मेरो दाइको सानो छोरो कक्षा ३ मा पढ्छ। उसको लागि यो पृथ्वी विशाल 'मल्टिभर्स' को एउटा भाग हो। यस्ता पृथ्वी असंख्य छन्। 'डाक्टर स्ट्रेन्ज' ले सजिलैसँग यी पृथ्वीहरूको बीचमा हामीलाई यात्रा गराउन सक्छन्।
'यो पृथ्वी नष्ट भैहाल्यो भने पनि केही छैन। नट अ बिग डिल' उसले ढुक्कसँग भन्छ, 'हामी अर्को पृथ्वीमा जान सक्छौँ।'
'मार्भल कमिक्स' मा आधारित उसको यो कल्पना आँखा बन्द गरेर सोच्दा रमाइलो छ, अदभूत छ। तर आँखा उघारेर हेर्दा हामीसँग एउटा मात्रै पृथ्वी छ। हामीसँग एउटा मात्रै ग्रह छ, जसलाई हामीले हाम्रो गृह भन्न पाएका छौँ। जबसम्म यो ग्रह छ, हामीसँग घर छ।
यो पृथ्वीरुपी गोलोमा मानव सभ्यताले तीव्र रूपमा फड्को मार्दैछ। गगनचुम्बी भवनहरू, हावाभन्दा वेगमा उड्ने जहाजहरू, गोलीजस्तै तेज ट्रेनहरू, र समुन्द्रको सतहसम्म पुग्न सक्ने पनडुब्बीहरू सबै मानवको उन्नतिका द्योतक हुन्।
हुँदा-हुँदा अन्तरीक्ष पनि मानिसको पहुँचबाट टाढा रहेन। घरमा प्रयोग हुने रेफ्रिजरेटर, दैनिक प्रयोग हुने सवारी साधनहरू, मानवीय जीवनलाई सहज बनाउने वस्तु उत्पादन गर्ने उद्योग कलकारखानाहरूले हाम्रो जीवनलाई सहज बनाएदिएका छन्। यी विलासिताका सामानहरूले हामीलाई पहिलाभन्दा केही अल्छी अवश्य पनि बनाइदिएको छ।
हामी वातानुकुलित कोठाहरूमा बस्न खोज्छौँ, नजिकैको ठाउँमा जानु परे पनि मोटरसाइकल, गाडीजस्ता सवारी साधन प्रयोग गर्छौं र घाममा यात्रा गरेर फर्केपछि प्लास्टिकको बट्टामा राखिएका फिज भएका गुलियो पेय पदार्थहरू पिउछौँ।
यसरी हेर्दा विकासको मूल फुटेसँगै हामीले सुविधा पाएका त छौँ तर हाम्रा यी स-साना कदमले पर्यावरणमा ठूलो असर पार्दैछन्। हामी त फगत यो पर्यावरणीय पद्धतिको एक हिस्सा हौँ। हाम्रो वरिपरिको वातावरण बिग्रिँदै जाने तर हामी स्वस्थ भइराख्ने कुरा किमार्थ सम्भव छैन।
ठूला-ठूला उद्योग धन्दाहरूले निम्त्याउने प्रदुषण त छँदै छ, हाम्रो आफ्नै रोजाइहरूले हामी हाम्रो र हामी बस्ने घरको स्वास्थ्यलाई धरापमा पार्दैछौँ। हाम्रै क्रियाकलापले गर्दा उत्सर्जन हुने हरितगृह ग्यासहरू, धुलो, धुवाँ, प्रदुषणले स्वास्थ्यमा प्रतिकुल असर परिरहेका छन्।
जलवायु परिवर्तनले पृथ्वीको तापक्रम बढ्ने, खडेरी निम्त्याउने, समुन्द्री सतहलाई बढाउने, जङ्गलमा आगलागीका घटनालाई बढोत्तरी गर्ने र सबै प्राणीहरूको स्वास्थ्यमा प्रतिकुल असर पार्ने तथ्यहरू हाम्रो सामु छन्। यस्ता जलवायु परिवर्तनको कारणले हुने स्वास्थ्य समस्याले हरेक वर्ष १.३ करोड जनाको मृत्यु हुने गरेको छ।
बढ्दो तापमान र बाढीजस्ता प्रकोपहरूले करिब २ अर्ब मानिसलाई डेंगुको जोखिममा पर्ने प्रक्षेपण गरिएको छ। त्यति नै मानिस सफा खानेपानीको उपलब्धताबाट बन्चित छन्। यसले गर्दा आठ लाखभन्दा बढीले झाडापखालाजस्ता रोगबाट अकाल मृत्युवरण गर्नु परेको छ।
