र विचार माथिको मन्थन आधुनिक समाजमा असम्भवजस्तै बन्न पुग्छ। जब विश्वविधालय नै विविधता बेगरको बन्न पुग्छ तब त्यसको समग्र असर जताततै देखिन पुग्छ। अहिले पनि हाम्रा विश्वविधालयमा महिला, जनजाति र दलित प्राध्यापक कति छन् भनेर संख्याले मात्र पनि एक तप्काका मानिसहरूको वर्चस्वलाई छरपष्ट पार्छ।
लैङ्गिक छलफल मजाले रमाउने अंग्रेजी केन्द्रीय विभागमा अहिले पनि महिला प्राध्यापकको संख्या एकबाट दुई भएको छैन। जब संख्यामा नै विविधताको कमि रहन्छ तब विचार निर्माण र त्यसको छलफलमा पनि त्यसको प्रत्यक्ष असर देखिन पुग्छ। जति विचार र त्यसको विविधतामा विश्वविद्यालय लाग्नुपर्ने हो लागेको देखिँदैन।
भनिन्छ साहित्य भनको समाजको ऐना हो। समाजको बहुआयामिकता र वैचारिक विविधतालाई साहित्य जगतले सम्बोधन गनुपर्छ भन्ने हामी सबैलाई लाग्छ। साहित्य र कलाबिना विचार र ज्ञान निर्माणको प्रकृया अधुरो नै रहन्छ। केही वर्षयता नेपालमा पनि साहित्य र समाजका विविध पाटाहरू माथि छलफल र विमर्श गनुपर्छ भन्ने हेतुले केही साहित्य महोत्सवहरू आयोजना भैराखेका छन्।
यो एक हिसाबले सराहनीय कार्य हो। तर प्रत्येक महोत्सवमा तिनै मान्छेहरूको उपस्थिति, र उस्तै खाले बहसले सम्पूर्ण कार्यक्रम एकै खाले, विचार एकै खाले मान्छैको वैचारिक महोत्सव जस्तो पनि लाग्छ। टेलिभिजनमा देखिने, पत्रपत्रिकामा छाउने, सामाजिक सञ्जालमा हजारौँ फलोअर भएका ती मानिसहरूको विचारलाई पुनः छलफलमा राख्न आवश्यक छ वा छैन अब हामीले सोच्नुपर्ने अवस्था आएको छ। महोत्सवसँगै विविधता र समावेशीतामा अलि बढी गृहकार्य गर्ने हो भने यस्ता कार्यक्रमहरूले बौद्धिक जगतमा अर्कै आयाममा अवश्य पुर्याउँछ।
अब कुरा गरौँ आफूलाई बौद्धिक ठान्ने हामी सबैको बौद्धिक जिम्मेवारीका कुरा। ग्रामस्कीले भनेझैँ हामी कस्तो खाले बौद्धिक बन्ने कुरा हाम्रो बौद्धिक कामलले निर्धारण गर्छ। उनले भनेझैँ हामी एक तप्काको मात्र कुरा गर्ने वा जताततै आफ्नो उपस्थितिमा मात्र बौद्धिक उपस्थिति मान्न ठान्यौँ भने अब हामी पुराना धर्मको आडमा र सत्ताको आडमा बसेर बनेका बौद्धिकभन्दा अवश्य फरक रहने हैनौँ।
यदि हामी नयाँ खाले बुद्धिजीवी वा ग्रामस्कीकै भाषामा भन्दा अर्गानिक बुद्धिजीवी बन्न चाहन्छौँ भने अब हामीले आफ्नो लागि छुट्टाइएको केही अवसर, पत्रपत्रिकाको केही स्पेस र टेलिभिजन सम्वादको केही समय अब अरु कसैको लागि पनि हुनुपर्छ भनेर बोल्नुपर्ने दिन आएको छ।
मानिसको रूपमा हामी सबैका केही कमजोरीहरू र सीमितताहरू पक्कै हुन्छन्। यदि हामीले ती सीमिततालाई नबुझिकन आफैलाई सर्वोपरी ठान्न थाल्यौँ भने अब हामी आफूलाई कुलिनताको एक हिस्सा मान्दा हुन्छ। कुलिनता र विविधता बीच हुने केही असामञ्जस्यता सदा रहेको थियो र सधैँ रहनेछ।
यदि वैचारिकताको बागडोर कुलिन वर्गमा मात्र सीमित रह्यो भने सत्ता र शक्तिबाट अलि पर बसेको समाजको आवाज मूलधारमा कहिल्यै आउने छैन। फलतः ज्ञानको श्रोत र विचारको वर्चस्व सधैँ केही तप्काका व्यक्तिमा मात्र रहिरहेछ।
भर्खरै अदालतमा पुगेको बलात्कार सम्बन्धी एक केसमा जसरी एउटा उमेरका महिला अधिकारकर्मी र अर्को वर्ग र उमेर समूहका महिलाकर्मीबीच भएको बहस एदाकदा अलि नमिठो देखिए पनि वैचारिक रूपमा यसले पार गरेको प्रक्रियालाई एक साहसिक वैचारिक प्रकिया मान्दा हुन्छ।
पत्रपत्रिकामा, टेलिभिजनमा आफ्ना विचार र दृष्टिकोणले ठाउँ पाउँदापाउँदै पनि मानिसको रूपमा र वैचारिक रूपमा पनि आफ्ना केही कमजोरीहरू र सीमितताहरू हुँदा रहेछन् र त्यसलाई सुर्धान आवश्यक छ भनेर अब बौद्विक जगतमा नाम र ठाम दुवै हुने पनि एकपटक आत्मालोचना गर्न आवश्यक छ। साथै एक एर्काको विचारमा आउने मतभेदहरूले नै ज्ञान निर्माण र वैचारिक विविधतालाई सम्बोधन गर्न सक्छ भन्ने कुरा अब हामी सबैले बुझ्नुपर्ने देखिन्छ।
मतभेद र वैचारिक द्वन्द्व बेगर सामाजिक र सांस्कृतिक उदारता असम्भव छ। त्यसैले विचार निर्माण र त्यसको सम्प्रेषणमा मिडिया, विश्वविद्यालय, बौद्धिक जगतको प्रभावकारी भूमिका रहेन भने वैचारिक संक्रिणता र असहिष्णुता समाजमा मात्र नभएर बौद्विक जगतमा पनि देखापर्छ।
फलतः ज्ञान र विचारको बागडोर केही सीमित र कुलिन प्रभावशाली वर्गमा मात्र रहन पुग्छ। जसले समाजलाई अझ उदार बनाउनुको सट्टा अझ बढी अनुदार र साँघुरो बनाउने छ।