धर्ती तात्तिँदै छ, लामखुट्टेहरूले पहिलाभन्दा टाढासम्म पुग्दैछन् र रोगहरू फैलाउँदै छन्। संक्रामक र किटजन्य (भेक्टरजन्य) रोगहरूले पहिलेदेखि पिरोली राखेको अवस्थामा नयाँ ठाउँमा समस्या जन्मिनु अवश्य पनि चुनौतीमूलक छ। हाम्रा सबैभन्दा अग्ला टाकुरा समुन्द्र सबैभन्दा गहिरा पिँधहरूसम्म प्रदुषण पुगिसकेको छ।
सगरमाथादेखि मारियाना ट्रेन्चसम्म मात्रै हैन, प्रदुषण अन्तरीक्षसम्म पुगिसकेको तथ्य हाम्रासामु छ। यसरी हामी बस्ने बासस्थान हाम्रो लागि अस्वस्थ्यकर हुँदै गएको छ।
जलवायु परिवर्तन रोक्न र पर्यावरणलाई दिगो बनाउन सरकार, स्वास्थ्य र यसमा प्रभाव पार्ने क्षेत्रमा काम गर्ने संघ-संस्थाहरूको जिम्मेवारी त छँदै छ। हामी आफैले पनि आफूलाई र आफू बस्ने ठाउँलाई ठिक राख्न धेरै कुराहरूमा ध्यान पुर्याउन सक्छौँ। आफ्नो र आफ्नो वरिपरिको वातावरणलाई स्वस्थ्य बनाउन विश्व स्वास्थ्य सङ्गठन लगायतले सिफारिस गरेका केही उपायहरू निम्न अनुसार छन्:
- काममा व्यस्त रहनुहोस्। अरुलाई पनि काम गर्न प्रेरणा दिनुहोस्। हरेश नखानुहोस्।
- उर्जाका स्रोतहरूको प्रयोग अनावश्यक रूपमा नगर्नुहोस्।
- छोटो दूरीको यात्रा गर्दा हुने सवारीसाधनको प्रयोगलाई कम गर्नुहोस्। हिँडडुल गर्ने बानी विकसित गर्नुहोस्। सकिन्छ भने हप्तामा एक दिन काम गर्ने ठाउँसम्म हिँडेर अथवा साइकलमा जानुहोस्।
- धुम्रपान र सुर्तीजन्य पदार्थ सेवन नगर्नुहोस्। यसले अरु फाइदा सँगसँगै हिँड्दा श्वास फुल्ने समस्या कम भएको पनि महसुस गर्नुहुनेछ।
- तरकारी तथा फलफूलहरू प्रशस्त सेवन गर्नुहोस्। सम्भव भएसम्म घरमै करेसाबारी राख्नुहोस्। घरमा उत्पादन हुने फोहोरबाट मल बनाएर प्रयोग गर्नुहोस्।
- खानेकुरा खेर नफाल्नुहोस्।
- बजारमा उपलब्ध प्रशोधित खानेकुराहरू घर नलैजानुहोस्। जंक फूड उत्पादन गर्ने उद्योगहरूले अस्वस्थ्य खानेकुरा उत्पादन गर्नुका साथसाथै प्रदुषण पनि बढाइरहेका छन्।
- बजारबाट अरु उपभोगजन्य समान खरिद गर्दा प्लास्टिकको झोलाको प्रयोगलाई कम गर्नुहोस्।
- जन्मदिनमा एउटा रुख रोप्ने बानी विकसित गर्नुहोस्।
- आफूले जानेका कुराहरू अरुलाई सिकाउनुहोस्।
विश्वका सर्वाधिक धनी मानव इलोन मस्कले पृथ्वीबाहेक अन्य ग्रहहरू पनि मानिसले बस्न मिल्ने बनाउन सकिने कुरा हामीले सुनेकै छौँ। भोलिका दिनमा अरु गृहहरू पनि हाम्रो लागि 'ह्याबिटेबल' हुन सक्लान् तर अहिलेका लागि हामीसँग एउटा मात्रै गृह छ। यसलाई संरक्षण गरेर दिगो बनाउन सकियो भने हामी सबैको जीवन सुखी हुने देखिन्छ।
वातावरण स्वच्छ नहुने हो भने 'डक्टर स्ट्रेन्ज' अथवा कुनै पनि डक्टरले हामीलाई स्वस्थ बनाउन सक्दैनन्। इलोन मस्कले अर्को ग्रहमा लगेछन् भने त्यो ग्रहलाई पनि राम्रो बनाऔँला। अहिलेको लागि एउटा मात्रै त ग्रह छ।
आउनुहोस्, यसलाई सुन्दर बनाइराख्न प्रण गरौँ। आज मात्रै होइन, भोलिका सन्ततिको लागि पनि यो पृथ्वीलाई सुन्दर र स्वस्थकर बनाइराखौँ।